कांग्रेसले खाणलाई तत्काल निलम्बन नगर्ने
‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्ने बित्तिकै ऊ दोषी हो भन्न मिल्दैन। त्यसलाई अभियुक्तका रूपमा लिइन्छ। अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो,’ सहमहामन्त्री जीवन परियारले भने।
काठमाडौं, वैशाख २८ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्ना नेता बालकृष्ण खाणलाई नेपाली कांग्रेसले तत्काल निलम्बन नगर्ने भएको छ।
बिहीबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले अभियोग पुष्टी भइनसकेकाले तत्कालै निलम्बन गर्नु नपर्ने निष्कर्ष निकालेको बताइएको छ।
बुधबार र बिहीबार गरी दुई दिन बसेको बैठकमा गम्भीर अभियोग लागेकोले खाणलाई पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज पनि उठेको थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले गर्ने निर्णयलाई आधार मानेर आगामी दिनमा आवश्यक निर्णय गर्ने भन्दै अहिले नै बालकृष्ण खाणलाई कारवाही गर्ने कुनै निर्णय नभएको सहमहामन्त्री जीवन परियारले बताए।
उनले अनुसन्धानको दायरामा जो सुकै पनि आउन सक्ने बताउँदै यस प्रकरणले सत्ता गठबन्धनलाई कुनै असर नपर्ने बताए ।
‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्ने बित्तिकै ऊ दोषी हो भन्न मिल्दैन। त्यसलाई अभियुक्तका रूपमा लिइन्छ। अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो,’ सहमहामन्त्री जीवन परियारले भने।
उनले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै दोषीलाई कुनै पनि हालतमा छोड्न नहुने र निर्दोष पर्न नहुने बताए। उनले खाणले अनुसन्धानलाई सहयोग गरिरहेको बताए।
‘हाम्रो पार्टीका नेता खाणले अनुसन्धानलाई सहयोग पुर्याउनुभएको छ,’ उनले भने, ‘कांग्रेस दोषीलाई उम्काउने पक्षमा छैन, सत्यतथ्य छानबिन होस्। अनुसन्धानलाई सहयोग गर्ने कुरामा पार्टी एकमत छ।’
बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारुढ गठबन्धन अनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको सहमहामन्त्री परियारले बताए । प्रदेश यस विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई छलफलको जिम्मा दिइएको छ।
त्यस्तै राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि छलफल भएको नेता परियारले बताए । यस विषयमा कानुनविद्सँग राय लिने कांग्रेसको भनाइ छ ।
बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ तथा विभागलाई पूर्णतालगायत विषयमा पनि छलफल भएको थियो।











