Kathmandu Press

जुनसुकै बेला जे पनि हुनसक्छ भन्ने मानसिकताका साथ काम गर्नुपर्छ : गृहमन्त्री

‘हामी जोखिमयुक्त भूगोलमा छौं। जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकता राखेर काम गर्‍यौं भने ठिक ठाउँमा पुग्न सक्छौं,’ उनले भने।
जुनसुकै बेला जे पनि हुनसक्छ भन्ने मानसिकताका साथ काम गर्नुपर्छ : गृहमन्त्री

काठमाडौं, साउन १६ : गृहमन्त्री रमेश लेखकले नेपाल अत्यन्तै जोखिमपूर्ण भूगोलमा अवस्थित रहेको भन्दै जुनसुकै बेला जे पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तयारी गर्नुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘विपद् संवाद कार्यक्रम’मा बोल्दै गृहमन्त्री लेखकले नेपालमा भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, हिमपात र लुजस्ता प्राकृतिक प्रकोपहरू बारम्बार दोहोरिने उल्लेख गरेका हुन्।

‘हामी जोखिमयुक्त भूगोलमा छौं। जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकता राखेर काम गर्‍यौं भने ठिक ठाउँमा पुग्न सक्छौं,’ उनले भने।

गृहमन्त्रीले जलवायु परिवर्तनका असरले पनि मुलुक थप जोखिममा परेको बताए। ‘अब त देशभित्र भारी वर्षा नपरे पनि बाहिरी देशमा हिमताल फुट्यो भने पनि हामीकहाँ बाढी आउन थालिसक्यो,’ उनले भने, ‘सूचना आदानप्रदानको प्रणाली प्रभावकारी नभएकै कारण बाढी आएपछि मात्र थाहा हुने स्थिति छ।’

उनले हालैको उदाहरण दिँदै भने, ‘एउटै समय मधेसमा पानीको हाहाकार छ भने, उता रसुवामा बाढी आएको छ। यस्ता विपद् सामना गर्न पूर्वतयारी, सूचनाको तिब्रता र समन्वय अत्यावश्यक भइसकेको छ।’

कार्यक्रममा उपस्थित विज्ञ र सरोकारवालाहरूले विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग, शीघ्र सूचना प्रणालीको विकास र स्थानीय तहको भूमिकालाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: २०:५७ बजे, शुक्रबार, साउन १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्