Kathmandu Press

इरानमा राष्ट्रपतिका लागि मतदान सुरु, कट्टरपन्थी उम्मेदवारले जित्ने सम्भावना

दुबई, ४ असार : इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार बिहानैदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी...
इरानमा राष्ट्रपतिका लागि मतदान सुरु, कट्टरपन्थी उम्मेदवारले जित्ने सम्भावना
Hardik ivfHardik ivf

दुबई, ४ असार : इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार बिहानैदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ। 

इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गरेकाले  उनी नै विजयी हुने मतसर्वेक्षणहरुले देखाएका छन् ।

केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनासेर हेमाटीलाई औसत एवं नरम उम्मेदवार मानिएको छ। 

राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भए उहाँ अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति हुनु हुनेछ । राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो। 

मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका छन् । सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो।

सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका छन् । उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेका छन्।

राष्ट्रपतिका प्रभावशाली उम्मेदवार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गरेका छन्। उनले पनि इरानका सबै योग्य नागरिकलाई मतदानमा भाग लिन आग्रह गरे। 

राइसीको उम्मेदवारीलाई लिएर इरानका कतिपय नागरिकले असन्तुष्टी जनाएका छन्। 

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् । तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ। 

यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ। 
 

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्