“मलाई बुहारी हुनबाट मुक्त गरिदेउ”
त्यो बोझलाई मेरी हजुरआमाहरु, आमाहरु, काकीहरु, दिदीहरु र सानिमाहरुले बोकेको देखेरै अघाईसकेकी म स्वयं आफैं पनि बोक्दा बोक्दै गलिसकेकी छु ।
हे समाज, मलाई बुहारी हुनबाट मुक्त गरिदेउ ।
तिमीले पुस्तौंदेखी एउटी बुहारीलाई दिएको त्यो ५० किलोको ढुंगो जस्तो गहुँगो बोझलाई म बोकेर हिंडिरहन सक्तिन ।
त्यो बोझलाई मेरी हजुरआमाहरु, आमाहरु, काकीहरु, दिदीहरु र सानिमाहरुले बोकेको देखेरै अघाईसकेकी म स्वयं आफैं पनि बोक्दा बोक्दै गलिसकेकी छु ।
त्यसैले मलाई यो बोझलाई बिसाउन भएपनि बुहारी हुनबाट मुक्त गरिदेउ ।
प्रत्येक दिन विहान उठेर पानी खानको लागि जब भान्सामा छिर्छु,
ढोकाको कुनामा लम्पसार परीरहेको कुचोले भन्छ “तिमी यस घरकी बुहारी हौ, मलाई हतपत समाउ,अनि घरका कुनाकानी रहेका कसिंगरलाई बढारीदेउ ।
मलाई त समाजमा एउटी छोरीप्रति हेरीने मानिसहरुका दिमागमा भएका कसिंगरलाई बढार्न मन छ ।
त्यसैले एउटा नयां कुचोको निर्माण गर्न भएपनि मलाई बुहारी हुन बाट मुक्त गरिदेउ ।
एकैछिनमा चामलका बोराहरुले बोलाउंछन,
यता आउ बुहारी, बोरा खोल, चामल कुकरमा हाल
अनि तिम्रो भात पकाउने दिनचर्या सुरु गर ।
मलाई त मेरो शब्दहरुलाई दिमागको बोराबाट निकालेर,
तिनलाई कम्प्युटरका पानाहरुमा हालेर एउटा नयां कृति पकाउन मन छ ।
त्यसैले त्यो एउटा नयां कृति जन्माउन दिन भएपनि मलाई बुहारी हुनबाट मुक्त गरिदेउ ।
धाराको बेसीनमा अलपत्र परेर बसेको
भातका सिताहरु टांसीएर हेदै फोहोरी देखीएको कुकरको बिर्कोले भन्छ
“तिमी बुहारी हौ मलाई तिमीले नै माझ्नुपर्छ, तिमीले नै मलाई टल्काउनुपर्छ ।”
मलाई त समाजमा भएका धेरै मानिसहरुको दिमाग माझ्न मन छ ।
मानिसहरुको सोचमा लागेको कालो धब्बालाई घोटी घोटी टल्काउन मन छ ।
त्यसैले मानिसको सोचलाई टल्काउन सक्ने हिरा बन्नको लागि भएपनि मलाई बुहारी हुनबाट मुक्त गरिदेउ ।
हे समाज, मलाई बुहारीबाट मुक्त गरेर एउटी मान्छे बनाउ
ताकि म पनि किचेन छोडेर क्याविनेट पुग्न सकुँ ।
कुकर छोडेर कलमलाई साथि बनाउन सकुँ ।
भात नपस्केर छोरीहरुका भोगाईलाई पस्कीन सकुँ ।
किचनको स्ल्यापको सट्टा मानिसहरुको दिमागलाई पोछा लाउन सकुँ
एउटी महिला बुहारी मात्र नभएर एउटी मान्छे नै हो भनेर प्रमाणि गर्न सकुँ ।
त्यसैले हे समाज मलाई बुहारी हुनबाट मुक्त गरिदेउ ।
(लेखक महिला अधिकारकर्मी हुन् ।)