‘देखावटी होइन, आमालाई साँचो मायाको खाँचो छ’

काठमाडाैं, वैशाख २८ : भनिन्छ, आमालाई बिर्सेर ईश्वरलाई सम्झन सकिन्न। र, आमाको दूधको भारा कहिल्यै तिरेर सकिँदैन।

नौ महिना आफ्नो कोखमा राखेर प्रसव पीडा भोगेर सन्तानलाई संसार देखाउँछिन् आमाले। अनि आफ्ना दुःख पीडा, रोग, भोक, बिमारी केही नभनी सन्तानलाई हुर्काउँछिन्। आमा मायाकी खानी हुन्। आमाको मायाभन्दा ठूलो कुनै कुरा यो संसारमा छैन। ‘आमा’ शब्द यति प्रिय लाग्छ, आमाको बारेमा जति बयान र व्याख्या गरे पनि कम हुन्छ।

आमाको सम्मानका लागि वर्षभरिका सबै दिन समान हुन्, तर नेपाली समाजमा मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई अझ विशेष रूपमा लिइन्छ। यस दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरिन्छ र आमाबाट आशीर्वाद लिइन्छ।

०००

पछिल्लो समय यस दिन आमाप्रति साँचो सम्मान व्यक्त गर्नेभन्दा पनि देखावटी माया मात्र दर्शाउने प्रचलन बढ्दो छ। आमाको तस्बिरले सामाजिक सञ्जाल सजाउने प्रवृत्ति परम्पराजस्तै बनिसकेको छ। आमाको तस्बिर सामाजिक सञ्जालमा राख्नुलाई अन्यथा मान्न खोजेको होइन, तर तीनै आमाको तस्बिर राखेर औँसी मनाउनेमध्ये कतिले आमालाई मनमा राखेका होलान्, सकेको सेवा गरेका होलान् ? यस प्रश्नको जवाफ महत्वपूर्ण छ।

यता आफ्नो मान–सम्मान र इज्जतका लागि सामाजिक सञ्जालका भित्तामा तस्बिर सजाएर ‘हेप्पी मदर्स डे’ भन्दै रमाएको हुन्छ, उता गाउँमा बूढी भएकी आमाका आँखा छोरा वा छोरीको बाटो हेरेर रसाउने गर्छन्। यसरी आमाप्रति सामाजिक सञ्जालमा राखिएका तस्बिर ती गाउँमा भएकी आमाले हेर्न पाए केही खुसी हुँदी हुन्,  तर यस्तो प्रविधि उनको पहुँचमा नहुन सक्छ। त्यसैले यस दिन पनि धेरै आमाको आँखा ओभ्याउन पाएका हुँदैनन्।

वर्षभरि आमालाई हेला गर्ने, मिठोमसिनो खान दिन कन्जुस्याइँ गर्ने, बिरामी पर्दाका बखत उपचार नगर्ने, वृद्ध आमालाई स्याहार गर्ने कर्तव्य भुलेर आश्रममा पुर्‍याउने जमातले पनि यस दिन देखावटी माया प्रदर्शन गर्न सक्छन्। आजकै दिन आमालाई सम्झेर फेसबुक लगायत सञ्जालमा सजाइएका आमाहरूमध्ये कति वृद्धाश्रममा होलान् ? कति आमाहरू एक छाक टार्नका लागि सडकमा हात फैलाउन बाध्य होलान् ? कति आमाहरू उपचार नपाएर जीवन र मृत्युको दोसाँधमा लडिरहेका होलान् ? यो भावुक प्रश्न मात्र होइन, अहिलेको यथार्थ पनि हो।

यसो भन्दै गर्दा ‘हामीले त यसो गरेका छैनौँ’ भन्ने जमात पनि ठूलै होला, उनीहरुप्रति सम्मान छ। आमाको हेरचाह गर्नु सन्तानको कर्तव्य हो, कर्तव्यको पालना गर्नुभएको छ भने तपार्ईंलाई आमाको आशीर्वाद नै काफी हुनेछ।

०००

वृद्धवस्थामा आमाहरुले वृद्धाश्रम होइन, सन्तानको माया चाहन्छन्। सन्तान नभएकी, आफन्त गुमाएकी वृद्धा वा आमाको कुरा बेग्लै हो। सन्तान सुखी भएर पनि कोही आमा वृद्धाश्रममा पुगेका छन् भने त्यो सुखद कुरा होइन। काठमाडौं लगायत प्रमुख सहरका गल्ली, मन्दिरहरूमा हेरौँ त दिनरात कैयौँ आमाले हातमुख जोर्न हात फैलाएको देख्न सक्छौँ। ती आमाहरु पनि हाम्रै आमा जस्ता होइनन् र ? यदि हामीजस्तै छोरा वा छोरीले अपहेलना नगरेर माया गरेको भए, त्यसरी आमाहरूलाई हात फैलाउँथे होला र ?

अझ लाजमर्दो कुरो त के छ भने आजका दिन आफ्नै छोरा भनाउँदाले वृद्धाश्रममा लगेर छाडेकी आमालाई मीठो कुरा लिएर भेट्न समेत जाने परम्पराको समेत विकास भएको छ। यस्ता सन्तानले एकपटक छातीमा हात राखेर सोच्न जरुरी छ। आमा औँसीको दिन केही थान मिठाई दिएर मुख मिठाइदिने र अन्य दिन एक छाक खान दिन कन्जुस्याइँ गर्नुभन्दा सधैँ साथमा राखेर दुःखसुख बाँड्नु महानता हो।

०००

अर्कोतिर आमाले गरेको मायाको स्मरणका लागि मातातीर्थ पर्व मनाउने गरिन्छ। बाँचुन्जेल आमालाई सक्दो अवहेलना गर्ने तर निधनपश्चात् आँसु बगाउनु पनि देखावटी कार्यबाहेक अरु केही होइन। बाँचुन्जेल आमालाई व्यवहार, माया, प्रेम र स्नेह आवश्यक हुन्छ, मरेपछि होइन। यहाँ मृत्युपछिका संस्कारलाई नकार्न खोजिएको भने होइन, तिनको पनि आफ्नै महत्व छ।  

जुन कुरा आफूसँग हुँदैन्, त्यो कुराको महत्व बढी हुने गर्छ। आमा नहुनेका लागि आमा शब्द झनैै प्यारो लाग्ने गर्छ। त्यसैले आफूलाई जन्म दिने आमालाई बाँचुन्जेल खुसी राख्ने प्रयास गरौँ। यही नै सच्चा सन्तानको कर्तव्य हो।

 Published Date: Tuesday, 11th May 2021 9:53:00 am