Kathmandu Press

चुनावी मैदानमा सफल उद्यमी ढकाल, स्याङ्जा– १ मा जोगाउलान् कांग्रेसको शाख ? 

अबको राजनीति कति वर्ष जेल बस्यो, कस्तो भाषण गर्न सक्छ भन्ने मानकका आधारमा होइन, कसले राम्रा योजना र दृष्टिकोण प्रस्तुत गर्न सक्छ भन्ने मानकका आधारमा चल्नुपर्छ भन्ने ढकालको स्पष्ट दृष्टिकोण छ ।
चुनावी मैदानमा सफल उद्यमी ढकाल, स्याङ्जा– १ मा जोगाउलान् कांग्रेसको शाख ? 

काठमाडौं, फागुन १० : स्याङ्जामा भरतराज ढकाललाई नचिन्ने मान्छे कमै होलान् । उनी मूलतः सफल उद्यमी र सफल बैङ्करका रूपमा आफूलाई राष्ट्रिय रूपमा स्थापित गर्न सफल व्यक्तित्व हुन् । तिनै भरत ढकाल अहिले स्याङ्जाको क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

राजनीतिक पृष्ठभूमि

स्याङ्जा जिल्लाको केही दुर्गम मानिने गाउँ निबुवाबोटमा साधारण किसान परिवारमा जन्मिएका भरत ढकालले हुने बिरूवाको चिल्लो पात भनेझैं स्कुल पढ्दाखेरिबाटै केही न केही नयाँ सोचिरहने सिर्जनशील विद्यार्थीका रूपमा गुरूहरूमाझ आफ्नो पहिचान बनाएका थिए । विद्यार्थी कालमा नै टीकाराम ढकाल, त्रिभुवन शर्मा, प्रदीप पौडेल, वेदप्रसाद पनेरू, डाँसिराम शर्मा जस्ता आँधीखोला क्षेत्रमा प्रजातान्त्रिक समाजवादी धारको चेतना फैलाइरहेका तत्कालीन गुरूहरूको प्रभाव भरत ढकालमा परेको देखिन्छ । 

Hardik ivf

पञ्चायत विरोधी आन्दोलनमा कफन बाँधेर जागिर र जिउ ज्यानको बाजी लगाएर हिँडेका माथि उल्लिखित गुरूहरू र अन्य नाम उल्लिखित नभएका थुप्रै गुरु पथप्रदर्शकहरूको राजनैतिक प्रभावस्वरूप किशोर भरतमा पनि निरङ्कुशता विरोधी चेतनाको बीउ अङ्कुरण भएको थियो । फलस्वरूप २०४६ सालको आन्दोलनमा नेपाल विद्यार्थी सङ्घको एउटा भर्भराउँदो युवाका रूपमा उनको सक्रिय सहभागिता रह्यो ।

कलेज पढ्न थालेपछि पनि उनी नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको सङ्गठन निर्माणमा सक्रिय रहेका थिए । त्यस क्रममा उनी घाइतेसमेत भएका थिए । २०६२/०६३ को आन्दोलनताका राजनैतिक रूपमा एक सचेत  युवाका रूपमा उनको सहभागिता थियो ।

गणतन्त्रपछिका दिनहरूमा नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा उनको सहभागिता विभिन्न प्लेटफर्महरूबाट भइ नै रहन्थ्यो ।

मूल पक्ष वित्तीय योगदान

भरतको मूल पृष्ठभूमि राजनीतिकर्मीका रूपमा भन्दा वित्तीय साक्षरता, उद्यमशीलता, समाजसेवा, वित्तीय विकास र कृषिको रूपान्तरणका क्षेत्रमा काम गरिरहेका एक अभियन्ताका रूपमा बढी ओझिलो छ । व्यक्ति भरतका रूपमा उनी कम राजनैतिक र बढी वित्तीय योजनाकार मानिन्छन् । उनले आफ्नो जीवनका उर्वर तीन दशक नेपालको वित्तीय अर्थव्यवस्थालाई प्रभाव पार्ने गरि काम गर्दै आफ्नै कर्मका कारण आफ्नो परिचय आफै बनाउन सफल व्यक्ति हुन् ।

भरत ढकालहरूले स्याङ्जामा रोयल सहकारी स्थापना गर्दाको समयमा आम जनताको वित्तीय चेतना निकै कमजोर थियो । त्यतिबेला मानिसहरूलाई पैसा कमाएर बैङ्क वा वित्तीय संस्थामा जम्मा गर्ने धारणा नै थिएन । यही पृष्ठभूमिमा उनी  जनता बैङ्ममा आउने होइन, जनताका घरमा बैङ्क पुग्नुपर्छ भन्ने अवधारणा लिएर  गाउँबस्ती डुले । साहु महाजनको चर्को ब्याजले आम जनताको ढाड सेकिराखेको बेला उनी मान्छेलाई कुरा बुझाउँदै गाउँबस्ती चाहरिरहेका थिए ।

आजका जस्तो वित्तीय संस्थाहरू टोलैपिच्छे छ्यापछ्यापती नभएका बेलामा रोयल सहकारीमार्फत् ढकालले वित्तीय रूपान्तरणको अभियान छेडिसकेका थिए । उनले प्रत्येक व्यक्ति व्यक्तिलाई विश्वास दिलाएर जनताबाट ससानो रकम उठाएर स्याङ्जामा रोयल सहकारी संस्था सुरू गरे । त्यसको मूल नेतृत्वकर्ताका रूपमा ढकालले स्याङ्जामा सहकारी चेतनाको आँधीहुरी नै ल्याएका थिए भन्दा अतिशयोक्ति नहोला । त्यही आँधीहुरीलाई ठिक निष्कर्षमा पुर्‍याउँदै उनकै अगुवाईमा मुक्तिनाथ विकास बैङ्क स्थापना भएको थियो ।

वि.सं. २०६० देखि सहकारीमार्फत स्याङ्जाका गाउँ–गाउँमा लघुवित्त कार्यक्रम सुरु गरे—महिलाहरूको समूह निर्माण, साना बचत संकलन, कर्जा वितरण र वित्तीय जागरण। यो जिल्लामै पहिलो प्रयास थियो, जसले हजारौं महिलालाई आत्मनिर्भर बनाएको थियो । जनताबाट थोरै रकम उठाएर सानो पूँजीमा सुरू गरेको मुक्तिनाथ विकास बैङ्क आज नेपालकै एक सफल र अत्यधिक कारोबार हुने बैङ्कका रूपमा स्थापित छ । आज मुक्तिनाथले राज्यलाई मात्र योगदान दिएको छैन, हजारौंलाई रोजगारी लगाएर मानव जनशक्तिको उच्चतम उपयोग समेत गरिरहेको छ ।

मुक्तिनाथ विकास बैङ्कका अध्यक्ष र सिईओ भएर उनले बैङ्कलाई बलियो बनाएर मुक्तिनाथ फाउन्डेसन स्थापना गरि त्यसमार्फत् सामाजिक कामहरू गरे ।

मुक्तिनाथ कृषिबाट राजनीतिमा

वित्तीय क्षेत्रमा काम गर्दा गर्दै उनले नेपालको अर्थतन्त्रका नाडी नशा राम्रोसँग छामेका छन् । कृषिमा आधारित अर्थतन्त्र  भएको मुलुक नेपालमा कृषिको स्थिति अत्यन्त कमजोर र परम्परावादी तथा निर्वाहमुखी छ । उनले के बुझे भने कृषिको रूपान्तरणविना नेपालको विकास सम्भव छैन । यस बुझाइलाई मूर्त बनाउँदै मुक्तिनाथ कृषि कम्पनी स्थापना गरि कृषि उत्पादन, बजार र उपभोगसम्मका शृङ्खलाहरूमा किसानसँग मिलेर काम गर्ने योजनासहित अघि बढे ।

यसले किसानलाई बिरुवा तथा बीउ छनोटदेखि हुर्काई तथा उत्पादनमा आउने विभिन्न समस्याहरूमा किसानसँग सहकार्य गर्दै आधुनिक प्रवृधिमैत्री व्यावसायिक कृषिको पक्षपोषण गर्दछ ।

कृषिमा काम गर्दा उनले नेपालका दुई दर्जन बढी पुराना कानुनहरूका कारण कृषिमा लगानी गर्ने वातावरण नभएको तथ्य पत्ता लगाए । ती कानुन संशोधन गरेपछि मात्र कृषिमा लगानी गर्ने सहज वातावरण बन्ने देखेपछि उनको मन संसदतिर तानिएको हो । कानुन निर्माण र संशोधन गर्ने जनताको बैधानिक थलोमा आफ्नो सक्रिय सहभागितामार्फत् उनले नेपालको जनमुखी कृषि नीति बनाउन आफूले हस्तक्षेपकारी भूमिका खेल्न सकिने बलियो आत्मविश्वास बोकेर राजनीतिको मैदानमा उत्रिएका छन् ।

अबको राजनीति कति वर्ष जेल बस्यो, कस्तो भाषण गर्न सक्छ भन्ने मानकका आधारमा होइन, कसले राम्रा योजना र दृष्टिकोण प्रस्तुत गर्न सक्छ भन्ने मानकका आधारमा चल्नुपर्छ भन्ने ढकालको स्पष्ट दृष्टिकोण छ ।

639987784_1243972147686049_1166524904274430549_n-1771674618.jpg
 

बाह्रैमास राजनीति गर्ने भनेर थोत्रा गफ र उखान टुक्का हालेर आजका युगीन समस्याहरूको सम्बोधन गर्न सक्ने राज्य संरचनाको निर्माण गर्न सकिँदैन । आजको विश्व राजनीतिको प्रमुख  मुद्दा भनेको अर्थतन्त्र हो भन्ने कुरा अमेरिका, रसिया, चाइना जस्ता देशहरूको शक्ति सम्बन्धमा क्रय बिक्रय, आयात निर्यात र वस्तुको उत्पादन र बजारीकरणका फेरबदलले पारिरहेको प्रभावबाट स्पष्ट भइरहेको छ ।

त्यसैले अब कक्षामा फेल भएका, दादागिरी गरेर ठेकेदार भएर राजनीतिमा आएका, कुनै पनि विषय क्षेत्रमा सफल हुन नसकेका हल्लुडबाजहरूले राजनीति गर्ने होइन, राजनीति त विभिन्न क्षेत्रमा अब्बल काम गरेर देखाएका, विषय क्षेत्रका जानकार, प्रविधिको क्षेत्रमा अब्बल भएका स्कुल कलेज टपहरूले गर्नुपर्छ । अनि मात्र हामीले करिब ६ दशकदेखि चाहिराखेको रूपान्तरण देख्न र भोग्न पाउने छौं ।

ढकाल जस्ता योजनाकारहरू जसले नेपाली कृषि र अर्थतन्त्रको आँत छामेका छन्, तिनका रोग र उपचारका उपाय जानेका छन् त्यस्ता मान्छेहरू नीति निर्माणका तहमा पुगे भने बल्ल देशको आर्थिक विकास सम्भव हुन्छ ।

योग्य व्यक्तिहरू संसदमा नजाने हो भने कृषिका कानुन तथा नीतिहरू निर्माणमा तिनले निर्णायक भूमिका खेल्न सक्ने छैनन् । उद्यमशीलताको विकास विना रोजगारी सम्भव छैन । कृषि उद्यमको विकासविना नेपालको अर्थतन्त्र तङ्ग्रिन्न । दुखका साथ भन्नुपर्छ,  कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा बेहोर्ने हाम्रो निर्वाहमुखी कृषि यतिबेला भेन्टिलेटरमा छ ।

नेपाली कृषि परम्परागत भयो । कृषि पूर्वाधारको विकास हुन सकेन । मूल रूपमा भन्ने हो भने कृषिका योजना नै छैनन् ।  आफैले उत्पादन गरेको कुनै पनि खानेकुराले आफ्नो परिवारको वर्षभरिको खर्च धान्दैन । योजनाबद्ध र व्यावसायिक कृषिको विकास आजको आवश्यकता हो  ।

के छन् योजना ? 

नागरिकको समृद्धिको आधार कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल प्रतिबद्धतासहित मैदानमा उत्रिएका ढकाल आफूलाई सपना देखाउने होइन, सम्भावनालाई यथार्थमा रूपान्तरण गर्ने नेतृत्वका रूपमा प्रस्तुत गर्छन् ।

स्याङ्जालाई सुन्तला, कफी जस्ता अर्गानिक उत्पादनको उर्वरभूमिका रूपमा चिनाउँदै ‘कृषि औद्योगिक ग्राम’को अवधारणा उनले सार्वजनिक गरेका छन् । उत्पादनलाई आन्तरिक बजारसँगै निर्यातसम्म जोड्ने उनको लक्ष्य छ ।

वास्तवमा भरत ढकाल एक कुशल योजनाकार हुन्, जोसँग मुलुकको कृषि संयन्त्रका सबै रूढ र परम्परावादी शृङ्खला हटाएर प्रविधिमैत्री, वातावरणमैत्री, स्वास्थ्यमैत्री कृषिको माध्यमबाट नेपालको राष्ट्रिय आयमा ठूलो परिवर्तन गर्दै आर्थिक वृद्धिदरलाई आजको भन्दा निकै ठूलो अनुपातमा वृद्धि गर्न सकिन्छ भन्ने बलियो आत्मविश्वास छ ।

ढकाल आफ्नै सोच सपनालाई सफलतापूर्वक कार्यान्वयन गरि आफनो कर्मले अलग्गै परिचय बनाएका ओैसत भुँइमान्छे हुन् । उनी जस्ता मान्छेहरू राजनीतिमा आउनु सुखद पक्ष हो । स्याङ्जा क्षेत्र नं १ मा नेकपा एमालेबाट मीन प्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धनन्जय रेग्मी र नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे चुनावी प्रतिस्पर्धामा छन् । 

२०७० सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेको एकछत्र राज गरेको यस क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता राजु थापाले एमालेको किल्ला तोडेका थिए । २०७४ सालमा नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रले चुनावी तालमेलमा नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनीले जित हासिँल गरेका थिए । २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा पुनः नेपाली कांग्रेसको तर्फबाट थापाले चुनाव जितेका थिए । 

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रकाशित मिति: ०७:२१ बजे, आइतबार, फागुन १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्