कफी कल्चर बढ्दै गर्दा सम्भावना उच्च, उत्पादन भने घट्दो
भारत, चीन, अमेरिका, अस्ट्रेलिया, माल्दिभ्स तथा युरोपेली देशमा नेपाली कफीको माग छ। ‘नेपालमा भने सबैभन्दा धेरै भारतबाट कफी आयात हुने गर्छ,’ कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई भन्छन्।काठमाडौं, मंसिर १ : कलेज छुट्टी भएपछि विद्यार्थी कफीसप पुग्छन्। कर्मचारी ह्याङआउट गर्न कफी पिउँछन्। राजनीतिक दलका नेताहरूको पनि विश्राम केन्द्र बनेको छ, कफी सप। गफगाफ, भेटघाट र बैठकको आधार बनेको छ, कफी।
पछिल्लो समय कफी पिउने कल्चर नै बनेको छ। र, यो एक प्रकारको ब्रान्ड नै बनेको छ। केही वर्ष अघिसम्म बाह्य पर्यटकले मात्र कफी पिउँछन् भन्ने मान्यता थियो तर अहिले होटेल, रेस्टुराँ, कफीसप हुँदै घरघरमा कफी पुगेको छ।
पिउनेहरू पनि कमैलाई जानकारी होला, कफी नेपाली उत्पादन हो कि बाह्य। नेपालमा माग बढ्दै गर्दा नेपालमा उच्च सम्भावना रहेको कफी उत्पादन विगत दुई वर्षदेखि घटेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको भनाइ छ।
कफी निर्यातमा सम्भावना रहेपछि मागअनुसार उत्पादन हुन सकेको तथ्यांकबाट देखिन्छ। प्रत्येक वर्ष १ मंसिरमा कफी दिवस मनाइन्छ। कफीको माग बढे पनि उत्पादन हुन नसकेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई बताउँछन्।
थोरै उत्पादन भए पनि नेपाली कफीले गुणस्तरका सन्दर्भमा देशलाई चिनाउन थालिसकेको छ। बोर्डका कार्यकारी निर्देशक भट्टराई भन्छन्, ‘नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश र विदेश दुवैतिर उच्च छ।’
भारत, चीन, अमेरिका, अस्ट्रेलिया, माल्दिभ्स तथा युरोपेली देशमा नेपाली कफीको माग छ। ‘नेपालमा भने सबैभन्दा धेरै भारतबाट कफी आयात हुने गर्छ,’ भट्टराई भन्छन्।
उनका अनुसार एक दशकअघि निश्चित वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेकको भान्साको शोभा बनिसकेको छ। ‘विशेषगरी सहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धी भएको देखिन्छ तर मागअनुसार उत्पादन हुन सकेको छैन,’ उनी भन्छन्।
आर्थिक वर्ष २०७६–७७ मा नेपालभर २९६ दशमलव ५ मेट्रिक टन ग्रिन कफी उत्पादन भएको थियो। सोही वर्ष भन्सार विभागको तथ्यांकअनुसार ११ करोड ८८ लाख रुपैयाँबराबरको २६६ मेट्रिक टन कफी नेपालमा आयात भएको थियो। त्यस वर्ष जम्मा पाँच करोड ७७ लाख रुपैयाँबराबरको ४६ दशमलव ८९ मेट्रिक टन कफी निर्यात भएको देखिन्छ।
यस्तै, आव ०७७–७८ मा १० करोड ६७ लाख रुपैयाँबराबरको १९८ दशमलव ७६ मेट्रिक टन कफी आयात हुँदा नौ करोड ६० लाख रुपैयाँबराबरको ७२ दशमलव ४८ मेट्रिक टन कफी विदेश निर्यात भएको बोर्डको तथ्यांक छ।
कुल उत्पादनको झन्डै २५ प्रतिशत कफी विदेश निर्यात हुँदै आएको छ। नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको उनी बताउँछन्।
देशभित्रै पनि कफीको माग बढ्दै गएकाले आन्तरिक माग र आपूर्तिका लागि पनि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नुपर्ने देखिन्छ।
सात वर्षमा १८ हजार हेक्टरमा तीन हजार १७ मेट्रिक टन उत्पादन
२०७१ देखि ०७८ सालसम्म देशभर १८ हजार ४६९ हेक्टर क्षेत्रफलमा तीन हजार १७ मेट्रिक टन कफी उत्पादन भएको छ। ‘पछिल्लो दुई वर्षमा भने उत्पादन घटेको छ,’ डा. भट्टराई भन्छन्।
बोर्डका अनुसार आव ०७१–७२ मा दुई हजार ३८१ हेक्टरमा चार सय ६३ मेट्रिक टन कफी उत्पादन भएको छ। यस्तै, ०७२–७३ मा दुई हजार ६१८ हेक्टरमा चार सय ३४, ०७३–७४ मा दुई हजार ६४६ हेक्टरमा चार सय ६६, ०७४–७५ मा दुई हजार ६५० हेक्टरमा ५१३ र ०७५–७६ मा दुई हजार ७६१ हेक्टरमा ५३० मेट्रिक टन कफी उत्पादन भएको तथ्यांक छ।
यसैगरी, आव ०७६–७७ मा दुई हजार ३६० हेक्टरमा २९६ दशमलव ५ मेट्रिक टन कफी उत्पादन भएको थियो। ०७७–७८ मा तीन हजार ५३ हेक्टरमा तीन सय १४ दशमलव ५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्यांक छ। तथ्यांकअनुसार गत दुई वर्षमा क्षेत्रफल बढे पनि उत्पादनमा कमी आएको देखिन्छ।
मागअनुसार उत्पादन गर्न नसके पनि उत्पादनको २५ प्रतिशत कफी निर्यात भएको छ, जसलाई सकारात्मक मान्नुपर्छ। ०७१ सालयता हालसम्म पाँच सय ९३ दशमलव ८ निर्यात हुँदा दुई हजार १५८ दशमलव ९१ मेट्रिक टन आयात भएको देखिन्छ।
‘नेपालमा कफी उत्पादनमा सम्भावना उच्च छ तर उत्पादन न्यून भएकै कारण आज पनि आयातमा निर्भर छौँ,’ डा. भट्टराई भन्छन्, ‘आगामी दिनमा युवा पुस्तालाई जोडेर कफी उत्पादन बढाउने योजना छ।’
उनी कफी उत्पादन बढाउन सकेमा आर्थिक उपार्जनको बलियो स्रोत बन्ने पुग्ने अपेक्षा गर्छन्। सोही कारण बोर्डले युवालाई कफी खेतीमा जोड्ने रणनीति बनाएको हो।
२०७१ सालयता हालसम्म पाँच सय ९३ दशमलव ८ मेट्रिक टन कफी निर्यात गर्दा दुई हजार १५८ दशमलव ९१ मेट्रिक टन आयात भएको छ।
देशभर अहिले ३१ हजार ३४० कृषक कफी उत्पादनमा लागेको बोर्डको तथ्यांक छ। डा. भट्टराई भन्छन्, ‘आगामी दिनमा युवालाई जोड दिई उत्पादनमा वृद्धि गर्ने योजना छ।’ त्यसका लागि बोर्डले ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यावसायिक कफी उत्पादनमा युवाको योगदान’ नारा तय गरेको छ।
नेपाली कफीको पुरानै इतिहास
नेपालमा चिया खेतीको इतिहास निकै लामो छ। विसं १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणबाट फर्कंदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए। लगभग सोही समयदेखि नेपालमा कफी खेती पनि हुन थालेको जानकारहरूको भनाइ छ।
नेपाल सरकारले १५ वैशाखलाई राष्ट्रिय चिया दिवस र १ मंसिरलाई राष्ट्रिय कफी दिवस घोषणा गरेको छ। ०६१ सालदेखि कफी दिवस मनाउन थालिएको हो। २० जेठ ०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भएको हो।
मध्य पहाडका ४० जिल्लामा कफी खेती हुन्छ। ललितपुर, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, काभ्रे, सिन्धुपाल्चोक र अर्घाखाँचीमा कफीको व्यावसायिक खेती गरिन्छ। रुपन्देहीको मणिग्राममा ०४० सालमा पहिलो कफी प्रशोधन केन्द्र स्थापना भएको इतिहास छ।