Kathmandu Press

जलवायु परिवर्तन र संक्रामक रोगहरू

वैज्ञानिकहरूले जंगली स्तनधारी जनावरहरूमा मानिसलाई संक्रमण गर्ने सक्ने कम्तीमा १० हजार भाइरस प्रजाति हुन सक्ने अनुमान गरेका छन्।
जलवायु परिवर्तन र संक्रामक रोगहरू

काठमाडौं, कात्तिक २२ : विश्वभरि तापक्रम बढिरहेका कारण पृथ्वी अहिले द्रुत जलवायु परिवर्तनको अवस्थामा छ। मानवीय गतिविधिका कारण कार्बनडाइअक्साइडको उत्सर्जन बढेका कारण तापक्रम बढेको हो। 

वर्ल्ड मेटेरोलोजिकल अर्गनाइजेसनका अनुसार सन् २०२२ मा पृथ्वीको औसत तापमान औद्योेगिक क्रान्तिअघिको भन्दा १.१५ डिग्री सेल्सियसले बढेको थियो। जलवायु परिवर्तनका प्रभावहरू अत्यन्तै डरलाग्दा हुन्छन्। तापमान बढ्दै जाँदा डढेलो, तापलहर, अति वर्षा, बाढी, आँधी र खडेरीका घटना धेरै र तीव्र हुन्छन्।

सन् २०१८ जुलाईमा जापानमा तापलहरले १ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। सन् २०१९ मा अनुसन्धानकर्ताहरूले एक्स्ट्रिम इभेन्ट एट्रिब्युसन भनिने विज्ञानको नयाँ क्षेत्रको प्रयोग गरी  गरेको अध्ययनले जलवायु परिवर्तनले नै त्यो तापलहर सिर्जना गरेको देखाएको थियो, जुन जलवायु परिवर्तन नभएको भए कहिल्यै नहुन सक्थ्यो।

Hardik ivf

सन् १९९१ देखि २०१८ सम्मको तथ्यांक केलाएर २०२१ को मेमा ‘नेचर क्लाइमेट चेन्ज’ जर्नलमा प्रकाशित अनुसन्धान नतिजाअनुसार गर्मीका कारण हुने मृत्युमध्ये एक तिहाइभन्दा बढी मृत्यु मानव सिर्जित जलवायु परिवर्तनसँग जोडिएको थियो। वैज्ञानिकहरूले आगामी दशकहरू तातो मात्र होइन, बिरामी पनि हुने यथेष्ट प्रमाणहरू दिइसकेका छन्। रोगहरू सधैं मानिसको पहुँचबाहिर पृथ्वीको कुनै कुनामा लुकेर बसेका हुन सक्छन्। तर अहिलेसम्म तिनीहरूसँग लड्न पृथ्वीको प्राकृतिक प्रतिरक्षा प्रणाली मजबुत थियो। जलवायु परिवर्तनले ती प्रतिरक्षा प्रणालीलाई ध्वस्त पार्दैछ। जैविक विविधतामा ह्रास, वन फँडानी र भूउपयोग परिवर्तनले रोग फैलन ढोका खोलिदिन्छन्। 

जैविक विविधतामा ह्रास आउनुको एउटा मुख्य कारण जलवायु परिवर्तन हो। सन् २०१० को डिसेम्बरमा ‘नेचर जर्नल’मा प्रकाशित अध्ययनले जैविक विविधताको ह्रासले संक्रामक रोगहरू बढ्ने देखाएको थियो। हालका वर्षहरूमा अमेरिकीहरूले यस्ता घटनाहरू प्रत्यक्ष रुपमा अनुभव गरिरहेका छन्। बसाइँ सरेर आउने चराहरूको विविधतामा कमी आउँदा वेस्ट नाइल भाइरसको संक्रमण बढेको छ।  

जलवायु परिवर्तनले संक्रामक रोगहरू पुनरागमन हुने, नयाँनयाँ रोगहरू देखिने र संक्रमक रोगहरू थप फैलिन सक्ने गरी अनुकूल अवस्था सिर्जना गरिदिएको छ। सन् २०२२ को अगस्टमा ‘नेचर क्लाइमेट चेन्ज’ जर्नलमा प्रकाशित वृस्तित अनुसन्धान विश्लेषण अनुसार जलवायु परिवर्तनले आधाभन्दा बढी संक्रामक रोगहरूलाई झन् खराब बनाउँदै लगेको छ। तापलहर, खडेरी, समुद्री सतहको वृद्धि, अति वर्षा, आँधी, डढेलोजस्ता जलवायुसँग सम्बन्धित विपद्ले संक्रामक रोगहरू निम्त्याउने एक हजारभन्दा बढी मार्गहरू सिर्जना गरेको अनुसन्धानबाट देखिएको छ। उदाहरणका लागि खडेरीमा खाना खोज्दै मुसाहरू मानव बस्तीमा छिर्दा हान्टा भाइरसको संक्रमण बढ्न सक्छ।

जलवायु परिवर्तनले लामखुट्टे, चमेरा र मुसाहरूले सार्ने रोगहरूलाई सबैभन्दा बढी असर पुर्याउने देखिन्छ। लामखुट्टेको टोकाइबाट मलेरिया, चिकनगुनिया, डेंगी, जिका, वेस्ट नाइल फिभर, हात्तीपाइलेजस्ता रोगहरू सर्छन् भने मुसाहरूले हान्टा भाइरस, लेप्टोसपाइरोसिस, स्क्रब टाइफस आदि रोगहरू सार्छन। चमेरामा मार्बर्ग, हेन्ड्रा, निपाह, कोरोना जस्ता घातक भाइरसहरूसँगै अन्य थुप्रै भाइरस पाइन्छन्। 

वैज्ञानिकहरूले जंगली स्तनधारी जनावरहरूमा मानिसलाई संक्रमण गर्ने सक्ने कम्तीमा १० हजार भाइरस प्रजाति हुन सक्ने अनुमान गरेका छन्। एउटा अध्ययनले चमेराहरूमा कोरोना भाइरसका ३२ सय भन्दा बढी स्ट्रेनहरू हुन सक्ने अनुमान गरेको छ र तिनीहरू मानिसमा फड्किन उपयुक्त समयको पर्खाइमा छन्।  

पृथ्वी न्यानो हुँदै जाँदा धेरै जनावर बस्न अनुकूल हुने नयाँ ठाउँहरू खोज्न बाध्य हुनेछन्। नयाँ ठाउँमा जनावरसँगै तिनीहरूसँग भएका सूक्ष्म जीवाणुहरू पनि पुग्छन जसले गर्दा जुनोटिक स्पिलओभरका घटनाहरू पनि बढ्नेछन। जंगली जनावरबाट मानिसमा संक्रमण गर्न सक्ने जीवाणु सर्ने प्रक्रियालाई ‘जुनोटिक स्पिलओभर’ भनिन्छ। एचआइभी, फ्लु, सार्स, कोभिड १९ लगायत अहिलेसम्मका सबैजसो महामारीहरू जनावरका भाइरस मानिसमा सरेर फैलिएका हुन्।

बाढी, आँधी, डढेलो, खडेरी आदिले बासस्थान खल्बलिने र खानाको अभावले जीवजन्तुहरू विस्थापित हुने हुँदा घरपालुवा जनावर र मानिससँग सम्पर्क बढ्न गई ‘भाइरल स्पिलओभर’का घटनामा वृद्धि हुनेछ। जलवायु परिवर्तनले मानिसहरूलाई पनि स्थानान्तरण गराउँछ जसले वन्यजन्तुसँगको सम्पर्क बढ्छ र स्पिलओभरको जोखिम बढाउँछ। मानिसहरूको आवतजावत, कार्गो र जनावरहरूको ओसारपसारले संक्रामक रोगको चुनौतीलाई झनै जटिल बनाउँछ।

संसार न्यानो हुँदैगर्दा प्रजातिहरू चिसो हावापानी र उच्च भूभागतिर सर्दैछन्। सन २०१७ मा ‘साइन्स’ जर्नलमा प्रकाशित अध्ययनअनुसार जमिनका प्रजातिहरू प्रत्येक दशक औसतमा १७ किलोमिटर चिसो ध्रुवतिर सरेका छन्। तापमान वृद्धिसँगै लामखुट्टेको क्षेत्र पनि बिस्तार हुँदै गएको छ। पहिले लामखुट्टे नपाइने उच्च क्षेत्रमा लामखुट्टे देखिन थालेका छन्। लामखुट्टेसँगै नयाँ ठाउँहरूमा लामखुट्टेको टोकाइबाट सर्ने मलेरिया, चिकनगुनिया, डेंगीजस्ता रोगहरूपनी देखिन थालेका छन्। एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका उच्च भूभागहरूमा मलेरिया र डेंगी देखिन थालेको छ। युरोपका देशहरूमा स्थानीयस्तरमा सरेको डेंगी देखा पर्न थालेको छ।  

तातो मौसममा लामखुट्टेको वृद्धि चाँडै हुन्छ, लामखुट्टेको शरीरमा भाइरस र प्यारासाइटको उत्पादन छिटोछिटो हुन्छ साथै पोथी लामखुट्टेले मानिसमा टोक्ने दरमा पनि वृद्धि हुन्छ जसले लामखुट्टेले सार्ने रोगमा पनि वृद्धि ल्याउँछ।  अध्ययनहरूले समुद्र सतहको तापक्रमको वृद्धिले हैजाको प्रकोपलाई असर गर्ने देखाएका छन्। हैजाको ब्याक्टेरिया प्राकृतिक रूपमा पानीमा बस्ने ‘प्लांकटोन’ भनिने सूक्ष्म जीवमा पाइन्छन्। पानीको तापक्रम बढ्दै जाँदा प्लांकटोनको पनि वृद्धि हुन जान्छ र तिनीहरूसँगै ब्याक्टेरियाको संख्या पनि बढ्न पुग्छ।

बाढी, आँधीजस्ता विपद्को बेला शुद्ध पिउने पानीको अभावले आउँ, हैजा, झाडापखालाजस्ता पानीजन्य रोगहरू फैलिन्छन्। बाढीमा आएको पानी खाल्डाखुल्डी, ड्रम र पुराना टायरमा जमेर लामखुट्टे हुर्कन अनुकूल वातावरण सिर्जना गर्ने हुनाले लामखुट्टेको टोकाइबाट सर्ने रोगहरू पनि फैलिने मौका पाउँछन््।

ग्लोबल वार्मिङले हिउँ र पर्माफ्रस्ट पग्लिँदा त्यहाँभित्र रहेका हानिकारक भाइरस र ब्याक्टेरिया बाहिर निस्कन्छन्। माटो, चट्टान र बरफको स्थायी रूपमा जमेको तहलाई पर्माफ्रस्ट भनिन्छ। सन् २०१६ मा रुसमा पर्माफ्रस्ट पग्लिएर निस्केको एन्थ्राक्सको ब्याक्टेरियाको संक्रमणबाट १२ वर्षीय एक बालक र २ हजार भन्दा बढी रेनडियरको मृत्यु भएको थियो। पर्माफ्रस्टका ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी जिनहरू भेटिएका छन्। त्यस्ता जिनहरू मानिसमा संक्रमण गर्ने ब्याक्टेरियामा सरेर एन्टिबायोटिक प्रतिरोधी नयाँ ब्याक्टेरियाको विकास हुन सक्छ। 

हामीसँग हामीलाई संक्रमणबाट बचाउन मद्दत गर्ने दुइवटा ‘प्रतिरक्षा पिल्लर’हरू छन्, शरीरको तापक्रम र कोष, तन्तु र अंंगहरूको जटिल जालो जसलाई प्रतिरक्षा प्रणाली भनिन्छ। वातावरणको तापक्रमभन्दा मानव शरीरको तापक्रम बढी छ। चिसो वातावरणका धेरै सूक्ष्मजीवाणुहरू मानव शरीरको ३७ डिग्री सेल्सियस तापक्रममा बाँच्न सक्दैनन्। अध्ययनले तापक्रम बढ्दै गएको विश्वमा सूक्ष्मजीवाणुहरूको ताप सहनशीलता पनि बढ्दै गएको देखाएको छ। जसले मानव शरीरको तापक्रमको पिल्लरलाई जित्न सक्छ र नयाँ संक्रामक रोग ल्याउन सक्छ। 

उदाहरणका लागि विश्वव्यापी तापक्रममा भएको वृद्धिका कारण ढुसीको ताप सहनशीलता पनि बढ्दै गएको देखिएको छ। पहिले मानिसलाई संक्रमण गर्न नसक्ने क्यान्डिडा औरिस नाम गरेको उपचार प्रतिरोधी ढुसीको संक्रमण धेरै महाद्वीपमा अचानक देखापर्नु बढ्दो विश्वव्यापी तापमान वृद्धिसँग सम्बन्धित देखिएको छ।  

बढ्दो तापक्रमले भाइरसहरूमा पनि ताप प्रतिरोधी क्षमता विकास गर्न सक्छ। जसले गर्दा भाइरसहरू मानिसमा ज्वरो आउँदा हुने तापक्रममा पनि बाँच्न सक्छन् र रोगको गम्भीरता बढाउँछन्। विश्वको तापमानमा वृद्धि हुँदै जाँदा मानव शरिरको प्रतिरक्षा प्रणालीलाई पनि असर गर्छ। निद्राको कमी र तनावले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। जापानका वैज्ञानिकले मुसामा गरेको एक अध्ययनमा ३६ डिग्री सेल्सियस तापक्रममा इन्फ्लुएन्जा भाइरसको संक्रमणविरुद्ध मुसाको प्रतिरक्षा प्रतिक्रिया कमजोर बनेको थियो। 

जलवायु परिवर्तनबाट सिर्जित खडेरि, बाढी आदिले गर्दा खाद्य उत्पादनमा कमी आउनेछ। ग्लोबल वार्मिङका कारण यो शताब्दीको अन्त्यसम्ममा विश्वको आधा जनसंख्या गम्भीर खाद्य संकटमा पर्ने आकलन गरिएको छ। विभिन्न अध्ययनहरूले वायुमण्डलमा कार्बनडाईअक्साइडको बढ्दो स्तरले खाद्यवस्तुमा पौष्टिक तत्वको कमी हुन सक्ने देखाएका छन्। वायुमन्डलमा कार्बन डाइअक्साइडको मात्रा उच्च हुँदा खाद्यवस्तुमा प्रोटिन, जिंक र आइरनको कमी हुने देखिएको छ। पौष्टिक र स्वस्थकर खानेकुराको अभावले रोगप्रतिरोधात्मक क्षमता घट्ने र संक्रमणको जोखिम बढ्ने हुन्छ।

जलवायु परिवर्तनले हाम्रै घरवरपर संक्रामक रोगहरूको हटस्पट सिर्जना गर्दैछ। हामीले त्यसका लागि तयार स्वास्थ्य प्रणालीहरू विकास गर्नुपर्छ। रोग फैलनबाट रोक्न रोग पहिचान गर्ने जनशक्ति र उन्नत प्रविधि, उन्नत खोप र प्रभावकारी एन्टिबायोटिक्स चाहिन्छ। संसारका सबै मानिसहरूको लागि उपचारको समान पहुँच पुर्याउनुपर्छ। जलवायु संकट निम्त्याउने कार्बन डाइअक्साइडको उत्सर्जनलाई घटाउँदै लग्नुपर्छ। यसका साथै संक्रामक रोगको जोखिम कम गर्न वन्यजन्तुको बासस्थान संरक्षण गर्ने र वन्यजन्तुको व्यापारमा कडाइ गर्नुपर्छ। 
(लेखक नेप्लिज फार्मिङ इन्स्टिच्युट डिल्लीबजार काठमाडौंमा अनुसन्धान अधिकृतका रूपमा कार्यरत छन्।)
 

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?