देउवालाई खनेको खाडलमा पुरिने पालो कसको?
अहिले देउवालाई पुर्ने योजनाकारले खरिद गरिदिएका गैँची–सावेलको व्यापार आगामी दिनमा पनि कायमै रहने पक्का छ। जसलाई चलाउने कामदारको नेपाली राजनीतिक बजारमा अभाव पक्कै हुनेछैन।
भदौ २३ र २४ गतेको राजनीतिक दुर्घटना पश्चात पहिलो पटक विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगलागिले भग्नावषेश भएको भुइतलाको हलमा चल्दैछ। जेनतेन बचेको उक्त हलमा गत मंगलबार सभापति शेरबहादुर देउवाले संबोधन गर्दा धेरैको मुखमण्डल निराशाले भरिएको देखिन्थ्यो। केन्द्रीय सभापति र केन्द्रीय सदस्य एवं देउवा पत्नी आरजु राणालाई कार्यालय टेक्नै रोकेर खेद्न गरिएका प्रयत्न असफल भएको भाव लुकाउँदा मै पार्टी हौं भन्ने केही युवा नेतालाई कठिन भएको मुहारले भनिरहेको थियो।
विगत एक महिनाको अवधिमा मुलुकभित्र देखिएका परिदृश्यले मृत्युशैयामा पुगिसेकोको विरामीलाई चिकित्सकले मृत्युपत्रमा मल्टिपल अर्गान फेलियर भनी उल्लेख गरेजस्तै राज्यका सम्पूर्ण अंगहरु पूर्णरुपले असफल हुँदा समेत असफल राष्ट्रका रुपमा औपचारिक घोषणा हुन बाँकी रहेको अवस्था छ। यो तरल अवस्थामा आफ्नै अस्तित्व जोगाउन नसक्ने स्थितिमा पुगेको एउटा दल विशेषको बैठक र त्यसको निर्णयबाट खास अपेक्षा के नै गर्न सकिन्छ र?
यसका बाबजूद ७८ वर्ष पुरानो आफूलाई स्थापनाकाल देखि नै राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको हिमायती भन्न मात्रै होइन विगतका कहालीलाग्दा कालखण्डमा पनि देश र जनताको अधिकारका लागि लड्दै आएको कांग्रेसबाट भाग्यले नभएपनि संयोगवस कुनै आशाका किरण उदाइहाल्ने पो हो कि भन्ने झिनो जिजिबिषा बाँकी नै थियो।
यो जिजिविषा रुपी आशाको वृक्षमा मंगलबारदेखि सुरु कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कतै नयाँ भरोसाको सन्देश प्रवाह गर्दै मुर्दा शान्तिको वातावरणमा निसास्सिएका जनतालाई नभएपनि चारतारे झण्डामुनी आवद्ध निश्वार्थ कार्यकर्तादेखि स्वार्थका गलगण पालेर बसेका अवसरवादी समूहलाई नयाँ रक्त सञ्चारको प्रवाह गराउने अपेक्षा अन्यथा होइन।
यसका लागि भदौ २४ को कहाली लाग्दो हिंसात्मक आक्रमणबाट जसोतसो भाग्य दुर्भाग्यले बाँच्न पुगेका पार्टी सभापति देउवा दम्पत्तिसँगै आन्दोलनका नाममा रचिएको ताण्डव नृत्यका कलाकार निकट शुभचिन्तकको पूर्वजानकारीमा दुला पसेर बाँच्न र बचाउन सफल योग्य पार्टी नेताहरुले कालको मुखबाट बँचेर फर्किएपछिको तितो अनुभवका आधारमा मुलुक र जनतालाई महांकालको खतराबाट बचाउन के कसरी सकिन्छ भनि आपसमा विचार मन्थन गर्ने अवसरका रुपमा लिुन पर्छ– जारी बैठकलाई।
अर्थात, औपचारिक रुपमा बिहिबारदेखि सुरु भएको पार्टी बैठकमा विगत लामो समयदेखि मुलुक र जनताको पक्षमा लड्दै र भिड्दै आएको पार्टी र यसका नेता, कार्यकर्तादेखि संसदको सहयात्री दलसँगको सत्ता साझेदारीका क्रममा के कति कमजोरी भयो र पार्टी, पार्टी नेतासँगै मुलुकको संविधान, राज्य व्यवस्था सबैको अस्तित्व नै समाप्त हुने स्थितिमा पुग्यो भनि गहन समीक्षा हुन जरुरी छ।
यसरी समीक्षाका क्रममा पार्टी नेतृत्वदेखि सरकारको नेतृत्व मात्रै होइन, संघ, प्रदेश र स्थानीय तहगरी तीनै तहसम्म बहुमत जननिर्वाचत प्रतिनिधिका रुपमा जितेर विभिन्न ओहोदामा जिम्मेवारी बहन गरिरहँदा पनि भदौ २४ गतेको विध्वंशकारी गतिविधिबाट मुलुक त परको कुरा, आफ्नै पार्टी र पार्टी नेतादेखि स्वयं आफूलाई पनि किन बचाउन सकिएन? यसका मुख्य कारण के के हुन सक्दछन् र सहायक कारण के के हुन्?
मुलुकको शान्ति सुरक्षा कायम गराउने सवालमा गृहप्रशासनको जिम्मेवारी लिएर बसेका गृहमन्त्री स्वंय नै यसबाट बच्न र मुलुकलाई बचाउन नसकेपनि पार्टी नेतासँगै आफूलाई बचाउन किन असफल भए भन्ने सन्दर्भमा पूर्वगृहमन्त्री र मन्त्रीहरुको आत्मसमिक्षासहितको जानकारी बैठकको प्रारम्भमै आउनु पर्दथ्यो होला।
जसका आधारमा पार्टीले आगामी दिनमा आउन सक्ने यस्ता अकल्पनीय चुनौतीको सामना गर्न के कस्तो रणनीतिक तयारी गर्नु पर्दछ भन्ने निस्कषृमा पुग्न सक्छ।
भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतदेखि अधिकांश राजनीतिक दलका नेताको घरमा लागेको आगो आतंकबाट भित्रभित्रै जलिरहेको मन लिएर बाँच्न बाध्य निरिह जनतादेखि राज्यका सबै अंगमा पुनर्जीवनको रक्तसञ्चार कसरी गर्न सकिएला? अराजकता र भिडतन्त्रको आडमा उदाएको गुण्डाराजबाट मुर्झाएका राष्ट्र सेवकको मनमा नयाँ आशाको किरण कसरी छर्न सकिएला भन्नेसहित राजनीतिक, सामाजिक, आर्थिक सवालमा स्पष्ट मार्गचित्र तय गर्न केन्द्रित हुनु पर्दछ।
ताकि २००७ सालपछि प्राप्त प्रजातन्त्रको गला राजा महेन्द्रले २०१७ सालमा रेटेपछिको तीस वर्षे कालरात्री कालमा होस् या २०५२ सालपछि तत्कालीन माओवादीले चलाएको हिंसात्मक विद्रोह अथवा २०६१ माघ १९ पछिको निरंकुश शाही शासनकालबाट मुलुक र जनतालाई उन्मुक्ति दिलाउने श्रेय प्राप्त दलको बैठकले फेरि पनि मुलुक र जनतालाई पछिल्लो अराजकता र भयको रजाइँबाट मुक्तिका लागि नयाँ गोरेटो पहिल्याउन महिना दिनपछि नै भएपनि कोशिश गर्नु पर्दथ्यो। जसका आधारमा आगामी दिनमा हुनसक्ने जस्तोसुकै चुनौतीको सामना गर्न पनि कांग्रेसको इतिहासदेखि वर्तमान र भविश्यको नेतृत्व सवल र सक्षम छ भन्ने सन्देश प्रवाह गर्न सकियोस्।
तर, विडम्बना नै भनौँ, कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिले उल्लेखित सबै दायित्वलाई आत्मसात गर्न पूर्णरुपले असमर्थ देखियो। जसको कारण केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअगाडि नै छलफलका लागि प्रस्तुत हुने विषयवस्तुको लामबद्ध सूचि तयार गर्नै सकेन अथवा चाहेन।
विशेषगरी नयाँ युवाहरुको जोस र जाँगर बोकेको दावी गर्दै आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामा होस कम, जोस ज्यादा भएर आयो। त्यसैले बैठकमा प्रस्तुत हुनुपर्ने राष्ट्रिय राजनीतिका मुद्दालाई सम्बोधन गर्न पार्टीको भूमिकाप्रति केन्द्रित भएर अगाडि सार्नुपर्ने छलफलका एजेण्डालाई कार्पेटमुनी धुलो छोपेजस्तै छोपेर सम्पूर्णको ध्यान अन्यत्रै मोडियो।
त्यो पनि विभिन्न भेषमा खटिएका हिंसात्मक विध्वंशकारीको ८ घण्टा लामो कुटाई, लछारपछार, अपहेलना र दुव्र्यवहारबाट गम्भीर घाइते भएर जसोतसो ज्यान जोगाउँदै अज्ञातस्थलको अस्पतालमा जीवन र मृत्यसँग पैँठाजोरी खेल्दैगरेका सभापति देउवालाई कसरी पार्टीबाट गलहत्याउन सकिन्छ भन्ने मिशनमा केन्द्रित हुन पुग्यो। जसका लागि महामन्त्री जस्तो जिम्मेवार पदमा बसेका उमेरले ५० काटेपनि आफूलाई नवयुवा (जेन–जी)को परमाधिपति प्रतिनिधिपात्रका रुपमा प्रस्तुत गर्न पनि पछि नपर्ने पदाधिकारीद्वयबाटै भदौ २५ गतेदेखि नै त्यो गतिविधिको थालनी गरियो।
पार्टी विधानको प्रावधानसँगै उमेर र स्वास्थ्यस्थितिका कारण पनि आगामी दिनमा पार्टी नेतृत्व हस्तान्तरणको तयारीमा रहेका देउवालाई तत्काल पदच्यूत गराउन देशव्यापी अभियान नै चलाइयो।
विधान अनुसार चारवर्षे कार्यकाल सकिन दुई महिना पनि बाँकी नरहेको अवस्थामा म्याद गुज्रिसकेका पार्टी सदस्यहरुको हस्ताक्षर संकलन गर्दै शेक्सपियरको नाटक मर्चेन्ट अफल भेनिषको कथामा जस्तै तत्काल पद त्यागको घोषणा नगरे ५१ प्रतिशत प्रतिनिधिको हस्ताक्षरका भरमा पार्टीबाट निकाली छाड्ने अड्डिका साथ हड्डी खियाइयो।
अनेक आकंक्षाबिच सरल हाउभाउमा सानेपा मुख्यालय पुगेका सभापति देउवाले बैठकमा नयाँ जीवन पाएर उपस्थित भएर सानदार मन्तव्य राख्नु भयो। आफ्नो लिखित भाषणमा अनगिन्ती प्रतिकात्मक सन्देशसहितको मन्तव्य दिँदै सभापति देउवाले आफ्नो स्वास्थ्यस्थितिको कारण देखाउँदै पार्टीको भाग्य र भविश्य सुनिश्चित गर्न पार्टीको कार्यबाहक नेतृत्व उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर सानेपाबाट शान्त भावले बाहिरिए।
हुनसक्छ, यो कदमलाई कतिपय पार्टीभित्र र बाहिरका लालबुझक्कडहरुले सभापति देउवाको पार्टीबाट अपमानपूर्ण बहिर्गमनको बाटोका रुपमा पनि अर्थाए भने कतिपयले आफूहरुले संकलन गरेको हस्ताक्षरको भेलले बढारेको आत्मरति पनि गरे होलान्।
तर, यो देउवालाई पुर्न खनिएको खडालमा उनी र उनको जहानको राजनीतिक अवसान परेपछि पनि खाडलको इतिहास समाप्त हुनेवाला छैन। यो त सुरुवात मात्रै हो।
जसले देउवालाई पुर्नका लागि विभिन्न आश, त्रास र बतास चलाएर बहुमतको हस्ताक्षर देखाउँदै विधान र परम्पराको धूलिसात पारे उनीहरुका लागि पनि भविश्य सुखद हुने छाँटकाट देखिँदैन। जसले देउवाको उक्त दिनको सम्बोधन नै पार्टी सभापतिका रुपमा अन्तिम सम्बोधन भन्दै प्रचारबाजी गर्न भ्याए उनीहरुले बुझ्न ढिला गर्नु हुँदैन कि अब आउने नेतृत्वको दिनगन्ति पनि पदमा पुगेकै दिनदेखि सुरु हुनेवाला छ।
हुनत, बिहिबार जसोतसो पेश गरिएको बैठकको एजेण्डाको ७ नम्बर बुँदामा विधानले तोकेको समयावधिभित्र नै पार्टीको १५औं महाधिवेशन गर्न कार्यतालिका निर्माण गर्ने सम्बन्धमा भनि छलफलको प्रस्ताव गरिएको छ। तर, यो अमूर्त प्रस्तावको सट्टा महाधिवेशनको कार्यतालिकाको प्रस्तावित खाका नै पेश गर्न सक्नु पर्दथ्यो। जुन आउन सकेन। अझ स्पष्ट शब्दमा भनौँ, जुन दिन कांग्रेसको १५औं महाधिवेशनबाट पार्टी नेतृत्व चुनिएला सर्वसम्मत निर्णयबाट अवश्य चुनीने छैन।
नेतृत्व दावीको दौडमा जसले बाजी मारेपनि कम्तिमा पनि ४० प्रतिशतको हाराहारीमा विपक्षमा छाड्दै नेतृत्व लिन पुगेको नयाँ नेतृत्वले आगामी दिनमा पनि कुनै मनचिन्ते झोला लिएर आउनेवाला पटक्कै छैन। महाधिवेशनपूर्व मत माग्ने क्रममा जसले जसलाई जेजति आश्वासन दिएर आफ्नो पक्षमा उभ्याए पनि त्यी सबका सबको आकांक्ष संबोधन सम्भव हुने छैन।
त्यस्तो परिस्थितिमा स्थायी विपक्षमा रहेको जमातले आशाको दियो निभ्दै गरेको स्वार्थी जमातलाई फेरि संगठित गर्न थाल्नु कांग्रेसको खानदानी परम्परा नै हो। जतिसुकै चमत्कारिक कुरा गर्ने नेताले पनि सबैको मन बुझाउन नसक्दा निराशाको आगो झोस्न खप्पिस समूहसँग तेल र झेलको खेल सुरु हुने हुँदा नेतृत्वमा पुगेको महिना, वर्षदिनभित्रै सभापति देउवा भन्दा पनि दयनीय नियती भोग्नु परे आश्चर्य नमाने हुन्छ।
त्यसपछि भदौ २४मा आफ्नै निवासमा अराजक भिडको आक्रमणपछि आफ्नै पार्टीका पदाधिकारीदेखि आफ्नै मातहतको कार्यसम्पादन समितिबाट समेत ‘स्वास्थ्य लाभको कामना’ गर्न पनि कञ्जुस्याई गर्ने मानवीय संवेदनाहिन पात्र र प्रवृत्तिको पालो आउनेवाला छ।
किन कि अहिले देउवालाई पुर्ने योजनाकारले खरिद गरिदिएका गैँची–सावेलको व्यापार आगामी दिनमा पनि कायमै रहने पक्का छ। जसलाई चलाउने कामदारको नेपाली राजनीतिक बजारमा अभाव पक्कै हुनेछैन।
त्यसैले अहिले देउवालाई पुर्न कम्मर कसेर लागेका महानुभावहरुले तयार भएर बसे हुन्छ, पुरिने पालो तपाइहरुकै हो।












(3)-1760780187.jpg)