सुशासनको सपना : हाम्रो आ–आफ्नो ठाउँबाट सुरु हुने यात्रा
सुशासनको यात्रा नेताबाट होइन, नागरिकदेखि सुरु हुन्छ।आउनुहोस्, आ–आफ्नो ठाउँबाट सुरु गरौं।
काठमाडौं, असोज ११ : देशमा सुशासन ल्याउने कुरा उठ्दा हामी प्रायः नेताकै अनुहारतिर हेर्छौं। तर नेतामात्र सुध्रिएर देश चल्दैन। सुशासन भनेको सबैले आफ्नो ठाउँबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दा मात्रै सम्भव हुन्छ।
आज नागरिकले कार्यालयमा सेवा खोज्दा सहजता भन्दा बढी सास्ती पाउँछन्। सानो काम गर्न दिनभर लाइन बस्नुपर्छ, सामान्य कागज बनाउन घुस दिनुपर्छ, अनि सेवाग्राही होइन, अपराधीझैँ व्यवहार सहनुपर्छ। शिक्षा क्षेत्रमा पनि स्थिति सजिलो छैन। शिक्षकहरूले पढाउन भन्दा “पठाउनै नपरी तलब खाने” सोच अपनाउँदा लाखौँ बालबालिकाको भविष्य अन्धकारमा धकेलिन्छ।
यस्तै ठेकेदारहरूले “कसरी अझ कमाउँ” भन्ने सोचमा गुणस्तरभन्दा बढी नाफामा ध्यान दिएर सडक, भवन र पुललाई अल्पायुमै भत्किने बनाइदिन्छन्।
प्रहरीले चेकिङको नाममा नागरिकलाई असजिलो बनाउँदै धन्दा चलाउँछन्। मेनपावर कम्पनीहरूले “फ्री भिसा” भन्दै लाखौँ युवालाई ठग्छन्, सहकारीहरू आफ्नै आफन्तलाई मात्र लाभ दिने खेल खेल्छन्, र ट्रेड युनियनहरूले श्रमिकको हितभन्दा दलको स्वार्थलाई प्राथमिकता दिन्छन्।
यसैबीच, अस्पतालमा उपचार खोज्न गएका जनताको पीडा त झन् हृदय विदारक छ। लामो लाइन, ढिलो प्रक्रिया, आवश्यक औषधि स्टोरमा नपाइने अवस्था, पैसाले मात्र छिटो उपचार हुने विडम्बना — यी सबैले स्वास्थ्य सेवा होइन, सास्तीको परोसा दिन्छ। जीवन र मृत्युको सीमानामा उभिएको बिरामीलाई दयाभाव र छिटो उपचार दिन नसक्ने अवस्था नै हाम्रो स्वास्थ्य प्रणालीको सबैभन्दा ठूलो घाउ हो।
अब प्रश्न उठ्छ — नेतामात्र सुध्रिए देश सुध्रिन्छ त?
उत्तर स्पष्ट छ — होइन।
सुशासन आउन नेताले मात्र होइन, सबैले आफ्नै ठाउँबाट सुधार गर्नुपर्छ।
कर्मचारीले सेवाग्राहीलाई मुस्कानसहित सेवा गर्नुपर्छ।
शिक्षकले समयमै कक्षा प्रवेश गरेर आफ्नो धर्म पूरा गर्नुपर्छ।
ठेकेदारले गुणस्तरलाई नाफाभन्दा माथि राख्नुपर्छ।
प्रहरीले चेकिङलाई कमाइको साधन होइन, सुरक्षा दिने साधन बनाउनुपर्छ।
अस्पतालले बिरामीलाई इज्जत र माया दिनुपर्छ।
सहकारीले सबै सदस्यलाई समान रूपले लाभ दिनुपर्छ।
मेनपावरले युवालाई ठग्ने होइन, अवसर दिने मार्ग खोल्नुपर्छ।
युनियनहरूले श्रमिकको हितलाई दलको स्वार्थभन्दा अगाडि राख्नुपर्छ।
जब यी स–साना सुधारहरू आ–आफ्नो ठाउँबाट सुरु हुन्छन्, तब यो क्रमशः ठूलो लहर बन्छ। त्यो लहरले देशलाई धोइ–पखाल्छ र सुशासनलाई केवल सपना होइन, यथार्थमा बदल्छ।
हामी सबैले आलोचना मात्र होइन, सुधारको संकल्प गर्नुपर्छ।
आजैदेखि स–साना कर्महरूलाई इमान्दार र जिम्मेवार बनाऔं।
किनकि देश जुरुक्क उठ्ने शक्ति नेतामा मात्र छैन — त्यो त हामी सबैमा छ।
सुशासनको यात्रा नेताबाट होइन, नागरिकदेखि सुरु हुन्छ।
आउनुहोस्, आ–आफ्नो ठाउँबाट सुरु गरौं।












