सीतापछि राधाले दिएको अग्‍निपरीक्षा ‘फायर’, पूर्वीय दर्शनको शान्त तलाउमा तरंग

काठमाडौं, भदौ १९ : फिल्मकी प्रमुख पात्र राधाको साडी ग्यासमा पर्छ र आगोले समात्छ। निभाउने प्रयासमा छेउछाउमा रहेका पर्दामा आगो फैलिन्छ। आगोको लप्काबीचमा उनी घेरिन्छिन्।

छेउमै रहेका उनका श्रीमान अशोक अपांगता भएकी आमालाई उठाएर त्यहाँबाट निस्कन्छ। उसले श्रीमती राधालाई आगोबाट बचाउने चेष्‍टा त परै जाओस्, हेक्कासमेत पनि गर्दैन। राधा उक्त आगोबाट आफैँ बचेर निस्किएको फिल्मको अन्तिम क्लिपबाट प्रष्‍ट हुन्छ। झट्ट हेर्दा रामायणमा सीताले दिएको अग्‍निपरीक्षाभन्दा कम लाग्दैन उक्त दृश्य।

सन् १९९६ मा निर्माण भएको फिल्म ‘फायर’मा भारतीय मूलकी क्यानेडेली निर्देशक दीपा मेहेताको लेखनी र निर्देशन छ। समलिंगीहरूको कथा-व्यथालाई सम्बोधन गर्दै बनेका सुरुवाति चरणका हिन्दी फिल्ममध्येमा पर्छ `फायर´। यद्यपि, फिल्मको माध्यम भाषा भने अंग्रेजी छ।

सीता, राधा र असुन्तष्‍ट दाम्पत्य जीवन

फिल्ममा प्रमुख पात्रको रूपमा छन् राधा र सीता, जो पारिवारिक सम्बन्धअनुसार जेठानी, देउरानी पर्छन्। प्राय: सामाजिक परिपाटीमा जेठानी, देउरानीबीच खासै राम्रो सम्बन्ध पाइँदैन।

सासु-ससुराको प्यारो को बन्‍ने, परिवारको उत्तराधिकारी कसले दिन सक्ने जस्ता पक्षमा त शीतयुद्ध नै चल्छ, जेठानी र देउरानीबीच। अझ फिल्म तथा टेलिसिरियलमा सदैव एकजना ‘भ्याम्प’ अर्थात् खलपात्रलाई प्रस्तुत गरिएको हुन्छ।

तर, ‘फायर’मा सो नियम लागू छैन। त्यसैले पनि होला ‘फायर’ भिन्‍न छ। यी दुई पात्रबीच  परिवारमा औपचारिक जेठानी-देउरानीको सम्बन्ध हुँदै कालान्तरमा प्रेमिल सम्बन्ध स्थापित हुन पुग्छ। उनीहरूको ‘रोमान्टिक’ सम्बन्ध समलैंगिक बन्‍न पुग्छ।

दुवै महिला पात्र एकै समस्याबाट गुज्रिरहेका छन्- श्रीमानसँगको स्थापित हुन नसकेको माधुर्य। श्रीमानहरूसँग रहेको दूरी उनीहरूलाई निकट ल्याउने कारक तत्त्व बन्छ।

राधा (शबाना आज्मी) का श्रीमान अशोक (कुलभुषण खारबन्दा) उनीबाट सन्तानप्राप्ति हुन नसक्दा ब्रह्मचार्यतर्फ धकेलिन्छन्। यद्यपि, बच्चा हुन नसक्नुको कारण राधा हुन् वा अशोक भन्‍ने जवाफ प्राप्त हुँदैन।

अर्को तर्फ देउरानी सीता (नन्दिता दास ) का श्रीमान हुन्छन्, जतिन (जावेद जाफरी)। जतिनको इच्छाविपरीत भएको विवाहका कारण सीता उनका लागि बोझपूर्ण जिम्मेवारी मात्र हुन्छन्। जुली नामकी उनकी पूर्वप्रेमिकासँग विवाहपछि पनि सीतासँगको सम्बन्धलाई निरन्तरता दिइरहन्छन्।

श्रीमानहरूसँग बित्‍न नसकेको माधुर्य पलमा राधा र सीता एकअर्कासँग नजिकिन्छन्। अशोक रातमा स्वामीजीको आश्रममा जागृतिका लागि जान्छन् भने जतिन प्रेमिका जुलीसँग समय बिताउन।

श्रीमानमा अलग्गिएर रहने रात्रिकालमा उनीहरू सुरुमा कौसीमा बातचितमा बिताउन थाल्छन्। निकटता बढ्ने क्रममा सम्बन्ध झाँगिएर शारीरिक सम्बन्धसम्म पुग्छ, जसको भनक न त अशोकलाई हुन्छ, न उनको भाइ जतिनलाई नै। यता अपांग सासुलाई दुई बुहारीको हिमचिममा शंका हुन थाल्छ, तर उनीसँग बोल्नका लागि आवाज छैन। सोही परिवारमा नोकरी गरिरहेका मुन्दु पनि यसबारे बेखबर भने हुँदैन।

राधा, सीता र अग्‍निपरीक्षा

रामायणमा सबैभन्दा महत्त्वपूर्ण प्रसंग हो, सीताको अग्‍निपरीक्षा। पतिव्रता रहेको पुष्‍टि गर्न सीताले अग्‍निमा प्रवेश गर्नुपर्छ। जसमा उनी शुद्ध रहेको प्रमाणित हुन्छ। आदर्श पुरुष रामले त्यसपछि पनि उनलाई अपनाउन सक्दैनन्।

कविता विधामा पटक-पटक कुनै प्रसंग वा शब्द दोहोरिने क्रमलाई ‘रेफ्रेन’ भनिन्छ। त्यसको अर्थ हो- पटक-पटक एकै विषयमा केन्द्रित गरेर उक्त विषयको महत्ता बढाउनु। यो चलचित्रमा पनि अग्‍निपरीक्षाको प्रसंग र प्रहसन पटक-पटक दोहोरिएको छ। नाटकको रूपमा दुईपटक प्रहसन हुन्छ, परिवार सबै एकसाथ रामायणमा पुनः अग्‍निपरीक्षाकै दृश्य हेरिरहेका हुन्छन्। अन्तिममा आगोका लप्काको घेरामा फसेकी राधा आफैँ अग्‍निपरीक्षा पर्छिन्।

चलचित्रको नाम ‘फायर’ किन राखियो होला ? पूर्वीय दर्शनमा अग्‍निलाई शुद्धताको प्रतीक मान्‍निछ। र, राधाले आफ्नो शुद्धता पुष्‍टि गर्छिन्। तर, यहाँ शुद्धताको परिभाषा फरक छ। प्रेमको शुद्धता जोसँग आफ्नो भावना जोडिएको छ, उही प्रतीक हो। उनको शुद्धता न सीताका लागि हो, न त श्रीमान अशोकका लागि। बाहिर पर्खिरहेकी सीतासम्म अग्‍निपरीक्षा पार गरेर पुग्छिन्, राधा। र, फिल्मको कथा संयोगान्तमा टुंगिन्छ।

समाजले ‘ट्याबु’ अर्थात कलंकको रूपमा मान्दै आएको समलिंगी प्रेमलाई अशुद्ध मान्‍नेहरूको जमात ठूलो छ। तर, राधा अग्‍निबाट बाँच्‍नुको अर्थ उनको प्रेम कलंक नहुनुको भावार्थ फिल्मले प्रकट गर्छ।

पौराणिक पात्रका बदलिँदो परिभाषा

फिल्मका मुख्य पात्रलाई हेर्ने भने उनीहरूको नाम राधा र सीता पौराणिक कथाबाट प्रभावित देखिन्छ। यद्यपि, यी पात्रका आदर्श पौराणिक पात्रभन्दा अलग छन्। जोस्टर नामक जर्नलका अनुसार दीपा मेहेतालाई सीताको नाम परिवर्तन गर्नसमेत दबाब आएको थियो। पौराणिक नामकै कारण सीतालाई नीताको रूपमा परिवर्तन गर्न उनी तयार भएको उक्त जर्नलमा उल्लेख छ।

रामायणमा आदर्श पत्‍नीका रूपमा चित्रित सीता यस फिल्ममा भने प्रगतिशील महिलाका रूपमा देखापर्छिन्। राधाप्रतिको प्रेमभावमा पनि पहिलो कदम उनले नै चाल्छिन्। लाग्छ, उनी त्यही सीता हुन्, जसले अग्‍निपरीक्षापछि पनि न्याय पाउन नसकेपछि आफूलाई परिष्‍कृत गरिन्। उनी धर्म र संस्कृतिमाथि प्रश्‍न गर्छिन्। दुईजनाको सम्बन्ध सबैमाझ उदांग हुँदा पनि उनी डराउँदिनन्। उनलाई आफ्नो श्रीमानको पनि परवाह छैन। उनले राधालाई तत्काल घर छाडेर भाग्‍न मनाउने प्रयास गर्छिन्। यसरी हेर्दा सीता परिष्‍कृत छिन्। र, उनले राधाले अग्‍निपरीक्षा दिनुनपर्ने ठहर गर्छिन्।

द्वापर युगकी पौराणिक पात्र राधाले केवल कृष्‍णलाई प्रेम गरिन् तर उनीसँग विवाह गर्न पाइनन्। अतृप्त प्रेमबीच पनि उनी आदर्श पात्र बनिरहिन्। हुन त, राधाको चर्चा सीताको जसरी धार्मिक ग्रन्थहरूमा खासै भएको पाइँदैन। त्यसैले राधाका पीडाबारे हामी अनभिज्ञ छौं।

साहित्यकार कृष्‍ण धरावासीको उपन्यास ‘राधा’मा उनीबारे विस्तृत जानकारी पाइन्छ। तर, वैवाहिक विषयमा खास किटान नहुँदा सीता पात्र जसरी यस फिल्ममा पनि राधा केही अल्मलिएको र असमन्जसमा परेको प्रतीत हुन्छ। उनको अडिग विचार फिल्मको मध्यान्तरसम्म अनुभव गर्छ सहज छैन।

सुरुवाती समयमा राधालाई एक आदर्श पत्‍नीका रूपमा चित्रित गरिएको छ। सासुको ‘पर्फेक्ट’ बुहारीमात्र नभई ब्रह्मचर्य पालन गरेका श्रीमानका लागि प्रयोगको साधन पनि बनेकी छन्, उनी। शारीरिक सम्बन्ध नरहे पनि उनको श्रीमानले आफ्नो इन्द्रियमा नियन्त्रण छ वा छैन भन्‍ने प्रयोगका लागि सँगै सुत्‍न लगाउँछन्। जुन उनका लागि निकै ह्दयविदारक हुन्छ। तर पनि, उनी आफ्नो पत्‍नीधर्म वहन गरिरहन्छिन्। तर, सीतासँगको निकटताले उनीभित्र कुण्ठित भावनालाई पुनः जागृत गर्छ। फिल्मको क्लाइमेक्समा उनका श्रीमान अशोकले निकटता बढाउने कोशिस गर्दा उनले रोक्छिन्। भन्छिन्, ‘म सीतालाई चाहना गर्छु, उसको सामिप्य, न्यानोपन र शरीरलाई माया गर्छु।’

अशोकको जबर्जस्तीमा पनि उनको भावशून्य रहन्छ। र, आफ्ना इच्छा, चाहनालाई बलिदान दिई आदर्श पत्‍नी र बुहारीको सीमा नाघेर उनी सीताको लागि गृहत्याग गर्छिन्।

तर, रहस्यको पर्दाफास हुँदा राधा सीतासँग तत्काल नभाग्‍नुले उनको ‘म्याचुरिटी’ लाई झल्काउँछ। सासुको थुक र श्रीमानको ताना सबै ‘फेस’ गरेर भए पनि उनी सबै सम्बन्ध र जिम्मेवारी त्याग्दै जान चाहन्छिन्।

यसरी हेर्दा सीतासँगको प्रेमले राधालाई आफ्नो खुशी खोज्न र अँगाल्न सिकाउँछ। सायद, प्रेम त्यही हो। एक दर्शनिकले भनेका छन, ‘यदि प्रेमले तिमीलाई फक्रन दिँदै भने त्यो प्रेम होइन।’

हेर्नुहोस् फिल्म

‘फेमिनिजम’ र समलैंगिकताबीचको मसिनो धर्सो

‘फेमिनिजम’ र समलैंगिकता दुई भिन्‍न तर अन्तरनिहित वाद हुन्। यी दुईबीच समानता यसर्थ छ कि यी दुवै वादले पितृसत्तालाई चुनौती दिन्छन्। यौनिकतामा गएर मात्र भिन्‍नता महसुस गर्न सकिन्छ।

तथापि, यस फिल्ममा महिलावाद र समलैंगिकताको धर्सो निकै मसिनो र मधुरो छ, जसलाई निकै सुक्ष्‍म रूपमा केलाउन जरुरी छ।

राधाका श्रीमान अशोकले भान्सामा खाना पस्किन भ्याननभ्याइ भइरहेको विषयलाई नजरअन्दाज गर्छ। ‘आमालाई खाना खुवाउन पर््यो भनी राधालाई उसले अह्राउँदा राधाले तिमीले पनि खुवाउन हुँदैन भनेर प्रतिप्रश्‍न गर्छिन्। जसमा अशोक हच्किन्छन् र आफैँ आमालाई खाना खुवाउँछन्।

प्रगतिवादी विचारधाराकी सीता र उनको श्रीमानबीच झगडा पर्ने क्रममा श्रीमानले हात उठाउँदा उनले जवाफस्वरूप थप्पड लगाउँछिन्। अनैतिक मानिएको सम्बन्धबारे पर्दाफास हँुदासमेत उनी माफी माग्दैनन्। जसबाट उनीहरूको अटल विचारधारा छर्लंग हुन्छ।

समलैंगिकताको विषय उठानमा भने राधा र सीताबीच झांगिएको प्रेमिल सम्बन्ध नै काफी हुन्छ, प्रमाणका लागि। एकअर्काको केयर गर्ने, घुम्न घरबाहिर जाने, मन्दिरमा एकअर्को कहिल्यै छुट्टिन नपरोस् भनी धागो बाँध्नेजस्ता प्रेमिल भाव अभिव्यक्त गरिरहेका हुन्छन्, जुन साविक विपरीत लिंगीमा हुने गर्छ। उनीहरू एकअर्कालाई महिला र समान प्रकृतिका भन्दा पनि प्रेम र चाहनाका परिपूरकको रूपमा हेर्छन्।

नत्र फिल्मको ‘माइनोरिटी’ पात्रमा रही महत्त्वपूर्ण भूमिका वहन गरेको नोकर मुन्दु अझ उनीहरूको जैविक आनन्दका लागि सुहाउँदो पात्र हुने थियो होला। यसै पनि मुन्दु राधाप्रति आकर्षित छ। उसलाई सीता र राधाको निकटता मन पर्दैन। फिल्मलाई क्लाइमेक्समा पुर्‍याउन मुन्दुको अहम् भूमिका छ।

यद्यपि, श्रीमानबाट असन्तुष्‍ट भई समलैंगिक सम्बन्ध जोडिने राधाको कारण भने सशक्त देखिँदैन। सीताको समलैंगिकतामा प्रश्‍न गर्ने ठाउँ भने छैन किनकि उनी प्रकृतिले नै उही छिन्। जसको प्रमाण एकरात उनी रोइरहेको समयमा राधाले उनलाई सम्झाउन आउँदा प्रष्‍ट हुन्छ। सीताको विलापको कारण जतिनले उनलाई दिन नसकेको मायाभन्दा पनि उनको समलैंगिकताको कारण हुन्छ। सोही समय उनले राधामा आफ्नो वास्तविक प्रकृतिको परिचय शारीरिक हाउभाउबाट अभिव्यक्ति गर्छिन्। राधाले उक्त अभिव्यक्तिलाई स्वीकार गरिहाल्न सक्दिनन्। सीताको समलैंगिकताको विषयमा थोरै पृष्‍ठभूमिको अभाव भने दर्शकले महसुस गर्न सक्छन्। त्यस पाटोमा पटकथा कमजोर बनेको आभास हुन्छ।

तर, राधाको सीताप्रतिको आकषंण समलिंगीभन्दा पनि कुण्ठित यौन पूर्णताको कारण देखिएको छ। जसले पटकथालाई फितलो बनाएको भाव पैदा गर्न सक्छ। तथापि, यसमा दर्शकपिच्छे धारणा फरक हुनसक्छ।

नोस्टाल्जिया

फिल्मको सुरुवात, मध्यान्तर र अन्त्यमा पनि राधाको एक ‘नोस्टाजिक’ घटना बारम्बार दोहोरिएको छ। राधाकी आमाले उनलाई एउटा कथा भन्छिन्। कथामा पर क्षितिजसम्म फूलबारी र एउटा समुद्र छ। आफूले समुद्र भने नदेखेको बताउँछिन् राधा। तब उनकी आमाले जे आँखाले देख्‍न सकिँदैन, त्यसलाई अन्तरमनले मात्र देख्‍न सकिने तर्क गर्छिन्। बाल मनस्थितिकी राधाले उक्त समय त्यस उक्तिलाई बुझेकी हुन्‍नन्। सोही घटनाको ‘नोस्टाल्जिया’ छेद्‍न प्रयासरत छिन्।

जोस्टर नामक एक जर्नलमा लेखिएको छ, ‘नोस्टाल्जिया यस्तो अद्भूत स्मरण हो, जसले घटना हुँदा बुझ्‍न नसकेका कुरालाई झकझक्याएर अन्ततः आत्मबोध गराउँछ।’ राधाले पनि अन्त्यमा उनको आँखाले देख्‍न नसकेको माया उनको श्रीमान अशोकबाट नभई सीतामा पाउँछिन्, जुन उनले फिल्मको क्लाइमेक्समा अन्तरमनले देखेकोे अनुभूति गर्छिन्।

पितृसत्ताभित्रका पीडक र आप्रवासीका भोगाइ

फिल्ममा महिला पात्रबाहेक सम्बोधन गरिएको अर्को पक्ष हो- पितृसत्ताभित्र रहेको पीडित पुरुष तथा अरूको देशमा रहँदा आप्रवासीहरूले भोग्‍नु परेको पीडा। जस्तो- फिल्मका पात्र जतिन आफ्नो खुशी जुलीसँग देख्छन् तर पत्‍नी सीतासँग खुशीका साथ बसेकोझ अभिनय गर्नुपर्छ। आफू पीडित हुँदा पनि समाजले उनैलाई दोषी देख्‍नेबारे दाइ अशोकलाई बताउँछन्।  यसकारण पनि उनी पितृसत्ताका पीडित पुरुषका रूपमा देखिन्छन्।

यस्तै, उनले सीतालाई स्कर्ट लगाउन, घरबाहिर निस्कन र मोर्डन हुन भन्छन्। यसबाट उनी केही उदारवादी रहेको अनुमान लगाउन सकिन्छ। तथापि, पितृसत्ताको दम्भबाट उनी बाहिर निस्किन सकेका छैनन्। अझ विशेषगरी यौनका विषयमा। सीतासँगको पहिलो समागममा उनले रगत बग्‍न सक्ने र उक्त विषयमा डराउनुपर्ने बताउँछन्। पहिलो यौन सम्पर्कमा रगत बग्‍ने जानकारी श्रीमानले दिँदा सीताले केही बुझ्‍न सक्दिनन्।

यस्तै, जतिनकी प्रेमिका जुली चिनियाँ मूलकी हुन्। विवाहबाहेक उनी जतिनसँग हरेक प्रकारको सम्बन्धमा छिन्। तर, विवाह गरी संस्कृति नामक बन्देजमा फस्‍न नचाहने उनी बताउँछन्। उनी ‘स्ट्रङ’ पात्रको रूपमा फिल्ममा देखिन्छिन्। उनको निर्णय जतिनका लागि पनि निर्णायक हुन्छ।

त्यसो त, जतिनको परिवार जुलीलाई बुहारी स्वीकार्न पनि तयार हुन्छ। तर, भारतीय बुहारीका परिधिबाट परिचित छिन्, जुली। त्यसमा पनि उनी अर्कै भूगोलकी। सोही कारण विवाहको प्रस्ताव उनले अस्वीकार गर्छिन्। र, सीतासँग विवाह गर्न बाध्य हुन्छ, जतिन।

जुलीको परिवारका लागि भारत बसाइ सहज भने भएन। चिम्सा आँखा भएका कारण चिन्की भनी होच्याइने भारतीय समाजको प्रवृत्ति पनि फिल्म चित्रित गरिएको छ। 

नयाँ विषय उठानले निम्त्याउने विवाद र बहस

उदारवादी मानिएको युरोपेली मुलुकमै पनि सन् १९८० को दशकसम्म महिलाहरू पूरै शरीर ढाकेर हिँड्थे। उनीहरूको स्वतन्त्रतामा अंकुश लागेको थियो। सन् १९९० को दशकमा मात्र युरोपेली महिलाहरू स्वतन्त्र भए। यस्तो अवस्थामा धर्म तथा आस्थाले जकडिएको पूर्वीय समाजले ‘फायर’जस्तो फिल्मलाई सहजै स्वीकार्न अवश्य सकेन। ‘फायर’ रिलिज भएका हल तथा दर्शकहरूप्रति तत्कालीन शिव सेनाले आक्रमण नै गरेको थियो। हिन्दुवादीहरूले फिल्मलाई सेन्सरसीपका लागि दबाब दिएका थिए। सेन्सर बोर्डबाट कुनै प्रकारको सेन्सर नलागेको उक्त फिल्मको रिलिजपछि दबाबमा पर्‍यो।

मूलधारमा बन्दै आएका मसलेदार, रोमान्स र कमेडी विधाबाट परिष्‍कृत एकै धारमा बगिरहेको कुनै पनि विधामा नयाँ कुराले क्रमभंग गराउनु कम साहसिक कदम होइन। यस्ता कदमले अवश्य नै विवाद सिर्जना गर्छन् तर यसका साथै बहसको उठान पनि गर्छन्।

दीपा मेहता आफैँ पनि भारतीय मूलकी क्यानेडेली नागरिक हुन्। सोहीकारण यस्तो आँट गरेको बुझ्‍न गाह्रो छैन। ‘फायर’ खासमा ‘ट्राइलोजी’ फिल्म हो। यो फिल्म सन् १९४२ मा प्रकाशित भएको इस्मत चुग्ताईको कथा ‘लिहाफ’मा आधारित छ।

एक साताअघि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने रियालिटी सो ‘कमेडी च्याम्पियन’मा बिक्की अग्रवालले ‘माइम एक्ट’को प्रस्तुती दिए। यो नवीन प्रयास नेपाली समाजलाई सान्दर्भिक नहुने टिप्पणी निर्णायक मण्डलमा बसेका कलाकार सन्तोष पन्तले गरे। त्यसलगत्तै सामाजिक सञ्‍जालमा यस विषयले बहस छेड्यो। धेरैले कलाकार पन्तको आलोचना गरे भने कतिपयले उक्त विचारमा समर्थन पनि जनाए।

निर्णायकको हैसियतमा उनले गरेको टिप्पणी व्यक्तिगत रूपमा सही र  गलतभन्दा पनि अबका लागि केही नयाँ विषय आउँदा समाजले त्यसलाई पचाउन सक्छ कि सक्दैन भन्दा पनि नयाँ प्रयोगलाई कसरी बुझ्‍ने भन्‍ने विषयमा बढी केन्द्रित हुनुपर्ने देखिन्छ।

२१ औँ शताब्दीमा कलाको एउटा विधामा एउटा नयाँ प्रयास हुँदै यसप्रकारको तहल्का मच्चियो भने सन् १९९० को दशकमा जतिबेला ‘ओल्ड स्कुल अफ थट’को प्रभुत्व थियो, त्यतिबेला ‘फायर’जस्तो चलचित्र बन्‍नु साहसिक कदम नै थियो। ९० को दशकमा रिलिज भएको फिल्म ‘फायर’ ले पूर्वीय दर्शनको शान्त तलाउमा तरंग पैदा गर्ने काम गर्‍यो।

 Published Date: Saturday, 4th September 2021 6:52:00 pm