Kathmandu Press

काठमाडौं उपत्यकाले कति पानी खान्छ ?

‘एउटा ट्यांकरले सात हजार लिटर पानी बोक्छ । प्रत्येक ट्यांकरले एक दिनमा तीनपटकसम्म पानी ल्याउने गर्छ ।’ 
काठमाडौं उपत्यकाले कति पानी खान्छ ?

काठमाडौं, साउन २४ : काठमाडौं उपत्यकामा एक दिनमा कति पानी चाहिएला ? यो हिसाब निकाल्न सबैभन्दा पहिले यहाँको जनसंख्या थाहा हुनुपर्छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राई काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानी आवश्यक हुने बताउँछन् । ‘एक व्यक्तिले एक दिनमा एक सय लिटरदेखि एक सय ५० लिटर पानी प्रयोग गर्ने अनुुमान गरिएको हुन्छ,’ प्रवक्ता राई भन्छन्,  ‘जनसंख्याका आधारमा हामीले अहिले काठमाडौंमा दैनिक ४३ करोड लिटर पानीको माग भएको अनुमान गरेका छौँ ।’ 

केयुकेएलले कति पानी ल्याउँछ ?

Hardik ivf

प्रवक्ता राईका अनुसार, केयुकेएलले उपत्यकामा दैनिक १३ देखि १४ करोड लिटर पानी वितरण गरिरहेको छ । सुक्खा वा हिउँदमा भने केयुकेएलले दैनिक नौदेखि १० करोड लिटर पानी वितरण गर्छ । यस हिसाबले दैनिक २९ देखि ३३ करोड लिटर पानी अभाव हुन्छ । पानीको यो अभावमा केही आपूर्ति ट्यांकर र जार वा बोतलबाट गरिन्छ । 

उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार, उपत्यकाभित्र पानी वितरण गर्नका लागि निजी (६८१) र सरकारी (१४) गरी ६ सय ९५ वटा ट्यांकर दर्ता छन् । बोर्डका सूचना अधिकारी उदयकुमार केसी भन्छन्, ‘एउटा ट्यांकरले सात हजार लिटर पानी बोक्छ । प्रत्येक ट्यांकरले एक दिनमा तीनपटकसम्म पानी ल्याउने गर्छ ।’ 

यस हिसाबले ६ सय ९५ ट्यांकरले दैनिक एक करोड ४५ लाख ९५ हजार लिटर पानी वितरण गर्छन् ।  

केयुकेएलका १४ वटा ट्यांकरले पनि अन्य निजी ट्यांकरले जस्तै सेवाग्राहीको माग अनुुसार पानी वितरण गर्ने बोर्डका सूचना अधिकारी केसी बताउँछन् । ट्यांकरले स्टिकरसहित तीन प्र्रकारको प्रयोजनमा पानी वितरण गर्ने गर्छ । नीलो इस्टिकरले पिउने पानी, पहेँलोले अन्य प्रयोजन र हरियोले घरायसी प्रयोजनको पानी बोक्ने गर्छ । ट्यांकरले बोरिङ तथा सतहको पानी वितरण गर्छन् ।

पानी संकलनका दुई स्रोत छन्– भूमिगत र सतह स्रोत । जमिनमुनिबाट निकालिएको पानीलाई भूमिगत स्रोत भनिन्छ भने मुहानबाट आएको पानीलाई सहत स्रोत । 

उपत्यकामा भूमिगत स्रोतमा लगभग तीन/चार स्थानमा मात्र छ । धेरै सतह स्रोत नै छन् । सतहको स्रोतमा सुन्दरीजल, भक्तपुर, विष्णुमती मुहान, महादेव खोला, शेषनारायण पर्छन् । भूमिगत र सतह स्रोतको पानीलाई विभिन्न ट्यांकीमा जम्मा गरेर घरघरमा पु¥याइन्छ । उपत्यकामा न्यूूनतम एक सय ५० मिटरदेखि दुुई सय ५० मिटरभन्दा गहिरा बोरिङ खनी पानी निकालिन्छ ।

केयुकेएलले सुन्दरीजल, महाकाल चौर, बाँसबारी, बालाजु, भैँसेपाटी, भक्तपुर, थिमी, बानेश्वर मीनभवन, अनामनगरमा पानी जम्मा गर्ने गर्छ । उपत्यकाभित्र अहिले २ लाख ३६ हजार धारा जडान गरिएको छ । 

जार : ३६ लाख लिटर, बोतल : एक लाख ८० हजार लिटर 

उपत्यकामा दैनिक ३६ लाख लिटर जारको पानी र एक लाख ८० हजार लिटर बोतलको पानी बिक्री हुने गरेको नेपाल जार तथा बोतल वाटर एसोसियसनका अध्यक्ष सुवास भण्डारी बताउँछन् । ‘उपत्यकामा दैनिक एक लाख ५० हजारदेखि एक लाख ८० हजारवटा जारको पानी बिक्री हुुन्छ भने १५ हजार कार्टुुन बोतलको पानी बिक्री हुुन्छ,’ अध्यक्ष सुुवास भण्डारीले भने, ‘एक जारमा २० लिटर र एक कार्टुुन बोतलमा १२ लिटर पानी हुन्छ ।’

यस हिसाबले एक लाख ८० हजारवटा जारबाट दैनिक ३६ लाख लिटर र १५ हजार कार्टुन बोतलबाट एक लाख ८० हजार लिटर पानी वितरण हुुन्छ ।  

उपत्यकामा जार तथा बोतलमा पानी उत्पादन गर्ने एक सय ८३ उद्योग छन् । जसमा एक सय ७८ उद्योगमा एसोसिएसनमा आबद्ध रहेको भण्डारी जानकारी दिए । ‘अन्य उद्योगलाई पनि आबद्ध हुुन आग्रह गरिरहेका छौँ,’ उनले भने ।

उपत्यकामा १५ चैत ०७७ देख ३१ साउन ०७८  सम्म दैनिक १७ करोड लिटर मेलम्चीको पानी आएको थियो । मेलम्ची आइसकेपछि मेलम्चीको १७ करोडसहित उपत्यकाका विभिन्न स्रोतबाट ९–१० करोड लिटर गरी दैनिक २७ करोड पानी उपत्यकामा वितरण भइरहेको थियो । 

ट्युबवेल पम्पको तथ्यांक छैन 

उपत्यकाका कतिपय घरमा ट्युबवेल पम्प जडान गरिएको छ । तर, सरकारसँग त्यसको तथ्यांक छैन । उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी केसी निजी ट्युबवेल पम्पको तथ्यांक राख्ने योजना बनिरहेको बताउँछन् । ‘अब छिटै तथ्यांक संकलन गछौँ,’ उनले भने । 
 

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्