Kathmandu Press

सिथि नखःको महत्व : ६ वटी आमाबाट जन्मेका कुमारलाई किन राखियो पिखालखुमा ?

यो चाडमा कुनै कुनै गाउँमा खोलाको दुई किनारमा दुई हुल मानिस बसी एकले अर्काेलाई ढुंगा हानी रगताम्य पार्ने अनौठो परम्परा पनि थियो। अहिले यो परम्परा लोप भइसकेको छ । यसलाई जंगबहादुरले रोकेको भनिन्छ।
सिथि नखःको महत्व : ६ वटी आमाबाट जन्मेका कुमारलाई किन राखियो पिखालखुमा ?

काठमाडौं, जेठ ११ : कृषिकार्यका लागि शक्ति सञ्चय गर्ने उद्देश्यले नेवार जातिले जेष्ठ शुक्ल पष्ठीका दिन सिथि नखः मनाउने गर्छन्। सिथि नखःलाई कुमार पष्ठी पनि भन्ने चलन छ। यो दिन कुमारको पूजा गरी जात्रा पनि गरिन्छ। नेवार समाजमा कुनै पनि कार्य गर्नुअघि गणेशको पूजा गरिन्छ। गरेको कार्य सफल रूपले सम्पन्न होस् भन्ने उद्देश्यले घरको मूलढोका अगाडि रहेको पिखालखुमा कुमारपूजा पनि गरिन्छ। हरेक नेवार घरको मूलढोका अगाडि पिखालखु रहन्छ भने त्यो पिखालखु रहने स्थान नै कुमारको स्थान हो। 

पिखालखुलाई हिन्दूमार्गीहरू कुमारको रूपमा मान्छन् भने बौद्धमार्गीहरू क्षेत्रपालको रूपमा पूजा गर्छन्। त्यसरी नै प्रत्येक टोलमा एक–एकवटा स्थानीय गणेश पनि रहेको हुन्छ। सिथि नखः मूलतः ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने चाड हो। यही ‘षष्ठी’ शब्द अपभ्रंश भई ‘सिथि’ हुन गएको हो। यसको मुख्य नाम षष्ठी नखः हो। सिथि नखःलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ। यसै दिन कुमारको जन्म भएकाले यसो भनिएको हो। 

६ वटी आमाबाट जन्मेका कुमार

Hardik ivf

कुमारको जन्मबारे यस्तो कथा सुन्न पाइन्छ। एकचोटि महादेव र पार्वती लीला गरिरहेका रहेछन्। त्यही बखत दानवहरूले स्वर्गमा आक्रमण गरेछन्। आफ्नो राज्यमा आक्रमण भएपछि स्वर्गका सम्पूर्ण देवदेवी महादेवको शरणमा गएछन्। त्यसबेला महादेवको कामाग्नि प्रज्ज्वलित भई चरम उत्कर्षमा पुगेको रहेछ। बाहिर इन्द्र लगाएका देवताले हल्ला गरेकाले क्रोधले चुर भएका महादेवले अन्तःपुरको ढोका खोली पार्वतीलाई पोख्नुपर्ने वीर्य इन्द्रमाथि खन्याइदिएछन्।

 महादेवको वीर्यको तापले इन्तु न चिन्तु बनेका इन्द्रजी ताप शान्त पार्न गंगाजीको पानीमा डुबुल्की लगाउन पुगेछन्। यसले गर्दा महादेवको वीर्य गंगाजीमा सरेछ। ठीक यही बेला गंगाजीमा स्नान गर्न भनी स्वर्गबाट ६ जना परी पनि आइपुगेछन्। गंगाजीमा स्नान गर्दा पानीमा बहिरहेको महादेवको वीर्य ती परीको गर्भमा पुगेछ। र, आफ्नो गर्भमा रहेका बालकलाई आफूसँग भएको गुणले पूर्ण गरिदिएछन्। पछि ती ६ वटी परीले एउटै बच्चालाई जन्म दिएछन्। यसरी जन्म भएका बालक नै कुमार हुन्। कुमारलाई महादेवले आफ्नो छोरा भनी पार्वतीलाई सुम्पिदिए। 

षष्ठीका दिन जन्मेका मात्र होइनन्, उनी ६ जना आमाबाट जन्मेका बालक पनि हुन्। यसरी कुमारको नामसँग षष्ठी जोडिन आएको हो। जसबाट ‘कुमार षष्ठी’ भन्ने चलन सुरु भयो। सिथि नखः अर्थात् कुमार षष्ठीलाई रावण संजिता षष्ठी पनि भनिन्छ। अयोध्याका राजा दशरथका जेठा छोरा श्री रामचन्द्रले आफ्नी पत्नीलाई रावणले हरण गरेपछि युद्धद्वारा रावणलाई हराएको दिन पनि यही हो। त्यसैले यो दिनलाई रावण संजिता षष्ठी पनि भन्ने भन्ने गरिएको हो, अर्थात् रावण पराजित भएको दिन बौद्धमार्गीहरू उक्त दिनलाई भगवान बुद्धको पहिलेको जन्म महासत्वले निर्वाण प्राप्त गर्नुभएको दिनका रूपमा मनाउने गर्दछन्। 

महासत्वले भर्खर बच्चा जन्माई अशक्त भएका एक बघिनी र उनका डमरूलाई आफैँले आफ्नो मासु काटेर खुवाउनुभएको थियो। उक्त घटना भएको स्थानलाई हाल नमोबुद्ध (नमुरा) भन्ने गरिन्छ। बघिनी र उनको बच्चालाई आफ्नो मासु काटेर खुवाउँदा खुवाउँदै महासत्व निर्वाण हुनुभएको थियो। यस्तो महान कार्य गरेकाले आजसम्म राजकुमार महासत्वको गीत गाउने चलन रहेको छ। 

कुमार पूजा र वातावरण सफाइ

यो चाड सकिनेबित्तिकै खेतीपाती सुरु हुने र त्यतिबेला घर सरसफाइ गर्न नभ्याइने भएकाले सिथि नखःका घरको सरसफाइ गरिन्छ। घरका सबै सदस्यले नुहाइधुहाइ गरी सफासुग्घर हुनुपर्छ। गोबरले भुइँमा गोलो आकार हुने गरी लिपेर त्यसमाथि ६ वटा पात भएको कमलको फूल लेखी श्री कुमार (सिथि द्यः) को आराधना गरिन्छ। ६ किसिमको बारा (वः) र ६ थरीका तरकारी राखी कुमार पूजा गरिन्छ। कुमारको पञ्चोपचार पूजा गरी मास, मुंग अथवा सानो केराउको वः (बारा), चतांमरी, कोदोको रोटी र मकैको रोटीका साथै ६ थरीका तरकारी चढायो भने घरमा कुनै विघ्न बाधा आइपर्दैन भन्ने विश्वास गरिन्छ। 

कुमारको नाममा व्रत बस्ने र आआफ्नो पूजा कोठामा विभिन्न देवीदेवताको पूजा गरी बारा चढाउने चलन पनि छ। 
आ–आफ्नो शरीर वा घर मात्र सफा गर्ने नभई खेतीपातीको यामभरि पानी परेर फोहोर हुने भएकाले टोलटोलमा रहेको इनार, जरुवा, पानीको मूल, चोकको ढल सफा गरी वर्ष दिनलाई ठिक्क पार्ने काम गरिन्छ। यस दिन विशेषगरी पानीको मूल सफा गरिन्छ। सिथि नखः लगत्तै रोपाइँ सुरु हुने भएकाले त्यसैका लागि शक्ति सञ्चय गर्ने र सफा पानी पिएर स्वस्थ हुने पर्वका रूपमा पनि सिथि नखः मनाइने हो। पाटनको बुंगद्यः (मछिन्द्रनाथ) रथमा आरोहण गराएपछि सुरु हुने देवाली सिथि नखःसम्म मात्रै मनाउने परम्परा छ। 

यदि कसैको देवाली मनाउने चलन छैन वा देवालीका दिन पूजा गर्न सकिएन वा देवालीको दिन थाहा हुन सकेन भने तिनीहरूले यसै दिन देवाली पूजा गर्ने चलन छ। देवाली पूजा गर्दा घरमा मात्र नभई बाहिर देवालीथानसम्म पनि गई पूजा गरिन्छ। खेतीपातीको काम गर्न शक्ति आवश्यक हुने गर्दछ। त्यसैका लागि यस पर्वमा थरीथरीका बारा (वः) खाएर शक्ति सञ्चय गरिन्छ। यति बेला खाइने विभिन्न गेडागुडीका बारा अत्यन्त प्रोटिनयुक्त परिकार हुन्।

मनोरञ्जन 

दशैंका बेला चंगा उडाएझैँ सिथि नखःका बेला घरघरमा कागजको फिरफिरे (फय्लिंचा) घुमाउने चलन छ। अहिले यस्तो चलन नदेखिए पनि आठवटा कुना भएको र प्रत्येक कुनामा कमलको फूल लेखिएको कागज वा कपडाको फिरफिरे उडाउने ग¥यो भने सबै दोष मुक्त भई अष्ट महाभयबाट रक्षा हुन्छ र अष्टसिद्धि प्राप्त हुन्छ भन्ने भनाइ छ।

सिथि नखःसम्म महासत्व राजकुमारको साथसाथै धातु गीत पनि गाउने गरिन्छ। यसको भोलिपल्टदेखि रोपाइँ गीत (सिनाज्या म्येँ) गाउन सुरु हुन्छ। रोपाइँ गीत सुरु हुनु भनेकै खेतीपातीको काम सुरु हुनु हो। त्यसैले सिथि नखःदेखि नै खेतीपातीको काम पनि सुरु हुन्छ। खेतीपातीको काम साह्रै कष्टपूर्ण हुने भएकोले यतिबेला मीठो पोषिलो खाई मनोरञ्जन गरी मन र शरीरलाई स्वच्छ र स्वस्थ बनाई राख्नुपर्ने हुन्छ। खेतीपातीको काम सुरु हुने भएकाले के बुझ्न सकिन्छ भने सिथि नखःको समयमा मानिसहरूको घरमा अन्नको भण्डार रित्तिसकेको हुन्छ। त्यस कारण यो पर्व नेवारहरूले वर्षभरि मनाउने चाडपर्वहरूमध्ये सबैभन्दा पछिल्लो हो। अर्थात् वर्षभरिको सबैभन्दा अन्तिम पर्व हो। यो पर्वलाई चेली पर्व पनि भन्ने गरिन्छ। यो चाडमा चेलीबेटी बोलाई थरीथरीका वः (बारा) का परिकार बनाएर भोज खुवाउने चलन छ। 

यो चाडमा कुनै कुनै गाउँमा खोलाको दुई किनारमा दुई हुल मानिस बसी एकले अर्काेलाई ढुंगा हानी रगताम्य पार्ने अनौठो परम्परा पनि थियो। अहिले यो परम्परा लोप भइसकेको छ। यसलाई जंगबहादुरले रोकेको भनिन्छ। पानीको मुहान सफा गर्नुअघि त्यहाँ बस्ने नागहरूलाई शान्त पार्न कपास बाटेर (माला जस्तो उनेर) चढाउने चलन छ। पानीको मुहानमा नागको बास भएछ भने त्यहाँ पानी उम्रिन्छ भन्ने जनधारणा रहेको छ। सिथि नखःका बेला देवतालाई चढाउने वः (बारा) र चतांमरी (चामलको पीठोबाट बनाइने रोटी) का बारे पनि मनोवैज्ञानिक विश्लेषण गरिएको पाइन्छ। कृषि उत्पादनमध्ये सबैभन्दा महत्वपूर्ण अन्न धानलाई मानिन्छ। चामलको पीठोबाट बनाइने चतांमरीलाई पृथ्वी र त्यसमाथि सजाइने थरीथरीका बारालाई आकाशको प्रतीक मानिन्छ। चतांमरी पृथ्वी र वः आकाशको प्रतीक हो भने त्यसमाथि राखिने विभिन्न परिकारचाहिँ पृथ्वीमा बस्ने जीवजन्तुहरूको प्रतीक हो। खेतीपाती धर्तीमा गरिन्छ। यसलाई चाहिने जल, वायु, तेज सबै माथिबाट अर्थात् आकाशबाट प्राप्त हुन्छ। साँच्चै भन्ने हो भने वः पञ्चतत्वको चिह्न पनि हो। 

गणेशको पूजा पहिले कि कुमारको ?

नेवारहरूले वर्षभरि मनाउने पर्वमध्ये सिथि नखःमा चतांमरी, दालको वः र छ थरीको तरकारी खाएर इनार र पानीका मुहानहरू सफा गर्ने मात्र होइन, यसको साथसाथै कुमार देवताको जात्रा पनि गर्ने चलन छ। यो कुमार जात्रा अथवा सिथि देवताको जात्रा पहिले पहिले काठमाडौं, पाटन र भक्तपुर तीनै शहरमा चलाउने गरिन्थ्यो। अहिले काठमाडौंमा मात्रै बाँकी छ। नेवार संस्कृतिमा कुमारको छुट्टै स्थान भएकाले यो देवतालाई पिखालखु (घरको मुख्य ढोका सामुन्ने) मा स्थापना गर्ने चलन छ। 

कुनै पनि पूजा वा ठूलो कर्मकाण्ड गर्नुपर्दा पूजाभन्दा पहिले नै पिखालखुमा कुमारलाई पूजा गर्नुपर्छ र त्यसपछि मात्रै अरू देवीदेवताको पूजा गर्ने प्रचलन छ। महायानी बौद्धहरूले पिखालखुको देवतालाई क्षेत्रपालको रूपमा मान्छन् भन्ने अरूले कुमारको रूपमा। 

यसबारे एउटा धार्मिक आख्यान के छ भने, एकपटक महादेवले आफ्ना दुई भाइ छोराहरूलाई बोलाएर जो पहिले सुमेरु पर्वत घुमेर आउँछ, उसलाई वरदान दिने भनेर आज्ञा गरेछन्। दुवै दाजुभाइ सुमेरु पर्वत घुम्न तयार भएछन्। माता पिताबाट आज्ञा भए बमोजिम कुमार त आफ्नो वाहक मयुरलाई लिएर उडिहालेछन्। गणेश भने मोटोघाटो, पेट पनि ठूलो वाहन भने छुचुन्द्रो। सुमेरु पर्वत घुम्न त धेरै समय लाग्ने भयो। त्यसैले गणेश सुमेरु पर्वत घुम्न नगई महादेव र पार्वती बसिरहेको ठाउँमा गई दुवैलाई परिक्रमा गरी आफ्नो लागि त मातापिता नै सुमेरु पर्वत पनि हो, अरु पनि सबथोक हो भनी बिन्ती चढाएछन्। 

गणेशको यो चातुर्यपूर्ण बिन्ती सुनेर महादेव पार्वती दुवै दंग भएछन्। छोराको यो धारणा त ठीकै हो भनी प्रशन्न भएर गणेशलाई वरदान दिएछन्। वरदान यस्तो थियो— कुनै पनि मानिसले पूजापाठ जस्ता जुनसुकै धार्मिक क्रिया गरे पनि सबैभन्दा पहिले गणेशलाई पूजा गर्नुपर्छ होइन भने त्यसको कुनै पनि कार्य सफल हुनेछैन। यसरी टोलटोलमा स्थान गणेशको रूपमा पूजा ग्रहण गर्नु भन्ने आज्ञा भएछ। 

त्यसपछि कुमार पनि मयुरमा सवार भई सुमेरु पर्वत पूरै घुमेर पिताकहाँ आइपुग्दा गणेश त पहिले आएर आसन ग्रहण गरिसकेका हुन्छन्। आफूभन्दा पहिल्यै गणेश आइसकेको देख्दा कुमारलाई अचम्म लाग्छ। आफूले सारा सुमेरू पर्वत घुमिसक्दा कतै भेट नभएका गणेशलाई आफूभन्दा पहिल्यै आसनमा बसिसकेको देखेपछि कुमारलाई आश्चर्य  लाग्नु स्वाभाविकै हो। उनले आफूले दुःखपूर्वक सुमेरु पर्वत घुमेर पिताको आदेशको पालना गरेको तर गणेशले आदेशको पालना नगरी छलपूर्ण काम गरेको भनी मनको कुरा राखिसकेपछि महादेव र पार्वतीलाई चेत भयो। त्यसपछि उनीहरूले कुमारलाई गणेशभन्दा पनि पहिले पूजा गराउने हेतुले घरको पिखालखुमा वासस्थान हुनेछ भनेपछि कुमारले आज्ञा शिरोपर गरी पिखालखुमा वासस्थान ग्रहण गरे। यसरी हाम्रो धार्मिक र सांस्कृतिक परम्परामा कुमारका बेग्लै स्थान रहन आएको छ। 

पिखालखुमा बसेर घरको रक्षा गर्नु कुमारको कर्तव्य हो। त्यसकारण कुमारलाई क्षेत्रपालका रूपमा पनि लिने गरिन्छ। प्राचीन समयमा कुमारलाई किल्ला प्रमुखका रूपमा मान्ने परम्परा थियो। त्यसबेला जसरी ठाउँठाउँमा कुमारी रहन्थे, त्यसरी नै कुमार पनि रहने गर्दर्थे। 

राजप्रासादमा कुमारी जात्रा गरेझैँ कुमारको पनि जात्रा गरिन्थ्यो। लिच्छविकालभन्दा पहिलेको नगर भनेको यही राजप्रासाद छेउछाउको क्षेत्र हो। त्यसकारण त्यसबेला कुमार पनि राजदरबारकै कुमार भएकाले जात्रा हुन्थ्यो भन्ने अनुमान गरिन्छ। तर यो जात्रा कहिलेदेखि सुरु भयो भन्न सकिँदैन। काठको रातो वर्णका कुमारलाई जात्राको तीन दिनअगावै चोभारस्थित च्वबाहाद्यःलाई स्नान गरी रंगरोगन गराइसकेपछि बाँकी रहेको रंगले सिँगारी भोलिपल्ट काठमाडौंस्थित क्वहिटी (जैशीदेवल सँगै) को पाटीमा राख्ने गरिन्छ।

जात्रा सुरु गर्नुअघि कुमारलाई बच्चा जन्मँदा गरिने संस्कार जस्तो कि ‘सिचापालु’ देखाउने, कान छ्ेड्ने, इही (बेल विवाह) गर्ने, गुफा राख्ने र व्रतबन्ध गर्ने जस्ता कार्यहरू सम्पन्न गरिन्छ। देवताको अगाडि कुसुन्दिको होम गरिन्छ। त्यसको भोलिपल्ट अर्थात सिथि नखःको अर्काे दिन कुमार जात्राका गुठियारहरूले खटमा राखी बोकेर कुमारलाई जहाँ जहाँ घुमाउँछन्, त्यहाँ त्यहाँ जात्रा हुने चलन छ। 

यसरी कुमारको खट जात्रा गराउँदा देउतालाई सम्हाल्न पनि एकजना बस्नुपर्ने हुन्छ। खटमा देवतालाई सम्हाल्ने भन्ने कुराले यो जात्रामा पनि कुनै बेला कुमारीझैँ जीवित कुमार केटोलाई नै खटमा राखेर परिक्रमा गराइन्थ्यो भन्ने संकेत मिल्दछ। 

जनधारणा अनुसार एउटा हराइरहेको केटोकै कारणले उक्त जात्रा शुरू भएको हो। उनीहरूका अनुसार कुमार बलम्बुनिवासी केटा हुन्। उनलाई काठमाडौंको न्हूघल (जैसी देवल) मा रोइरहेको अवस्थामा भेटाइएको थियो। त्यसपछि उनलाई आफ्नो पूर्खामा कोही पनि छोरा मान्छे नभएका एकजना स्थानीयले बारा र चतांमरी दिएर फकाएर राखेका रहेछन्। पछि हराएको केटोलाई खोज्दै बलम्बुका स्थानीय मानिस पनि त्यहीँ आइपुगे र उनलाई लिएर गए। तैपनि केटो बलम्बुबाट पुनः फर्केर न्हूघलमै आए र त्यहीँ सिद्ध भए भन्ने भनाइ छ। 

देउतालाई ‘लँपुल्यं’ चढाउन आचारविचार पु¥याउने काम ठसि (लगनखेल) का नेकु (नेमकुल) हरूले गर्छन् तर जात्रा भने न्हूघलका ज्यापूहरूले चलाउँछन्। यो देवताको जात्रा गर्दा बलम्बुका स्थानीय मानिस केटो खोज्न आउँछन् भन्ने भनाइ छ। भोलिपल्ट अर्थात् सप्तमीका दिन सबैभन्दा पहिले राजदरबार लगी दरबारको पूजा थाप्छन्। त्यसपछि अट्कोनारायणस्थानका मानिसले ठूलो लाखामरी चढाउने चलन छ। आजभोलि सानो मात्रै चढाउने गरेको पाइन्छ। यससँगै पाँचवटा बारा पनि चढाइन्छ। यसलाई तत्कालीन समाजमा उक्त स्थानको कर तिर्ने हिसाबले चढाएको भनिन्छ। जात्रा सकिएपछि देउतालाई देउताघर (द्यःछेँ) को पिखालखुमा पूजा गरी भित्र्याउने चलन छ। देउता भित्र्याएपछि चार दिनसम्म कसैलाई दर्शन गराइँदैन। 

प्रकाशित मिति: ११:१२ बजे, बिहीबार, जेठ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?