Kathmandu Press

‘१२ वर्षमा विवाह भयो, उपाध्यक्ष भएपछि सासूबुहारी मेलमिलाप कार्यक्रम गर्दै छु’ 

हामीकहाँ आफू पछाडि बसेर श्रीमतीलाई राजनीतिमा अगाडि सारेको कमै पाइन्छ । अधिकांश परिवारबाट पुरुष नै राजनीतिमा अगाडि आउँछन्, महिलाहरू घरकै काम वा अन्य पेसामा लागेको देखिन्छ । शिवकान्तिलाई भने श्रीमानले अगाडि सारेका हुन् । 
‘१२ वर्षमा विवाह भयो, उपाध्यक्ष भएपछि सासूबुहारी मेलमिलाप कार्यक्रम गर्दै छु’ 

काठमाडाैं, माघ २ : शिवकान्ति चमारले सोचेकै थिइनन्– कुनै दिन सरकारको कुनै जिम्मेवारपूर्ण पदमा पुग्नेछु । 

दलित, त्यसमाथि गरिब परिवारमा जन्मेकी शिवकान्तिको १२ वर्षको उमेरमा विवाह भएको हो । उनको विवाह हुँदा नेपालमा माओवादी आन्दोलन भर्खर सुरु भएको थियो । विवाहपछिका दिन उनी खेतबारीकै काम अभ्यस्त थिइन् । क्रमशः देशमा परिवर्तन हुँदै गयो । गणतन्त्र आयो, देश संघीयता, समावेशीतर्फ अगाडि बढ्यो । ‘गाउँगाउँमा सिंहदरबार’ नाराले मूर्त रूप लिन थाल्यो । यही बेला शिवकान्ति रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष हुने अवसर पाइन् । स्थानीय सरकारको उपाध्यक्षको पद सानो होइन, जिम्मेवारी धेरै छन् । यहाँसम्म उनी कसरी आइन् त ? 

कर्मघर नेपाल जन्मघर भारत 

Hardik ivf

शिवकान्तिको जन्म भारतको बिलासपुरमा भएको हो । उनका बाआमाले मजदुरी गरी जीविका चलाउँथे । दुई छोरा र तीन छोरीमध्ये शिवकान्ति जेठी हुन् । आर्थिक अवस्था कमजोर भए पनि शिवकान्तिलाई बाआमाले गाउँकै स्कुलमा भर्ना गरेका थिए । तर, जेठी छोरी भएकीले शिवकान्तिको काँधमा भाइबहिनीलाई हेरचाह गर्ने जिम्मेवारी आइलाग्यो । उनले भाइबहिनीलाई नहेर्ने हो भने, उनकी आमा मजदुरीका लागि घरबाहिर जान पाउँदिनथिन् र उनीहरुको जीविकामा अझ बढी अभाव खड्कन्थ्यो । 

‘पढ्ने रहर थियो, बुवाआमाले पढाउन खोज्नुभएको पनि हो, तर घरको अवस्थाले गर्दा स्कुल जान पाइनँ,’ शिवकान्ति भन्छिन्, ‘त्यतिबेला पढ्नुभन्दा बुवाआमालाई सहयोग गर्नु महत्त्वपूर्ण लाग्यो । बुवाआमालाई पाँच छोराछोरीको जिम्मेवारी उठाउनै मुस्किल थियो । त्यसैले चाहेर पनि पढ्छु भनी जिद्धी गर्न सकिनँ ।’

नेपाल र भारत दुवैतिर पाइन्छ, जेठी छोरीको काँधमा भाइबहिनीको जिम्मेवारी आएको । कति छोरी त भाइबहिनी र आमाबुवालाई हेर्नका लागि बूढीकन्या बसेको पनि पाइन्छ । त्यस्तै, नेपाल–भारत दुवैतिर त्यतिबेला बालविवाह सामान्य थियो । कतिपय स्थानमा अझै पनि बालविवाह हुने गर्छ । कक्षा ५ सम्म पढेर घरमा भाइबहिनी हेरेर बसेकी शिवकान्तिको पनि बालविवाह भयो, १२ वर्षकै उमेरमा । 

रोटीबेटी सम्बन्ध

नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । खुला सीमाना, धार्मिक र सांस्कृतिक सम्बन्धका कारण नेपालका मानिस भारतमा र भारतका मानिस नेपालमा काम गर्न जाने–आउने गर्छन् । त्यस्तै, वारिपारि विवाह चलिरहेकै छ ।  

शिवकान्तिका बुबा छाउनारायण चमार मजदुरी गर्न नेपाल आइरहन्थे । नेपालमा उनका थुप्रै साथीभाइ थिए । त्यसमध्ये एक थिए, रुपन्देहीको रोहणी गाउँपालिकाका  हिचियाब चमार । हिचियाब पूर्वप्रधानपञ्च हुन् ।

एक दिन हिचियाब र छाउनारायणबीच सल्लाह भयो, पारिवारिक नाता गाँस्ने । छाउनारायणले आफ्नी जेठी छोरी १२ वर्ष पुगेकी र कक्षा ५ पढेर घरमै भाइबहिनी हेरेर बसेको बताए । यता हिचियाबका छोरा हरिद्वारको विवाह भएको थिएन । यसरी शिवकान्तिको विवाह हरिद्वार चमारसँग हुन पुग्यो, २०५२ सालमा । 

यसरी शिवकान्तिको विवाह नेपालमा हुन पुग्यो । विवाहपछि पनि उनलाई काम र जिम्मेवारीले छाडेन । उनले सासू–ससुरालाई खेतबारीको काममा सघाउँथिन् । उनका श्रीमानले रोहिणी बजारमै हार्डवेयर व्यवसाय गर्छन् । 

श्रीमानले अगाडि सारे

हामीकहाँ आफू पछाडि बसेर श्रीमतीलाई राजनीतिमा अगाडि सारेको कमै पाइन्छ । अधिकांश परिवारबाट पुरुष नै राजनीतिमा अगाडि आउँछन्, महिलाहरू घरकै काम वा अन्य पेसामा लागेको देखिन्छ । शिवकान्तिलाई भने श्रीमानले अगाडि सारेका हुन् । 

शिवकान्तिका श्रीमान् हरिद्वार स्थानीय राजनीतिमा पनि सक्रिय थिए, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । हरिद्वार गाउँकै बगाह प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि भएका थिए । उनी समाजका हरेक गतिविधिमा सक्रिय हुने कारण स्थानीय स्तरमा समाजसेवीका रूपमा चिनिन्छन् । यही पृष्ठभूमिका कारण हरिद्वारको स्थानीय तहमा राम्रै प्रभाव थियो । 

०७४ को स्थानीय तहको निर्वाचनमा श्रीमतीलाई अगाडि सार्दा सफलता मिल्ने आकलन गरे, हरिद्वारले । त्यसपछि उनले त्यही अनुसार लबिङ गरे । अन्ततः शिवकान्तिले उपाध्यक्षका लागि टिकट पाइन् र विजयी पनि भइन् । ‘उहाँ (श्रीमान)को राजनीतिक पृष्ठभूमि र साथ–सहयोगले म अगाडि बढेँ,’ शिवकान्ति भन्छिन्, ‘राजनीतिमा आउनुअघि म खेतबारीको काम गर्थें ।’ 

शिवकान्तिका श्रीमान गाउँपालिकाको कुनै पद वा जिम्मेवारीमा आबद्ध छैनन् । तर, शिवकान्तिको हरेक काममा उनले साथ दिन्छन् । अहिले पनि शिवकान्तिलाई दैनिक विभिन्न कार्यक्रम स्थलमा पु¥याउने काम हरिद्वारकै हो । उनी एक किसिमले श्रीमतीको सहयोगीजस्तै छन् । ‘महिला–पुरुष एक रथका दुई पांग्रा हुन्,’ हरिद्वार भन्छन्, ‘हाम्रो परिवारमा सबै शिक्षित भएका कारण उनलाई अगाडि बढाएका हौँ । श्रीमतीलाई काममा सहयोग गर्न पाउँदा खुसी मिल्छ ।’ 

जातीय छुवाछुतमा कम हुँदै

समाजमा अधिकांश विषयको निर्धारण राजनीतिले गर्छ । सत्तामा हुनेकै समाजमा पहुँच देखिन्छ । चमार जाति नेपाल र भारतमा दलित समुदायभित्र पर्छ । भारत सरकारले भने दलित समुदायलाई अनुसूचित जातिभित्र राखेको छ । दलित भनेकै समाज र राज्यमा पछाडि पारेको समुदाय हो । 

रोहिणीमा पनि अन्य क्षेत्रमा जस्तै दलित समुदायमाथि जातीय विभेद तथा छुवाछुत थियो र छ । तर, शिवकान्ति गाउँपालिका अध्यक्ष भएपछि गाउँमा दलित समुदायलाई हेर्ने दृष्टिकोणमा केही फरक परेको छ । ‘दलितले केही गर्न सक्दैनन् । दलित भन्नासाथ फोहोरी र गरिबी हुन्छन् भन्ने सोचमा सुधार आएको छ,’ हरिद्वार भन्छन्, ‘दलित जनप्रतिनिधि हुँदा पनि केही हदसम्म दलितको समस्या कम हुने अनुभव गरेँ ।’

उनका अनुसार, पहिले यहाँ गैरदलित र दलित सँगै बसेर नखाने मात्रै होइन कुरा पनि गर्दैनथे । ‘अहिले पँधेरो एउटै चलाउन पाउँछन्,’ शिवकान्ति भन्छिन्, ‘त्यसैले पहिलेको तुलनामा अहिले जातीय छुवाछुतमा कमी आएको छ ।’ 

उनका अनुसार, जातीय विभेदमा प्रमाण नहुने हुँदा कारबाहीमा समस्या हुन्छ । बालविवाह पनि समाजमा छ तर लुकाउने गर्छन् । शिवकान्ति भन्छिन्, ‘जातका आधारमा, वर्गका आधारमा विभेद छन् तर अलि कम भएको छ ।’ 

सासूबुहारी मेलमिलाप कार्यक्रम 

यहाँको समाजमा छोरी र बुहारीलाई फरक व्यवहार गरिन्छ । धेरैजसो गाउँपालिकाभित्र सासू  र बुहारीबीच झगडा परिरहेको हुन्छ । यस सम्बन्धमा गाउँपालिकाभित्रको न्यायिक समितिमा उजुरी निकै कम आउँछन् । ‘सासूबुहारीबीच झगडा भए पनि उजुरी आउँदैनन् । त्यसैले गाउँपालिकाले दुई वर्ष अघिदेखि सासू–बुहारीको मेलमिलापको कार्यक्रम सञ्चालन गरेको छ,’ शिवकान्ति भन्छिन्, ‘यसबाट गाउँपालिकाभित्र छोरी र बुहारीलाई गरिने फरक व्यवहारमा कम हुने अपेक्षा गरेका छौँ ।’ 

गाउँपालिकामा भएको समस्या थाहा भएकाले समाजलाई मिल्दो कार्यक्रम बनाइरहेको उपाध्यक्ष बताउँछिन् । 

‘मलाई यस्ता काममा अध्यक्षज्यूबाट सहयोग नै हुने गरेको छ । म महिला भएकै कारण कुनै समस्या भोग्नुपरेको छैन,’ शिवकान्ति भन्छिन् । 

न्यायिक समितिमा मुद्दा

रोहिणी गाउँपालिकाको न्यायिक समितिमा ०७५ यता ०७८ को पुस ८ गतेसम्म ३९९ मुद्दा दर्ता भएका छन् । जसमा तीन सय ८२ छलफलमा टुंगिएका छन् । १७ मुद्दा भने जिल्ला पठाउनुपरेको उपाध्यक्ष चमार बताउँछिन् । 

२०७५ मा १०६ मुद्दा दर्ता भए, जसमा १०३ मुद्दा छलफलबाट टुंग्याइयो । तीनवटा जिल्ला पठाइएको हो । त्यस्तै, २०७६ मा दर्ता भएका १२१ मुद्दामध्ये ११६ समाधान भएका छन् भने बाँकी जिल्ला पठाइएको उपाध्यक्ष चमार बताउँछिन् । 

०७८ को पुस ८ गतेसम्म ५७ मुद्दा दर्ता भएका छन्, जसमध्ये ४७ मुद्दा समाधान भइसकेका छन् । ‘धेरैजसो जग्गा विवाद, घर झगडाको मुद्दा आउँछन्,’ उनी भन्छिन्, ‘महिला आफैं उजुरी गर्न आउन अझै डराउँछन् । त्यसैले गाउँपालिकाभित्रका महिलालाई हिंसाविरुद्ध आवाज उठाउन सिकाइरहेका छौँ ।’ 
 

प्रकाशित मिति: ११:५२ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्