Kathmandu Press

प्रिय श्रीमान्, म तिम्रो आमा बन्न सकेँ र?

एउटी श्रीमती आमाको अर्को रूप भन्छन्, खै तिम्रो जीवनमा त्यो आमाको भूमिका निभाउन सकेँ कि सकिनँ, त्यो त थाहा छैन। तर पनि, एक मुठी सास बाँकी रहुन्जेलसम्म कोशिस गरिरहनेछु।
प्रिय श्रीमान्, म तिम्रो आमा बन्न सकेँ र?
Hardik ivfHardik ivf

एउटी श्रीमती आमाको अर्को रूप भन्छन्, खै तिम्रो जीवनमा त्यो आमाको भूमिका निभाउन सकेँ कि सकिनँ, त्यो त थाहा छैन। तर पनि, एक मुठी सास बाँकी रहुन्जेलसम्म कोशिस गरिरहनेछु।

हुन त, आमा बन्न त्यति सजिलो पनि कहाँ छ र ! मलाई मेरी आमाले भनेको कुरा एउटी श्रीमती असल भई भने उसको श्रीमान्लाई आमाको केही हदसम्म भए पनि अभाव कम महसुस हुन्छ। त्यही पूरा गर्ने मेरो कोशिस जारी छ।

३१ साउनमा तिमी एक वर्षको पुग्ने, २४ साउन तिम्रो न्यानो काख खोसिएको दिन, तिमीले तिम्रो आमाको न्यानो काख गुमाएको २८ वर्ष पुग्यो अनि आजबाट तिमी २९ वर्षका लाग्यौ। तिमीलाई जन्मदिनको अनगिन्ती शुभकामना सानु...!

भनिन्छ, मरेपछि भगवान् भइन्छ रे! सायद हाम्रो ममी पनि भगवान् हुनुभएको छ होला। आज तिमी यति ठूलो भइसक्यौ भनेर हेर्दै हुनुहुन्छ होला कहिँ कतैबाट।

आजसम्म तिमीले आफ्नी आमाको फोटोसमेत देखेका छैनौ, पटक–पटक तिमीले सपनामा देख्न खोज्दा पनि तिम्रो सपनामा आउनुहुन्न। तिमीले हरेक रात कल्पना गरेर सुत्छौ तर बिहान उठ्दा तिमीले सपनामा आफ्नी आमालाई देख्दैनौ। मन खिन्न नबनाऊ, हामी जसलाई धेरै माया गर्छौँ नि, उसलाई सपनामा पनि देखिँदैन रे।

तिमीले नदेख्दा त आमाको यति न्यास्रो मानिरहेका छौ, कतै सपनामा पनि देख्यौ भने झन् तिमीलाई गाह्रो हुन्छ भनेर आमा सपनामा नआउनुभएको हो बुझ्यौ।

उहाँ तिम्रो साथमा नभए पनि आमा हो, तिमीलाई के कुरामा गाह्रो अप्ठ्यारो पर्छ भन्ने कुरा थाहा छ उहाँलाई। त्यसैले धेरै जिद्दी नगर। तिमीले र मैले आजसम्म बिताएका उमेरको ठ्याक्कै आधा समय हामीले एकअर्कासँग बिताइसकेका छौँ।

मैले कक्षा ११ र तिमीले कक्षा १२ मा पढ्दै गर्दा पहिलोपटक एउटा ट्युसन क्लासमा तिम्रो र मेरो भेट भएको थियो।

तिमी कलेजको जेहेन्दार विद्यार्थी, तिमीलाई नचिन्ने पनि सायदै थिए होला र पनि तिम्रो र मेरो चिनजान एउटा ट्युसन कक्षामा भएको थियो।

त्यसबेला हामी दुवैजना उमेरले १५, १६ वर्षका थियौँ। तिम्रो र मेरो बोलचालको माध्यम एउटा कापी थियो, याद छ नि तिमीलाई?

त्यो उमेर न माया प्रेम के हो भनेर जान्ने उमेर थियो, न त बुझ्ने नै। तर पनि, हामी त्यही दिन एकअर्काका हौँ भन्ने महसुस भइसकेको थियो। तिमीलाई पनि, मलाई पनि।

साथी हुँदै सुरु भएको हाम्रो यात्रा एकअर्काको दुःख, सुखको सारथि बन्न पुग्यौँ। तिमी हेर्दा पनि गोरे गोरे, पातलो, सोझो यसै माया लाग्दा थियौ।

तिमीले मलाई के देखेर मन परायौ, त्यो त तिमीलाई थाहा होला। तिमीले लगाएको सेतो क्याप टोपी मलाई एकदमै मन पर्थ्यो।

हरेक दिन हाम्रो फोनमा कुरा हुन्थ्यो। त्यो बेला अहिलेको जस्तो कहाँको माया प्रेमका कुरा हुनु। एकअर्काको दैनिकी सुनाउँदैमा रात कटेको पत्तो नै हुन्थेन।

कुरा गर्दै जाँदा तिमीले मेरो ममी हुनुहुन्न भन्दा म कति रोएकी थिएँ। तिमी झन् कति रुन्थ्यौ होला। हो, त्यही बेला मैले एउटा प्रण गरेको थिएँ जिन्दगीसँग– म उसको जीवनको आमा बन्न कोशिस गर्नेछु।

त्यसपछिका दिनमा यो संसारमा तिमीबाहेक अर्को कुनै चिज छजस्तो नै लाग्न छोड्यो मलाई। जसरी एउटी आमाको लागि एउटा सन्तान सर्वस्व हो। मैले कहिल्यै तिमीबाट कुनै कुराको आशा नै राखिनँ।

बस्, तिमी जिन्दगीमा सफल भएको हेर्ने र तिम्रो ओठमा सधैँ हाँसो हेर्ने रहर मात्र लागिरह्यो। आज पनि तिमीलाई खुुशी देख्दा संसार जितेको जस्तो महसुस हुन्छ।

तिम्रो सपना र लक्ष्यका अगाडि मैले मेरा कुनै सपना र लक्ष्य देखिनँ। बस्, देखेँ त तिम्रो जित र खुशी। भनिन्छ, एउटी आमाले आफ्ना सन्तानले जस्तासुकै गल्ती गर्दा पनि माफी दिन सक्छिन्, त्यस्तै तिमीले जानेर वा नजानेर गरेका गल्ती पनि मेरा लागि गल्तीजस्तो लाग्दैन, सहजै स्वीकार गर्न सक्छु।

मैले त आफूले गरेको प्रण निभाउने कोशिस गरिरहेकी छु। त्यसमा कति सफल भएँ, त्यो त तिमीले महसुस गरेका हौला।

यति भन्दै गर्दा तिमीले मेरा लागि केही गरेका छैनौँ भनेकोचाहीँ होइन है। आज म जे छु, जस्तो छु त्यसमा मेरा बुवा–आमापछिको हात तिम्रै छ।

जिन्दगीमा मैले कैयौँपटक हरेस खाँदा तिमीले नै हात दिएर यहाँसम्म ल्याएका हौ। मैले जति माया तिमीलाई दिने कोशिस गरेकी छु, त्यो त तिमीले मलाई दिएको मायाबाटै सिकेको हो नि।

तिमीसँग भेट भएको दिनदेखि आजसम्म मैले भगवानसँग कहिल्यै मेरा लागि मागिनँ, सधैँ तिम्रो खुशी मागिररहेँ। किन थाहा छ? किनकि तिम्रो खुशीमै मेरो खुशी थियो।

यो १४-१५ वर्षको बीचमा हामीले कति दुःख गर्यौँ, के के भयो, त्यो त सबै लेख्दा एउटा किताब नै बन्छ। तिम्रो जन्मदिनको अवसरमा मेरोतर्फबाट उपहारस्वरूप यी केही शब्द तिमीलाई ....!

अब त्यति धेरै नि खासै केही छैन जिन्दगीमा, तिम्रो खुशी र सफलता हेर्दै तिम्रो काखमा अन्तिम सास फेर्ने धोको छ।

तिम्रो दुःख, पीडा, असफलता, मिहिनेत, खुशी र सफलताको साक्षी पनि मै हुँ। तिमीले जिन्दगीमा कति दुःख सहेका छौ, गरेका छौ, त्यसैअनुसारको सफलता पनि पाउँदै गएका छौ। आगामी दिनमा पनि तिमीले चाहेको र सोचेको सबै कुरा पूरा हुन्।

फेरि पनि तिमीलाई जन्म दिनको लाखौँ लाख शुभकामना बूढो।

 

प्रकाशित मिति: ०६:३७ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्