मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी दलको समर्थन छ।
धुनषा, मंसिर १९ : मधेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस मधेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन्।
सात दलीय गठबन्धनको समर्थनमा यादवले ७७ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी दलको समर्थन छ।
प्रदेश प्रमुख कर्णले बुधबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए।
कर्णले शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकेका थिए। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो।
सर्वोच्च अदालतले २४ घण्टा भित्र विश्वासको मत लिनु भन्ने सर्वोच्च अदालतको परमादेशपश्चात डाकिएको प्रदेश सभा बैठकमा विश्वासको मत नपाउने निश्चित भएपछि यादवले बुधबारै राजीनामा घोषणा गरेका थिए।
कुल एक सय सात सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन चाहिन्छ। मधेस प्रदेश सभामा एमालेको २५ सिट मात्र छ।
राजीनामा घोषणा गरेका यादवलाई कात्तिक २२ गते बर्दीबासको एक होटलमा डाकेर एकाबिहानै तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएपछि विवादको रुप लिएको थियो ।












