Kathmandu Press

संस्कृति भन्नु पूजापाठ र चाडपर्व मात्र होइन

शिक्षा र संस्कृति नै ध्वस्त पारेपछि, देशभक्ति ध्वस्त हुन्छ। अन्तिममा जब देशभक्ति समाप्त हुन्छ, त्यतिबेलाको दुष्परिणाम– व्यक्ति श्रम होइन, पैसाको थैलोको सपना देख्न थाल्छ।
संस्कृति भन्नु पूजापाठ र चाडपर्व मात्र होइन

संस्कृति धर्म–दर्शन हो। यो ‘रिलिजन’को पर्याय होइन। संस्कृति मानिसको माटोसँगको सम्बन्ध हो। त्यसैले संस्कृति राष्ट्रिय मनोविज्ञानका रूपमा रहेको हुन्छ। संस्कृतिले मानिसलाई राष्ट्रमाथि भरोसा निर्माण गर्छ। तर आज नेपाली युवायुवतीको जुन हदको विदेश पलायन छ, त्यो राष्ट्रमाथिको गिर्दो भरोसाको उपज हो। तर यो खालको गिर्दो भरोसा स्वाभाविक होइन, सिर्जना गरिएको हो। 

अहिले वर्तमान शिक्षा प्रणालीबाट थरीथरीका भाष्य तयार पारिएका छ्न। एउटा भाष्य अंग्रेजी भाषा मात्र आधुनिक भाषा हो। युरो–अमेरिकी दर्शन मात्र दर्सन हो र पश्चिमी संस्कृति मात्र वैज्ञानिक संस्कृति हो भन्ने पारिएको छ। दोस्रो भाष्य नेपाली संस्कृति भनेको संस्कृतीकरणको उपज हो भन्ने छ। यस्ता भाष्य वा संवाद नेपाली दिमागमा रोप्न नेपाली शिक्षा प्रणाली विदेशीले रोजे।

नयाँ शिक्षा नामको शिक्षा प्रणाली ल्याइयो। यस्तो योजनाको नेतृत्व गर्ने आयोगको उपाध्यक्ष अमेरिकी महोदय थिए, जुन पञ्चायतका पालामा भएको थियो। तिनै षड्यन्त्रकारीले आज अर्को भाष्य निर्माण गरेका छन्। यो विकृति लोकतन्त्रको मात्र उपज हो? होइन। यही भाष्यका कारण पञ्चायतका पालामा नेपालको रैथाने उत्पादन प्रणाली नष्ट गरिदियो। 

Hardik ivf

हाम्रा रैथाने प्रविधि, रैथाने बौद्धिकता, रैथाने बीउबिजन र बस्तुभाउ आदि समाप्त गर्न सुनियोजित रूपमा ल्याइएको थियो। यसले रैथाने बाली बीउबिजन, गाई, भैंसी, बाख्रा, कुखुराप्रति नेपाली पछिल्लो पुस्ताको ज्ञान नष्ट गरिदियो। त्यो शिक्षाले नेपालको इतिहास समाप्त गरिदियो। नेपाली जनतालाई चरम उच्छृंखल र सोचहीन बनाइदियो। अर्थात् ‘स्युडो’जस्तो बनायो।

एउटा यस्तो भाष्यको जोडतोडले प्रचार गरियो, ‘अहिलेको जमाना भूमण्डलको हो देशको सिमाले मानिसलाई बांध्दैन।’ परिणाम हाम्रा स्कुलका नाम निलगिरी अन्नपूर्ण, मिथिला, सिम्रनगढ, गोर्खा, याङरुप, सिञ्जा हुन छाडे। तिनका ठाउँमा इम्यानुल, टेक्सास आदि राख्न थालिए। हाम्रा पाठ्यक्रममा पश्चिमी विद्वान्हरूको एकाधिकार बन्यो। 

विशेषगरी २०४६ सालपछि शिक्षा मन्त्रालयमा विदेशी परियोजनाका अड्डा खोलिए र वल्र्ड  बैंकको निर्देशनमा शिक्षा चल्यो। मातृभाषामाथि दमन गरियो। अंग्रेजी अनिवार्य गरियो। मातृभाषाको दमनमा बाहिर प्रचार भने नेपाली भाषामाथि थोपरियो। नेपाली भाषाले अन्य मातृभाषाको दमन गर्दैन। किनभने यसको विकास अरु भाषाका शब्द लिएर भइरहेको छ। यो तथ्यलाई बुझ्न सकिएको छैन।

शिक्षा ध्वस्त पारेपछि भ्रान्तिको निर्माण हुन्छ। त्यसपछि दिमागले विदेशी सर्वोच्चता सहजै स्वीकार गर्दछ। एन्टोनियो ग्राम्सीले भनेजस्तै दिमागले ‘उपनिवेशी अधीन सहजै स्वीकार गर्दछ।’ अहिलेको तितो यथार्थ, हाम्रा विद्यालयहरूमा नेपाली र मातृभाषा बोल्दा सजाय गर्ने स्कुल उत्तम बन्ने अवस्था आएको छ।

यता अदालतमा नेपाली न्याय दर्शन होइन, कमन ल प्रख्यात भइरहेको छ। बुद्धिमा चाणक्य, नारद, गोतामा, आर्य भट्टलाई सोक्रिट्स र प्लेटोले पछारेका छन्। नारायण गोपालको गीत, रोधिघर, लोकगीत, जुहारी र दोहोरीलाई र्‍यापले चुनौती खडा गरिदिएका छन्।

यसरी आज हाम्रो दिमागमा ढाँटशास्त्र (स्युडो नोलेज) ले बास गरेको छ। जो जान्दैन ऊ विद्वान् हुन्छ। लोग्ने मानिसले महिलालाई भन्दा ज्यादा प्रसव वेदना भएको दाबी गर्छ। कलेजमा पैसा लुट्ने विद्यार्थी नेता शिक्षकभन्दा जान्ने हुन्छ। र, गुरुलाई कालोमोसो दल्दै मारपिटमा उत्रन्छ। राष्ट्रियताको विरोध गर्छ। पश्चिमी देश पलायन गर्नुलाई भूमण्डलीकृत ठान्छ। यसरी एकपछि अर्को नेपालको शिक्षा, संस्कृति र सभ्यता नै ध्वस्त पारिएको छ।

शिक्षा र संस्कृति नै ध्वस्त पारेपछि, देशभक्ति ध्वस्त हुन्छ। अन्तिममा जब देशभक्ति समाप्त हुन्छ, त्यतिबेलाको दुष्परिणाम– व्यक्ति श्रम होइन, पैसाको थैलोको सपना देख्न थाल्छ। ऊ श्रमबाट उत्पादन होइन, विदेशमा पैसाको खानीको सपना देख्छ। त्यतिखेर उसलाई परिवार र समाज वाहियात लाग्न थाल्छ। अनि उसले समस्या आफूमा होइन, देश, समाज र परीवारमा देख्छ। पश्चिमी मुलुकलाई आज यसकारण विदेशीको आवश्यक पर्छ, किनकि उनीहरुको युवा जनसंख्या सकियो।

हिजो दास किन्न पाइन्थ्यो। उपनिवेशबाट बाँधेर दास ल्याउन पाइन्थ्यो। आज त्यसो गर्न सकिन्न। हिजो भौतिक उपनिवेशबाट आवश्यकता पूरा हुन्थ्यो। आज मानसिक उपनिवेशबाट मात्र गर्न सकिने भनेर पश्चिमाले बुझेको छ। त्यसैले हाम्रो जस्तो देशलाई उसको नवउपनिवेश वा मानसिसिक उपनिवेशको दलदलमा हालिएको छ। 

अहिले आएर पश्चिमाहरुले तेस्रो विश्वयुद्धको संभावना देखेका छन्। सँगसँगै जितको सपना पनि देखेका छन्। तर उससँग युवाहरू छैनन्। भए पनि सेतो मानिसको रगत बगाउन ऊ चाहँदैन। त्यसैले काला, अर्धकाला, गहुँगोरा, पहेंला मानिस उसलाई चाहिन्छन्। यसकारण नेपाली शिक्षालाई निरन्तर यो उद्देश्यतिर मुखरित गरिएको छ।

शिक्षामा आज बृहत् भ्रष्टाचार अनि उत्पादनमा परनिर्भरता मौलाएको छ। यस्तो बेथिति जानीजानी गराइएको छ। मुलुकका नेता दिमागशून्य भएका छन्। यस्तो विकृति देखादेख पचाइरहेका छन्। युवा, विद्यार्थीको दिमाग देशविहीन बनाइएको छ। यो तथ्य निर्विवाद छ, शिक्षा र मौलिक संस्कृतिको समाप्ति भनेको देश बर्बादीको अन्तिम खुट्किला हो। यी दुई चिज गुमेपछि फिर्ता ल्याउन सकिँदैन।
 

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, असोज १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?