शनिबार, कात्तिक १५, २०७७

समाजवादका लागि नेकपाको अवसान

मार्क्सवादी ठम्याइ छ- वर्गीय समाजमा सबै कुरा वर्गीय हुन्छ। राजनीतिक दल वर्गीय नहुने कुरै भएन, दल वर्गकै प्रतिनिधि हुन्। 

राजनीतिक दलको उद्देश्य राज्यमा उपलब्ध स्रोत र साधनमाथि नियन्त्रण जमाएर परिचालन गर्ने हुन्छ। यो स्रोत र साधन कुन वर्गको हितमा परिचालन हुन्छ भन्ने चाहिँ त्यो पार्टी कुन वर्गको प्रतिनिधि हो भन्नेमा निर्भर हुन्छ। 

नेकपाभित्रका केही आशावादी नेता-कार्यकर्तालाई अझै आशा छ- नेकपाकै नेतृत्वमा नेपालमा समाजवाद आउँछ। के साँच्चिकै नेकपाले मुलुकलाई समाजतिर डोर्‍याउला त?

झट्ट सुन्दा यो ठट्टाजस्तो भइसकेको छ। आर्थिक-राजनीतिक प्रणालीको गहिरो ज्ञान नभएको व्यक्तिलाई पनि यो कुरा सुन्दा हाँसो लाग्छ। तैपनि यसबारे विमर्श गर्न जरूरी छ। नेकपा यो मुलुकको सबैभन्दा ठूलो र प्रभावशाली संगठन सञ्जाल भएको पार्टी हो। यससँग जोडिएका हरेक प्रश्नमा गम्भीर विमर्श जरूरी हुन्छ। त्यसैले, नेकपाले समाजवाद ल्याउला त भन्ने प्रश्नमा पनि विमर्श जरूरी छ।

समाजवाद कसैले रहरले ल्याउने होइन। घोषणापत्रमा वा दस्तावेजमा समाजवाद लेखेको छ भन्दैमा समाजवाद त्यो पार्टीको पछि-पछि आउँदैन। 

अहिले परिकल्पना गरेकै जस्तो समाजवाद प्राप्त हुन्छ कि हुँदैन भन्न सकिन्न। तर पूँजीवादी समाजमा सिर्जित असमानता, विभेद र शोषण चरम भएपछि यसको विकल्प खोजी हुन्छ र त्यो विकल्पको नाम समाजवाद हो। त्यसैले, समाज निश्चितरूपमा समाजवादतर्फ अग्रसर हुन्छ।

तर, समाजवादी आन्दोलनको नेतृत्व पूँजीवादी व्यवस्थामा शोषित, उत्पीडित वर्गले मात्रै गर्नसक्छ। अर्थात त्यस्तो पार्टीले मात्र देशलाई समाजवादतिर डोर्‍याउन सक्छ, जसले समाजको सबैभन्दा तल्लो वर्गको नेतृत्व गर्छ। समाजका सबैभन्दा तल्लो तहका मानिसहरूको पार्टीले मात्रै समाजवादी आन्दोलन अगाडि बढाउन सक्छ। 

त्यसैले, सबैभन्दा पहिले यो प्रश्न गर्न आवश्यक छ- नेकपा कसको हो?

के नेकपा नेपालको सबैभन्दा उत्पीडित र शोषित वर्गको पार्टी हो? परीक्षण गरौं। 

नेकपा मजदुरको पार्टी हो? 

नेकपाले देशकै ठूलो ट्रेड युनियन जिफन्ट छ, जसले आफूसँग चार लाख मजदुर आबद्ध भएको दाबी गर्छ। यसका पूर्वअध्यक्ष प्रधानमन्त्रीका सल्लाहकार छन्। 

यति धेरै मजदुरहरूको नेतृत्व गर्छु भनेर दाबी गर्ने नेकपाले मजदुर वर्गका निम्ति केही गरेको देखिँदैन। नेकपाका पछिल्लो समयका केन्द्रीय, प्रदेश वा जिल्ला तहका कमिटीमा मजदुरका कुनै समस्याबारे कुनै किसिमको छलफल वा निर्णय भइरहेको छैन। पार्टीका कुनै कमिटीमा वास्तविक ज्यालादारी मजदुरको प्रतिनिधित्व छैन। यतिसम्म कि जिफन्ट आफैँ पेशेवर राजनीतिज्ञको पेवा भएको छ। 

यो संगठन पूँजीपतिबाट दान लिएर प्रोजेक्ट चलाउने एनजीओमा परिणत भएको छ। लकडाउनको प्रभाव सबैभन्दा पहिले शहरी ज्यालादारी मजदुरलाई नै पर्नु स्वभाविक थियो। तर, नेकपाको सरकारले उनीहरूको समस्यालाई गम्भीरतापूर्वक लिएन नै, पार्टीले समेत यसबारे कुनै छलफल गरेन।

यसले नेकपासम्म मजदुर वर्गको आवाज कतैबाट पुग्दैन भन्ने देखिन्छ। नेकपाले मजदुरलाई न सुन्छ, न देख्छ। अनि त्यो मजदुरको पार्टी कसरी हुन्छ?

के नेकपा किसानको पार्टी हो ?

यसको जवाफ खोज्न गत साल उखुको मोल उठाउन सर्लाहीबाट काठमाडौंसम्म पुगेका उखु किसानको अनुहार सम्झिए पुग्छ। त्यहाँका उखु किसानले अझैसम्म आफ्नो उखुको मूल्य पाएका छैनन्, जबकि सरकारमा नेकपा छ। पार्टीमा समेत नेकपाले यसबारे औपचारिक छलफल वा निर्णय गरेको छैन। किसानको यस्तो मुद्दामा  समेत गम्भीर नहुने नेकपा किसानको पार्टी हुनसक्छ?

त्यसो भए नेकपा उत्पीडित समुदायको पार्टी हो? 

निसन्देह: हिजो संघर्षको पृष्ठभूमि भएका कारण ठूलो संख्यामा दलित, आदिवासी, जनजाति यो पार्टीमा संगठित छन्।  काठमाडौं र पूर्वमा पहिलेको नेकपा एमाले र काठमाडौंभन्दा पश्चिममा माओवादीमार्फत यी समुदायका मानिसहरू यो पार्टीमा संगठित हुन आइपुगेका हुन्। लामो समय यी समुदायको मुक्ति र हितमा यी घटकले संघर्ष गरेको इतिहासलाई नजरअन्दाज गर्न मिल्दैन। 

यो इतिहास अब ‘रिफ्रेन्स’मात्रै हो, मूल पाठ होइन। मूल पाठ वर्तमान नेकपाले के गर्छ भन्ने नै हो। यो बुझ्न धेरै शब्द खर्च गर्नुपर्दैन, रूकुम घटनामा नेकपाको भूमिका हेरेपुग्छ। नेपाली समाजको सबैभन्दा तल्लो तहमा रहेको सबैभन्दा उत्पीडित समुदाय दलित समुदाय नै हो। यही समुदायका युवामाथि भएको बार्बरिक हत्याको घटनामा नेकपाका सांसद हाकाहाकी संसदमै झुट बोल्छन्।  र, दोषीलाई जोगाउन घटनालाई तोडमोड गर्छन्।

पार्टीका जिम्मेवार व्यक्तिहरू घटनामा मुछिन्छन्, तर यसबारे पार्टीका कुनै पनि कमिटीमा औपचारिक छलफल हुँदैन। बरू यस्तो अमानवीय घटनामा संलग्नलाई पार्टी कार्यकर्ता भएकै कारण जोगाउने षड्यन्त्र बुनिन्छ। यही पार्टीको सरकारले यसलाई गम्भीरतापूर्वक लिँदैन। 

यी सबै विषयमा पार्टीले सरकारको ध्यानाकृष्ट गर्दैन। 

यतिमात्र होइन, पछिल्लो दलित भएकै कारण हत्या गरिएका आधा दर्जन घटना सार्वजनिक भए। जातीय विभेदका अरू दर्जन बढी घटना सार्वजनिक भए। यी सबै घटनामा नेकपा वास्तविक रूपमा मौन छ। मानौं, उसलाई यी केही पनि थाहा छैन वा यी सबै कुरा उसको सरोकारको विषय नै होइन। 

यो कुरालाई पार्टीमा दलितको प्रतिनिधित्वको कोणबाट पनि परीक्षण गर्न सकिन्छ। नेकपाको नौ जनाको सचिवालयमा ७ जना खसआर्य  पुरूष छन्, २ जना जनजाति छन्। दलित र महिलाको संख्या शून्य छ। ४५ जनाको स्थायी समितिमा एक जनामात्रै दलित छन्। दुई जनामात्रै महिलाको प्रतिनिधित्व छ।

नेतृत्वबाट हेर्दै जाने हो भने यो पार्टीले मुलुकको वर्चश्वशाली खस-आर्य पुरूषको प्रतिनिधित्व गर्ने देखिन्छ। यो पार्टी दलितको त हुने कुरै भएन। थारू, जनजाति, मधेसी वा महिलाको पनि  हुन सकेन। मधेस आन्दोलनदेखि जनजाति आन्दोलनसम्म यो पार्टी वा यसका घटकले निर्वाह गरेको भूमिकाको समीक्षा यहाँ गर्न सम्भव छैन। संविधान विपरीत असमावेशी पार्टी दर्ता गर्दा यसको नेतृत्वले गरेको टिप्पणी सम्झनामा राख्न आवश्यक छ।

पार्टीलाई पुरै पुनर्संरचना गरेर समाजवादी आन्दोलनमा लैजान्छौं भन्ने घनश्याम भुसाल, राम कार्कीहरूको मौनता पनि समीक्षायोग्य छ। नेकपा कसको पार्टी हो भन्ने कुरा यी सबै घटनाक्रमको आलोकमा बुझ्नु पर्छ। पछिल्लो आधा दशक यो पार्टी र एकताअघि यसका दुवै घटकको भूमिका र यसको वर्तमान संरचनाले पुष्टि गर्छ- यो पार्टी समाजको वर्चश्वशाली वर्गको पार्टी हो। सामाजिक-सांस्कृतिक रूपमा होस् वा वर्गीय रूपमा, यसले समाजको वर्चश्वशाली वर्गको प्रतिनिधित्व गर्छ। 

जब वर्चश्वशाली वर्गले चुनौती महसुस गर्छ, त्यो दक्षिणपन्थको बाटोमा लाग्छ। अमेरिकामा त्यसले डोनाल्ड ट्रम्प जन्माएको छ। नेपालको वर्चश्वशाली वर्गले केपी ओली जन्माएको छ। अमेरिकामा ट्रम्प, बेलायतमा बोरिस जोनसन वा भारतमा नरेन्द्र मोदीको उदय भन्दा नेपालमा ओलीको उदय भिन्न छ। बाँकी सुरूदेखि नै दक्षिणपन्थी राजनीति गरेर दक्षिणपन्थी एजेन्डा लिएर स्थापित भएका हुन्। ओली भने आवरणमा प्रगतिशील मुद्दा बेचेर दक्षिणपन्थको प्रतिनिधिका रूपमा सत्तामा पुगेका हुन्। 

जे भए पनि ओलीको उदय र वर्चश्व, नेकपाको दक्षिणपन्थी यात्राको सूचक हो। यसको अर्थ ओलीबाहेकका अन्य नेता वा पार्टीभित्रका उनका विपक्षी नेताहरू प्रगतिशील छन् भन्ने होइन। अहिले नेकपाको मुल वैचारिक प्रवृत्ति दक्षिणपन्थ हो। 

दक्षिणपन्थी दृष्टिकोणबाट सुशोभित यो पार्टी वर्गीय रूपमा भने दलालहरूको प्रतिनिधि र संरक्षक हो। यतिदेखि ओम्नीसम्म, जहाज खरिददेखि उद्धारका नाममा विदेशमा रहेका नेपालीको शोषणसम्म, बालुवाटारको जग्गा खरिद प्रकरणदेखि सेनाबाट औषधि खरिद प्रकरणसम्म, दुर्गा प्रसाईंदेखि सुशील भट्टसम्म वा शारदाप्रसाद अधिकारीदेखि गोकुल बाँस्कोटासम्म। जतिपनि उदाहरण राखेर हेरौं, नेकपाको एउटै ध्येय छ, पार्टी र नेता निकटका दलालको हित। 

केन्द्रमा मात्रै होइन, प्रदेशदेखि नगरसम्म, जिल्लादेखि गाउँसम्म पार्टीमा विभिन्न प्रकारका एजेन्टहरूले पकड जमाएका छन्। अथवा पार्टी कार्यकर्ता नै एजेन्टमा रूपान्तरण भएका छन्। यतिसम्मकी यो पार्टी राष्ट्रिय पूँजीपति र नविन उद्यमशीलताको संरक्षणमा समेत गम्भीर भएन, जुन एउटा दक्षिणपन्थी बुर्जुवा पार्टीले समेत गर्न चाहन्छ।

अर्थमन्त्री युवराज खतिवडाको बजेट खुलमखुल्ला आफ्ना निकटका व्यवसायी पोस्ने उद्देश्यका साथ बन्छ। उनकै कारण जुर्मुराउँदै गरेको प्रकाशन व्यवसाय तहसनहस पार्न हुने स्थिति बनेको छ। राष्ट्रिय उद्मशीलतालाई संकटमा ठेल्ने र आयातकर्तालाई सहजिकरण गर्ने उनको आर्थिक नीति बुझिनसक्नुको छ। 

यी सबै विषयमा पार्टीमा आजसम्म गम्भीरतापूर्वक छलफल भएको छैन। किनभने भोलि अर्को नेतृत्व वा व्यक्ति सरकारमा गएर पनि गर्ने यही नै हो। यतिबेला पार्टीका लागि सबैभन्दा गहन मुद्दा प्रधानमन्त्री ओलीले एकलौटी गरे भन्ने भएको छ। उनले केमा एकलौटी गरे? नियुक्तिदेखि साधनस्रोतको प्रयोगमा एकलौटी गरे। यो एउटा विकृत ‘बुर्जुवा’ पार्टीभित्र हुने बहस हो। 

नेकपा मजदुर, किसान, दलित, जनजाति, थारू-मधेसी र मुस्लिमको होइन। क्षेत्रीय उत्पीडनमा परेका सुदूरपश्चिम वा कर्णालीको प्रतिनिधि होइन। यो कसको पार्टी हो?
यो ओम्नी-यतीको पार्टी हो, यो शारदाप्रसाद-दुर्गा प्रसाईंको पार्टी हो, सुशील भट्ट-दीपक भट्टको पार्टी हो। 

पार्टीका दस्तावेज वा घोषणा पत्रमा अर्कै कुरा लेखिएको हुनसक्छ। तर, नेकपाको संरचना र व्यवहारले भन्छ- यो दलाल पूँजीपतिको पार्टी हो। विचौलियाको पार्टी हो। वैचारिक रूपमा यो पार्टी लगातार दक्षिणपन्थको बाटोमा अग्रसर छ। 

के दलाल पूँजीपति वर्गको पार्टीले समाजवाद ल्याउँछ? यदि दलाल पूँजीपतिलाई समाजवादको आवश्यकता हुन्थ्यो भने त्यसले समाजवाद ल्याउन सक्थ्यो। समाजवादका लागि संघर्ष गर्ने त मजदुर र किसानको पार्टीले नै हो, जुन वर्गसँग नेकपाको सम्बन्धविच्छेद भइसकेको छ। त्यसैले नेकपाले समाजवादको यात्रा गर्नु साँच्चिकै ‘बयलगाढामा अमेरिकाको यात्रा’ बाहेक केही होइन। 

नेकपाको विघटन वा अवसानबाट मात्रै समाजवादको यात्रा तय हुन्छ। त्यसैले नेकपाभित्र  साँच्चिकै समाजवादी आन्दोलनप्रति आस्था र आशा रहेको वर्गले यसको अवसानको बाटो रोज्नु पर्ने हुन्छ। 

नेकपाको बाटो समाजवादमा पुग्न प्रयत्नरत समूह नेकपाको अवसानमा टेकेर नयाँ पार्टी निर्माण गर्ने जोखिम मोल्न तयार छ?

 Published Date: Sunday, 23rd August 2020 9:37:22 am