राष्ट्रिय युवा परिषद् : अब भागबण्डा होइन, क्षमता खोजौँ
हामीले देखेको परिषदको नेतृत्व प्रायः क्षमता, दृष्टिकोण र अनुभवका आधारमा होइन, राजनीतिक भागबण्डाको आधारमा तय हुँदै आयो । नेतृत्व परिवर्तनसँगै प्राथमिकता पनि बदलियो, तर युवाको वास्तविक अवस्थामा भने खासै परिवर्तन भएन ।
नेपालको भविष्यको कथा लेख्ने शक्ति यदि कसैसँग छ भने, त्यो युवासँग मात्र छ । तर दुर्भाग्य, हामीले यो शक्तिलाई अझै पनि सही ढंगले बुझ्न र उपयोग गर्न सकेका छैनौँ । युवा केवल उमेरको एउटा समूह होइनन् उनीहरू सम्भावनाको ज्वाला हुन्, परिवर्तनको ऊर्जा हुन्, र नयाँ नेपालको खाका कोर्ने सक्ने परिवर्तनका संवाहक हुन् । आजको विश्वमा जसले युवालाई सही दिशा दियो, त्यही राष्ट्र अघि बढेको छ र त्यो राष्ट्रले नै आर्थिक समृद्धि विकासको बाटोमा लम्किरहेको छ । जसले युवालाई उपेक्षा गर्यो, त्यो देश पछाडि परेको उदाहरणहरु धेरैै छ, नेपाल आज यही गन्तव्य तर्फ लम्किरहेको छ ।
देशको करिब आधा जनसंख्या युवाहरूले ओगटेको छ । यो केवल तथ्याङ्क होइन, यो ऐतिहासिक अवसर होे । “जनसांख्यिक लाभ” को यस्तो अवस्था बारम्बार आउँदैन । यदि सही नीति, योजना र नेतृत्वमार्फत परिचालित भयो भने नेपालले छोटो समयमै विकासको बाटो तर्फ लम्कन सक्छ । तर यदि यो अवसर खेर गयो भने, यही शक्ति चुनौतीमा बदलिन सक्छ, बेरोजगारी बढ्छ, युवा पलायनमा बृद्धि हुन्छ र मुलुक थप निराशाता तर्फ अगाडी बढ्छ ।
युवा केवल उमेरको समूह होइन, उनीहरू ऊर्जा, सृजनशीलता र परिवर्तनका प्रमुख वाहक हुन् । विश्वका धेरै देशहरूले १५ देखि ३५ वर्ष उमेर समूहलाई युवा मान्ने गरेका छ तर संयुक्त राष्ट्रसंघले १५–२४ वर्षलाई युवा भनि परिभाषित गरेको छ । नेपालको सन्दर्भमा करिब ४२.५६ प्रतिशत जनसंख्या युवा छन्, जुन “जनसांख्यिक लाभ” को सुनौलो अवसर हो । सही नीति र अवसरमार्फत यही शक्तिलाई उपयोग गर्न सके नेपालले छिट्टै विकासको नयाँ उचाइ हासिल गर्न सक्छ । नेपालमा “राष्ट्रिय युवा परिषद् ऐन, २०७२” अनुसार १६–४० वर्षलाई युवा मानिएको थियो भने हाल “राष्ट्रिय युवा नीति–२०८२” ले १८–३५ वर्षलाई युवा भनि परिभाषित गरेको छ । यसअनुसार करिब ३० प्रतिशत भन्दा बढी जनसंख्या युवा वर्गमा पर्छ । यो केवल तथ्याङ्क होइन, यो नेपालको सबैभन्दा ठूलो शक्ति, सम्भावना र भविष्यको आधार हो ।
यही सन्दर्भमा राष्ट्रिय युवा परिषदको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । यो संस्था युवाको सपना, योजना र सम्भावनालाई नीति र कार्यान्वयनमा रूपान्तरण गर्ने एउटा सशक्त माध्यम बन्नुपर्ने हो । तर विगतका अनुभवले फरक यर्थाथपरक कथा सुनाउँछ । हामीले देखेको परिषदको नेतृत्व प्रायः क्षमता, दृष्टिकोण र अनुभवका आधारमा होइन, राजनीतिक भागबण्डाको आधारमा तय हुँदै आयो । नेतृत्व परिवर्तनसँगै प्राथमिकता पनि बदलियो, तर युवाको वास्तविक अवस्थामा भने खासै परिवर्तन भएन ।
प्रश्न सरल छ, तर गम्भीर पनि,
के परिषदले साँच्चै युवाको जीवनमा परिवर्तन ल्यायो ?
के बेरोजगार युवाले अवसर पाए ?
के सीप खोजिरहेका युवाले सहि गन्तव्य पाए ?
के विदेश जान बाध्य युवाले देशमै सम्भावना देखे ?
यी प्रश्नहरूको उत्तर खोज्दा, धेरैजसो अवस्थामा मौनता भेटिन्छ । यहि नै आजको निकै ठुलो बिडम्बना हो । परिषद धेरै पटक कार्यक्रम र औपचारिकतामा सीमित भयो । पहुँच भएका केही व्यक्तिहरू लाभान्वित भए, तर गाउँका, दूरदराजका, संघर्ष गरिरहेका हजारौँ युवाहरूको आवाज त्यहाँसम्म पुग्न सकेन् । उनीहरूका सपना नीतिमा लेखिएन, योजनामा समेटिएन, र जन कार्यान्वयन त परको कुरा भयो । बर्तमान मन्त्रीमण्डलमा २ तिहाई भन्दा माथि युवाले नै मन्त्रालय समारिरहेका छन् यो निकै सुन्दर पक्ष हो र अव राष्ट्रिय युवा परिषदमा पनि सहि र क्रियाशिल नेतृत्व चयन गरी दिशाबोध गरौं । यही कारण आज एउटा गम्भीर प्रश्न उठेको छ, के राष्ट्रिय युवा परिषद साँच्चै युवाको संस्था होरु कि यो केवल राजनीतिक सन्तुलन मिलाउने अर्को प्लेटफर्म हो ? अब समय आएको छ, यो प्रश्नबाट भाग्ने होइन, यसको सामना गर्ने ।
परिषदलाई पुनर्जीवित गर्न सबैभन्दा पहिले आवश्यक छ—सोच परिवर्तन । त्यो सम्भव मात्र बालेन सरकार र युवा मन्त्रीबाट सम्भव छ । हामीले “को हाम्रो मान्छे ?” भन्ने सोच त्यागेर “को सक्षम छ ?” भन्ने कुरालाई मनन गर्दै योग्य र युवाका क्षेत्रमा क्रियाशिल व्यक्तिलाई नेतृत्वमा लान पहल गर्नुपर्छ । अनि मात्र परिषदले खासमा युवाको, आशा र सम्भावनाको लागि काम गर्न सक्छ । नेतृत्व अब पहुँचको पुरस्कार होइन, जिम्मेवारीको आधारमा चयन हुनुपर्छ । यस्तो नेतृत्व चाहिन्छ, जसले युवाका आवश्यकता र मागलाई महसुस गर्न सकोस् । जसले गाउँमा बसेर अवसर खोजिरहेको युवकको कथा बुझ्न सकोस् ।
जसले विदेशिन बाध्य युवाको आँखामा रहेको देश प्रेम र त्याग बुझ्न सकोस् र जसले आफ्नै देशमा केही गर्न चाहेर पनि अवसर नपाएको युवाको निराशा अनुभूति गर्न सकोस् । अनिमात्र कागजी योजनामा मात्र नभई बर्तमानमा नै परिवर्तन ल्याउन सक्षम हुन्छ । सक्षम नेतृत्वको अर्को चिनारी हो—दृष्टिकोण । केवल कार्यक्रम घोषणा गरेर हुँदैन, त्यसको प्रभाव सुनिश्चित गर्न सक्ने रणनीति आवश्यक हुन्छ । आज युवालाई तालिम दिइन्छ, तर तालिमपछि के ? रोजगारीको ग्यारेन्टी कहाँ छ ? स्टार्टअपको कुरा गरिन्छ, तर लगानी, मार्गदर्शन र बजार पहुँच कसरी सुनिश्चित हुन्छ ?
यदि परिषदले यस्ता प्रश्नहरूको उत्तर दिन सक्दैन भने, यसको औचित्य नै कमजोर हुन्छ । डिजिटल युगमा परिषदले आफ्नो काम गर्ने तरिका पनि बदल्नैपर्छ । पारदर्शिता र जवाफदेहिता अब विकल्प होइन, आवश्यकता हो । अनलाइन प्रणाली, खुला डेटा, सार्वजनिक नतिजा—यी केवल प्रविधि होइनन्, आम जनतासँग विश्वास निर्माण गर्ने माध्यम हुन् । त्यसैगरी, समावेशितालाई परिषदले केन्द्रमा राखि काम गर्नुपर्दछ । नेपाल विविधताको देश हो, र यहाँका युवाहरू पनि विविध छन् । महिला, दलित, आदिवासी, मधेसी, दुर्गम क्षेत्रका युवा, यी सबैको आवाज समान रूपमा सुनिनुपर्छ । जबसम्म सबै समेटिँदैनन्, तबसम्म विकास अधुरो नै रहन्छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको न्यायोचित युवा सहभागिता हो । युवाका लागि बनाइने नीति, युवाकै सहभागितामा बन्नुपर्छ । जब युवा निर्णय प्रक्रियामा सहभागी हुन्छन्, तब मात्र उनीहरूले नीति आफ्नै भएको महसुस गर्छन् ।
अब प्रश्न उठ्छ—यो परिवर्तन कसले ल्याउने ?
उत्तर स्पष्ट छ—हामी सबैले अनि सारा नेपाली युवाले ।
सरकार, नीति निर्माता, नागरिक समाज, युवा संगठन र स्वयं युवाहरू—सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । मौनता अब विकल्प होइन । यदि हामी चुप लाग्यौँ भने, पुरानै प्रवृत्ति दोहोरिन्छ । त्यसैले अब आवाज उठाउनुपर्छ, विगतका झै हुने दलिय भागबण्डाको राजनिति र राम्रो होईन हाम्रोलाई टिका लगाउने प्रवृत्तिको र हामी सधै उभिनुपर्छ क्षमता र सक्षमताको पक्षमा अनि मात्र बन्छ समृद्ध नेपाल, नयाँ नेपाल ।
आज लिइने निर्णयले केवल एउटा संस्थाको भविष्य होइन, सिंगो देशको दिशा निर्धारण गर्छ । यदि हामीले राष्ट्रिय युवा परिषदलाई साँच्चै युवाको संस्था बनाउन सकेनौँ भने, हामीले केवल एउटा अवसर गुमाउने छैनौँ—हामी हाम्रो र सारा नेपाली युवाहरुको भविष्य गुमाउनेछौँ र यसले इतिहासमा निकै ठुलो मुल्य चुकाउन पर्नेछ । तर यदि सही निर्णय ग¥यौँ भने, यही परिषद युवाको आशा, विश्वास र परिवर्तनको केन्द्र बन्न सक्छ ।
अन्ततः समयले हामीलाई एउटा स्पष्ट सन्देश दिइरहेको छ, अब राजनीति होइन, नतिजा चाहिन्छ । अब पहुँच होइन, प्रदर्शन चाहिन्छ, अब भागबण्डा होइन, क्षमता चाहिन्छ । यही सोचले मात्र नयाँ नेपाल निर्माणको आधार तयार पार्न सक्छ । (बानियाँ नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष एवं युवा अभियान्ता हुन्।)












