मन्त्री सिन्हाको पहिलो निर्णय- शहीद परिवारका सदस्य र आन्दोलनका घाइतेका लागि रोजगारी
शपथ ग्रहणसँगै सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनु परेको भन्दै उनीहरुको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए।
काठमाडौं, असोज ६ : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार पदभार ग्रहण गर्दै शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।
शपथ ग्रहणसँगै सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनु परेको भन्दै उनीहरुको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए।
‘हामीले राजनीतिक स्थायित्वको लागि र जुन प्रयोजनको लागि आन्दोलन भएको थियो, जुन कुरा उठाउनुभयो त्यसका लागि काम गर्नुपर्नेछ। जस्तो अहिले देशमा भइरहेको सुशासन र रोजगारीको अभावमा धेरैले ज्यान पनि गुमाउनु परेको छ,’ उनले भने, ‘उहाँहरुले दिनुभएको देन र ज्यानको आहूति आगामी दिनमा खेर जादैँन् भन्ने विश्वास लिएको छु । मैंले जुनसुकै काम गर्दा पनि उहाँहरुको अनुहार मेरो अगाडि आउँछ। घाइतेहरुको अनुहार पनि आउँछ । सायद त्यसले मलाई उर्जा पनि दिन्छ।’
मन्त्री सिन्हाले सरकारी निकायहरूमा प्रयोग गरिने फर्निचर तथा अन्य निर्माण सामग्रीहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय पनि गरेका छन्।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश रहेका सिन्हाले सोमबार एकसाथ तीन वटा मन्त्रालयको कार्यभार सम्हालेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री सिन्हा सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरेका हुन्।
उनले युवाहरुको सीप व्यवस्थापन र रोजगारीका कुराहरु आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरुलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए।











-ink-1744291933.jpeg)
