देउवाले देखाएको भद्र संस्कार
देउवाले साँच्चिकै विधिविधान, प्रक्रिया र पद्धतीको कुरा गरेको भए महाधिवेशन अघि नेतृत्व हस्तान्तरण संभव हुने कुरो थिएन। कसैले माने पनि नमाने पनि मौकामा त्याग गरेर उच्च नैतिक चरित्र प्रदर्शन गरेकै हुन्।(3)-1760780187.jpg)
नेपाली कांग्रेसको कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई सुम्पेर सभापतिको भारी बिसाउँदै शेरबहादुर देउवा कार्यकारी भूमिकाबाट अलग भए । स्वास्थ्यको कारण दर्शाएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको भूमिका प्रदान गरेसँगै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बिषय पनि एकैसाथ सम्बोधन भएको छ । एकअर्थमा कांग्रेस भित्रकै जे–जी पुस्ताले गरेको अपेक्षा पनि बेलैमा पुरा भएको मान्नुपर्छ । यी काम यत्तिकै सहज थिएनन् । तर देउवाबाट सहजै हाँसीहाँसी यी कार्य सम्पन्न भए । कांग्रेसमा मात्र नभै समकालिन अन्य पार्टीलाई पनि राम्रो सन्देश छाडेर देउवाले नेतृत्वको भारी बिसाएका छन्।
निश्चय पनि देउवा कसैको कृपा र अनुकम्पाले यत्तिकै देउवा भएका होइनन् । लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित संघर्षमा होमिएर, ६ दशक बढी कांग्रेसको राजनीतिमा पसिना बगाएर, अनेक हण्डर र ठक्कर सहेर स्पात बन्दै लोकतन्त्रको आलोकमा स्थापित भएर आजको स्थितिमा आइपुगेको तथ्य भनिरहनुपर्दैन । २०६० भदौ ८ गते धनगढी नजिक आमखैया जंगलमा तत्कालीन माओवादी लडाकुले अन्धाधुन्ध हानेको गोलीबाट देउवा बालबाल बचेका थिए। उनी चढेको गाडीमा तीनवटा गोली लागे पनि देउवा दैव संयोगवश जोगिएका थिए।
२०८२ भदौ २४ गते जेनजीका नाममा घुसपैठिया तत्वले निवासमा आगो झोसेर गर्धनमा ताकेर रड र मुङ्ग्रा प्रहार गर्दा झण्डै मृत्युको मुखमा धकेलिएको अवस्थामा दोस्रोपल्ट पुनर्जिवन पाएका छन् । यी घटना ६ दशक भन्दा लामो राजनीतिक जिवनमा कसैगरी बिसर्न नसकिने दुर्दान्त घटनाका रुपमा रहीरहने छन्।
देउवामाथिको त्यो भरोसा
नेपाली कांग्रेसको १४ औ महाधिवेशन सम्पन्न हुँदैगर्दा पुनः दोस्रो कार्यकालका लागि महाधिवेशन प्रतिनिधिले देउवाको पक्षमा अमूल्य मत जाहेर गर्दै घर फर्केका थिए। जतिबेला नयाँ अनुहार नेतृत्वमा आउँदा सरकार परिवर्तनका लागि दबाब आउन सक्ने र फेरि मुलक अस्थिरतातर्फ धकेलिने चिन्तासहित महाधिवेशन प्रतिनिधको भारी मतले सभापति भएको अवस्थालाई बिर्सन सकिँदैन।
दुई बर्ष अघिकै मात्र कुरा गर्ने हो भने पनि सर्वोच्च अदालतबाट केपी ओलीले विघटन गरेको संसद पुनस्थापना भई कांग्रेसकै नेतृत्वको सरकार रहेको स्थितिमा गठबन्धनलाई जोगाउँदै आम निर्वाचनसम्म लैजाने गहन जिम्मेवारी थियो । तत्कालिन अवस्थामा महाधिवेशन प्रतिनिधिले स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा सफलता हासिल गर्न परिपक्व एवम् अनुभवी नेतृत्वको आवश्यकता देखेर नै देउवालाई सभापतिमा जिताएको यथार्थ हो।
जतिबेला प्रतिनिधिहरूले सभापतिको प्रतिश्पर्धामा उभिएका व्यक्तित्वलाई न्यायको तुलोमा जोखे । अन्तिममा पार्टी हित अनि मुलुकको दीर्घकालीन भविष्यका लागि देउवा नै पुनः सभापति हुनुपर्ने विश्वाससहित अपरिहार्यता ठाने । तत्कालिन राजनीतिक संक्रमणकाललाई पार लगाउन पाको नेता नै चाहिन्छ भन्ने निक्र्योल गरे । खासमा भन्दा काँचो नेतृत्वलाई विश्वास गरिहाल्न सकेनन् । र, बलियो र एकताबद्ध कांग्रेस लामो अनुभव प्राप्त नेताबाट मात्रै सम्भव छ भनेर देउवाको पक्षमा बलियो मत जाहेर गरे । त्यसपछि देउवा फेरि अर्कोपल्टका लागि नेपाली कांग्रेसको सभापति बनेका थिए । दोस्रोपल्ट सभापति बनेपछि पनि उनले नेपाली राजनीतिको मियोका रूपमा भूमिका खेलेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।
मुलुकका प्रायः सबै प्रमुख पार्टी टुक्रिँदा पनि पार्टीलाई एकगठ बनाएर लैजान सक्नु कांग्रेसका लागि ठूलो उपलब्धि थियो । कांग्रेसभित्र मात्र नभई गठबन्धनका अन्य दलहरूले पनि निष्पक्ष निर्वाचनको अभिभारा पूरा गर्न देउवामाथि नै भर गरेको अवस्था थियो। संसद्मा केवल ६३ सिट मात्र रहेको कांग्रेसले १६५ जना सांसदको विश्वास जितेर सरकारको नेतृत्वमा पुग्नु चानचुने सफलताको विषय थिएन।
प्रदेश सरकारको नेतृत्वमा शून्य रहेको अवस्थाबाट नेतृत्व गर्ने तहसम्म सफलता मिलेको छ । २०७४ मा २३ सिट जितेको कांग्रेस प्रत्यक्षतर्फ ५६ सिट जित्ने अवस्थामा पुगेको हो । प्रत्यक्ष र समानुपातिकमा गरी ८८ सिट सुरक्षित गर्न सफल भयो । स्थानीय तह निर्वाचनमै पनि कांग्रेसले एमालेको किल्ला ढाल्दै सय भन्दा बढि स्थानीय तहमा जितेको अवस्था छ । के यो जित कांग्रेसलाई जनताले गरेको अनुमोदन होइन ? नेतृत्वको हिसावले देउवालाई जस जाँदैन?
इतिहासप्रति इमान्दार हुन सकिएन भने स्पष्ट गन्तव्य पहिल्याउन सकिँदैन । कांग्रेसको भूमिका प्रभावकारी भएन भनेर आलोचनामा उत्रँदै गर्दा सभापतिलाई कति रचनात्मक सहयोग मिलेको थियो भन्ने तथ्यलाई पनि एकसाथ तुलोमा जोखेर दाँज्नुपर्ने हुन्छ । अनि पार्टी उपाध्यक्ष, महामन्त्रीसहितका पदाधिकारीबाट निर्वाचित भएदेखि आफ्नो तहबाट पार्टीका लागि के कति काम भयो भनेर पनि आत्मसमिक्षा हुनुपदैन र ? भित्रैबाट आफ्नैहरुले नै विरोधका लागि जति जेहाद चलाए पनि आवश्यकता पर्दा तुरुन्त निर्णय लिने र अडानमा कायम रहनसक्ने नेताका रुपमा विपक्षी पार्टीबाट पनि देउवामाथि अझै भरोसा छ । अन्तर्राष्ट्रिय सम्वन्ध सन्तुलित राख्नसक्ने खुवी भएका नेताका रुपमा पनि देउवा दरिएका छन्।
मुलुकमा नयाँ संविधान जारी भएपछि तिनै तहको चुनाव कुशलतापूर्वक सम्पन्न गरी संविधानको सफल कार्यान्वयन देउवाबाटै सम्पन्न भएको थियो । आम चुनावपछि नै बिथोलिएको राजनीतिले सही लाईन पक्रेको हो । सर्वोच्च अदालतद्वारा संसद् पुनःस्थापनापछि देउवाको नेतृत्वमा मुलुकको भद्रगोल र बेथितिपूर्ण राजनीति ‘ट्रयाक’ मा आएको वास्तविकतालाई आँखा चिम्लियौं भने इतिहासमाथि सही न्याय ठहर्दैन।
आज पनि कांग्रेसभित्र र बाहिर पनि सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझ्ने नेताका रूपमा देउवाको पहिचान तलमाथि भएको छैन । पटकपटक कठिन समयमा देशको नेतृत्व सम्हालेका देउवाको लचकता एउटा छुट्टै विशेष गुण नै मानिन्छ । देउवा पार्टी सभापति भइसकेपछि पनि बहुमतका आधारमा नभई कांग्रेसमा सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ भन्ने मान्यताले काम गरेको थियो।

देउवाप्रतिको विश्वास र भरोसामा कांग्रेसजनमा कुनै कमी नआएको चौधौं महाधिवेशनको मत परिणामबाटै पुष्टि हुन्छ । कुनै पारिवारिक बिरासतका रूपमा नभई नेतृत्वमा आफैं सक्षम भएर आउनु देउवाको ठूलो शक्ति थियो । खारिएको अनुभव अनि नयाँ पुस्ताको प्रेरणाले मात्र आम कार्यकर्तामाझ उत्साह भर्ने विश्वासका कारण नै देउवा सभापति बनेका हुन्।
हुन पनि तत्कालिन परिवेशमा परिपक्व अनुभव र नयाँ जोसको समिश्रणबाट मात्र कांग्रेसमा रूपान्तरण सम्भव थियो । युवाको जोस र समावेशीकरणको अभावमा बलियो पार्टी बन्न सम्भव थिएन पनि । देउवाले नेतृत्व समाल्दै गर्दा ६ दशक लामो राजनीतिक संघर्षबाट खारिएका पाका नेताबाट बाँकी दिनमा अन्यथा हुन सक्ने संभावना न्यून थियो । त्यतिबेला मुलुकलाई अप्ठ्यारोबाट बाहिर निकाल्न सक्ने खुबी भएको नेताका रूपमा देउवालाई सबैले विश्वास गरेका हुन् । उनले सबैमा समन्वयकारी भूमिका खेल्न सक्छन् र सन्तुलन कायम गर्न सक्छन् भन्ने विश्वास कांग्रेसभित्र मात्र नभई अन्य पार्टीमा समेत अझै छ । ‘गिभ एन्ड टेक’ मा उदार रहेका कारण पनि उनमा यसरी सबैले भर परेको पनि हुन सक्छ।
लोकतन्त्रमा सहमति, सहकार्य र समन्वयले नै राष्ट्रिय एकताको भावना जगाउँछ भन्ने मान्यतामा देउवाको अडान तलमाथि भएको देखिँदैन । गान्धीको दर्शन, बिपी कोइरालाको आदर्श, गणेशमान सिंहको साहस र कृष्णप्रसाद भट्टराईको त्यागबाट संस्कार पाएकै कारण देउवा लोकतन्त्रको मार्गबाट विचलित भएनन् । यस अर्थमा देउवालाई यतिबेला सबै कांग्रेसजनले धन्यवाद र स्याबासी भन्नैपर्छ।
उपचार असंभव ‘परपिडक रोग’
तर एउटा, दुखद पक्ष नै भन्नुपर्छ । भएका उपलब्धि र असल पक्षलाई अनदेखा गर्ने, राम्रा गुणको सह्राना नगर्ने, व्यक्तिमा नभएका गुण कोट्याईकोट्याई खोजेर हिंड्ने कांग्रेसभित्रैका कतिपय पदेन बुद्धिजिवी, विभिन्न हुलियाका पात्रहरु एकोहोरो आरोपको खेतीमा पसिना खर्चिरहेका छन् । देउवाबाट लामो राजनीतिक उकालीओरालीमा कहीँ गल्ती कमजोरी भएका पनि होलान् । तर पार्टीको योगदान र इतिहास नै मटियामेट पार्ने गरी खोइरो खन्ने काम अझै रोकिएको छैन। नाना तरहका पुराना निहुँ उधिनेर हिलो छ्याप्ने र गोयबल्स शैलीमा हुर्मत काढ्ने कर्म चलिरहेकै छ ।
‘जता हेरे पनि पहेंलै देख्ने’ प्रवृत्तिबाट अनौठो चर्तिकला देखिएको छ । एकखालको ‘परपिडक’ रोग नै छ । ०४६ पूर्व मात्र होइन, त्यसपछि शाही शासनका बेला समेत पाएको यातना, सङ्घर्ष, योगदान चटक्कै बिर्सेर व्यक्ति केन्द्रीत अपमानको श्रृङ्खला लेख, टिप्पणी, सामाजिक सञ्जालमा चलाइएको छ।
कसैलाई देवता बनाउन खोज्दा अर्काथरीको इतिहास र योगदान नै खरानी बनाउन हात धोएरै उद्दत भएको देखिन्छ । असमयमै नेतृत्व नै सुम्पेर हिंड्दा पनि अझै सुःखले श्वास फेर्न नदिने कस्तो प्रवृत्ति हो हँ ? हुनलाई यस्तो रोगको ओखतीमुलो गर्न संभव पनि छैन । यस्कारण यतापट्टी धेरै उधिन्नुपर्ने जरुरत पनि देखिँदैन । दुःखको बेला दुष्टात्माहरुले दिएका चोटहरु बिर्सन नसकिए पनि एकमुष्ट माफी दिनु नै अहिलेलाई उपयुक्त हुने देखिन्छ । निःसन्देह विभिन्न कालखण्डमा सबैको हिसाबकिताब समयले नै राख्ने छ।
युवाको उर्जा, परिपक्व नेतृत्व
कांग्रेसका लागि जेनजी आन्दोलनपछि अहिलेको क्षण विशिष्ट खालको रहेको छ । फागुन २१ गतेका लागि आम चुनाव घोषणा भएको छ । आम चुनावमा कांग्रेसलाई ठूलो र बलियो लोकतान्त्रिक पार्टीका रुपमा शाख बचाउनुपर्ने छ । कांग्रेसजनलाई चाहिएको पनि बलियो कांग्रेसका साथमा राजनीतिक स्थिरता, विकास र समृद्धि नै हो । अग्रजको सम्मान, समकक्षीको व्यवस्थापन र युवाको प्रोत्साहनले मात्र कांग्रेस दरिलो बन्न सक्छ । कांग्रेसको इतिहास हेर्दा कार्यकर्ताले सधैं परिपक्व नेतृत्व र युवाको ऊर्जा चाहेको देखिन्छ । हुन पनि यी दुईको संयोगले नै कांग्रेसलाई निःसन्देह गतिशील बनाउनेछ।
देउवालाई अब मुलुक र पार्टीबाट लिनुदिनु केही छैन । सबै पक्षका आवाज सुनेर कांग्रेसलाई फेरि नयाँ उचाइ दिने जिम्मेवारी भावी पुस्ताको काँधमा सुम्पेर देउवाले राजनीतिको भारी बिसाइसकेका छन् । देउवाले यस्तो अवस्थामा नेतृत्व हस्तान्तरण गरेका छन् की जेनजी आन्दोलनको नाममा घुसेर अराजक समूहले मुलुकको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामा नै खलल् पुग्नेगरी आगजनी, तोडफोड, लुटपाट, आक्रमण मच्चाएर अझैसम्म भयावह स्थिति साम्य भएको छैन। वडा कार्यालयलेखि सिंहदरबारसम्म, पार्टी कायालयदेखि संसद भवन र सर्वोच्च अदालतसम्म एकैचोटी खरानीमा परिणत भएको अवस्था छ । नेपाली कांग्रेस १५ औं महाधिवेशनको संघारमा छ । जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठन भए पनि राष्ट्रिय संकट टरिसकेको छैन । यतिबेला सिंगो मुलुक नै साँच्चिकै अग्नीपरिक्षामा छ।
देउवाले साँच्चिकै विधिविधान, प्रक्रिया र पद्धतीको कुरा गरेको भए महाधिवेशन अघि नेतृत्व हस्तान्तरण संभव हुने कुरो थिएन । कसैले माने पनि नमाने पनि मौकामा त्याग गरेर उच्च नैतिक चरित्र प्रदर्शन गरेकै हुन्। यसरी नै असल लोकतान्त्रिक संस्कारले ओतप्रोत भइरहने नेतृत्व भए मात्र कांग्रेस युगौंसम्म झाँगिने छ । आफुले कार्यबहाकको जिम्मेदारी सुम्पिँदै गर्दा देउवाले आफूबाट पनि सत्ता र पार्टी सञ्चालनमा केही कमीकमजोरी भएको स्वीकारेका छन् । मुलुककै सबैभन्दा ठूलो पार्टी अनि सत्ता संचालनकाक्रममा कमीकमजोरी नै नहुने भन्ने हुँदैन । त्यस्लाई स्विकार्नु महानता हो । अर्को अर्थमा लोकतन्त्रको सुन्दर पक्ष भन्नु पनि यही हो।
अहिलेको जटील अवस्थामा कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक प्रणालीलाई नजिकबाट नियालेको, प्रशस्त अनुभव गरेको, बुझेको, दृढ संकल्प रहेको व्यक्ति नेतृत्वका लागि झन् बढी आवस्यक छ । अधिक राजनीतिक सुझबुझ अनि जनता र कार्यकर्ताको स्वीकार्यता भएको व्यक्तिको अभावमा कांग्रेस बलियो र प्रभावकारी हुन सक्दैन । यत्तिकै हार्रहुर्र गरेर चल्दैन । मुलुक नै संकटमा रहेका बेला संकटमोचनका लागि सिद्धान्तप्रतिको कट्टरताले मात्र पनि पुग्दैन ‘डायनामिक’ व्यक्तित्व पनि हुनुपर्दछ । जुन् व्यवहारबाटै देख्न र अनुभव गर्न सकियोस् । निष्टा, नैतिक बल र दृढ अडानले नै असहजताका विच कांग्रेसले सही दिशा पक्रन सक्छ।
जेनजी विद्रोहपछिको चुनौती
भदौ २४ गतेको दिनलाई एकछिन बिर्सेर २३ गते फर्किँदा त्यो दिनको जेन–जी विद्रोह समाजमा विशेषगरी युवा पुस्तामा व्याप्त असन्तुष्टि र निराशाको चरम रुप नै हो भनेर स्विकार नगरिए शहीदका रगतको अपमान हुने छ । त्यो खासमा विद्रोही भावनाको उत्कर्ष रुप थियो भनेर बुझ्नु आवस्यक छ । लोकतान्त्रिक उपलब्धिहरूलाई उल्ट्याएर कसैको आकाँक्षा तुष्टीका लागि सायद त्यो विद्रोह भएको थिएन । २३ गतेका दिन नौजवानहरुले शान्तिपूर्ण आन्दोलनको कुरा गर्दै मुलुकको अवस्था परिवर्तनका लागि सडकमा उत्रिएका हुन् । कुनै जड विचारधाराबाट पनि निर्देशित भएको होइन । वर्तमान अव्यवस्था र भद्रगोल राजनीतिका उपज नै विद्रोहको सार थियो भनेर स्विकार्नुपर्दछ । सुशासन र समृद्धिको उत्कट चाहना जेन–जी पुस्तामा देखिन्छ।
यसकारण धेरै शंकाको नजरले नहेरी उनीहरुको भावनालाई सम्मानका साथ कदर गर्नु नै कांग्रेसको हितमा छ । सही मार्ग पछ्याउन सके जेनजी विद्रोहबाट आगामी चुनावमा बढी लाभ कांग्रेसले लिन सक्ने संभावना छ । अर्कोतर्फ फर्किर हेर्दा अझै पनि धमिलो पानीमा माछा मारेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने अबाञ्छित गतिविधिहरु हुनसक्ने संभावनालाई नकार्न सकिँदैन । यसतर्फ लोकतन्त्रको धरोहर मानिने नेपाली कांग्रेसले कान ठाडा पारेर बस्नुपर्ने छ । र, जेनजी आन्दोलनबाट गतिलो पाठ लिएर कांग्रेस एकपल्ट आत्मपरिक्षणसहित सुध्रिँदै, सच्ँिचदै, माझिएर उज्यालोतर्फ अघि बढ्नुपर्ने छ।
जेनजी विद्रोहपछि अन्तरिम सरकार गठन भई नयाँ चुनावको समेत घोषणा भइसकेको अवस्थामा मुलुक र लोकतन्त्रप्रति कांग्रेसको भूमिका कस्तो रहला भन्ने आम जिज्ञासा छ । जेनजी पुस्ताका सपना, विगतका तितामिठा अनुभव र लोकतान्त्रिक संविधान रक्षाका चुनौतीको भारी बोकेर कांग्रेस एकसाथ चुनाव र महाधिवेशनमा होमिँदै छ । नयाँ जमानामा पार्टीमा कार्यबहाकको गह्रुँगो भारी उपसभापति खड्कालाई हस्तान्तरण भइसकेको छ । नयाँ नेतृत्वबाट पार्टी मात्र नभै मुलुकप्रतिकै दायित्व कसरी पूरा होला भनेर नागरिक तहबाट स्वाभाविक चासो बढेको छ । सात दशक भन्दा बढी लामो इतिहास बोकेको पार्टी नैतिक बल, निष्टा र मूल्यमा अडेर अग्नीपरिक्षामा उत्तिर्ण हुन कसरी दृढ संकल्प साथ उभिएला ? भन्ने जिज्ञासाहरु छन्।
एउटा हैसियत प्राप्त भएको छ, अब पदीय गरिमा र मर्यादा राख्ने जिम्मा पनि कार्यबहाक सभापति खड्काकै जिम्मामा आएको छ । आफु ठिक ढंगले उभिने धरातल नेतृत्व आफैले निर्माण गर्नु आबस्यक छ । त्यसपछि संकटको क्षणमा पार्टीको शाख जोगाएर प्रतिष्ठा कायम गर्न सबैबाट रचनात्मक सहयोग अपरिहार्य छ । देउवाले सुम्पिएको विश्वासको नासो समालेर राख्ने खुवी दोस्रो पुस्ताले देखाउन सक्छ कि सक्दैन भनेर हेर्न यतिबेला सबैका आँखा कांग्रेसतिरै छन् । हेर्नलाई समय बाँकी छ।












(3)-1760780187.jpg)