Kathmandu Press

‘को अनूप’लाई एक पाठकको आँखाबाट हेर्दा

शर्माको पछिल्लो कृति ‘को अनूप’ भित्र जिवन, संघर्ष, सम्बन्ध, देशप्रेम, राष्ट्रियता, विगत, वर्तमान सबै अटाएको छ। संग्रह पढ्दै जाँदा बहु आयामका पाटाहरु फेला पर्दछन्।
‘को अनूप’लाई एक पाठकको आँखाबाट हेर्दा

पूर्व प्रधानन्यायाधीश एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्व अध्यक्ष अनूप राज शर्माको दोस्रो कृतिका रुपमा ‘को अनुप ?’ प्रकाशित भएको छ। सर्जकको बिषयमा धेरै परिचय दिइरहनु पर्दैन– न्याय र मानवअधिकारको क्षेत्रमा पु¥याएको योगदान यसै पनि विशिष्ट छ। 

पुस्तक प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारलगायतका अनेक अयाम बोकेर आएको छ। 

पुस्तक राजनीतिक एवम् ऐतिहासिक घटनाक्रमले रोचक र घोचक मात्र नभै ज्ञानबद्र्धक पनि छ। पुस्तकमा शर्माका आत्मस्वीकृतिमूलक तथ्यहरु पनि पढ्न पाइन्छ। उनले शुरुवातमै आफु अर्थविद् वा योजनाविद् नरहेको बताएका छन्। तर विकासका उपलब्धीहरुमा आम नागरिकको पुहँच हुनुपर्छ र त्यो न्यायोचित पनि हुनुपर्दछ भन्ने धारणा राख्ने सामान्य मानिस रहेको स्विकारोक्ति राखेका छन्। 

Hardik ivf

कृतिमा आफ्नी माता राजबाला शर्मा लगायत थुप्रै यस्ता पात्रहरुको चर्चा छ, जसका बारेमा अधिकाँसलाई जानकारी नै थिएन। नयाँ पुस्तालाई त झन् थाहा हुने कुरै भएन। आफ्नो बाल्यकालको वर्णन र आफ्ना साहित्यकार एवम् अग्रज पत्रकार रहेका बाबु केशवराज पिंडालीप्रतिको लगाव शर्माले मार्मिक रुपमा प्रश्तुत गरेका छन्। शर्माले आफ्ना पिताजीको स्मरण गर्दै एक ठाउँ भनेका छन्– ‘...जीवनसँग मलाई खासै गुनासो छैन। जे जति र जसरी मेरा अन्तरकुन्तर र चरित्रको निर्माण भयो त्यो प्रायः सबै मेरा प्रयास र मेरा अनुवांशिक गुणले भएको जस्तो लाग्छ। जीवनको ८० वर्षमा मेरो स्वभाव बिस्तारै मेरा बाबा केशवराज पिँडालीसँग मिल्न गएको हो कि जस्तै लाग्दछ।’ 

शर्माले आफ्नो जन्म असन बालकुमारी काठमाडौंमा भए पनि अधिकाँस समय भारतको उडिसामा बितेको बताएका छन्। आफ्ना पिता भारत उडिसा राज्यको युवरानीका कारिन्दामा गएको, त्यहाँका युवराजसँग मोहनसमशेरको कान्छी छोरीको विवाह भएको, परिवारमा आफ्ना मातापितासँगै एकसाथ बाल्यकाल विताएको कथावस्तु औधी रोचक छ। आमा र दिदीको जेल जिवनसँगै २०१७ सालमा राजा महेन्द्रलाई देखाएको कालो झन्डाको वृत्तान्तले कौतुहलता सिर्जनासँगै इतिहासलाई जिवन्त रुपमा पाठकमा आँखा अगाडी ल्याइदिएको छ। 

२०१७ साल फागुन ७ गतेका दिन ‘कालो झन्डा पर्व’ लेखक शर्मासमेत सामेल भई त्रिचन्द्र र पद्यकन्याका विद्यार्थीले गरेको ज्ञात समेत पाठकलाई पुस्तकले दिलाउँछ। जस्को योजना शर्माले तक्षबहाल, असन डेराको भान्छा कोठामा बनाएको भनेर घटनाक्रम खुलाएका छन्। योजना अनुसार शैलजा आचार्य, विजया, कुन्दन (शर्माकी दिदी) र अरू दुईतीन जनाले कालो पछ्यौरी ओड्ने, ठिक साढे एघार बजे टुँडिखेलको खरीको बोटमा जुलुसमा सामेल भएर कालो झन्डा देखाउने र महेन्द्रविरुद्ध नारा लगाउने निर्णय गरिएको ऐतिहासिक घटना संस्मरणमा उल्लेख भएको छ। 

कालो झण्डा देखाउने योजना बमोजिम जुुलुस राजा महेन्द्रको अघि पुगेपछि पद्यकन्याका चारपाँच जना छात्राले पछ्यौरी हटाई कालो झन्डा देखाएर ‘राजा महेन्द्र मर्दावाद !, प्रजातन्त्रका हत्यारा राजा मुर्दावाद !’ नारा लगाए। त्यसपछि भागदौड मच्चियो। जुन् घटनापछि राजा महेन्द्र भागेर दरबारतिर लागे। खरीबोटको मञ्च पनि खाली भयो।

शर्माले पुस्तकमा आमा राजबाला शर्मा र मंगलादेवी सिंह ‘जनाना जेल’ मा सँगै रहेको प्रसङ्ग पनि राखेका छन्। मङ्गलादेवीले नै शर्मालाई गणेशमान सिंहको मुद्दा लड्न भनेकी हुन्। करिब एघार वटा वारदातमा विशेष अदालतमा सरकारले मुद्दा चलायो। अदालतमा न्यायाधीश थिए जनकमान श्रेष्ठ। मुद्दाको बयानमा गणेशमानले ‘राजाले भने’ भनेपछि न्यायाधीशले ‘हजुर यसमा श्री ५ बाट भनिबक्स्यो लेखौं ?’ भनेर सोधे।

त्यसपछि ‘यो बयान मेरो कि तपाईंको ?’ भनेर गणेशमानले प्रतिप्रश्न गरे। न्यायाधीश श्रेष्ठबाट ‘यो बयान हजुरको हो’ भन्ने जवाफ आयो। त्यसपछि गणेशमानले ‘त्यसो भए म जे भन्छु त्यही लेख्नुहोस्’ भने। यस्ता चट्टानी अडानकाकारण गणेशमान लौह पुरुष रहेको ठहर शर्माको छ। यी ऐतिहासिक प्रसङ्गहरुले पुस्तकलाई थप स्वादिष्ट बनाएका छन्। २०४६ सालमा निरङकुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै प्रजातन्त्रको पुनरबहाली भयो। कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले नयाँ संविधान जारी ग¥यो। हिजो पञ्चायती व्यवस्थामा काँग्रेस प्रतिवन्धित हुँदा चाक्सीबारीका सारा मुद्दा आफुले हेरे पनि बहुदलपछि गणेशमानले आफुलाई चिन्न नसकेकोप्रति शर्माको आक्रोशपूर्ण अभिव्यक्ति र गुनासो समेत छ। 

एक प्रसङ्गमा शर्मा लेख्छन्, ‘हिजोसम्म दलहरु प्रतिवन्धित रहँदा चाक्सीबारीको सारा मुद्दा त्यही अनूप राज शर्माले हेर्यो। अब आज बहुदल आएपछि ‘को अनूप ?’ भयो। लौहपुरुष भनाउँदाको यो चाला देखेर मलाई अब चाक्सीबारी र नेपाली काँग्रेससँग वितृष्णा भयो।’ जुन प्रसङगबाट संस्मरणको शीर्षक राखिएको हो कि भन्ने आभाष झल्किल्छ। आक्रोश काँग्रेससँग मात्र छैन, पछिल्लो पुस्ताका सबै प्रमुख दलका नेताप्रति पनि पनि छ। 

साथमा, २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ पछिका राजनीतिक घटनाक्रम, निरङ्कुश पञ्चायती व्यवस्थाको प्रताडना, राजनीतिक र कानुनी संघर्ष, काठमाडौंका दश पुस्तेको उडिसा आप्रबासन, चाख्सीबारीप्रतिको मोहभङ्ग, टुँडीखेलको ऐतिहासिक खरीबोट, गणेशमान सिंहको बयान जस्ता घटनाक्रम पढ्दा कुनै फिल्मको रिल घुमे झै पाठकको मानसपटलमा इतिहासको चक्र घुम्दछ।

एक ठाउँमा लोकतान्त्रिक मुलुक भारतले कहिले पनि नेपाललाई बलियो बनाउन जानिबुझी ध्यान नदिएको भनाई शर्माले राखेका छन्। लोकतान्त्रिक शक्ति बलियो भयो भने स्वभाविक र समान व्यवहार भारतसँग खोज्ने भएका कारण भारतबाट हरेकपल्ट भएका क्रान्ति तुहाइएको धारणा पनि शर्माले राखेका छन्। 

शर्माको पुस्तकमा एक ठाउँमा नेपालमा नेवारी संस्कृति, भाषा ध्वस्त पार्नुमा राणा र दरबारको ठूलो हात रहेको चर्चा समेत पाइन्छ। शर्मा लेख्छन्, ‘नेपाल नामले नै काठमाडौं उपत्यकालाई जनाउने गर्दथ्यो। नेवारी भाषाको आधिकारिक नाम नेपाल भाषा नै हो। नेवारी समुदायका कला, साहित्य ध्वस्त पार्नै चाललाई महेन्द्रले बढाए।’   

संस्मरणको एउटा सन्दर्भमा आफ्ना मामा मधु शर्मासँग ल फर्म खोल्न तयारी छाडेर घिमिरे एन्ड कम्पनीमै बस्ने निधो जीवनको सबभन्दा ठुलो गल्ती भएको पश्चात्ताप पनि शर्माले गरेका छन्। ‘राइजिङ नेपाल’ अंगे्रजी पत्रिकामा जागिर पक्का भए पनि दरबारियाको नजरमा आफ्ना पिताजी ‘अराष्ट्रिय तत्व’ भएको र आफु पिँडालीको छोरा भएका कारण नपाएको सन्दर्भ पनि शर्माले बाहिर ल्याएका छन्। जुन् घटनाले शर्माले जीवनमा नयाँ मोड ल्याइदिएको छ। पछि कानुनव्यवसायतिर मोडिएर वरिष्ठ अधिवक्ता हुँदै मुलुकको प्रधानन्यायाधीश र मानवअधिकार आयोगको अध्यक्ष समेत बन्न पुगे। 

शर्माले साहित्य र मानव अधिकारबिच अन्योन्याश्रित सम्बन्धको चर्चा समेत पुस्तकमा  पाइन्छ। यस्ता अनेक घटनाक्रमको एक एक गुच्छा उनेर कृति तयार भएको छ। पैरवी बुक हाउस प्रालिले प्रकासमा ल्याएको उक्त कृतिको मूल्य ५२५ राखिएको छ।

अहिलेको बजार महंगी अनुसार सर्वसाधारण पाठकको गच्छेलाई ध्यानमा राखेर पुस्तकको मूल्य स्वभाविकै रहेको मान्नुपर्छ। शर्माको पछिल्लो कृति ‘को अनूप’ भित्र जिवन, संघर्ष, सम्बन्ध, देशप्रेम, राष्ट्रियता, विगत, वर्तमान सबै अटाएको छ। संग्रह पढ्दै जाँदा बहु आयामका पाटाहरु फेला पर्दछन्। पुस्तक राजनीति, इतिहास, जिवनी, साहित्य, कानून, न्याय, मानवअधिकारलगायत सबै क्षेत्रका जिज्ञासु पाठकका लागि उपयोगी हुने देखिन्छ। 

प्रधानन्यायाधीश र राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षबाट सेवानिवृत्त भएपछि शर्माले आफ्नो विशिष्ट परिचयमाथि साहित्य लेखनीमार्फत् अर्को नयाँ परिचय थपेका छन्। प्रसिद्ध साहित्यकारद्वय डा.अभि सुवेदीको समिक्षात्मक भूमिका लेखन, कृष्ण धरावासीको दृष्टिकोणले पुस्तक थप ओजिलो बन्न पुगेको छ। जीवन न्यौपानेको शिलशिलाबद्ध अनि सन्देशपूर्ण अभिव्यक्तिले शर्माको बहुआयामिक व्यक्तित्व बुझ्न सजिलो पारेको छ।

भूमिकाको आखिरीमा साहित्यकार अभि सुवेदी लेख्छन््, ‘सारांशमा यो अनूपराज शर्माको संस्मरणले निजी कथा, मानव अधिकारका समस्या र तिनको निराकरणका उपाय, प्रजातन्त्र र त्यसको प्रयोग र कर्ताहरूका व्यवहार र आचरणलाई जोडेको छ। यस संस्मरणमा नेपालका वरिष्ठ कानुन व्यवसायी र राजनीतिज्ञका चित्र आउँछन्। समाज र यसको गतिका वर्णन आउँछन्। यसको विषयमा यति नै लेख्नु उपयुक्त होला। यो संस्मरणमा निजी र आमकथाको सहज सङ्गम भएको छ। व्यक्ति, समय, राजनीति, कानुन र मानव अधिकार, अथवा बाह्य र निजी जीवनको यस संस्मरणमा गरिएको समागम नै ‘को अनूप?’ को सामथ्र्य र गतिशीलता हो।’  

सारमा ‘को अनूप’ आम पाठकका निम्ती एक संग्रहणीय कृति हुनसक्छ। प्रस्तुतिगत शिल्पले पाठकलाई समातेको छ। संस्मरण नयाँ शैलीबाट अघि बढेको अनुभव मिल्दछ। परम्परा भन्दा आफ्नै शैली र फरक धारमा लेखेर अलग परिचय बनाउने यत्न गरिएको छ। वास्तवमा कृतिमा जुन् आँखाले हेर्यो त्यही चिज भेटिन्छ। न्याय र मानवअधिकारका क्षेत्रमा पाएको विशिष्ट सफलता जस्तै लेखनमा पनि सिद्धहस्त शव्द शिल्पी पाइन्छन्। पुस्तकको भाषा शैली सरल, सहज र सटिक छ। 

सारमा, कृति सबैको साझा सम्पत्तिका रुपमा बजारमा आएको छ। आशा गरौं, सबै खाले पाठकको उचित माया मिल्ने छ।  

 

प्रकाशित मिति: १४:०४ बजे, शनिबार, जेठ ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्