Kathmandu Press

सिंहदरबारको प्रवेशद्वार र मन्त्रालयमा योजना मागको भैलो

पहिलो झण्डा र लोगोधारीहरुको गाडी जसलाई सुरक्षा जाँचमा खटिएका प्रहरीहरुले सुरक्षा जाँच मात्र होइन स्यालुट हानेर अभिवादन सहितको स्वागत गर्छन । उनीहरुको गाडीभित्र के छ र त्यो गाडी सुरक्षाको हिसाबले सिहँदरबारलाई कतिको चुनौती छ त्यसको कुनै मतलब छैन । 
सिंहदरबारको प्रवेशद्वार र मन्त्रालयमा योजना मागको भैलो

नयाँ संविधान पछिको दोस्रो कार्यकालका लागि बनेको संसदले नयाँ आर्थिक बर्ष २०८०।८१ को बजेट प्रस्तुत गरिसकेको छ। जेठ १५ मा अनिवार्य सरकारको नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्ने व्यवस्था बमोजिम अहिले सरकारले ८० औँ दशकको पहिलो बजेट सार्बजनिक भईसक्यो। संघीय व्यवस्थाको कार्यान्वयनसँगै राज्य शक्तिको अभ्यासको स्रोत स्थानीय, प्रदेश र संघीय संरचनामा छ। 

जनताको सबै भन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार र संघीय र स्थानीय सरकारको सेतुको रुपमा रहेको प्रदेश सरकारले आफ्नो दायित्व कतिको पुरा गरिरहेको छ। त्यो फरक अध्ययनको पाटो होला। तर आज म यहाँ  संघीय सरकार र संघीय सरकारका मन्त्रीहरु तथा उनीहरुको सचिवालयका कर्मचारीहरुको व्यवहारका बारेमा छोटो वस्तुगत अनुभवलाई प्रस्तुत गरेको छु। 

सिंहदरबार प्रवेशद्वारको अवस्था 

Hardik ivf

मेरो अवलोकनको सुरुवाट सिंहदरबारको दक्षिण ढोका अर्थात बबर महलतिरको ढोकाबाट हुन्छ। सर्वसाधारण जनताहरुको लागि भित्र पस्नको लागि छुट्याइएको यो ढोकामा देखिने दृष्यले त्यो प्रखालभित्रको पहुँचका लागि सर्वसाधारणहरु कति आतुर छन भन्ने देखाउँछ। ढोकामा विशेषगरी ४ थरीका मानिसहरुको चहलपहल देखिन्छ। 

पहिलो झण्डा र लोगोधारीहरुको गाडी जसलाई सुरक्षा जाँचमा खटिएका प्रहरीहरुले सुरक्षा जाँच मात्र होइन स्यालुट हानेर अभिवादन सहितको स्वागत गर्छन। उनीहरुको गाडीभित्र के छ र त्यो गाडी सुरक्षाको हिसाबले सिहँदरबारलाई कतिको चुनौती छ त्यसको कुनै मतलब छैन। दोश्रो समुह हो परिचय पत्रधारी मानिसहरु जो आफ्नो परिचय पत्र देखाउँछन र अनि निर्वाद भित्र प्रवेश गर्छन। त्यो समुहका कतिपयले सलामी खान्छन त कति सामान्यरुपमा नै प्रवेश गर्छन। 

ढोकाको बाहिर रहेको तेस्रो समुह हो परिचय परिचयपत्रको सहितको पास लिएर भित्र जाने व्यक्तिहरु। ती ब्यक्तिहरु प्राय भित्र कोहि न कोहिसँग सम्पर्कमा भएका व्यक्तिहरु हुन्छन। जसले परिचयपत्र धरौटी राखेर वा देखाएर भित्रबाट पठाएको पास लिन्छन र पैदल वा आफ्नो साधानमा भित्र प्रवेश पाउँछन। कम्तिमा यी ३ थरीका मानिसहरुको पहुँच सिहदरबार भित्र छ। 

यी बाहेक अर्को थरीका मानिसहरु पनि अनुसन्धान विभाग देखि क्यावलरी  गेटसम्म नै छरीएर रहेका हुन्छन। त्यो समुह नै हो वास्तवमा सिंहदरबारमा पहुँच नभएको चौथो समुह। त्यो समुह वास्तवमा आफ्नो वास्ताविक समस्याले सिंहदरबार भित्र जान चाहान्छन तर उनीहरुको त्यहाँ पहँच हुदैन। उनीहरु सिंहदरबारको प्रवेशका लागि त्यहाँ खटिएका प्रहरी कर्मचारीहरुसँग अनुनय गरिरहेका हुन्छन, तर त्यो अनुनय व्यर्थ हुन्छ र निरास हुन्छन्। 

केहि समय अगाडी तत्कालीन गृहमन्त्री रबि लामिछानेले त्यसलाई व्यवस्थित बनाउँछु भनेका थिए तर त्यो अवस्था अझ पहिले भन्दा कठोर बन्दै गइरहेको छ। त्यहाँको अवस्थालाई हेर्दा के भन्न सकिन्छ भने पहुँचवाला बाहेकका जनताहरुको लागि त्यो पर्खाल धेरै ठूलो छ। 

योजना मागको भैलो

सरकारले आर्थिक २०८०।८१ को वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको समयमा सिंहदरबारका मन्त्री तथा कर्मचारीहरु योजना संकलन तथा छनोटमा व्यस्त देखिन्थे। मेरो गाउँमा अहिलेसम्म बाटो पुगेको छैन। ठूला ठूला नेता जन्माएको मेरो परिवर्तन गाउँपालिकामा अहिलेसम्म मोटरबाटोको ट्याकसम्म पुर्याउन सकेको छैन। 

उपराष्ट्रपति, सभामुख र मन्त्रीहरुसँगै क्रान्तिकारी नेता जन्माएको मेरो गाउँमा अहिलेसम्म बाटो पुग्न नसक्नुले सायद उनीहरुको राजनीतिक प्रतिष्ठालाई समेत गिज्याउँछ होला। मैले पटक पटक त्यसका लागि सिंहदरबार र योजना आयोगको ढोका ढक्ढकाएको छु तर म भुईमान्छेको कुरा कसले सुन्ने। पूर्वउपराष्ट्रपति र पूर्वअर्थमन्त्रीलाई समेत भेट्न कोसिस गरेको थिए, तर उनीहरुले मलाई भेट्न पहँच नै दिएन र कहिल्यै भेट भएको पनि छैन। त्यसैले यसपटक मैले २०७३ मा सुरुवाट गरेको बाटो पुरा गर्नुछ सोहि प्रयोजनका लागि म सिंहदरबार पुगेको थिए। 

त्यहाँ मैले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई अधिकतम २ मिटेनमा आफ्नो कुरा राखे निस्किए। भौतिक पूर्वाधार मन्त्रालयको सचिवालय सामान्य थियो त्यहाँ त्यति ठूलो तडकभडक थिएन। बाटोसँगै रोल्पा एक फरक विगत बोकेको जिल्ला भएको नाताले पर्यटनलाई फरक तरिकाले विकास गर्न सकिन्छ भन्ने लागेर पर्यटन मन्त्री सुदन किराटीलाई भेट्न पनि पुगे। मन्त्रीको सचिवालयमा धेरै भिडभाड भएको र मन्त्रीको पत्रकार सम्मेलन भएकाले भेट्न सकिएन। 

सचिवालयका एकजना कर्मचारीले १ घण्टामा आउन भनेपछि अर्को मन्त्रालय पुग्न शहरी विकास मन्त्रालय पुगियो। संस्कृति मन्त्रीज्यूको सचिवालयमा एउटा भन्न लाएक दृष्य देखियो। त्यहाँ एकजना महिला माननीय खुब ठूलो स्वरमा “हामी सांसदलाई मन्त्री भेट्न नदिने यो कस्तो संस्कार हो रु हामीले पनि मन्त्रालय चलाएको हो हामीले त यस्तो कहिल्यै गरेका थिएनौँ” भन्दै कराउँदै हुनुहुन्थ्यो। पछि थाहा भयो उहाँ पूर्वगृहमन्त्रीज्यूको श्रीमती र पटकपटक माननीय भइसक्नु भएको व्यक्ति हुँनुहुदो रहेछ। 

शहरी विकास मन्त्रीज्यू अलि ढिलो गरी मन्त्रालयमा आउनुभयो। नयाँ परराष्ट्र मन्त्रीज्यूको सपथ र बैठक भएकाले त्यो स्वभाविकै थियो। शहरी विकास मन्त्रालयमा विकासका योजना माग गर्नेहरुको ठूलै भिडभाड थियो। कार्यकर्ता र योजना मागका लागि आएका विभिन्न पालिकाका प्रमुखहरु समेत त्यहाँ पर्खेर बसेका थिए। सबैजना पर्खेर थाकिसकेकाले होला धेरैजना मानिसहरु मन्त्रीज्यूको आवागमनसँगै भित्र जान दिन सचिवालयका कर्मचारीहरुसँग अपिल गरिरहेका थिए तर त्यी कर्मचारीले भित्र नै पहिले नै नजिकका मानिसहरुलाई भेट्ने व्यवस्था गरेका थिए। 

बाहिरबाट आएको हुँदा केहि समय फ्रेस हुनु स्वाभाविकै थियो। तर त्यहाँ लामो समय देखि पर्खिराखेका मानिसहरुलाई वेवास्ता गर्दै बाहिरबाट सिधै आएर भित्र जान खोज्ने केहि व्यक्तिहरुलाई उहाँले रोक्नु भएन। त्यो समुहमा केहि समय अगाडी संस्कृति मन्त्रालयमा संस्कारको कुरा गर्ने माननीय समेत हुनुहुन्थ्यो। 

केहि समयको पर्खाइ पछि कुनै प्रतिक्रिया नआएपछि पर्खेका मानिसहरु यो गलत भयो हामी धेरै समय देखि पर्खिएर बसेका छौ र हाम्रो केहि निजी कुरा समेत छैन भनेर कराउन थालेपछि त्यहाँको सुरक्षा कर्मी र सचिवालयका कार्मचारीले अपमानजनक व्यवहार समेत गरेको देखियो। 

त्यो घटना पछि कतिपय मानिसहरु त्यहाँबाट मन्त्रीलाई समेत नभेटी रिसाएर गएको दृष्य देखियो। शहरी विकास मन्त्रालयको त्यो जात्रा हेरेर लागियो अर्थ मन्त्रालय तर्फ पनि। अर्थमन्त्रालयमा धेरै भिडभाड थियो तर सचिवालयका कर्मचारीलाई २ मिनेटको समयमात्र भएपनि हुन्छ भनेपछि अर्थमन्त्रीज्यूलाई छिटो भेट भयो र केहि सकारात्मक कुराहरु समेत भए। अर्थ मन्त्रालयपछि शिक्षा मन्त्रालय र फेरी संस्कृत मन्त्रालयमा पुगियो। संस्कृत मन्त्रालयमा यसपटक मन्त्री ज्यूसँग भेटभयो। 

मैले भेटेका ५ जना मन्त्रीहरुसँगको व्यवहार हेर्दा छिटो निष्कर्ष जुन मन्त्रीको सचिवालयमा व्यवहारिक र सहि मान्छेहरु छन त्यो मन्त्रालयको व्यवस्थापन र मन्त्रीको व्यवहार पनि सही र स्वभाविक हुन्छ। तर जुन मन्त्रीको सचिवालयको व्यवस्थापन खराब छ, त्यस मन्त्रालयप्रति जनताको हेर्ने दृष्टिकोण पनि गलत छ। अहिले केहि नयाँ मन्त्रीहरुसमेत बन्ने प्रकृयामा रहेको र प्रदेश सरकारमा समेत मन्त्रीहरुको हेरफेरको अवस्था रहेकाले आफ्नो सचिवालय बनाउँदा योग्य र व्यवहारिक व्यक्तिहरुलाई राख्दा उपयुक्त हुन्छ। मन्त्रीको सचिवालय मन्त्रालय र मन्त्रीको ऐना हो। त्यसैले यसलाई व्यवस्थित र चुस्त बनाउनु अनिवार्य छ। 

समग्रमा सिंहदरबारलाई जनताको पहुँच र जनउत्तरदायी बनाउन वास्ताविक समस्या लिएर आएका जनताहरुको व्यवस्थि प्रवेश र सम्बन्धित सरोकारवालासँगको सम्पर्कमा ल्याउने व्यवस्था गर्नु उपयुक्त हुन्छ। अहिले न त सिंहदरबार ती जनताको पहुँचमा छ नत उनीहरुको समस्याको समाधान नै सिंहदरबारले दिनसक्छ।

अहिलेको त्यो अवस्थालाई सम्बोधन गर्न स्थानीय सरकारको भूमिकालाई बलियो बनाइ संघीय सरकारलाई समेत जवाफदेही उत्तरदायी बनाउन सकिन्छ। तसर्थ सिंहदरबार र जनताको आपसी पँहुच र सम्बन्धलाई जोड्न सकियो भनेमात्र जनतामा सिंहदरबारप्रतिको धारणा सकारात्मक हुन्छ।

प्रकाशित मिति: ०८:२९ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डढेलो नियन्त्रण आजको आवश्यकता
डढेलो नियन्त्रण आजको आवश्यकता
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’