Kathmandu Press

‘पार्टी र सरकारबीच कुनै समन्वय अभाव छैन’

‘समन्वयको कुनै पनि कमी छैन। खाली एउटै चिज के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने।
‘पार्टी र सरकारबीच कुनै समन्वय अभाव छैन’

चितवन, कात्तिक २० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताएका छन्।

पत्रकारहरूसँग चितवनमा कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको उल्लेख गरेका हुन्।

पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न नहुने उनले बताए।

‘समन्वयको कुनै पनि कमी छैन। खाली एउटै चिज के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने।

सभापति लामिछानेले विगतमा सरकार टिकाउन र पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई राखेर काम गर्ने अभ्यास आफ्नो पार्टीले नगरेको बताए। पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्ने उनको भनाई थियो। 

‘हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जतिखेर सरकारै टिकाइराख्नका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि, छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने, त्यस्तो किसिमको अभ्यासमा हामी छैनौँ’, उनले भने।

सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले पार्टीले सरकारका सबै निर्णयमा होमा हो मिलाउनुपर्ने अवस्था नरहेको बताए। सरकारले गरेका निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो।

प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसङ्गमा सभापति लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले समय आएपछि त्यसको औचित्य पुष्टि गर्ने बताए। 

सभापति लामिछानेले सरकारका कामकारबाहीमा सुधारको आवश्यकता देखिए पार्टीले खबरदारी गर्ने उल्लेख गर्दै सरकार र पार्टी बीचको विवादका रूपमा व्याख्या नगर्न आग्रह गरे।

प्रकाशित मिति: ११:४४ बजे, शुक्रबार, कात्तिक २०, २०८३