त्यसपछि लक्ष्मी र आवाजबीचको नाता टुट्यो
उनीहरूका दुई छोरी छन्– निकिता र नृपा। उनीहरू दुवैजना दोभासे हुन्। अहिले लक्ष्मी कालोपुलमा बस्छिन्, उनका श्रीमान् पछिल्लो १६ वर्षदेखि अमेरिकामा छन्।काठमाडौं, पुस ९ : नौ वर्षकी हुँदा लक्ष्मी महर्जनलाई एक्कासि ज्वरो आयो र टाइफाइड हुन पुग्यो। उनी महिना दिनसम्म थलिइन्। बिस्तारै टाइफाइड त निको भयो, तर उनले कान सुन्न छाड्दै गइन्। तैपनि एक वर्षसम्म उनलाई आफन्तले अस्पतालदेखि धामीझाँक्रीसम्म पुर्याए। अन्ततः वीर अस्पतालका चिकित्सकले उनलाई भने भने– तिम्रो कानको जाली फुटिसक्यो, अब तिमीले कान सुन्न सक्दिनौ।
कानै नसुन्ने ? आवाजको दुनियाँदेखि पर हुने ? उनी स्तब्ध भइन्। अस्पतालभित्रै चिच्याएर रोइन्। त्यतिबेला उनी नाै वर्षकी थिइन्, अहिले ५३ पुगिन्। आज सांकेतिक भाषामा ४४ वर्षअघिको घटना सुनाउँदै गर्दा उनका गह भरिएका थिए। उनको सांकेतिक भाषालाई नेपालीमा अनुवाद गर्दै थिइन्, आकृति न्यौपानेले।
बिस्तारै लक्ष्मीले कान सुन्न छाडिन्। त्यसपछि उनको परिचय नै फेनि थाल्यो। उनको भाषा बदलियो। जीवन नै अर्कोे हुन पुग्यो।
‘कक्षा ३ मा पढ्दापढ्दै कान नसुन्ने भएकी थिएँ,’ उनी भन्छिन्, ‘कान सुन्न छाडे पनि म पढिरहेको स्कुलले पढिरहेको विद्यार्थी भनेर पढायो। तर, त्यहाँ कक्षा ७ सम्म मात्रै पढाइ हुन्थ्यो। म त्यसभन्दा माथि पढ्न चाहन्थेँ, त्यतिबेला बहिरालाई अध्ययन गराइँदैन, शिक्षक छैनन् भनेर दुई–तीनवटा विद्यालयले भर्ना लिएनन्।’
काठमाडौं डल्लुकी उनले वसन्तपुरस्थित नवआदर्श माविमा कक्षा ७ सम्म पढिन्, त्यसपछि उनको शिक्षाको सपना चुँडियो। आफूलाई पढ्न मन लागेको कुरा उनले घरमा बुवाआमालाई पटक–पटक सुनाइरहिन्। परिवारले मात्र नभई उनका आफन्तले पनि उनलाई पढाउन पहल गर्न थाले। तर, कतै उनको भर्ना हुन सकेन। त्यतिबेला कान नसुन्नेलाई अध्ययन गराउने खासै प्रचलन थिएन।
कान नसुन्ने भएपछि उनले बिस्तारै बोल्न पनि नसक्ने भइन्। आफ्ना भावना र विचार व्यक्त गर्न उनले कि लेखेर दिनुपथ्र्यो कि त सांकेतिक भाषा सिक्नुपर्ने भयो। उनका लागि सांकेतिक भाषा र सीप सिकाउने ठाउँ खोज्न थालियो।
नक्सालमा रहेको ‘बहिरा स्कुल’ (जसको नाम उनले भुलिन्) मा उनले सांकेतिक भाषासँगै सीपमूलक तालिम लिन थालिन्। ‘त्यहाँ (बहिरा स्कुल) जाँदा म १५ वर्षकी भइसकेकी थिएँ,’ उनले भनिन्, ‘जसरी पनि पढ्छु भन्ने ढिपीले त्यहाँसम्म पुग्ने अवसर मिल्यो। त्यति बेला मेरो खुसीको सीमा थिएन।’
मनमा रहरहरू पलाउने बेला श्रवणशक्ति गुमाएकी उनले तनमा बैंसले घर गर्ने बेला नयाँ जीवन वा दोस्रो परिचय बनाउन थालिन्। बहिराको परिचयपत्र लिइन्। त्यस अघिसम्म उनलाई झिनो आशा थियो– निको हुन्छ कि, सुन्न सक्छु कि भन्ने। परिचयपत्र नै बहिराको बनाएपछि, थुप्रै बहिराहरूलाई भेटेपछि आफू सधैँका लागि बहिरा भएको उनले स्विकार्न पुगिन्।
मासिक तीन सय रुपैयाँ शुल्क तिरेर सिलाइकटाइको तालिम पनि लिइन् उनले। ‘लामो समय गार्मेन्टमा काम गरेँ,’ उनी भन्छिन्, ‘बहिरा भएपछि अब जिन्दगी सकियो भन्ने लागिसकेको थियो, आत्मनिर्भर हुन थालेपछि आफ्नो वास्तविकतालाई स्वीकार गर्दै गएँ, जीवनलाई सहज रूपमा लिन थालेँ।’
नयाँ मोड
गार्मेन्टका काम गर्ने क्रममा डिल्लीबजारका निर्मल देवकोटासँग उनको भेट भयो। यी दुई एकअर्काको प्रेममा परे। निर्मल पनि सुन्न र बोल्न सक्दैनन्। यी दुवैको दुःखसुख मिल्थ्यो, भावना मिल्थ्यो तर जात मिल्दैनथ्यो। दुवैले घरमा मनाउनुपर्थ्याे।
‘घरकी जेठी छोरी भएकीले भागेर विवाह गर्न चाहन्नथेँ,’ लक्ष्मी भन्छिन्, ‘मैले आफू प्रेममा परेको कुरा घरमा आमालाई भनेँ। ऊसँग विवाह गर्न चाहेको पनि बताएँ।’
जात नमिल्ने भएकाले उनका बुवाले उनीहरूको बिहे गरिदिन मानेनन्। त्यसपछि लक्ष्मीले आमालाई सम्झाउन थालिन्। अन्ततः उनकी आमा राजी भइन्। उता निर्मलले पनि आफ्नो घरका सदस्यलाई जसोतसो मनाए। यसरी यी दुईको विवाह भयो, ३२ वर्षअघि।
‘आमाले बुवालाई मनाउनुभयो, अन्ततः बुवा हाम्रो बिहेका लागि राजी हुनुभयो,’ उनी भन्छिन्, ‘तपाईं आफैँ सोच्नुस्, ३२ वर्षअगाडि अन्तर्जातीय विवाह गर्न कति कठिन थियो होला, मैले त युद्ध नै जितेकी हुँ।’
उनीहरूका दुई छोरी छन्– निकिता र नृपा। उनीहरू दुवैजना दोभासे हुन्। अहिले लक्ष्मी कालोपुलमा बस्छिन्, उनका श्रीमान् पछिल्लो १६ वर्षदेखि अमेरिकामा छन्।
निर्मलले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ खोले, २०५३ मा। बहिराका समस्या सुन्न, समाधान खोज्न निर्मलले यो संघ खुलेका हुन्। रातोपुलस्थित यस संघकी अध्यक्षमा विगत १० वर्षदेखि लक्ष्मी महर्जन देवकोटा छन्। विवाहपछि लक्ष्मीले महर्जनपछाडि देवकोटा लेख्न थालिन्।
‘बहिराहरू धेरैजसो काम तथा रोजगारी चाहियो भन्दै आउँछन्,’ अध्यक्ष देवकोटा भन्छिन्, ‘बहिराका अथाह समस्या छन्, सुन्ने सम्बन्धित निकाय छैनन्।’
संघलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगै दातृ निकाय (कोरियन परियोजना, जोया फाउन्डेसन आदि) ले सहयोग गरिरहेको लक्ष्मी बताउँछिन्।
उनको संस्थामा अहिले एक सय ३० जना बहिरा सदस्य छन्। उनीहरूको समस्या र पीडा सुन्दा उनलाई सरकारले केही गर्न नसकेको अनुभव हुन्छ।
र, याे पनि