शुक्रबार, असोज २, २०७७

लकडाउन डायरी : गाउँमा रमाउने मात्रै होइन, गलत कामको प्रश्न पनि गरौँ

विगत ६ महिनादेखि विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त छ। मानिसहरु घर बाहिर निस्कन गाह्रो छ। को कतिखेर संक्रमित हुने हो थाहा छैन।
 
काठमाडौंमा भाडामा बस्नेको अत्यास भिन्नै छ। यो महामारीका बेला मेरो काम पनि ‘वर्क फ्रम होम’ थियो। सोचे, ‘वर्क फ्रम होम’लाई ‘वर्क फ्रम भिलेज’ बनाउँछु।
 
त्यसैले काठमाडौंमा लकडाउन सुरु हुनुभन्दा एक दिनअघि चैत १० गते म पनि ल्यापटप बोकेर गाँउतिर लागे। बिहानै मोटरसाइकलको एक्सिलेटर दबाएर झण्डै  १ सय ५० किलोमिटर पूर्वी उत्तर तनुहँको मेरो घर भानु–१० सम्मको यात्रामा निस्किए। गाउँमा काम पनि हुने, लामो समयदेखि धित मरुञ्जेल बस्न नपाएको धित पनि मेट्ने दोहोरो फाइदा हुने लोभले म गाउँ पुगे।
 
शहरमा कोरोनाले मानिसका गतिविधि नियन्त्रण गरेपनि गाउँमा कुनै रोकतोक थिएन। मानिसहरु आ–आफ्ना नियमित काममा व्यस्त थिए– सदाझैँ।
 
चैतको महिना थियो। गाउँलेहरु पाखो बारी जोत्ने, मकै छर्ने लगायतका काममा तल्लीन थिए। बारीका प्रत्येक गह्रामा कलात्मक रुपमा मिलाएर मलका थुप्राहरु राखिएका थिए। लाग्थ्यो–‘एउटा मलको थुप्राले अर्कोलाई आँखा जुधाइरहेका छन्।’
 
एक झरो पानी पर्न नपाउँदै छरछिमेकी भेट्न घरमा होइन खेतबारीमा पुग्नु पथ्र्याे।

घरमा हजुरबा र हजुरआमा मात्रै देखा पर्थें। वैशाख र जेठ महिनाभर मकै लगाउने, गोड्ने, खेतको बाँझो जोत्ने काम भइरहेको थियो। असार लाग्न नपाउँदै खेत रोप्न आली ताछ्ने, कुना खन्ने लगायतका काम सुरु भए।  

खेतका गह्राहरु चिटिक्क पारेर सिंगारिएका थिए। लाग्दथ्यो– सिंगारिने पालो उसैको थियो। खेतका गह्रा विवाहका लागि सिगारिएका बेहुली घर जस्ता बनेका थिए।

 
असारमा खेतीको चटारो सँगसँगै विकासे खेतीको रौनक पनि देखिन थाल्यो, गाउँमा। कृषकलाई खेतबारीमा भ्याइनभ्याई छ। तर स्थानीय ठेकेदार भने दिनदिनै डोजर, एक्साभेटर लगाएर गाउँका बाटामा दौडिन थालेका छन्। सायद आर्थिक वर्षको अन्तिम महिना भएकाले रकम निकासा गर्न होला।
 
महिनौ मौन रहेको विकास असार महिना लाग्न नपाउँदै चलायमान भए। म आफू पनि वातावरण विज्ञानको विद्यार्थी हुँ। पानी पर्ने समयमा पहाडमा सडक खन्नु उपयुक्त होइन भन्ने थाहा थियो। तर, संरचना नै यस्तै छ। समयमा काम नहुने भए पछि आर्थिक वर्षको अन्त्यतिर यसरी नै काम हुने रोग मेरो गाउँको मात्रै होइन, देशभरको समस्या हो।
 
अष्ट्रेलियाको प्रख्यात विश्व विद्यालय ‘द अष्ट्रेलियन नेश्नल युनिभर्सिटी’बाट जलवायु परिवर्तन विषयमा स्नातकोत्तर गरेर भर्खर फर्किएको मलाई शहरको भन्दा गाउँको माया बढी लाग्छ। गाउँले मुहार फेरेको मेरै पुस्ताले देख्न पाए हुन्थ्यो भन्ने लाग्छ।
 
म काठमाडौं खाल्डोमा बस्नु भन्दा केही महिना गाउँमै त्यो स्कुले जीवनलाई ‘रिभाइभ’ गराउने सोचमा थिए। मनमनै लाग्थ्यो– ‘लकडाउन अलि बढे नि हुन्थ्यो नी, म अझै बढी गाउँमा बस्न पाउँथे नी।’
 
तर, यो त मेरो आफ्नो इच्छा भयो, लकडाउनले आर्थिक गतिविधि हुन नसक्दा हजारौँ मानिसले दुःख पाएको, बिहान बेलुका छाक टार्न धौधौ भएको समाचार पनि मेरो मानसपटलमा खेलिरहेको थियो। यो दुःखको पीडाबोध मलाई हुन्थ्यो।
 
जे होस्, म गाउँमा एउटा कुनै दायित्व नभएको १० वर्षे बालक झै रमाइरहेको थिएँ। वर्षाै देखि बाँझो बसेको खेतबारी खनेर बाली लगाएको थिए। मलाई यस्तो जागर चलेको थियो कि जमिन बाँझो भएको त देख्नै नहुने। सके आफैँ नसके खेताला लगाएर त्यसमा खनजोत गरेर के फल्छ, त्यही बाली लगाई हाल्थें। केटाकेटी जम्मा गरेर भलिबल खेलेर स्कुले जीवनको आनन्द लिन थालेको थिएँ। दुई वर्षभन्दा लामो अष्ट्रेलिया अध्ययन गर्दाका थकाइहरु गाउँमै बसेर मार्दै थिए।
 
गाउँमा स्कुल पढ्दै गरेका भाइबहिनीलाई विभिन्न तवरले उर्जा भर्दै थिए। आफूले जानेका ज्ञान र बटुलेका अनुभवको सहारामा।
 
लकडाउनले होला बालसहपाठी र सिनियर दाइहरु पनि गाउँमै आएका थिए। उनीहरुसँग गाउँको विकास, गाउँलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ? गाउँलाई अझै आत्मनिर्भर बनाउन के गर्दा ठीक होला? आयआर्जनका स्रोतहरु के हुन सक्लान्? कस्ता उद्यमहरु गाउँमा उत्तम हुन सक्छन्? सामाजिक र लैंगिक विभेद भोगेका महिलाको जीवनस्तर उकास्न के गर्नुपर्ला? भन्ने जस्ता विषयमा हामी चिन्तन गरिरहन्थ्यौँ। र, यिनै विषयको सेरोफेरोमा छलफल हुँदै थिए।

♦ ♦ ♦
 
मेरो घर डुम्रे–बेसीशहर राजमार्गको मध्य भागमा पर्छ। राजमार्गबाट मेरो घरको आगनमा पुग्न पाँच किलोमिटर कच्ची बाटोको यात्रा गर्नुपर्छ। कच्ची यात्राले गाउँको छनक दिन्थ्यो।
 
तर, गाउँमै पुगेपछि बल्ल थाहा भयो– २० वर्षदेखि कच्ची त्यो बोटोले प्रत्येक वर्ष बजेट पाएको रहेछ। एक युवाले भने, ‘प्रत्येक वर्षको बजेट जोड्ने हो भने त अहिलेसम्म यस्तो बाटो पाँच वटा पक्की भइसक्थे दाइ।’ ती स्थानीय युवाको कुरा सुनेपछि भने मेरो मनमा चस्का पस्यो। सोचे सरकारी खर्चको सही सदुपयोग भएन भने त मुलुक त कहिल्यै बन्दैन।

त्यसपछि हामी स्थानीयले त्यहाँ बाटोका लागि आएको बजेट कति छ?  र, त्यो अनुसार के–के काम गर्ने भनेर बजेट निकासा भएको छ भनेर सोधखोज गर्नतर्फ लाग्यौं। बुझ्दै जाँदा इस्टिमेट अनुसारको आधा पनि काम नभएको देखियो।
 
एउटा सानो वडामा पनि यस्तो बेथिति? अब के गर्ने त? वडाध्यक्ष आफ्नै गाउँका, ठेकेदार पनि आफ्नै गाउँका। एक मनले सोचें, ‘उनीहरुसँग कुरा गरेर पुनः काम गर्न अनुरोध गर्ने।’

दुई वटा कच्ची बाटो स्तरोन्नतीका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको रहेछ। तर, काम त्यो अनुसार भएकै छैन। जुन सुकै कोणबाट हेर्दा पनि इस्टिमेट अनुसारको काम देखिँदैन।
 
त्यसपछि हामी स्थानीय युवासहित वडा अध्यक्ष र ठेकेदारलाई अनुरोध गर्न पुग्यौँ। तर, उनीहरुको कुरा सुन्दा यस्तो लाग्थ्यो कि जनतालाई बोल्ने अधिकार छैन। अनि  सोचें, ‘हामीले कस्ता मान्छे निर्वाचित गरेका छौँ? मुलुकको विकास यो पाराले कसरी हुन्छ? सिंहदरबार मात्रै होइन गाउँगाउँमा व्यापक सुधार खाँचो रहेछ।’
 
नियमित गाउँमै बस्नेले त प्रश्न गर्नै छोडेका रहेछन्। उनीहरुलाई विश्वासै छैन कि  प्रश्न गरेर उनीहरुले राम्रो काम गर्छन् भन्ने। कैयौं पटकको छलफल, भनाभन तथा नियमित निगरानिपछि बाटो निर्माण कार्य अगाडि बढ्यो। अघिल्लो दिन बाटो बन्थ्यो, रातभर पानी पथ्र्याें। अनि पानी रोकियो बाटो सकियो। ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भने झैँ थियो विकास।
 
गुणस्तर सुधार गरौँ भन्दा कसैले हुन्न भनेनन्। सबैले हुन्छ नै भने। काम हुँदै गयो। हुन्छ भनेको केही भएन। यो बेथितिबारे हामीले अहिले बोलेनाैँ भने यो स्थायी रोग बन्न सक्छ भन्ने लाग्यो। स्थानीयसँग छलफल गरेर नगरपालिकामा इस्टिमेट अनुसार काम नभएको भन्दै उजुरी हाल्ने निष्कर्षमा पुग्यौँ।
 
हाम्रो उजुरी परेपछि चेक बुझ्न नगरपालिका पुगेका ठकेदारहरु रित्तो हात फर्कनु परेछ। एक दिन बिहान मोबाइलमा घण्टी बज्यो। म बेडमै थिएँ। निन्द्रामा नै फोन उठाएँ। उताबाट आवाज आयो, ‘तपार्इं लगायत साथीहरु सडकको विषयमा छलफल गर्न यहाँ आउनु पर्‍यो।’ मैलैे सहमति जनाउँदै सोधें, ‘कुन ठाउँमा ?’
 
जवाफ आयो, ‘वन चौतारामा।’
 
मैले सहमति जनाउँदै फोन राखें। त्यसपछि म लगायत गाउँका हामी ५ जना साथीहरु बिहानै वन चौतारातिर लाग्यौं।
 
त्यहाँ पुग्दा कोही मान्छे थिएनन्। हामीले फोन गर्‍यौँ। उताबाट वन चौताराभन्दा अझै पर जंगलको बीचमा रहेको कालीखेत भवनमा आउन आग्रह भयो।
 
हामीले सोच्याैँ, ‘आधा बाटो त हिँडियो, अब आधा हिँड्नलाई के भो र? मर्निङ वाक पनि हुन्छ, जाउँ न त भनेर लाग्यौ कालीखेत भवनतिर।

♦ ♦ ♦
 
हामी ५ जना भवनमा पुग्दा त्यहाँ कम्तिमा ३५/४० जनाको भेला भइसकेको रहेछ। सबै पुरुष, हट्ठाकट्ठा, खाइलाग्दा। करिब १०–१५ जना क्लबका  बाउन्सर जस्ता थिए।
 
काली भवनको अगाडि प्लास्टिकका कुर्सी राखिएका थिए। वरिपरि कुनै घर थिएनन्। हामीले त्यहाँ उपस्थित अधिकांशलाई चिनेका थिएनौँ। परिचय समेत नभई आक्रोशको भावमा हामीलाई प्रश्नमाथि प्रश्न तेर्साइयो।
 
प्रश्न एउटै थियो– ‘बाटोको विषयमा नगरपालिकामा किन उजुरी हालेको ?
 
हाम्रो उत्तर थियो, ‘हामीले हाम्रो विकास पारदर्शी होस्, कामको गुणस्तरमा सुधार होस् र तपाईं हामीले तिरेको करको सही सदुपयोग होस् भनेर प्रश्न गरेर नगरपालिकालाई जानकारी गराएको।’
 
हामीले यति भन्न नपाउँदै ठेकेदारहरुले प्रतिप्रश्न गरिहाले– ‘यतिका वर्षसम्म तलाई चासो नभएको अहिले किन चासो लिन पर्‍यो? तँ को होस्? मेयर कि वडा अध्यक्ष? कि प्रधानमन्त्री?’ 

हामीले भन्यौं–‘राम्रो काम गर्न पद होइन, अठोट चाहिन्छ।’
 
त्यो हामीविरुद्धको माहौल देख्ने वित्तिकै मलाई लागेको थियो– पक्कै पनि यो कार्यक्रम ठेकेदारले चेक बुझ्न नपाएको झोकमा राखिएको ‘पेड सेटिङ’ कार्यक्रम हो। मेरो अनुमान ठ्याक्कै मिल्यो। अवस्था यस्तो सिर्जना भयो कि हामीमाथि आक्रमण नै हुने जस्तो देखियो। कतिखेर कसले कहाँबाट के वर्साउने हो थाहा थिएन। हामी यस्तो अवस्थामा आयौँ कि ज्यान जोगाउनु नै पहिलो प्राथमिकतामा पर्‍यो। 
 
हामीले भन्यौ ठीकै छ, तपाईंहरुलाई चित्त बुझ्दैन भने हामीले उजुरी हालेकोमा माफी चाहन्छौँ। तपाईहरु कसरी अगाडि बढ्ने भन्नुहुन्छ त्यसै अनुरुप अगाडि बढाैँ। अचानक एउटै जवाफ आयो ठूलो स्वरमा– उजुरी फिर्ता लिनुपर्छ।
 
हामीले हुन्छ भन्यौँ। किनकि हुँदैनको परिणाम भयावह हुन सक्थ्यो। हामीले उजुरी फिर्ता लिने सहमति भयो। स्थिति सामान्य हुँदै थियो। छलफल निचोडमा पुगेको थियो। दुई वटा मोटरसाइकलमा ठेकेदार आए। शान्त भइसकेको भिडलाई पुनः धमिल्याउने काम गरे, स्थिति तनावपूर्ण भयो।
 
हामी ५ जना अपहरणमा परेजस्तै भयौँ। ठूलै अपराध गरेजस्तो। हाम्रा कुरा सुन्ने कोही थिएनन्। ठेकेदारले हामीलाई गरेका गालीगलौजका वाणले सिधैँ मुटुमा घोच्दै थिए। अहिलेसम्म नसुनेका गालीगलौजका शब्दको क्षेप्यास्त्र रोकिएका थिएनन्। केहीबेरमै वडाध्यक्ष मोटरसाइकलमा आए। वातावरण एकाएक शान्त बन्न पुग्यो। उनले भाषण गर्ने तयारी गरें।
 
वडाध्यक्ष आएपछि हामीले सुरक्षित महसुस गर्‍यौं। तर, त्यसपछि सबै सहभागीको मोबाइल मागेर एउटा झोलामा थन्काए। अध्यक्षको भाषण सुरु भयो। अध्यक्षले भाषणमा भने, ‘मैले भने बमोजिम भएन भने कसको दाँत झार्न पर्छ, कसको टाउको फुटाउन पर्छ मलाई थाहा छ।’
 
मलाई लाग्यो के स्थानीय प्रतिनिधिको काम यस्तै कसैले प्रश्न गर्‍यो भने त्यसलाई दबाउन, टाउको फुटाउने हो? जनप्रतिनिधि अर्थात जनताको अधिकार बोल्ने व्यक्ति नै यस्तो भएपछि मुलुक कहाँ बन्छ?
 
कोलाहलको बीचमा वडाका विपक्षी दलका नेताको उपस्थिति भयो। उनले कहाँबाट खबर पाए, हामीलाई पत्तो थिएन। जे होस् उनको उपस्थितिले हामीलाई उर्जा दियो।

अब भने वडाध्यक्षको हाउभाउ अलिकति फरक भयो। अध्यक्षको भाषण सकिएपछि विपक्षी दलका नेताले आफ्नो कुरा राख्न तम्सिए। उनको भाषण सकिन नपाउँदै ४/५ जनाले हामीमाथि आक्रमण गरे। लगभग १० मिनेटपछि स्थिति नियन्त्रणमा आयो। 
 
त्यो भिडबाट हामी बचेर निस्कियौँ। भिडबाट अलि पर आएपछि लामो सास फेरे र सोचें। जिन्दगीमा भएका हरेक घटनाले केही न केही पाठ सिकाउँछन्। यो घटनाले त सिंगो पुस्तक नै सिकाएको महसुस गरेँ। वन चौतारा नजिकै पानीको मुल थियो। कटुसको पात टिपे। खोची बनाएर पानी पिए। शरीर सिञ्चित भयो।

♦ ♦ ♦
 
म र अर्को साथी नगरपालिका तर्फ लाग्यौँ– उजुरी फिर्ता लिन। सहमति बमोजिम। एउटा निवेदन लेखेर उजुरी फिर्ताको माग ग¥यौं। उजुरीसहित हामी दुई नगरपालिकाको कार्यकारीको कक्षमा पुग्यौँ। ती कार्यकारीको कुरा सुनेर झनै निराश बनायो।
 
अनि सोचें, ‘एउटा सानो वडामा सानो योजनामा आधाभन्दा बढी भ्रष्टाचार हुन्छ भने देशभरका हजाराँै स्थानीय तहले मात्रै यस्तै खालका कति भ्रष्टाचार गर्लान्?

ती कर्मचारी पनि तिनै ठेकेदारको पक्षमा थिए। सायद त्सको केही हिस्सा उनलाई पनि पथ्र्यों कि।

हामीले उजुरी फिर्ता लियौं। तर, प्रश्न सोध्न छोडेनौँ। स्थानीयलाई प्रश्न सोध्न प्रेरित गर्‍यौं। अहिले सुनेको छु– हाम्रो प्रश्नका कारण ३० लाख रुपैयाँको कामको भुक्तानी घटेर २१ लाखमात्रै ठेकेदारले पाए । यसर्थमा सानो वडामा ९ लाख रुपैयाँ हिनामिना हुनबाट बचेको छ। हामीले तिरेको कर भ्रष्टाचार हुनबाट जोगिएको छ। त्यसपछि मेरो मन प्रफुल्लित भयो। जे होस्, प्रश्न गरेपछि राज्यको ९ लाख रुपैयाँ त बच्यो नि।
 
मैले केही पीडा महसुस गरे, केही दुःख पनि पाएँ। तर, यो घटनालाई एउटा ‘केस स्टडी’ मानेर समग्र देशको अवस्था बुझ्न सकिन्छ। यो घटनाले स्थानीय तहमा कसरी संस्थागत भ्रष्टाचार मौलाएको छ भन्ने मात्रै होइन, हाम्रो राज्य प्रणाली कति बिग्रिएको छ भन्ने पनि उदाङ्गो पारिदियो मलाई।

ती स्थानीय ठेकेदार र जनप्रतिनिधि हजाराैँका एक पात्र हुन्। अब पद्धति सुधार गर्न आवश्यक छ, संरचना सुधार गर्न आवश्यक छ। तर, प्रणाली सुधार गर्न पहिलो पात्र फेर्न आवश्यक छ।

मैले बोले, अब सबै सचेत नागरिकले आफ्नो क्षेत्रमा यस्तै प्रश्न गर्ने हो भने केही सुधार गर्न सकिन्छ। जुन हामीले गरेर देखायौँ। प्रश्न गरौँ– जवाफदेही बनाऔँ। हाम्रो करको सही सदुपयोग गरौँ। विसंगतिविरुद्ध बोल्दा केही तितामिठा क्षण हुन्छन् तर ती घटनाले नै सही बाटो पहिल्याउन सहयोग गर्छन्।
 
केही दिनमा काठमाडौंमा लकडाउन खुल्यो। अफिसबाट फोन आयो । अनि म मनमा आशा, मगजमा अनिगिन्ती प्रश्न बोकेर काठमाडौं फिरे। काठमाडौं आएपछि सोचें ‘गाउँ बसाइ यस पटक फलदायी भयो, धेरै पछि गाउँको आनन्द पनि लिइयो र वडाको ९ लाख रुपैयाँ पनि भ्रष्टाचार हुनबाट बचाइयो।’ 

अहिले मलाई गाउँवाट दिनहुँ जसो फोन आउने गरेको छ । एक दिन मेरो गुरु जसले मलाई अक्षर, अंक सिकाउनु भयो, उहाको फोन आयो । भन्नुभयो, 'म साह्रै खुशी छु, आज तिमीहरुले गर्दा ठुलो रकम भ्रष्टाचार हुनवाट जोगिएको छ । मैले २५ वर्ष अगाडी दिएको शिक्षा आज सार्थक भएको छ ।'

अहिले गाउँमा ठेकेदार र जनप्रतिनिधिलाई प्रश्न गर्न मान्छेको आँट बढेको छ, त्यसले मलाई थप उर्जा दिएको छ।

 Published Date: Saturday, 12th September 2020 8:00:00 am