Kathmandu Press

'कोरोना संक्रमण रोक्न हामीले चीनबाट धेरै सिक्न सक्छौँ'

यतिखेर चीनको चिउचियाङ विश्वविद्यालयको प्रांगणबाट मैले आफ्ना भावना र विचार व्यक्त गर्दै छु । हुन त म कुनै लेखिका होइन,

'कोरोना संक्रमण रोक्न हामीले चीनबाट धेरै सिक्न सक्छौँ'
Hardik ivfHardik ivf

यतिखेर चीनको चिउचियाङ विश्वविद्यालयको प्रांगणबाट मैले आफ्ना भावना र विचार व्यक्त गर्दै छु । हुन त म कुनै लेखिका होइन, यसअघि कहिल्यै यसरी लेखेकी थिइनँ । तर, कोरोना भाइरसको महामारी फैलिरहँदा र मेरो देश नेपालको तौर–तरिका हेर्दा केही नलेखिरहन सकिनँ।

२४ अक्टोबर २०१९ मा एमबिबिएस अध्ययनका लागि म पहिलोपटक चीन आएकी हुँ । चीन आएको सुरुवाती दिनहरूमा मलाई चिनियाँ भाषा, संस्कृति, रहनसहन थाहा थिएन । आफ्नो छिमेकी देश चीनको बारेमा म आफू यति अनभिज्ञ किन ? यतिखेर लाग्दै छ, विद्यालय शिक्षामै राज्यले विद्यार्थीलाई आफ्नो देश र छिमेकी देशहरुको बारेमा सामान्य परिचय दिनुपर्छ, त्यसो भएन कि?

खैर, जुन दिन म चीनको भूमि टेकेँ, त्यस दिन मलाई लाग्यो, म नजिकैको एउटा बिरानो संसारमा आफ्नो जीवनको परिभाषा खोजिरहेछु । यहाँको भाषा, संस्कृति, लवाइखवाइ, मानिसको काम गर्ने शैली, बोली–व्यवहार, विदेशीलाई हेर्ने शैली, राजनीतिक र भौतिक संरचना, प्राविधिक विकास आदि अत्यन्तै नयाँ मात्र होइनन्, नेपालको तुलनामा अति फरक र विकसित लाग्छ।

ग्वाङझाउको विमानस्थलमा अवतरण गरेर वरपर नियालेपछि ममा अनेक सोच र सपना आएका थिए– यहाँबाट धेरै कुरा सिकेर आफ्नो देश फर्कने छु, आफ्नो देशको प्रगतिका लागि सक्दो प्रयास गर्नेछु । आखिर के छैन मेरो देशमा ? मलाई लाग्छ, हाम्रो देशमा कमी छ त इच्छाशक्ति र इमानदारिताको । विमानस्थलदेखि विश्वविद्यालयको होस्टेलसम्म पुग्दै मैले यस्तै–यस्तै सोच्दै थिएँ। 

नयाँ ठाउँमा नयाँ–नयाँ नियमको पालना गर्नुपर्ने । फेरि मैले पहिलोपल्ट घर–परिवार र देश छाडेकी थिएँ । कुनै पनि नियमको उल्लंघन भयो भने सजायको भागिदार बन्नुपर्ला भन्ने डर एकातिर, अनि घरको यादले सताउने अर्कोतिर । त्यसमाथि खानपान फरक । घरमा छँदा मसला–खुर्सानीसहित टन्न भात खाने, खाजामा मःम, चटपटे, पानीपुरी जस्ता परिकार खाने बानी थियो । तर, यहाँ आएपछि नुन र चिनीको मिश्रणमा बनेको चाइनिज तरकारीसँग भात, अनि नुडल जस्ता खाना खानुप¥यो । सुरुसुरुमा खानपान नमिलेकाले कहिले घर फक्र्यौं जस्तो भइरहेको थियो।

 चाइनिज भाषा कक्षा सुरु भयो । अलि–अलि आफ्नो नामसम्म भन्न सक्ने हुँदै थिएँ । मैले कखरा, बाह्रखरीबाट लेख्न सिकेकी थिएँ  तर यहाँ एउटै शब्दलाई गीत गाउँदा जस्तै कहिले माथितिर तानेर अनि कहिले तलतिर तानेर अर्थ दिनुपर्ने, चिनियाँ भाषा सिक्न मुस्किल भइरहेको थियो । तर, मेरा चाइनिज भाषाका गुरुको हौसला र दक्षिण अफ्रिकी राष्ट्र सुडानकी मेरी साथीको सान्त्वनाले मलाई ती सबैखाले मुस्किल पार गर्छु भन्ने आँट दिइरहन्थ्यो।

केही दिनअघि, मेरा चाइनिज भाषाका गुरुले मलाई एसएमएस गरेर सोध्नुभयो, ‘तिमी कहाँ छौँ ?’ 

‘म होस्टेलमा छु सर।’

‘अहिले बाहिर कतै नजानु, गाह्रो हुँदै छ ।’ 

‘किन सर ?’ मैले सोधेँ । 

उहाँको जवाफ थियो, ‘कोरोना भाइरस।’ 

मलाई कत्ति पनि डर लागेको थिएन, किनभने भाइरसबारे धेरथोर जानकार थिएँ । तर, समय बित्दै जाँदा विश्वविद्यालयका अधिकारीले हाम्रोबारे अलि धेरै नै चासो दिन थाले । ‘के कस्तो छ ? कुनै कुराको आवश्यकता छ कि ?’ भनेर दिनदिनै कोही न कोहीले सोधिरहन्थ्यो । यस्तो लाग्दैथ्यो, उनीहरू हाम्रोबारे धेरै चिन्तित छन् । त्यतिखेरसम्म चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको महामारीले विकराल रूप लिइरहेका समाचार आइरहेका थिए । संसारभरका मिडियाले चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चीनको स्वास्थ्य प्रणालीको खिल्ली उडाइरहेका थिए । नेपाली पनि चीनको खिल्ली उडाएर अनेक प्रकारका भिडियो, टिकटक र गीत बनाएर सामाजिक सञ्जालमा फैलाइरहेका थिए । नेपालको एउटा राष्ट्रिय पत्रिकाले आधुनिक चीनका संस्थापक माओत्सेतुङले माक्स लगाएको फोटो छापेको कुराले चर्चा पाइरहेको थियो ।

मलाई त्यसबेला अति दुःख लागिरहेको थियो । किनकि म त्यसबेला चीनमै थिएँ । मैले आफ्नो सपना पूरा गर्न आएको देशको बारे, अनि जसले मेरो दैनिकीमा त्यति धेरै ख्याल गरिरहेका छन्, उनीहरूकै मजाक उडाइएकामा मलाई चित्त दुखिरहेको थियो । म चिनियाँ कम्युनिस्ट पार्टीको समर्थक वा विरोधी केही होइन । एक साधारण नेपाली विद्यार्थी हुँ । मलाई राम्रोसँग ख्याल थियो कि म आफूलाई आफ्नो देशको जति माया छ, चिनियाँहरुलाई पनि आफ्नो देशको उत्तिकै माया हुन्छ । सानो टिप्पणीका कारण ऋत्विक रोशन–काण्ड भएर सयौँ घाइते हुने हाम्रै देश होइन र ?

जसरी हामीलाई आफ्नो देश, भेष, इतिहास र भाषा–संस्कृतिबारे कुनै अर्को देशले नकारात्मक टीका–टिप्पणी गरेको मन पर्दैन, त्यस्तै चिनियाँलाई पनि उनीहरूको देशबारे अरुले गरेको नकारात्मक टीका–टिप्पणीले पीडा हुन्छ । हामी यस्ता कुरामा केही संवेदनशील हुनैपर्छ । वास्तवमा त्यतिखेर चीन प्रसव पीडामा थियो । हाम्रो सान्त्वनाले पनि उनीहरूलाई कति साहस र हिम्मत दिन सक्थ्यो।

एक दिन कसैले मेरो मेसेन्जरमा पठाएको एउटा भिडियो हेरेँ । हाम्रा चीनमा भएका केही विद्यार्थी साथीहरू रोइरहेका थिए । ‘हामी बाँच्न चाहन्छौँ, हामी अप्ठेरोमा छौँ, हामी कोठाभित्र बसेको यति दिन भयो, हामीले खान पाएका छैनौँ,’ यस्तै–यस्तै भनिरहेका थिए । होला, महामारीका बेला कोही साथीहरु अप्ठेरोमा पनि पर्नुभयो होला।

पछि नेपाल सरकारले प्लेन चार्टर गरेर उनीहरूलाई नेपाल फर्कायो । कम्तीमा मैले अध्ययन गर्ने विश्वविद्यालयमा त्यस्तो केही समस्या थिएन । हामीलाई क्याम्पस हाताबाट बाहिर ननिस्कन भनिएको थियो । अहिले पनि हामी बाहिर जान पाउँदैनौँ । तर, खाने–बस्ने सवालमा कुनै समस्या छैन । क्याम्पसका अधिकारीहरू निरन्तर सम्पर्कमा आउँछन् । हाम्रो सन्चो–बिसन्चो, खानपिन र अन्य समस्या बारे सोधिरहन्छन् । वि–च्याटबाट आफूलाई चाहिएको कुनै पनि सामान हामीले अर्डर गर्याे भने क्याम्पस हाताभित्रै आइपुग्छ । तर, त्यस प्रकारको भिडियोले मलाई पनि कता–कता तनाव भयो । तनाव र चिन्ताका कारण म केही बिरामी जस्तो पनि भएँ । 

समय बित्दै गयो । चाइनिज सरकार र चिनियाँ जनताको काम गर्ने उत्कट इच्छाशक्ति, अनुशासन, सरकारप्रति जनताको विश्वास र एकअर्कालाई गर्ने सहयोगको भावनाका कारण हुनुपर्छ । अहिले चीनले कोरोना भाइरसको संक्रमणलाई लगभग पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको छ । अहिले चीनमा भन्दा धेरै अन्य देशमा उक्त संक्रमणले विकराल रूप लिँदै गइरहेको छ । अमेरिकामा लाखभन्दा बढी संक्रमित भएको खबर छ । संक्रमण फैलिरहेका र मानवीय क्षति व्यहोरिरहेका इटाली, स्पेन, इरान, सर्बिया लगायत देशमा चीन सरकारले आफ्ना अनुभवी चिकित्सक, उपकरण र औषधिमूलो पठाउन थालेको छ । नेपाल, भारत, मलेसिया लगायत देशले लक–डाउन गरेका छन् । म अहिले पनि चीनमै छु र अहिले चीनमा जति सुरक्षित महसुस गरिरहेकी छु । यतिखेर म नेपालमा भएको भए योभन्दा बढी चिन्तित र भयभीत हुन्थेँ होला।

म चीन सरकार र चिनियाँ जनताको काम गर्ने तौरतरिका र अनुशासनबाट औधि प्रभावित छु । कोरोना भाइरस संक्रमण रोकथामको मामलामा चीनको अभ्यासबाट हामीले सिक्न सक्ने धेरै कुरा छन् । चीनमा लक–डाउन जति व्यवस्थित, संयमित र अनुशासित थियो, त्यो नेपाल र भारतमा देखिएको छैन । चीनमा लक–डाउन भए पनि अत्यावश्यक वस्तु ओसारपसार गर्न कफ्र्यु लगाइएको थिएन । अत्यावश्यक वस्तुको परिपूर्तिमा कुनै अभाव सिर्जना हुन दिइएको थिएन ।

अस्पतालमा संक्रमितको जाँच र उपचारमा आवश्यक सामानको पनि कुनै अभाव थिएन । सरकारले शंका लागेका मानिसको जाँच गरिहाल्थ्यो । त्यस्तै, भाइरस संक्रमित र तिनका परिवारलाई छुट्टै राखेर उपचार गरिएको थियो । जुन कार्यशैली नेपालमा देखिएको छैन । कोरोना भाइरसको लक्षण देखिन मात्रै पनि महिना दिन लाग्न सक्ने वैज्ञानिकले बताएका छन् । यसर्थ अहिले लक–डाउनमा बसेकामध्ये कसैलाई संक्रमण भएको छ भने त्यसको एक महिनापछि फेरि अन्यमा संक्रमण हुने खतरा कायमै छ । त्यसमाथि नेपालमा अस्पतालहरूले संक्रमणको शंका लागेर आउने बिरामीको जाँच नै गरेका छैनन् भन्ने समाचार आइरहेका छन् । यसर्थ, संक्रमण फैलन वा मानवीय क्षति रोक्न हामीले लक–डाउन मात्र होइन, चेकजाँचलाई व्यापक र प्रभावकारी बनाउन जरुरी छ, संक्रमितलाई छुट्टै राखेर उपचार गर्न सरकार जोडबलले लाग्नुपर्छ । 

(रितु वुहान विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत छन्)

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्