Kathmandu Press

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा २० लाख आवेदन

काठमाडौं, असार २१ : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् ।आज...
मनकामना स्मार्ट लघुवित्तको आइपिओमा २० लाख आवेदन

काठमाडौं, असार २१ : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् ।

आज साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ । यो मागभन्दा ७३ गुणा बढी भएको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यही असार १७ गतेबाट खुला भएको आईपीओ आज सकिएको हो । क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई अर्ब ६५ करोड ७४ लाख ५० हजार कित्ता शेयर माग भएको छ । संस्थाले सर्वसाधारणका लागि ३ लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको थियो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाट निर्देशिका अनुसार बाँडफाट हुने बताइएको छ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाट गर्दा ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् । त्यस अनुसार ९८.१० प्रतिशतभन्दा धेरैले शेयर नपाउने देखिएका छन् । हालसम्म प्राप्त तथ्याङ्क पूर्ण नरहेकाले लघुवित्तको आईपीओ आवेदन गर्नेको सङ्ख्या अझै थप हुन सक्ने क्यापिटलले जनाएको छ ।

 तीन करोड ८९ लाख बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेका तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: २१:०६ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्