Kathmandu Press

‘सरकार ! हामीलाई कसले बचाउने र कसरी बाँच्ने ?’

आजसम्म जतिले ज्यान गुमाए, उनीहरूको परिवारलाई र आफ्नै बलबुतामा सिलिन्डरको जोहो गरी ज्यान जोगाएकालाई यस सरकारको आवश्यकता र औचित्य सोध्ने हो भने जवाफ के आउला ?
‘सरकार ! हामीलाई कसले बचाउने र कसरी बाँच्ने ?’

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरका कारण यतिबेला हामी पनि आक्रान्त छौँ। पछिल्लो समय हामीकहाँ दैनिक सयभन्दा बढीले ज्यान गुमाउन बाध्य छन्। दैनिक पाँच–सात हजारसम्म संक्रमित थपिए। सुखद खबर, पछिल्ला दिनमा निको हुनेको संख्या बढ्दो छ। कोरोना संक्रमणको जोखिमबाट जोगिन देशभर निषेधाज्ञा जारी नै छ। यसमा नागरिकको तहबाट पनि सचेतना, सजगता अपनाउन जरुरी छ।

अहिलेसम्म हामीकहाँ ७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अझै पनि कतिपय संक्रमितले अस्पतालमा आइसियु बेड, अक्सिजन पाउन सकिरहेका छैनन्।

दोस्रो लहरको तुलनामा गत वर्ष हामीकहाँ कोरोनाले त्यति मानवीय क्षति नपुर्‍याए पनि समग्र अर्थतन्त्र प्रभावित भएको थियो। गत वर्षबाट पाठ सिकेर सरकारले केही सावधानी अपनाएको भए सायद यति धेरै जनताले अकालमा ज्यान गुमाउनुपर्दैनथ्यो। तर, सरकारले जनताको स्वास्थ्य सुरक्षामा त्यति संवेदनशील हुन सकेन, बरु सरकार जोगाउन संविधान मिच्नेसम्मका काम भए। भ्रष्टाचारका अनेक तौरतरिका पनि बाहिरिए।

Hardik ivf

आज हामीले कोरोनाबाट जुन क्षति व्यहोरिरहेका छौँ, नागरिकले प्रभावकारी उपचार पाउन नसकिरहेको जुन अवस्था छ, यसमा सरकारलाई तयारी गर्ने प्रशस्त समय थियो, तर गत वर्षको अवस्था र अन्य देशलाई हेरेर सरकारले तयारी गर्न सकेन।

यो एक वर्षमा सरकारले केही स्थायी र अस्थायी प्रकृतिका हस्पिटल बनाउन सक्थ्यो, थप अक्सिजन प्लान्ट र भेन्टिलेटरको व्यवस्था गर्न, बिरामीलाई उपचार केन्द्रसम्म पुर्‍याउने व्यवस्था गर्न सक्थ्यो। जनचेतना फैलाउन, भारत तथा विदेशबाट आएकालाई केही समय आइसोलेसनमा बस्ने व्यवस्था गर्न सक्थ्यो। यति गरेको भए ज्यान गुमाउनेको संख्या न्यून हुन सक्थ्यो। जब कोरोनाको दोस्रो लहर आयो, नागरिक आफैँ सिलिन्डर हिँड्ने अवस्था आइलाग्यो। आजसम्म जतिले ज्यान गुमाए, उनीहरूको परिवारलाई र आफ्नै बलबुतामा सिलिन्डरको जोहो गरी ज्यान जोगाएकालाई यस सरकारको आवश्यकता र औचित्य सोध्ने हो भने जवाफ के आउला ? संक्रमितको मृत्युको खबरले निमुखा जनता अत्तालिएका छन्– सरकार ! हामीलाई कसले बचाउने र कसरी बाँच्ने ?

महामारीले उग्र रूप लिएकै बेलामा सरकारले  हात उठायो र ‘अस्पतालमा बेड छैनन्, आफैँ सुरक्षित रहनू’सम्म भन्यो। जनताले तिरेको करबाट सेवासुविधा खाने उच्च पदस्थ व्यक्तिहरू नै निकै गैरजिम्मेवार देखिए। संक्रमितले अक्सिजन र हस्पिटलमा बेड नपाएर छटपटिनुपर्दा सरकार मध्यरातमा ‘क्याबिनेट’ बोलाएर संसद भंग गर्न, चुनावको घोषणा गर्न उद्यत रह्यो। यो बेलामा जनतालाई कुनै चुनावको आवश्यकता छैन, छ त केवल कोरोनाबाट बच्ने खोप, उपचार र रोजीरोटी। तर सरकारले चुनावको ताण्डव फलाकिरहेको छ। संक्रमितको मृत्युको खबर र भोको पेटले अत्तालिएका गरिखाने जनता सोध्दै छन्– हामीलाई कसले बचाउँछ र हामी कसरी बाँच्ने ?

यसपालि बजेटमा स्वास्थ्य क्षेत्रलाई महत्त्व दिइएको छ, तर यो पनि चुनाव जित्ने खेल मात्रै हो कि भन्ने देखिन्छ। यतिबेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत फ्रन्टलाइनमा खटिरहेकाहरूको भूमिका ज्यादै प्रशंसायोग्य छ। यसरी फ्रन्टलाइनमा सेवा दिनेहरूले सरकारबाट अघिल्लो वर्ष घोषणा गरेका सेवासुविधा हालसम्म पाउन सकेका छैनन्, तैपनि उनीहरू मनोबल  उच्च बनाएर कार्य गरिरहेका छन्।

अर्कोतिर, हजारौँ सरकारी कर्मचारी यतिबेला फुर्सदिला बनेका छन्। सरकारी तलब बुझ्ने जो कोही कर्मचारीलाई राज्यले स्पष्ट नीति ल्याएर उचित परामर्श र उचित तालिमसहित देश अप्ठेरोमा परेका बेला परिचालन गर्न सकिन्थ्यो, तर राज्यको ध्यान त्यसप्रति होइन, कसरी ‘भीभीआईपी’ लाई बचाउने भन्नेमा मात्र देखिन्छ।

यतिखेर नागरिकले उपचार नपाएर मर्दा देशका सम्पूर्ण राजनीतिक दलहरू र तीनमा अनेकौं संस्थाहरू टुलुटुलु हेरेर फगत सामाजिक सञ्जालमा देखावटी ‘हार्दिक श्रद्धाञ्जली’ व्यक्त गरिरहेका छन्, मृतकका आफन्तको मनलाई झनै रुवाइरहेका छन्। आफू र आफ्नो संगठन वा दलले भनेको जस्तो नभएपछि र आफू अनुकूल शासन सत्ता नभएपछि सडकमा गएर जनतालाई दुःख दिनेहरू अहिले सम्पूर्ण देश अप्ठेरोमा पर्दा चुपचाप छन् र आफ्नै स्वार्थमा निहित छन्।

सुनिँदै छ, महामारीकै समयमा देश र विदेशबाट जनता बचाउनका लागि भनेर पठाएका स्वास्थ्य साम्रगीमाथि पनि राजनीति हुँदै छ। यो सरकारलाई रतिभर भए पनि जनताको माया लाग्छ भने, विभिन्न ठाउँबाट प्राप्त भएका सहयोग जनताकै लागि प्रयोग गरियोस्।

सरकारले बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्दा खाडीमा तातो घाममा काम गर्ने नेपालीको मन रोयो र उनीहरूले आफ्नो गाँस काटेरै भए पनि आफ्नो देशका लागि सहयोग गरे। पूरै जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार मुकदर्शक र जनताको लासको संख्या गन्नमा मात्र सीमित रह्यो। सरकारमा रहेका केही जनप्रतिनिधिले सरकारकै ढुकुटीबाट आफू अनुकूल सहयोग त गरे, त्यसमा पनि राजनीति नै गरियो। यस्तो महामारीमा जाबो २/४ थान लिटर सेनिटाइजर, २/४ प्याकेट मास्क र केही थान अक्सिजन सिलिन्डर सहयोग गर्दा के के नै गरेजस्तो प्रचारबाजी गर्ने समूहको कमी छैन। सहयोग नै गर्ने र जनता बचाउने हो भने पहिला सत्ताको खेल र भ्रष्टाचारको खेती छाडेर खुला हृदयले जनताका लागि केही सोच, यो बेलामा पनि जनताका बारेमा नसोचे महामारीबाट मुक्ति पाएपछि र सही समय आएपछि नेपाली जनताले त्यसको हिसाबकिताब अवश्य गर्नेछन्।

 

प्रकाशित मिति: १७:४३ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्