Kathmandu Press

सन्दर्भ सगरमाथा दिवस: सगरमाथा, पर्यटन र समृद्धि

नेपालमा पर्यापर्यटन र सांस्कृतिक तथा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ। नेपालको उत्तर–दक्षिणको औसत चौडाइ १९३ किलोमिटर मात्र हो। तर यति छोटो दूरीमा पनि विश्वकै उच्च बिन्दू सगरमाथा शिखरदेखि नेपालको सबैभन्दा होचो भुभाग धनुषाको मुसहरनियाको भूमी रहेको छ।
सन्दर्भ सगरमाथा दिवस: सगरमाथा, पर्यटन र समृद्धि

गत मे २३ मा ५३ वर्षीय कामीरिता शेर्पा २८औँपटक सगरमाथाको सफल आरोहण गर्न सफल भए। यसअघि यही सिजन (वसन्त ऋतु)मा मे १७ मा उनी २७औँपटक सगरमाथा शिखरमा पुगेका थिए। खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेका शेर्पाले सबैभन्दा बढीपटक सगरमाथा आरोहण गरेको विश्व रेकर्ड राखे पनि आफूले रेकर्ड कायम गर्न नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस् भनेर सगरमाथा चढेको बताए। आठपटक चो–ओयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, केटुलगायतका आठ हजार मिटरभन्दा उच्च शिखर ४० पटक आरोहण गरिसकेका शेर्पाले विदेशीहरूलाई सफल रूपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिक रूपमा पनि धेरै फाइदा हुने बताएका छन्।

सगरमाथा शिखरमा सर्वप्रथम मानव पाइला सन् १९५३ मे २९ तारिखको बिहान ११ः१५ बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मण्ड हिलारीले राखेका थिए। त्यसयता हजारौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। एकै जनाले दर्जनौँपटक चढेको, चुचुरोमा लामो समयसम्म बिताएको, बिना अक्सिजन चढेको, दुवै खुट्टा गुमाएकोले चढेकोजस्ता दर्जनौँ रेकर्ड बनेका र बनाइएका छन्। पहिलोपटक सगरमाथाको सफल आरोहण गरिएको स्मरणमा आज नेपाल, न्युजिल्याण्ड र अष्ट्र«ेलियामा ‘एभरेष्ट डे’ मनाइँदैछ। त्यस्तै अमेरिकाको न्युयोर्कमा पनि तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा एउटा सडकको नाम नै तेन्जिङ स्ट्रिट राखिँदैछ।

पर्यटन विभागका अनुसार यस वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १,१७६ जनाले अनुमति लिएका छन्। जसमध्ये २७७ जना महिला र ८९९ जना पुरुष रहेका छन्। सगरमाथा आरोहण गर्न मात्र यसपटक सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका छन्। उनीहरूबाट ६६ करोड ६४ लाख २० हजार ६६९ रुपैयाँ रोयल्टी संकलन भएको छ। त्यस्तै ल्होत्से आरोहण गर्न अनुमति लिएका १५६ आराहीबाट तीन करोड ५३ लाख ८९ हजार ६३० रुपैयाँ रोयल्टी संकलन भएको छ।

Hardik ivf

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि ८० देशका नागरिक नेपाल आएका छन्। तीमध्ये सबैभन्दा धेरै अमेरिकाका १४१ जनाले अनुमति लिएका छन्। दोस्रोमा चिनियाँ आरोही छन्। यस सिजनमा हिमाल आरोहण गर्न ११९ चिनियाँ आरोहीले अनुमति लिएको विभागले जनाएको छ। वसन्त ऋतु सकिनै लाग्दा यसपटक धेरै आरोही सगरमाथा शिखरमा पुग्न सफल पनि भएका छन्। विभागका अनुसार यसरी नेपालका विभिन्न हिमाल आरोहण गर्न आएकाहरूबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी उठेको छ। जुन सरकारले प्राप्त गर्ने चोखो आम्दानी हो।
आठ हजार मिटरभन्दा अग्ला हिमाल विश्वमा चौध वटा छन्। त्यसमध्ये सबैभन्दा उच्च शिखर सगरमाथा (८८४८.८६ मिटर)सहित आठवटा त नेपालमै छन्। जो नेपालको शान, मान, गौरव मात्र होइन, समृद्धिको सम्भावना र आधार पनि हो। कामीरिताले भनेजस्तै विदेशी पर्यटकलाई सगरमाथालगायत आठ हजार मिटरभन्दा अग्ला मात्र होइन, अरु पनि सयौँ मनमोहक चुचुरो आरोहण गराएर नेपाल र नेपालीले करोडौँ कमाउन सक्छन्।

एक जना आरोही सगरमाथा वा कुनै पनि हिमाल आरोहण गर्न जाँदा कम्तीमा पनि १० जना भरियासहितका सहयोगीले काम पाउँछन्। मौमस अनुकुल हुँदा पनि कम्तीमा दुई साता उनीहरू नेपाल बस्छन्। मौसम अनुकुल नहुँदा उनीहरूको नेपाल बसाइ एक महिनासम्म पनि लम्बिन सक्छ। त्यस अवधिमा उसले गर्ने खर्च लाखौँ हुन्छ। जो उनका सहयोगीसहित पर्यटन क्षेत्रमा आबद्ध विभिन्न व्यक्ति र संस्थाले प्राप्त गर्छन्। आज शेर्पाहरूले नामसँगै जे, जति र जसरी दाम कमाएका छन्, त्यसमा सबैभन्दा बढी योगदान पर्यटन क्षेत्रकै रहेको छ। यसरी पर्यटन क्षेत्र सरकार मात्र होइन, व्यक्तिको पनि समृद्धिको आधार बनेको छ।

सन् २०१९ मा नेपालमा करिब १२ लाख पर्यटकको आगमन भएको थियो। तर २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ विश्वभर महामारीका रूपमा फैलिएसँगै संसारभर नै पर्यटकीय गतिविधि ठप्प भयो। २०२० को सुरुको तीन महिना नेपालमा पर्यटकीय गतिविधि ठिकै चले पनि त्यसपछि नेपालमा लकडाउन भयो। त्यसअघि नै विश्वका विभिन्न देशमा लकडाउन गरिएको थियो भने नेपालभन्दा पछाडि पनि धेरै देशमा लकडाउन गरियो। विश्वभर नै आवागमन ठप्प भयो। जसका कारण विश्वकै सबैभन्दा छिटो फस्टाउँदै गरेको पर्यटन उद्योग धरासायी भयो।

 सन् २०२१ मा नेपालले १,५०,९६२ पर्यटकलाई मात्र स्वागत गर्न पायो। तर गत वर्ष भने नेपालमा पर्यटक आगमन ६,१४,१४८ पुगेको सरकारको तथ्याङ्क छ। चालु वर्ष २०२३ को पर्यटक आगमन निकै लोभलाग्दो गरी बढेको छ। जनवरीमा ५५,०७४ रहेको पर्यटक आगमन फेब्रुअरीमा ७३,२५५, मार्चमा ९९,४२६ र अप्रिल ९८,७७३ पुगेको छ। नेपाल पर्यटन बोर्डले यस वर्ष १० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। तर, यसरी नेपाल आउने पर्यटकको ठूलो हिस्सा नेपालका हिमाल आरोहण गर्न र हेर्न आउनेहरू मात्रै हुन्।

नेपालमा पर्यापर्यटन र सांस्कृतिक तथा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ। नेपालको उत्तर–दक्षिणको औसत चौडाइ १९३ किलोमिटर मात्र हो। तर यति छोटो दूरीमा पनि विश्वकै उच्च बिन्दू सगरमाथा शिखर (८८४८.८६ मिटर) देखि नेपालको सबैभन्दा होचो भुभाग धनुषाको मुसहरनिया (५९ मिटर) उचाइ (समुद्री सतहबाट)को भूमी रहेको छ। जहाँ हिमचितुवादेखि एक सिङ्गे गैँडासम्म पाइन्छ। यो भौगोलिक विविधतामा पाइने जैविक विविधता साँच्चै नै गज्जब छ।

भौगोलिक क्षेत्रफलको हिसाबले नेपाल सानो मुलुकमै पर्छ। नेपाल छिमेकी भारतभन्दा २३ गुणा र चीनभन्दा ६५ गुणा सानो छ। तर यति सानो मुलुकमा पनि जति धेरै जातीय, सांस्कृतिक, भाषिक, धार्मिक विविधता छ, त्यस्तो अन्यत्र कहीँ छैन। चितवन राष्ट्रि«य निकुञ्जमा बाघ हेर्न गएका पर्यटकको मन बाघ देख्न नपाउँदा खिस्रिक्क भए पनि साँझको थारु नाचले अमिलो मनलाई रसिलो बनाइ दिन्छ। मौसम अनुकुल नहुँदा सगरमाथा आरोहण सफल हुन नसके पनि शेर्पा जातिको याक नृत्यले मनै प्रफुल्लित बनाइ दिन्छ।

विश्व शान्तिका अग्रदूत बुद्ध हरेक मानिसका लागि उत्प्रेरणा र उनका उपदेश साँचो अर्थमा जीवन दर्शन हो। त्यसैले बौद्ध धर्मावलम्बी त आउने नै भए, अरु पनि धेरै मानिसका लागि आकर्षणको केन्द्र हो, लुम्बिनी। उत्तर छिमेकी चीन बौद्ध धर्मावलम्बीहरूको मुलुक हो। जहाँबाट करोडौँ धार्मिक पर्यटक लुम्बिनी भ्रमणमा आउने सम्भावना एकदमै बलियो छ। पशुपतिलगायतका हिन्दु धर्मावलम्बीको आस्थाका धेरै तीर्थस्थल नेपालमा छन्। जसले विशाल जनसंख्या रहेको छिमेकी भारतका करोडौँ हिन्दुलाई नेपाल ल्याउन सक्छ।

सगरमाथा न हामीले बनाएका हौँ, न मायादेवीलाई बुद्ध हाम्रो मुलुकमा जन्माइदेऊ भनेर हामीले अनुनय–विनय गरेका हौँ। प्राकृतिक रूपमा हामीले प्राप्त गरेको यी र यस्ता स्रोतहरूको थोरै मात्र प्रचार–प्रसार र सदुपयोग गर्न सकिए प्राकृतिक रूपमा यसै पनि स्वर्ग रहेको नेपाललाई साँच्चै नै स्वर्ग बनाउन सकिन्छ। तर सरकारले यसका लागि जे जति गर्नुपर्ने हो र गर्न सक्ने हो, त्यसमा भने अपेक्षाकृत काम नगरेको अनुभूति सबैले गरिरहेका छन्। पर्यटन नै समृद्धिको आधार रहेको सत्यलाई मनन् गर्दै सरकारले थोरै लगानीमा उच्च प्रतिफल प्राप्त गर्न सकिने क्षेत्र भएकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्नु आवश्यक छ।

 

प्रकाशित मिति: ११:०८ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?