Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : ‘मिडिया र सामाजिक सञ्जालमा ट्रायल भयो’

महतले यो प्रकरणमा सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर कांग्रेस नेतृ आरजु राणा देउवालाई दोषी देखाउने प्रयास गरेको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरण : ‘मिडिया र सामाजिक सञ्जालमा ट्रायल भयो’

काठमाडौं, जेठ २ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।

मंगलबार अयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले यो प्रकरणमा सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर कांग्रेस नेतृ आरजु राणा देउवालाई दोषी देखाउने प्रयास गरेको बताए।

‘मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ। आरजु राणाको केसमा उहाँले प्रमाणित होस भनेर उजुरी गर्नुभएको छ। तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी हो भनेर व्यवहार भइरहेको छ,’ प्रवक्ता महतले भने, ‘यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अडियो झुटो हो भन्ने विश्वास छ।’

उनले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएकाले कांग्रेसले गम्भीर रूपमा लिएको बताए। र, उनले यो प्रकरणमा पार्टीले अनुसन्धनमा सहयोग गर्ने पनि उल्लेख गरे।

मञ्जु खाणका विषयमा सोधिएको प्रश्नमा महतले पार्टीले उनलाई फलो नगरेको बताए। उनले भने, ‘को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन। दूधको दूध पानीको पानी आओस्। कांग्रेसले सहयोग गर्छ।’

बालकृष्ण खाँणले ‘आफू निर्दोष छु, साबित गर्छु’ भनेकाले पार्टीले कारबाही नगरेको उनले बताए । ‘घटनाको अनुसन्धान जारी रहेकाले निर्दोष नफसून्, दोषी नउम्किऊन् भन्ने पक्षमा पार्टी छ,’ उनले भने, ‘खाण आरोपित हुनुहुन्छ, अनुसन्धान जारी छ। निष्कर्ष आइसकेको छैन। उहाँहरूले निर्दोष साबित गर्छु भनेपछि पार्टीले कारबाही गर्ने कुरामा निष्कर्षमा नपुगेको हो।’

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्