मेराे नजरमा यज्ञ सर
उहाँ सबैप्रति सकारात्मक हुनुहुन्छ तर खासगरी लोकतन्त्र, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी अवधारणामा रहेर ज्ञान उत्पादनमा रुचि राख्नेका लागि सदैव प्रेरणा दिइरहनु उहाँको विशेषता हो।यज्ञ सरलाई मैले व्यक्तिगत रुपमा चिनेको करिब १० वर्ष जति भयो। सन् २०१३ मा म दिल्लीमा रहेको सार्कको साउथ एसियन युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर (एमए) सकेर फर्केपछि उहाँलाई चिन्ने अवसर पाएको हुँ। यो दश वर्षको अवधिलाई थोरै भनौं या धेरै? थोरै भनौं एक दशकको अवधि थोरै होइन, धेरै भनौं यज्ञ सरको राजनीति र प्राज्ञिक क्षेत्रमा रहेको क्रियाशीलताको तुलनामा यो अवधि थोरै जस्तो लाग्छ। उहाँलाई मैले पहिले नै चिन्न पाएका भए जस्तो सँधै लाग्छ। यो विगत बदलिन सकिँदैन, यसमा धेरै गुनासो गर्नु उचित नहोला। उहाँलाई कहिले चिनें भन्दा पनि कसरी चिनेँ भन्ने विषय मेरा लागि बढी महत्त्व राख्छ। यज्ञ सरको व्यक्तित्व सबैका लागि प्रेरणा र उदाहरण हुने ठानेर मेरा केही अनुभव र धारणा म यहाँहरुसँग साझा गर्न गइरहेको छु।
२०७० साउनतिर साउथ एसियन युनिभर्सिटीबाट एमए सकाएर फर्किएपछि म नेपालका शैक्षिक संस्था, अध्ययन अनुसन्धान गर्ने निकायमा मैले पढेको विषय अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति वा राजनीतिशास्त्र अध्यापन वा अनुसन्धानमा काम खोज्दै थिएँ। यसैक्रममा यज्ञ अधिकारी सरसँग भेट भएको थियो। उहाँलाई भेट्न मलाई सुझाउने व्यक्ति डा. जगदिशचन्द्र पोखरेल हुनुहुन्छ। यज्ञ सर त्यसबेला नेपाल तथा एसियाली अध्ययन केन्द्रको निर्देशक हुनुहुन्थ्यो कि जस्तो मलाई लाग्छ। त्यसैबेला नेपाली कांग्रेससँग नजिक रहेको ज्ञान उत्पादनको केन्द्र प्रजातन्त्र सम्बद्र्धन केन्द्रको उपाध्यक्ष पनि हुनुहुन्थ्यो उहाँ। त्रिभुवन विश्वविद्यालयमा लामो समय पढाउनुभएको, नेपाली कांग्रेसमा सक्रियता र लोकतन्त्र र लोकतान्त्रिक समाजवादप्रति बलियो प्रतिबद्धताका कारण म उहाँसँग प्रभावित भएको थिएँ। सौभाग्यवश मैले यज्ञ सरसँग अर्थपूर्ण संगत गर्ने अवसर पनि पाएँ।
उहाँ सबैप्रति सकारात्मक हुनुहुन्छ तर खासगरी लोकतन्त्र, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी अवधारणामा रहेर ज्ञान उत्पादनमा रुचि राख्नेका लागि सदैव प्रेरणा दिइरहनु उहाँको विशेषता हो। मप्रति चाहिं उहाँको विशेष कृपा नै रह्यो जस्तो मलाई लाग्छ। म जस्ता अध्ययन अनुसन्धानमा रुचि राख्ने अरु धेरैलाई पनि उहाँले प्रेरणा दिनुभएको छ। डा. जगदिशचन्द्र पोखरेल अध्यक्ष र उहाँ उपाध्यक्ष रहनुभएको नेपाली कांग्रेसको थिंक ट्यांक प्रजातन्त्र संवर्धन केन्द्रले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेका कार्यक्रमहरुमा उहाँले मलाई धेरै जसो रिपोर्ट तयार पार्ने काममा लगाउनुभयो। एक पटक त पोखरासम्म पनि उहाँसँग जान पाएँ। यही मेसोमा हो मैले उहाँलाई राम्रोसँग चिन्न जान्न पाएको। यिनै विषयको सेरोफेरोमा कैयौं पटक उहाँसँग औपचारिक र अनौपचारिक छलफल गर्ने अवसर पनि मैले पाएको छु।
उहाँको जन्मस्थान पर्वत, माध्यमिक विद्यालय पढ्ने क्रममा स्याङ्जा, त्यसपछि क्याम्पस पढ्ने क्रममा चितवन र काठमाडौसम्म उहाँ राजनीतिक क्रियाशिलता र प्राज्ञिक कर्मका हिसाबले पनि उहाँ नेपाली कांग्रेस, लोकतन्त्र र लोकतान्त्रिक समाजवादप्रति समर्पित देखिनुहुन्छ। भारतको बनारसमा रहेको बनारस हिन्दु विश्वविद्यालयमा विद्यावारिधी गर्दा पनि उहाँले त्यसबेलाको प्रतिबन्धित नेपाली कांग्रेसको परराष्ट्र नीति विषय छान्नुभएबाट उहाँले राजनीतिक र प्राज्ञिक सक्रियतामा तादात्म्यता मिलाउन खोज्नुभएको देखिन्छ। कांग्रेस, लोकतन्त्र, लोकतान्त्रिक समाजवादका अलावा लोकतन्त्रमा सामाजिक न्यायका बारेमा समेत उहाँले अनवरत बहस उठान गरिरहनुभएको छ। प्रजातन्त्र सम्बद्र्धन केन्द्रले आयोजना गरेका कार्यक्रममा मात्र होइन, उहाँले दिने प्रस्तुति, प्रस्तुत गर्नुहुने कार्यपत्र, लेख, पुस्तक आदिमा पनि उहाँ यिनै विषयहरुको सेरोफेरोमा लेख्दै र बोल्दै आउनुभएको पाइन्छ।
यसरी राजनीतिक अभियान र प्राज्ञिक कर्मलाई सँगसगै अगाडि बढाउन सक्ने व्यक्तिहरु बिरलै पाइन्छन्। नेपालका बिपी कोइराला, भारतका जवाहरलाल नेहरु, अमेरिकाका हेनरी किसिन्जर यस्तै व्यक्तिहरु हुन्। अमेरिकाकै जोसेफ स्टिग्लिज, जोसेफ नाइ, नेपालकै वर्तमान सन्दर्भमा भन्नुपर्दा स्वर्णिम वाग्ले एकैसाथ प्राज्ञिक कर्म, नीतिनिर्माण र व्यवहारिक राजनीतिको राम्रो ज्ञान भएका व्यक्ति मान्न सकिन्छन्। यज्ञ सरको व्यक्तित्वमा यस्तै छनक पाइन्छ। नेपालको राजनीतिक, प्राज्ञिक र ज्ञान निर्माणको संरचना र अवस्थितिले यज्ञ सर हेनरी किसिन्जरले जसरी प्रचार पाउन सक्नुभएन होला, त्यसै ढंगले आफैलाई विकास गर्ने अवसर पनि पाउनुभएन होला तर प्रवृत्ति र शैलीका हिसाबले उहाँलाई त्यसरी बुझ्न सकिन्छ।
विश्वविद्यालयको पठन पाठन, अध्ययन अनुसन्धान र प्रजातन्त्र सम्बद्र्धन केन्द्र जस्ता संस्थामा रहेर अनवरत आफूले विश्वास गरेको दल नेपाली कांग्रेस र त्यसले अगिंकार गरेको लोकतान्त्रिक समाजवादको सैद्धान्तिक, नीतिगत र व्यवहारिक पाटोमा एकैसाथ बहस गर्न उहाँले आफूलाई व्यस्त राख्नुभएको पाइन्छ। विश्वविद्यालयमा प्राध्यापनरत छँदा उहाँलाई पर्वतबाट प्रत्यक्ष निर्वाचन लड्न नेपाली कांग्रेसले टिकट दिन खोज्दा पनि उहाँले प्राज्ञिक नीतिगत बहसलाई ध्यान दिनकै लागि भनेर टिकट त्याग्नुभएको छ। राजनीतिलाई र लोकतन्त्रलाई योगदान गर्ने चुनाव लडेर र राजनीतिमा सक्रिय भएर मात्र होइन, राजनीतिको मार्ग देखाउने बहसमा सामेल भएर पनि त्यतिकै योगदान गर्न सकिन्छ भन्ने उहाँलाई लागेको हुनुपर्छ।
सधैं र हरबखत क्रियाशील र सक्रिय रहन रुचाउनुहुने यज्ञ सर २०७५ वैशाख २९ गते ‘ब्रेन स्ट्रोक’ भएपछि शारीरिक रुपमा पुरै स्वस्थ हुन सक्नुभएको छैन। त्यसपछि विभिन्न किसिमका उपचार पद्धति अबलम्बन गरिरहनुभएकोमा ९ महिनापछि पुनः ब्रेन स्ट्रोक भएर उहाँ निकै अप्ठेरोमा पर्नुभयो। तर दृढ इच्छाशक्तिकै कारण भन्नुपर्छ उहाँ अहिले होसमा फर्कनुभएको छ। सँधै सक्रीय रहनुभएका यज्ञ सरलाई निष्क्रीय जीवन के मञ्जुर हुन्थ्यो र ? शारीरिक रुपमा पूर्ण स्वस्थ नभए पनि उहाँलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवाद, बहुदलीय व्यवस्थाको सबलीकरण, राजनीतिले गर्नुपर्ने जनताको सेवा जस्ता विषयले पिरोल्न छोडेका छैनन्।
आफूले लेखहरु लेख्न गाह्रो भए पनि आफूले बोलेर कसैले लेखिदिन्थ्यो कि भन्ने सोच पनि उहाँमा थियो। कुनै न कुनै तरिकाले आफ्ना विचार प्रवाह गर्न पाए हुन्थ्यो भने छटपटी पनि उहाँमा मैले देखेको छु। म काठमाडौं नै हुँदा उहाँले मलाई उहाँका विचार लेखमा उतारिदिन र सम्पादन गर्न सहयोग समेत माग्नुभएको थियो। त्यो यज्ञ सरको क्रियाशिलताले खोजेको एउटा मार्ग थियो। काठमाडौंमा म विशुद्ध श्रमजीविको व्यस्तताका बाबजुद मैले सरलाई सक्दो सहयोग गर्छु भनेको थिएँ। तर समय क्रममा म विदेश हिँड्नुपर्ने बाध्यतामा परें। म अहिले अध्ययनको शिलशिलामा अष्ट्रेलियामा छु।
यज्ञ सरले मलाई जीवनभर तिरेर नसक्ने गुण लगाउनुभएको छ। म जस्तो सामान्य किसानको परिवारबाट आएको व्यक्तिलाई उहाँले आफ्नो सानिध्यमा रहन दिनुभयो। २०७२ सालमा त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको परिक्षाका बेला मलाई असफल बनाउन र दुःख दिन शक्तिशाली स्थानमा भएका केही दुष्टहरु लागेका थिए। त्यसबेला मलाई निःशर्त माया गर्ने र नैतिक समर्थन गर्ने एकदमै कम व्यक्ति मध्ये यज्ञ सर पर्नुहुन्छ। कांग्रेसकै भनिएका केही महत्त्वपूर्ण स्थानमा भएका व्यक्तिहरु मलाई दुःख दिनेका मतियार बनेका थिए।
यज्ञ सर कसैको फाइदाका लागि इमानदार मान्छेलाई दुःख दिनुहुन्न भन्ने मानसिकता राख्नुहुन्छ। म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनका लागि स्थायी भएको हेर्ने सदिच्छा उहाँलाई थियो। उहाँको नैतिक समर्थन र सहयोगका बाबजुद पनि म त्रिविमा आशिंक शिक्षक भन्दा माथि जान सकिन त्यहाँ हुने कुकृत्यहरुका कारण। तर एउटा लोकतान्त्रिक विमर्श गर्न रुचाउने आफूजस्तै प्राज्ञिक क्षेत्रमा लाग्न रुचाउने व्यक्तिलाई कतिसम्म नैतिक समर्थन र साथ दिन सकिन्छ भन्ने प्रत्यक्ष व्यवहार मैले यज्ञ सरबाट अनुभव गर्न पाएको छु। त्यसका लागि यज्ञ सरप्रति म सँधै कृतज्ञ रहने छु।
अहिले नेपाली समाज इतिहासघाती चिन्तनबाट अगाडि बढ्न खोजेको छ। सबै पात्र, प्रवृत्ति र चिजलाई वर्तमानमा उपयोगिताको दृष्टिकोणबाट मात्र मुल्याकंन गर्ने प्रवृृत्ति बढ्दै गएको छ। यही आलोकमा मुल्याकंन गर्ने हो भने विगतमा नेपालमा लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्यायका लागि वैचारिक र व्यवहारिक मोर्चाबाट लडेका सबैको योगदान अवमुल्यन हुन जान्छ। हामीले जिएको वर्तमानको एउटा इतिहास हुन्छ, यसमा इतिहासको योगदान हुन्छ। इतिहासलाई, बुढा पाकालाई, अनुभवीलाई कदर गरिनुपर्छ भनेर त्यसैले भनिएको होला।
समग्र मुलुकले, नेपाली कांग्रेसले, त्रिभुवन विश्वविद्यालयले, नेपाली शैक्षिक क्षेत्रले, लोकतान्त्रिक आन्दोलनको अध्ययन गर्न चाहनेहरुले, सामाजिक न्यायको क्षेत्रमा ज्ञान उत्पादन र अभियानको मोर्चामा लागेकाहरुले यज्ञ सरको योगदानलाई यही आलोकमा सम्झिनुपर्छ, कदर गर्नुपर्छ र संस्थागत स्मरणमा राख्नुपर्छ। कृतज्ञताको संस्कार निर्माण गर्ने हामीले नै हो। नत्र हामीलाई पनि सम्झने कोही नहुन सक्छन्।
X (twitter) : @shivap566