Kathmandu Press

मेलम्चीको पानी, फेरि कहिले आउँछ राजधानी?

निर्माण कार्य आरम्भ भएदेखि हालसम्म मेलम्ची खानेपानी आयोजनामा ३० अर्ब १५ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको छ। 
मेलम्चीको पानी, फेरि कहिले आउँछ राजधानी?

काठमाडौं, भदौ २२ : लामो समयदेखि मेलम्चीको पानी आउने प्रतीक्षामा थिए उपत्यकावासी। २०७७ फागुन २२ गते त्यहाँको पानी सुन्दरीजलमा झर्न थालेको खबरले उनीहरू कम्ती खुसी भएनन्। त्यसको २३ दिनपछि चैत १५ गते घरघरका धाराबाट मेलम्ची झर्न थालेपछि उनीहरूकाे खुसीमाथि झनै खुसी थपियो।

तर त्यो खुसी डेढ महिनाभन्दा बढी समय टिक्न सकेन। अर्थात् मेलम्ची नदीमा एक्कासि आएको बाढीको असर खानेपानी आयोजनामा समेत पर्दा उपत्यकामा वितरण हुन थालेको पानी असार १ बाट रोकिन पुग्यो।

त्यसो त पानीको वितरण रोकिएको साढे १० महिनापछि अस्थायी संरचना बनाएरै भए पनि काठमाडौंवासीमा पहिला छाएको सुखी फर्काउने प्रयास आयोजनाले नगरेको होइन। जसअनुसार २०७९ वैशाख ११ देखि पहिलाकै तरिकाले पुनः घरघरमा पानी वितरण गरिएको थियो तर वर्षाका कारण आयोजनालाई क्षति हुन सक्ने भन्दै एक महिना पनि नपुग्दै जेठबाट फेरि पानी वितरण रोकियो।

Hardik ivf

बर्खा सकिनेबित्तिकै पानी ल्याउने तयारी भइरहँदा डेढ साताअघि (यही भदौ १२ गते) मेलम्चीमा आएको बाढीले त्यहाँसम्म पुग्ने सडक भत्काइदिएको छ। जसले गर्दा कहिलेदेखि पानी आउँछ भन्ने अन्योल उत्पन्न भएको छ। 

हेडवर्क्स बन्द गरेर आयोजनालाई क्षति हुनबाट बचाइए पनि त्यहाँसम्म पुग्ने बाटो भत्किएका कारण सुरुङबाट सुन्दरीजलमा पानी ल्याउने समय पछाडि धकेलिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

‘भदौ १२ को बाढीले थप कठिन परिस्थिति सिर्जना भएको छ। हेर्डवक्र्स पुग्ने बाटौ नै छैन,’ उनले भने, ‘बर्खा सकिएपछि पानी ल्याउने योजना थियो। अब असोज अन्तिम अथवा मंसिरको पहिलो साताबाट भत्किएको बाटो पुनर्निर्माणको काम थाल्छौं। पानी कहिलेदेखि आउँछ भन्नेचाहिँ कुनै टुंगो छैन।’

उनले थपे, ‘लगानी ठुलो भएको छ। सोहीअनुसार उपभोक्तालाई सेवा दिन आयोजनाले सकिरहेको छैनं,’ उनले भने, ‘प्राकृतिक विपद्का कारण समस्या आएको हो। तर अब केही समय उपभोक्ताले धैर्य गर्नुपर्ने अवस्था आएको छ।’ 

यसरी आरम्भ भएको थियो आयोजना

सपना देखाइएको तीन दशक र निर्माण थालिएको दुई दशकपछि मेलम्ची खानेपानी आयोजनालेले एक ढंगको सार्थकता पाएको त्यसकाे इतिहासले देखाउँछ। 

काठमाडौंको पानी अभाव पूर्तिका विकल्पहरूमध्ये मेलम्चीको सम्भावनाबारे सामान्य चर्चा अगाडिदेखि नै चलेको थियो तर २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भाषण गर्ने क्रममा ‘मेलम्चीको पानी ल्याउने’ बताएपछि काठमाडौंवासीले भट्टराईको त्यो अभिव्यक्तिलाई राम्रैसँग ‘नोटिस’ गरे। त्यसपछि आम काठमाडौंवासीबीच मेलम्ची सम्भावना व्यापक छलफलको विषय बनेको थियो।

२०५२ सालमा मेलम्ची खानेपानी लिमिटेडको स्थापना  भयो। एसियाली विकास बैंकबाट मेलम्चीको पानी काठमाडौं ल्याउने संरचना निर्माणका लागि ऋण प्राप्त भयो। २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भई २०५८-५९ सालतिरबाट आयोजनाको भौतिक निर्माण थालिएको समितिका प्रवक्ता पन्तले बताए।

‘मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर पानीको अभाव पूरा हुने अपेक्षा गरिएपछि लामो समय लगाएर ठुलो लगानीमा खानेपानी आयोजना निर्माण गरिएको हो। घरघरमा पानी वितरण गर्न थालिएको पनि थियो तर प्राकृतिक विपद्का कारण सुन्दरीजलमा पानी झार्नै समस्या भयो। त्यसकारण अहिले पानी वितरण रोकिएको हो,’ उनले भने।

उनले अगाडि भने, ‘समस्याको पहिचान गरेर दीर्घकालीन समाधानको उपाय खोजेर आवश्यकताअनुसार पुनर्निर्माण तथा मर्मतसम्भार गरेपछि मात्र मेलम्चीको पानी निरन्तर उपत्यकामा वितरण गर्न सकिने विश्वास हामीले लिएका छौं।’ तत्काल उपभोक्तालाई सेवा दिन नसक्दा आयोजना चिन्तित रहे पनि केही समयपछि निरन्तर घरघरमा पानी वितरण हुने विश्वास उनले काठमाडौंवासी दिलाए। 

केकेमा कति खर्च भयो ? 

निर्माण कार्य आरम्भ भएदेखि हालसम्म मेलम्ची खानेपानी आयोजनामा ३० अर्ब १५ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको छ। 

उनका अनुसार आयोजनाले हालसम्म ९४ करोड ३१ लाख मुआब्जा तथा पुनर्वासका लागि खर्च गरिसकेको छ। २० करोड ५० लाख वातावरण व्यवस्थापनका लागि लगानी हुँदा १ अर्ब २१ करोड १२ लाख सामाजिक उत्थानका नाममा खर्च भएको छ।

सार्वजनिक निर्माण शीर्षकमा २१ अर्ब ३९ करोड ७६ लाख, प्रवेश मार्ग बनाउन ३ अर्ब १ करोड १९ लाख र साइट क्याम्प कार्यालय भवनका लागि १२ करोड रुपैयाँ खर्च भएको प्रवक्ता पन्त सुनाउँछन्।

त्यस्तै हेडवर्क्स तथा सुरुङ निर्माणका लागि १२ अर्ब ९५ करोड २६ लाख, पानी प्रशोधन केन्द्रका लागि ५ अर्ब २० करोड ९ लाख, परामर्श सेवा डिजाइन तथा सुपरिवेक्षणका लागि ५ अर्ब ५४ करोड ९५ लाख, सवारीसाधन खरिदका लागि ४ करोड १८ लाख, प्रशासनिक तथा चालु खर्चमा ९० करोड रुपैयाँ लगानी भएको प्रवक्ता पन्त जानकारी दिन्छन्।

मेलम्चीको पानी निरन्तर काठमाडौं आउन दैनिक १७ करोड लिटर आउन थालेपछि सोही सुरुङबाट सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित याङ्ग्री र लार्केखोलाबाट दैनिक १७–१७ करोड लिटर पानी उपत्यका भिœयाउने योजना बनाइएको छ। सोहीअनुरूप हेलम्बु–१ अम्बाथानमा हेडवर्क्स बनाइएको हो। त्यहाँबाट २६ दशमलव ५ किलोमिटर सुरुङमार्ग बनाएर सुन्दरीजलसम्म पानी ल्याइएको हो।

‘पानी आउँछ तर कहिले भन्ने टुंगो छैन’

मेलम्चीको पानी काठमाडौंका घरघरमा पुग्न थालिसक्दा पनि कहिले प्राविधिक त कहिले प्राकृतिक विपद्का कारण दैनिक वितरण रोकिएको छ। ‘पटकपटक सुरुङ बन्द गराई पुनर्निर्माण गरिरहनुपरेकाले दैनिक पानी वितरण गर्न नसकेका हौं,’ उनले भने, ‘मेलम्चीको पानी यही बेलादेखि आउँछ र नियमित हुन्छ भनेर टुंगोका साथ भन्न नसकिने भए पनि त्यो पक्कै आउँछ भन्नेमा विश्वस्त हुनुपर्छ।’

पानी रोकिनुको खास कारण सुरुमा बाढीले हेर्डवक्र्समैै क्षति पुर्‍ याउनु र पछिपछि अन्य संरचनाहरूमा पनि समस्या आउनु रहेको प्रवक्ता पन्तले बताए। ‘२०७९ वैशाख ११ मा अस्थायी संरचना बनाएर थप एक महिनाजति उपत्यकावासीलाई पानी नदिएका पनि होइनौं,’ प्रवक्ता पन्तले भने, ‘वर्षाका कारण हेडवर्क्समा थप क्षति नपुगोस् भनेर २०७९ जेठदेखि पुनः पानी वितरण रोक्यौं।’

‘योजनाबद्ध तरिकाले आयोजन सम्पन्न भएको छ। अहिले पानी वितरण रोकिँदा आयोजना प्रभावकारी नभएजस्तो लागे पनि केही समयपछि यसबाट उपभोक्तालाई  ठुलो राहत मिल्नेछ। निराश हुनु जरुरी छैन,’ उनले भने, ‘चाँडोभन्दा चाँडो पानी ल्याउने पहल भइरहेको छ।’

उनले पटकपटक बाढी आइरहने भएकाले बर्खायाममा पूर्वाधार निर्माण कार्य नगरिएको बताए। ‘बर्खामा कुनै संरचना बनाए बाढीले बगाइहाल्छ, त्यसैले बर्खामा पानी रोकेका हौं,’ प्रवक्ता पन्तले भने, ‘अब बर्खा रोकिएलगत्तै संरचना बनाउने काम पूरा गरेर छिटोभन्दा छिटो पानी ल्याउने कोसिस गर्छौं तर संरचना बन्न कति लाग्ने भन्ने टुंगो नभएकाले पानी कहिले आउँछ भन्ने पनि टुंगो छैन।’

बाढीपहिरोबाट ठुलो नोक्सानी

उनी पटकपटकको बाढीपहिरोले आयोजनामा कति क्षति पुर्‍याएको छ भनेर अनुमान लगाउन नसकिएको बताउँछन्। 

‘पहिला नै सुरुङमार्ग जाने सडकको ५/७ किलोमिटर दूरीमै चारपाँच ठाउँका पुल बाढीले बगाएको थियो। हामीले त्यतिबेला अस्थायी पुल निर्माण गरेर सडक सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘पहिले नै १ अर्बभन्दा बढी क्षति पुगेकोे छ। अहिले सडक भत्किएको छ। भत्किएको ठाउँमा पुग्न र अवलोकन गर्न सकिएको छैन। यति नै क्षति भयो भनेर यकिन गर्न सकिएको छैन।’ 

बाढी निरन्तर आइरहेकाले तत्काल बाटो बनाउने काम अगाडि बढाउन नसकिने बताए। ‘संरचना बनाउन समय लाग्ने भएकाले उपत्यकामा पानीको माग धान्न सरकारले विकल्प खोज्नुपर्छ,’ प्रवक्ता पन्तले भने, ‘उपत्यकामा दैनिक पानीको माग बढिरहेको छ।’

पानीकाे विकल्पको खोज्दै  केयुकेएल 

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ तर अहिले १२ देखि १४ करोड लिटर मात्र पानी वितरण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईले बताए।

‘कुल मागको एक तिहाइ पनि उपलब्ध गराउन सकिएको छैन,’ उनी भने, ‘एकजनाले एक दिनमा १०० देखि १५० लिटरसम्म पानी प्रयोग गर्ने गरेको देखिन्छ।’ उनले अहिले दैनिक वितरण हुने १२ देखि १४ करोड लिटर पानी घरघरमा पुगे पनि सुक्खा वा हिउँदमा त्यो मात्र घटेर ९ देखि १० करोड लिटर झर्ने बताए।

‘मेलम्चीको पानी भित्र्याउन सके झन्डै आधा माग पूरा हुने आशा छ  तर त्यो आशा पूरा हुन अझै लामो समय लाग्ने देखिन्छ,’ उनीे भन्छन्, ‘हामीले उपत्यकामा अहिले सतहमा उपलब्धसँगसँगै भूमिगत स्रोतको पानी पनि वितरण गरेका छौं तर त्यसलाई पर्याप्त र दिगो मान्न भने सकिँदैन।’ मेलम्चीको पानी निरन्तर आइरहे दैनिक १७ करोड पानी आपूर्ति हुन्थ्यो।

केयुकेएलले सुुन्दरीजल, महाकाल चौर, बाँसबारी, बालाजु, भैंसेपाटी, भक्तपुर, थिमी, बानेश्वर, मीनभवन र अनामनगरका ट्यांकीमा सतह र भूमिगत स्रोतको पानी जम्मा गरेर वितरण गरिरहेका प्रवक्ता राई बताउँछन्। ‘उपत्यकामा २ लाख ३६ हजारको संख्यामा धारा जडान भइसकेको छ,’ उनले भने, ‘सबै उपभोक्ताकहाँ दैनिक पानी पठाउन सकिएको छैन।’

केयुकेएलले आलोपाले गरेर घरमा १०/१२ दिनको फरकमा एक दिन पानी वितरण गर्ने गरेको उनले बताए। उपत्यकावासीले आवश्यकताअनुसार पानी प्रयोग गर्न पाएका छैनन्,’ उनले भने, ‘त्यसैले मेलम्चीको पानी आउन समय लाग्ने भएपछि हामीले विकल्प पनि खोज्न थालेका छौं।’ केयुकेएलले भूमिगत स्रोतबाट थप पानी निकाल्न खोजिरहेको उनले बताए।

र, याे पनि

केयुकेएलले जमिनमुनिबाट कति पानी निकाल्दै छ?

 

प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्