गोहीको ढाडमाथि नौका विहार
भीमफेदीको पानीसमेत मिसिएर हेटौँडा हुँदै बगेर आउने राप्ती र बुढी राप्तीमा दुई खालका गोही पाइन्छन्। घडीयाल गोहीले माछा मात्र खान्छ भने मगर गोहीले जलचरसँगै नदीमा पानी खान आउने अन्य वन्यजन्तु पनि खान्छ। गाइडका अनुसार बूढी राप्ती र राप्तीमा माछा मार्न पाइँदैन।तीन दिने चितवन टुरको दोस्रो दिन, १७ पुसको बिहान। खाजा लिएपछि हात्ती प्रजनन केन्द्र जाने तयारीमा जुट्यौँ। जिपले हामीलाई होटलबाट बूढी राप्तीको किनारसम्म पुर्यायो। गाइड अर्जुन थिङ भन्दै थिए, ‘आज बुढी राप्तीपारि जंगली हात्ती आएको रहेछ।’ नदी किनारमा केही डुंगा थिए। केही चाहिँ पर्यटकलाई लिएर हात्ती प्रजनन् केन्द्रतिर लगिएको रहेछ। नदीमा पानीको बहाब निकै कम थियो। यात्रु लिएर गएको डुंगा माझीहरूले फर्कंदा रित्तै भए पनि पानीको उल्टो बहाबमा निकै मुस्किलले ल्याउँदा रहेछन्।
गाइड अर्जुनले भने, ‘हामी वन्यजन्तु र जलचरहरूको घरमा जाँदैछौँ। करिब तीन किलोमिटर डुंगा यात्रा ४० मिनेट जतिको हुनेछ। कृपया शान्त रहनु होला। हलचल नगर्नुहोला। कहिलेकाहीँ गोही छेवैमा देखा पर्न सक्छ। हाम्रो हल्लाले डिस्टर्ब भयो भने गोहीले आक्रमण गर्न पनि सक्छ।’ केहीबेरमै हामी एउटा अलि ठूलो डुंगामा चढ्यौँ।। डुंगामा माझी र गाइडसमेत गर्दा हामी ३२ जना थियौँ।
राष्ट्रिय निकुञ्ज क्षेत्रमा नदी फोहोर बनाउने कुनै पनि प्रकारको गतिविधि गर्न पाइँदैन तर सिराइचुलीलगायतका महाभारत लेकहरूबाट बगेर आउने बुढी राप्तीको पानी केही दूषित थियो। भीमफेदीको पानीसमेत मिसिएर हेटौँडा हुँदै बगेर आउने राप्ती र बुढी राप्तीमा दुई खालका गोही पाइन्छन्। घडीयाल गोहीले माछा मात्र खान्छ भने मगर गोहीले जलचरसँगै नदीमा पानी खान आउने अन्य वन्यजन्तु पनि खान्छ। गाइडका अनुसार बूढी राप्ती र राप्तीमा माछा मार्न पाइँदैन। कसैले माछा मारेको पाइए नगद जरीवानासहित जेल सजाय हुन्छ।
गाइडले नदी आसपासमा देखिएका चरा, मृगलगायतका वन्यजन्तुका विषयमा मधुरो आवाजमा ब्रिफिङ गर्दै हाम्रो डुंगा अघि बढिरह्यो। करिब १५ मिनेटपछि हामी नदी थोरै घुमेको स्थानमा पुग्यौँ। दाहिनेपट्टि जलकुम्भीले ढाकेको नदी किनारबाट मगर गोही बाहिर निस्केर भित्तामा उक्लिँदै थियो। बायाँपट्टिको सानो बलौटे किनारमा घडीयाल गोही घाम ताप्न निस्केको थियो। त्यहीबेला हाम्रो डुंगाको ठिक मुनि अर्को गोही देखा पर्यो। डुंगा गोहीको ढाडमाथिबाट अघि बढ्यो। धन्न गोही धेरै हलचल भएन। हामी भाग्यमानी ठहरियौँ। नत्र हामीमध्ये केही गोहीको आहारा पो हुन्थ्यौं कि?
गोहीबाट बचेको पाँच मिनेटपछि मयुरको नजिक पुग्यौँ। मानिसबाहेक प्रकृतिमा पाइने हरेक जीवजन्तुमा भाले राम्रो हुन्छ। भाले मयुर प्वाँख फिजाएर नाचेको दृश्य साँच्चै लोभलाग्दो हुन्छ। हामीलाई त्यही लोभलाग्दो दृश्य हेर्ने अवसर प्राप्त भयो। यसपटक भने आफूसँग राम्रो क्यामेरा नभएकोमा खुब थकथकी लाग्यो।
जाडोमा हिमाल नाघेर आउने चरा हो, चखेवा। रुसबाट जाडो छल्न हजारौँ माइलको यात्रा गरेर आउने चखेवाका जोडी नदीमा धेरै ठाउँमा देख्यौँ। चखेवा सधैँ जोडी भएर बस्छ। भाले होस् वा पोथी कुनै एक कुनै कारणले मरेमा अर्को पनि मर्छ। त्यसैले त बनेको होला अत्यन्तै मिल्ने जोडीलाई ‘चखेवाको जोडी’ जस्तो भन्ने कहावत। करिब ४० मिनेटमा हामी हात्ती प्रजनन् केन्द्र नजिक नदी किनारमा रोकियौँ।
डुंगामा खुट्टा नभएको कुर्सी राखिँदो रहेछ। दुई छेउमा एकएक वटा कुर्सी राखिएको थियो भने बीचमा दुईदुई वटा मिलाएर राखिएका थिए। डुंगामा सिट व्यवस्थापनका लागि राखिएका ती खुट्टा बेगरका कुर्सीमा पलेटी कसेर बस्नु पर्ने। म डुंगा चलाउने माझी दाइ रहेको छेउको सिंगल सिटमा थिएँ। मेरा लागि ४० मिनेट खुट्टा खुम्च्याएर बस्नु निकै कष्टकर थियो। एक त ढाडको समस्या, अर्को मेरो मोटोपन। तर नदीमा खसेर गोहीको आहारा बन्ला कि भन्ने थोरै डर र धेरै चाहिँ उत्सुकतामा बितेको ४० मिनेट चार मिनेटजस्तो मात्र लाग्यो।