अस्थायी रूपमा मर्मत गरी ल्याइएको मेलम्चीको पानी कहिलेसम्म ?
अहिले दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ । तर, मेलम्चीमा बाढीपहिरो आएर अवरोध गरेमा पानी आउन बन्द हुन सक्छ ।काठमाडाैं, जेठ १२ : गएको बर्खामा बाढीले दख्खल पु¥याउन थालेसँगै मेलम्चीको पानी काठमाडौं आउन रोकिएको थियो । अस्थायी रूपमा मर्मत गरी वैशाख १३ गतेदेखि पुनः काठमाडौंवासीका घर–घरमा मेलम्ची आइपुगेको छ ।
१५ चैत ०७७ मा पहिलोपटक मेलम्चीको पानी काठमाडौं आइपुगेको थियो । त्यतिबेला लगभग साढे २ महिना मात्र उपत्यकावासीले मेलम्चीको पानी पिउन पाएका थिए । १ असार २०७८ मा लार्के र यांग्री खोलामा बाढी आएपछि मेलम्ची आयोजनाको हेडवर्क्स पुरिएर पानी आउने क्रम रोकिएको थियो ।
बाढीले सुरुङमार्गमा समेत सामान्य क्षति पुगेको थियो । बाढीले क्षति पुर्याएको करिब १० महिनापछि अस्थायी रूपमा मर्मत गरेर मेलम्चीको पानी काठमाडौं भित्र्याइएको हो । ‘हेडवर्क्समा असर पुगे पनि सुरुङमार्गमा धेरै क्षति भएको थिएन, त्यसैले हेडवर्क्सका निश्चित भागलाई उत्थान गरी पानी ल्याउने व्यवस्था मिलाइएको हो,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले भने, ‘अस्थायी रूपमा मात्र पानी ल्याइएको हो, कहिलेसम्म आउँछ टुंगो छैन ।’
उनका अनुसार, अहिले दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ । तर, मेलम्चीमा बाढीपहिरो आएर अवरोध गरेमा पानी आउन बन्द हुन सक्छ । स्थायी रूपमा मर्मत नभई काठमाडौंको पानीको माग पूरा गर्न सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘मेलम्ची पुनर्निर्माणका लागि अहिले अध्ययन भइरहेको छ, प्रतिवेदन आएपछि स्थायी रूपमा पुनर्निर्माणको काम सुरु हुन्छ,’ प्रवक्ता पन्त भन्छन्, ‘त्यसपछि मात्र स्थायी रूपमा पुनर्निर्माण भएर दिगो रूपमा मेलम्चीको पानी काठमाडौं ल्याउन सक्छौँ ।’
अहिले हेडवर्क्सको सुरुङमार्ग गेट नम्बर १, गेट नम्बर ९ र ३८ लाई सफा गरेर अस्थायी रूपमा पानी ल्याइएको हो । हेडवर्क्समा ३८ वटा गेट छन् । ‘९ नम्बरको गेट बाँध हो, त्यहाँबाट पानी सोझ्याउने गरिन्छ,’ उनले भने, ‘तीनवटा गेटलाई अस्थायी रूपमा मर्मत गरी पानी ल्याएर वितरण गरिएको हो ।’
मेलम्चीको विकल्प के ?
अहिले उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्चीका दुई स्थान (यांग्री र लार्के खोला) बाट दैनिक १७–१७ करोड लिटर पानी ल्याएर माग पूरा गर्ने लक्ष्य थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईका अनुसार, अहिले नै दिगो रूपमा मेलम्चीको पानी आउने अवस्था नरहेकाले विकल्प समेत खोजिएको छ ।
‘उपत्यकाका विभिन्न १० स्थानमा जमिनमुनिको पानी निकाल्ने योजना छ,’ उनी भन्छन्, ‘योजना अनुसार अध्ययनको काम भइरहेको छ ।’
मेलम्चीको पानी अहिले १० वटा ट्यांकीबाट उपत्यकामा वितरण गरिएको छ । प्रवक्ता राईका अनुसार, उपत्यकामा अहिले महाकांल चौर, बाँसबारी, बालाजु, मीनभवन, अनामनगर, कीर्तिपुर, खुमलटार, बोडे, कटुञ्जे लगायत स्थानमा रहेका ट्यांकीबाट पानी वितरण भइरहेको छ । दुई लाख ४३ हजार धारामध्ये यसपालि एक लाख ७५ हजार धारामा दुई–तीन दिनको अन्तरालमा एकपटक पानी वितरण भइरहेको छ ।