भुटानी शरणार्थी प्रकरणमा आरजुले भनिन्- मेराे चरित्र हत्या हाेइन, चरित्रमाथि बलात्कार भयो
अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको उनको भनाइ थियो। सुरुमा त दर्ता गर्न पनि नमानेको भन्दै उनले आपत्ति जनाइन्।
काठमाडौं, जेठ १ : कांग्रेस सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन्।
उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको उनको भनाइ थियो। सुरुमा त दर्ता गर्न पनि नमानेको भन्दै उनले आपत्ति जनाइन्।
‘मैले ६ दिनअगाडि फेक अडियो, भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएकोलाई फरेन्सिक परीक्षणका लागि सीबीआई र साइबर क्राइम सेलमा पठाएको थिएँ। त्यो दर्ता गर्न पनि मानिएको थिएन। यहाँहरूले पत्याउनुहुन्न होला, सत्तापक्षको यत्रो ठुलो नेताको श्रीमती भनेर तीन घण्टा लाग्यो त्यो दर्ता गराउन। त्यसको पनि जवाफ गृह मन्त्रालयबाट माग गर्न चाहन्छु,’ उनले भनिन्, ‘त्यो अलमल किन थियो? ६ दिन हुँदा पनि फेक हो कि होइन भनेर किन बताउन चाहेको छैन? म अरुजस्तै आतुर छु। मेरो मात्रै नाम उच्चारण किन हुन्छ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (चरित्रमाथि बलात्कार हाे) ।’
महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले बेहोरिरहेको बताइन् । ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा बेहोर्न सक्नुपर्छ, म बेहोरिरहेको छु। यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्,’ उनले भनिन्।
आफूलाई विदेश गएको भनेर लेखिएका समाचारप्रति पनि आरजू राणाले आपत्ति जनाइन्। ‘म उपस्थित भएको त देखिरहनु भएकै होला। म सशरीर नै यहाँ छु। म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा पुगिसकेको रहेछ,’ उनले भनिन्, ‘म सामाजिक सञ्जालमा त्यति सक्रिय छैन। त्यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुन फेक मिडियामा सरकारको सुपरभिजन हुनुपर्यो।
उनले फेक न्युज र फेड मिडियाप्रति सरकारको सुपरभिजन हुनुपर्नेमा उनले जोड दिइन्।











