Kathmandu Press

‘महिलाको एकतिहाइ प्रतिनिधित्वले सभापति जितिँदैन, हामीले क्षमता देखाउन पाएनौँ’ 

महिला पदमै छैनन्, संगठनको मूल मियोभित्रै छैनन् । सदस्य, कोषाध्यक्षमा मात्र सीमित छन् । जसकारण महिला नेतृले आफ्नो योग्यता र क्षमतालाई सेयर गर्न पाएका छैनन् ।
‘महिलाको एकतिहाइ प्रतिनिधित्वले सभापति जितिँदैन, हामीले क्षमता देखाउन पाएनौँ’ 

काठमाडाैं, मंसिर २५ : नेपालको इतिहासमा नेपाली कांग्रेस पार्टी स्थापना भएको नै २००३ सालमा हो । स्थापनाको ७५ वर्षमा टेकिरहँदा १४औं महाधिवेशनको संघारमा उभिएका छौं । यी सबैलाई नियाल्दा हामीले सम्झनैपर्ने महिला नेतृत्वमा पर्नुहुन्छ, मंगलादेवी सिंह । उहाँले २००४ सालमा महिला संघको स्थापना गरेर महिला नेतृत्वमा आउनुपर्छ भनेर महिलाको राजनीतिक अधिकारका लागि लड्नुभएको थियो।

अर्को हुनुहुन्छ, द्वावारिकादेवी ठकुरानी, उहाँले कांग्रेसबाट २०१५ सालको आम निर्वाचनमा चुनाव जित्नुभएको थियो । उहाँ पहिलो महिला स्वास्थ्य सहायक राज्यमन्त्री हुनुभयो । त्यस्तै, उपसभापति बन्नुभएकी सुजाता आचार्यले पार्टी तथा सरकारभित्रका विकृति, विसंगतिभित्रको विरुद्धमा पनि लड्नुभएको थियो। 

त्यस्तै, चित्रलेखा यादव पार्टीको उपसभामुख, कोषाध्यक्ष हुनुभयो। अहिलेसम्मको सेरोफेरोमा नेपाली कांग्रेसमा महिला नेतृको सहभागिताको घटना यही हो । कोषाध्यक्षसम्म सीमित भएका हामीलाई अब सहमहामन्त्रीको पदभित्र पनि प्रतिस्पर्धा देखिने भएको छ । विधान फेरिएको छ, प्रतिनिधित्व बढेको छ, तर नेतृत्व सीमित मात्रामा छ । खासै परिवर्तन भएको छैन। 

Hardik ivf

मेरो राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु भयो । २०३६ सालको जनमत संग्रहमा विद्यार्थीका रूपमा नेपाल विद्यार्थी संघमा आबद्ध थिएँ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता कांग्रेसका विचारबाट प्रभावित भएँ । विद्यार्थी संघ हुँदै महिला संघ, तरुण विभागमा पनि काम गरेँ । नेपाली कांग्रेसमा काम गर्दै आज नेपाली कांग्रेसको केन्द्रीय सदस्य, महिला संघको पूर्वअध्यक्ष पनि भएँ । धेरै अप्ठेरा आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेकी छु । नीति निर्णायक तहमा पुग्नका लागि भने गाह्रो छ। 

यसपालिको महाधिवेशनमा मैले व्यक्त गरेको आकांक्षा सह–महामन्त्री हो । अरु आकांक्षी पनि हुनुहुन्छ । तर, यो यात्रालाई कसरी अघि लैजाने भन्ने विषयको विमर्श बाँकी नै छ । एउटै पदका लागि मारामारी गर्ने कि अन्य विकल्प अपनाउने, त्यसबारे निर्णय हुन बाँकी छ । मेरो आकांक्षा देशभरिका महिला दिदीबहिनी, जसको म अभिभावक बनेँ, अध्यक्ष बनेँ, उनीहरुका लागि हो । जहाँ मंगलादेवीले महिला जागरण छेड्नुभयो, त्यही संस्थाको अध्यक्ष भएँ, मैले आफ्नो पदको दायित्व पनि पूर्ण रूपमा निर्वाह गरेँ । यी विविध कारण पनि अबको मेरो आकांक्षा सह–महामन्त्री पदको छ। 

महिला नेतृको अवस्था राम्रै छ । प्रतिनिधित्वको सवालमा एक तिहाइको व्यवस्था संविधान तथा विधानमै छ । तर, ‘फस्ट म्यान’ भन्छौँ नि ‘सभापति’ जोबिना पार्टी अघि बढ्न सक्दैन, त्यसमा भने महिलाले स्थान पाउन सकेका छैनन् । कहीँ पनि हामीले महिला सभापति पाएनौं । न जिल्ला सभापति, न त नगर वा क्षेत्रीय सभापति नै। 

महाधिवेशनमा महिला सभापतिका लागि प्रतिस्पर्धा पहिलेदेखि राखिएको छैन । महिला समक्ष छन्, योग्यता छ, लगानी छ, सिनियर पनि छन् तर अझै उक्त पदतर्फ हाम्रो पाइला बढ्न सक्ने अवस्था देखिएको छैन।

महिला युवा नेतृहरू थुप्रै हुनुहुन्छ । तर, पद पाए न योग्यता र क्षमता देखाउन सकिन्छ, पदबेगर कहाँ योग्यता, क्षमता देखाउने ? महिला पदमै छैनन्, संगठनको मूल मियोभित्रै छैनन् । सदस्य, कोषाध्यक्षमा मात्र सीमित छन् । जसकारण महिला नेतृले आफ्नो योग्यता र क्षमतालाई सेयर गर्न पाएका छैनन्। 

हाम्रो संविधानमै महिलालाई एकतिहाइको स्थान दिइएको छ । महिला प्रतिनिधित्वमा मात्रै सुनिश्चित भएका छन् । पदाधिकारीमा प्रतिस्पर्धा गरेर आउनुपर्छ ।  प्रतिस्पर्धाका लागि एक तिहाइको भोटले मात्र पुग्दैन । सोही कारण महिलालाई प्रतिस्पर्धा गरेर आउन गाह्रो छ। 

आरक्षण कोटामा एउटै अनुहार दोहोरियो भन्ने विषयमा मेरो केही कमेन्ट छैन । कारण, प्रतिस्पर्धामा सबैलाई खुला राखेपछि को आरक्षणमा आए, को कुन तरिकाले आए भन्नुभन्दा पनि प्रतिस्पर्धाको कसौटीमा उभिनुपर्छ । हामी संघारमा आइसक्यौं, अब यस्ता कुराले कुनै अर्थ राख्छ जस्तो मलाई लाग्दैन । जसले आफूलाई अगाडि ल्याउन सक्नुहुन्छ, उहाँ आउनुहुन्छ । यस्ता कुरालाई मुद्दाका विषय बनायौं भने हामी अघि बढ्न सक्दैनौं। 

(कांग्रेस नेतृ संग्रौलासँग काठमाडौं प्रेसकर्मी प्रबिता श्रेष्ठले गरेको टेलिफोन वार्तामा आधारित ।)

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?