आज महानवमी मनाइँदै, परिवारसँग घुलमिल हुने विशेष दिन
नवरात्रिको नवौं दिनमा विशेषगरी सिद्धिदात्री देवीको पूजा आराधना गरिनुका साथै हवनका कृति र भीमसेनको पूजा गरिन्छ। सोही दिन गाडीहरू धोएर शुद्ध बनाई पूजा गर्ने पनि चलन छ।आज महाअष्टमी र महानवमी एकै दिन परेका छन्। बडादसैंका मुख्य १० दिनमध्ये सबैलाई उत्तिकै पवित्र मानिन्छ। महाअष्टमीको भोलिपल्ट र विजया दशमीको अघिल्लो दिन पर्ने र नवरात्रिको अन्तिम दिनका रूपमा रहेको महानवमीमा शक्तिस्वरूपा भगवतीको पूजा, देवी महात्म्य पाठ र शक्तिपीठ दर्शन गर्ने प्रचलन छ।
नवरात्रभरिको महत्त्व आफ्नै भए पनि घटस्थापना, फूलपाती, महाअष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्त्व अझ धेरै हुने गरेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई बताउँछन्। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई फूलपाती वा नवपत्रिका भनिन्छ। यही फूलपातीका प्रत्येक पत्रमा एक–एक देवीको पूजा गर्ने चलन रहेको उनको भनाइ छ।
दसैं सुरु भएदेखि नै अर्थात् घटस्थापनादेखि अष्टमीसम्म विभिन्न पूजा गरिन्छ। तर महानवमी भनेको एक हिसाबबाट पूजा समाप्तीको दिन हो। त्यस दिन हवनहरू गरिन्छ। तर देवीको विसर्जन विजया दशमीकै दिनमा गरिन्छ। नवमीको दिनमा नौ पाठ, २७ पाठ वा १०८ पाठ गरेर विधिपूर्वक हवन गरिन्छ। साथै देवीको प्रतीकका रूपमा दुईदेखि १० वर्षका कन्या वा कुमारीहरूको पूजा गर्ने, राम्रा वस्त्र प्रदान गर्ने पनि गरिन्छ।
धर्मशास्त्रविद् भट्टराईका अनुसार नवरात्रिको नवौं दिनमा विशेषगरी सिद्धिदात्री देवीको पूजा आराधना गरिनुका साथै हवनका कृति र भीमसेनको पूजा गरिन्छ। सोही दिन गाडीहरू धोएर शुद्ध बनाई पूजा गर्ने पनि चलन छ। गाडीहरूलाई वाहन भनिने हुँदा त्यसले कीरा फट्यांग्रालाई किच्ने, सामान्य हिंसादेखि ठुला दुर्घटनासमेत हुन सक्ने हुँदा अनिष्ट नहोस् भनेर विश्वकर्मा देवको पूजा गरिन्छ। त्यो पूजा गरिसकेपछि नरिवलको बलि चढाइन्छ। महानवमीमा यिनै कार्य विशेष रूपमा गरिन्छ।
बलिको अर्थ त्याग हो। बलि दिनु भनेको त्यागिदिनु हो। काम, क्रोध, लोभ, मोह, मद, ईष्या, द्वेष, छलकपटलगायत १० प्रकारका विकार मानिसमा छन्। विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मदले चुर भएका हुन्छन्। नवदुर्गाका प्रसाद खाई यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव राखिने भट्टराई बताउँछन्। उनका अनुसार कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मदको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ।
महानवमीको धार्मिकसँगै सामाजिक महत्व पनि उत्तिकै रहेको छ । टीका लगाउन नमिल्नेहरू महानवमीको दिन मान्यजनकहाँ, सँगै खानपान गर्ने गर्छन् । नवविवाहिता महिलाले परिवारसँग घुलमिल हुने सुवर्ण अवसर पनि यसलाई मानिन्छ ।
महानवमीको मूल धारणा भनेकै सुरु गरेको कार्य वा पूजाको समाप्त गर्नु हो। यसको भोलिपल्ट वा दशमीको दिन विसर्जन गरेर आफ्ना मान्यजनबाट देवीको प्रसाद लगाउँछौं। यो अनादि परम्परा भएकाले पूजाको समाप्ति वा उद्यापनजस्तै हो, महानवमीको दिन।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निसान पूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ।
विगत र अहिले महानवमी पूजाको विधिमा खासै फरक आएको छैन। तर लगाउने, खानेलगायत आनीबानीमा केही परिवर्तन आएको छ। किनभने पहिलेको दसैंलाई अत्यन्तै महँगो मानिन्थ्यो। ‘अहिले पनि खर्चिलो त छ तर मनाउन असम्भव पनि छैन’ उनी भन्छन्, ‘पूजाको प्रक्रियामा यो गर्ने र त्यो नगर्ने भन्ने कुनै सीमा वा व्यवधान छैन।’
धर्मशास्त्रविद् भट्टराईको बुझाइमा दसैं भनेको एक किसिमको प्याकेज नै हो। अर्थात्, पहिलोदेखि अन्तिम दिनसम्मको एउटा पर्व हो। नवमी पनि यसैभित्र पर्छ। ‘यो आजभन्दा ९५ करोड वर्ष पहिलेदेखिको परम्परा हो। त्यसैले यसको सुरुवात कहिले भयो भन्दा पनि यो अनादि परम्परा हो। जस्तै– दसैं, तिहारलगायत सबै पर्व अनादि परम्परा हुन् । र, शास्त्रले तोकेबमोजिम हामीले अनुसरण गर्नुपर्छ,’ उनी भन्छन्।
धर्मशास्त्रअनुसार नवमीका लागि साइतको आवश्यकता पर्दैन। सप्तमीका दिन ल्याएको फूलपाती अष्टमीमा नवदुर्गा पूजाका लागि तयार गरिन्छ। र, अष्टमीसम्म निरन्तर हुने उक्त पूजा, होम, व्रत नवमीमा फुकाइन्छ वा समाप्ति हुन्छ।
महानवमीको धार्मिक महत्त्वसँगै सामाजिक महत्व पनि उत्तिकै रहेको धर्मशास्त्रविद् भट्टराई बताउँछन्। ‘अन्य दिनको तुलनामा यसको सामाजिक महत्त्व बढी देखिन्छ। दसैंको समयमा विशेषगरी अष्टमी र दशमीको दिन बढी काम हुन्छ,’ उनी भन्छन्, ‘नवमीको दिन कामको चाप केही कम हुने भएकाले आफन्तहरू भेट भएर रमाइलो गर्ने, मान्यजनसँग समय बिताउने, टीका लगाउन नमिल्नेहरू नवमीको दिन जाने, परिवारसँगै खानपान गर्नेलगायत समय पाउँछन्।’
साथै नवविवाहिता महिलाले पनि परिवारसँग घुलमिल हुने समय पाउँछन्। घरमा कामको चाप कम हुनाले देवरानी–जेठानी, दाजुभाइ र छिमेकीलाई राम्ररी चिन्ने वा घुलमिल हुने समय पाउने भएकाले पनि महानवमीको सामाजिक महत्त्व बढी छ। ‘फूलपातीदेखि घरमा कामको चाप बढी हुन्छ। दशमीको दिन पनि टीका लगाउने चटारोले राम्ररी बातचित गर्ने समय पाइँदैन। तर नवमीको दिन यो सम्भव हुन्छ,’ भट्टराई भन्छन्।