Kathmandu Press

केयुकेएलले जमिनमुनिबाट कति पानी निकाल्दै छ?

मेलम्ची खानेपानी आयोजना तत्काल पुनर्निर्माण नहुने भएपछि केयुकेएलले विकल्प अगाडि सारेको छ– थप १० स्थानमा बोरिङ खन्ने। तर, कहाँ खन्ने र त्यसबाट कहिलेसम्म कति पानी आउँछ भन्ने टुंगो लागिसकेको छैन।
केयुकेएलले जमिनमुनिबाट कति पानी निकाल्दै छ?

काठमाडाैं, मंसिर १ : मेलम्चीको पानी अब कहिले आउँछ भन्ने टुंगो छैन। उपत्यकावासीले १५ चैतदेखि साढे दुई महिना मेलम्चीको पानी पिउन पाएका थिए। तर, बाढी–पहिरोले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएसँगै उपत्यकावासीले यतिखेर पानीको चरम अभाव खेपिरहेछन्। मेलम्ची खानेपानी आयोजना तत्काल पुनर्निर्माण नहुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले विकल्प अगाडि सारेको छ– थप १० स्थानमा बोरिङ खन्ने।

‘उपत्यकामा पानीको माग पूरा गर्न वैकल्पिक स्रोतका रूपमा भूमिगत पानी प्रयोग गर्दै आएका छौँ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राई भन्छन्, ‘भक्तपुर, ललितपुर र काठमाडौंका थप १० स्थानबाट जमिनमुनिको पानी निकाल्ने योजना छ। तर, कहाँ खन्ने र त्यसबाट कहिलेसम्म कति पानी आउँछ भन्ने टुंगो लागिसकेको छैन।’

प्रवक्ता राईका अनुसार, केयुकेएले हाल उपत्यकामा दैनिक १३ देखि १४ करोड लिटर पानी वितरण गरिरहेको छ। सुक्खा वा हिउँदमा भने केयुकेएलले दैनिक नौदेखि १० करोड लिटर पानी वितरण गर्छ। त्यसमध्ये ४०–४५ प्रतिशत पानी भूमिगत हो भने बाँकी सतह स्रोतको। पानी संकलनका दुई स्रोत छन्– भूमिगत र सतह स्रोत।

Hardik ivf

सतह स्रोत अर्थात् मुहानमा सुन्दरीजल, भक्तपुर, विष्णुमती मुहान, महादेव खोला, शेषनारायण आदि पर्छन्। त्यस्तै, बाँसबारी, गोंगबु, मनमोहन अस्पताल, बौद्ध, कालिमाटी लगायत ९० स्थानमा भूमिगत पानी निकाल्न बोरिङ खनिएका छन्।  उपत्यकामा जमिनमुनिको न्यूूनतम एक सय ५० मिटरदेखि दुुई सय ५० मिटरभन्दा गहिरो स्थानबाट पानी निकालिन्छ।

राईका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। मेलम्चीका दुई स्थान (यांग्री र लार्के खोला)बाट दैनिक १७–१७ करोड लिटर पानी ल्याउने लक्ष्य थियो। ‘लक्ष्यअनुसार पानीको आयात भए पनि केयुकेएलले पानीको माग पूरा गर्न वैकल्पिक स्रोत खोज्नैपर्छ,’ राई भन्छन्।

केयुकेएलबाट २ लाख ३६ हजार धारा जडान भएका छन्। अहिले चार दिनदेखि नौ दिनको बीचमा उपत्यकाका घरमा पानी आउने गर्छ। पानी उपभोक्ताबाट दुई प्रकारबाट शुल्क लिइन्छ, मिटर र अनमिटर। अनमिटरमा पानी प्रयोग गर्नेले प्रतिमहिना एक हजार १७७ रुपैयाँ तिर्नुपर्छ। भने, मिटरमा धारा जडान गरेकाले १० हजार लिटर पानीको एकसय रुपैयाँ शुल्क तिर्नुपर्छ।

मासिक रूपमा १० हजार लिटरभन्दा बढी पानी प्रयोग गरेबापत प्रति हजार ३२ रुपैयाँ शुल्क तोकिएको छ। केयुकेएलले दैनिक १४ वटा ट्यांकरबाट खानेपानी वितरण गर्छ। त्यस्तै, उपत्यका खानेपानी व्यवस्थापन बोर्डमार्फत पनि पानी वितरण हुँदै आएको छ। बोर्डका अनुसार, उपत्यकाभित्र पानी वितरण गर्नका लागि निजी (६८१) र सरकारी (१४) गरी ६ सय ९५ वटा ट्यांकर दर्ता छन्। बोर्डका सूचना अधिकारी उदयकुमार केसी भन्छन्, ‘एउटा ट्यांकरले सात हजार लिटर पानी बोक्छ। प्रत्येक ट्यांकरले एक दिनमा तीनपटकसम्म पानी ल्याउने गर्छ।’

यस हिसाबले ६ सय ९५ ट्यांकरले दैनिक एक करोड ४५ लाख ९५ हजार लिटर पानी वितरण गर्छन्। ट्यांकरले स्टिकरसहित तीन प्रकारको प्रयोजनमा पानी वितरण गर्ने गर्छ। नीलो इस्टिकरले पिउने पानी, पहेँलोले अन्य प्रयोजन र हरियोले घरायसी प्रयोजनको पानी बोक्ने गर्छ। ट्यांकरले बोरिङ तथा सतहको पानी वितरण गर्छन्।

मेलम्ची अन्योलमै

यसपालिको बर्खाको बाढी र पहिरोले मेलम्ची आयोजनासम्म पुग्ने सडक, पुलसँगै मुख्य हेडवक्र्स नै पुरिदिएको छ। ‘लगभग चार महिनासम्म मेलम्ची आयोजनाले हेडवक्र्ससम्म पुग्ने सडक, पुल निर्माण ग¥यो,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्त भन्छन्, ‘पुरिएको हेडवक्र्स उत्थान गर्ने काम कसलाई दिने भन्नेबारे निर्णय भइसकेको छैन।’ त्यसैले उनी तत्काल मेलम्ची बन्छ बन्दैन भन्नेबारे केही भन्न नसक्ने बताउँछन्।

‘हेडवक्र्स पुरिएर कुनै क्षति नपुगेको खण्डमा छिटै मेलम्चीको पानी आउनसक्ने सम्भावना देखिन्छ। यदि हेडवक्र्समा क्षति पु¥याएको भए कहिले आउँछ, टुंगो छैन,’ प्रवक्ता पन्तले भने, ‘अहिले विवाद पुनर्निर्माण गर्न कसलाई दिने भन्ने कुराको हो। काम गरिरहेको कम्पनीलाई दिने वा नयाँ कम्पनीलाई दिने निर्णय भइसकेको छैन।’

 

प्रकाशित मिति: ०९:५९ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्