दैवी शक्तिमा आधारित भाव नृत्य घाँटु
सरस्वती डाँडीलाई घाँटु नाचको खास सुरुवात मानिन्छ। लिफा डाँडी घरभित्र सम्पन्न गरिन्छ भने सरस्वती डाँडी घरबाहिर आँगन वा ठाँटीघरमा आयोजना गरिन्छ। घाँटु मृत्यु संस्कार र दैवी शक्तिमा आधारित भएकाले हरेक डाँडीमा उत्तिकै होसियारी अपनाउनु पर्ने हुन्छ।लिप हो रे भैया लिप हो रे
माली र गाईको गोबरले लिपैला
लिप हो रे भैया लिप हो रे
काली र गाईको गोबरले लिपैला
लिप हो रे भैया लिप हो रे
सातै र मूलको पानीले लिपैला
बालकन्याको हातै गोडा चोखी बसैला
धरतीको देवता आवैला...
गुरुङ, मगर, दुरा, दराई, कुमाल, माझी, थारू आदि जातिमा प्रचलित भाव नृत्य नाटिका घाँटु सुरु गर्दा सरस्वती जगाउन गाइने गीत (डाँडी)को अंश हो, यो। श्रीपञ्चमीमा उठान गरेर बीचबीचमा नाच आयोजना गरिने घाँटु बैशाख पूर्णिमासँगै सेलाइन्छ। बैशाख शुक्ल त्रयोदशीका दिनबाट सुरु गरेर पूर्णिमामा विसर्जन गरिने घाँटु कहीँकहीँ भने बैशाख पूर्णिमाबाट एक सातासम्म नचाउने चलन पनि छ। अन्य जातिमासमेत नाचिने र गाइने भए पनि मुख्यगरी यो गुरुङ जातिको पहिचान बनेको छ। र, यसको मुख्य कथासार पनि लमजुङ आसपासको क्षेत्रसँग सम्बन्धित रहेको पाइन्छ।
घाँटु मुख्यतः दुई प्रकारका हुन्छन्– सती र बाह्रमासे घाँटु। बाह्रमासे घाँटु जुनसुकै बेला पनि नचाउन सकिन्छ। तर यहाँ उल्लेख गर्न लागिएको घाँटु सती घाँटु हो, जुन श्रीपञ्चमीमा उठान गरेर बैशाख पूर्णिमासँगै अन्त्य गरिन्छ। विधिअनुसार नाच सञ्चालन भएन भने घाँटु नाच्ने घाँटुसरीहरू बहुलाउने र मृत्युसमेत हुन सक्ने भएकाले सती घाँटु हत्तपत्त नचाइँदैन। यसका लागि सिपालु गुरु आवश्यक पर्छ। आजकल सिपालु गुरुहरूको संख्या घट्दै गएकाले सती घाँटु पहिलेजस्तो सबैतिर नचाउने गरेको पाइँदैन। गाउँमा पर्यटक पाहुना आउँदा नचाइने घाँटु चाहिँ प्रायः बाह्रमासे घाँटु हुन्छ।
घाँटुु नाच गर्नुअघि घाँटुसरी छान्ने काम हुन्छ। घाँटु नाच्ने कन्याहरू शरीरमा कुनै पनि प्रकारको चोटपटक नलागेको वा खत नभएको हुनुपर्छ। त्यस्तै रजस्वला सुरु भएकालाई घाँटुसरी छानिँदैन। त्यसैले घाँटु नाच्ने उपयुक्त कन्या भन्नाले टिन एज नछोएका भन्ने बुझ्नु पर्छ। घाँटु नाच्ने कन्याको खोजी गर्दै घाँटु सञ्चालकहरू कन्याको घरसम्म सेल रोटी, रक्सी आदि लिएर विधिपूर्वक अनुमति माग्न जान्छन्। अनुमति नदिए जबर्जस्ती गरिँदैन।
श्रीपञ्चमीको दिन घाँटुसरी चयनको सबै तयारी गरेर छानिएका कन्याहरूलाई मध्यरातमा पधेँरोमा लगेर नुहाइ–धुवाइ गर्न लगिन्छ। नुहाइ–धुवाइ गरेपछि उनीहरूलाई नयाँ कपडा लगाउन दिइन्छ। उनीहरूको हात र खुट्टाको नङ पनि काटिदिन्छन्। यस कार्यमा कन्याकै आफन्तहरू संलग्न हुन्छन्। पधेँरोबाट उनीहरूलाई बोकेर घाँटु नाच्ने स्थानमा ल्याइन्छ। गोबरले लिपेर चोखो बनाइ केराको पात ओछ्याइएको थानमा राखिन्छ। यसको अर्थ उनीहरूलाई यस भौतिक संसारबाट अर्कै लोकमा विराजमान गरिएको भन्ने बुझिन्छ।
घाँटुका गुरुबाहरूले घाँटु देवतालाई आह्वान गर्न थाल्छन्। छानिएका कन्याहरूलाई घाँटु देवताले नछोएसम्म (तीन रातसम्म) घाँटु देवतालाई आह्वान गरिन्छ। यस क्रममा कसै–कसैलाई घाँटु देवताले नछुने पनि हुन्छ। घाँटु देवता शिरमा चढेन अर्थात् छोएन भने छानिएका ती कन्यालाई घाँटु नाचमा सहभागी गराइँदैन। तर कहिलेकाहीँ घाँटु देवता चढाउने कार्यक्रममा सहभागी अन्य कन्यालाई घाँटु देवता चढ्ने पनि हुन्छ। यस्तो भएमा घाँटु देवता चढेको कन्याको अभिभावकले आफ्नो छोरीलाई घाँटुसरी बनाउने अनुमति दिन्छन्।
घाँटुले छोएपछि कन्याहरू काँप्ने, रुने, चिच्याउने गर्छन्। घाँटुको विधिअनुसार सबैभन्दा पहिले घाँटु देवताले छुने कन्यालाई राजा र अरुलाई रानी मान्ने गरिन्छ। त्यसपछि एक सातासम्म घाँटु देवता चढेका कन्याहरूलाई पुराना घाँटुसरीहरूले नाच्ने तालिम दिन्छन्।
घाँटु भाव नृत्यमा नौवटा डाँडी हुन्छन्। लिफा, सरस्वती, बिरुवा सार्ने, धान रोप्ने, बाल कोर्ने, विदेशी, सिकार, विवाह र सती डाँडीमा विभक्त घाँटुका गीत, भाव र अभिनय पनि अलग–अलग हुन्छन्। लिफा डाँडीमा घाँटुसरी छान्ने काम हुन्छ। यस डाँडीको गीतमा घाँटुसरीका लागि छानिएका कन्याहरूलाई घाँटु देवताले छुन्छ वा छुँदैन हेर्ने काम हुन्छ।
गीतमा आएको लिफा भन्नाले लिप्ने र पात ओछ्याउने भन्ने बुझिन्छ। घाँटुसरीका लागि छानिएका कन्याहरूलाई गोबरले लिपेर चोखो बनाइएको स्थानमा केराको पात ओछ्याएर राखेपछि गुरुबाहरूले गीत गाउन थाल्छन्। कसैलाई पनि घाँटु देवताले नछोएमा त्यो वर्ष घाँटु नै नचाइँदैन।
सरस्वती डाँडीलाई घाँटु नाचको खास सुरुवात मानिन्छ। लिफा डाँडी घरभित्र सम्पन्न गरिन्छ भने सरस्वती डाँडी घरबाहिर आँगन वा ठाँटीघरमा आयोजना गरिन्छ। घाँटु मृत्यु संस्कार र दैवी शक्तिमा आधारित भएकाले हरेक डाँडीमा उत्तिकै होसियारी अपनाउनु पर्ने हुन्छ। सरस्वती डाँडीमा घाँटुसरी र गुरुबाहरूलाई केही नहोस् भनेर सम्पूर्ण देवी–देउराली, सिमेभूमेको पूजा गरिन्छ। गीतको शब्द तल–माथि भएमा, बिर्सिएमा घाँटुसरीहरू एक्कासी काँप्ने, दाह्रा किट्ने, बेहोस् भएर हत्तपत्त होस् नआउने हुन्छ।
बिरुवा सार्ने डाँडीमा फूलको बिरुवा सारिएको, पानी हालिएको अभिनय हुन्छ। पानी लिन टाढा गएको, पानी लिएर फर्कंदा रात परेको र अँध्यारो रातमा लडेर घैँला भूइँमा झरेर फुटेको, घरका अन्य सदस्यले गाली गरेको र पछि श्रीमान्ले सम्हालेको आदि गीति अभिनय पनि यस डाँडीमा हुन्छ। यसपछि भने बाल (कपाल) कोर्ने अर्थात् शृङ्गार डाँडी सुरु हुन्छ।
शिरैमा सुहायो सिन्दूर
के केमा लायो बैंश, के केमा लायो बैंश
शिरैमा लायो सिन्दूर लालै पर्यो
ललाटमै सुहायो टिकिया लालै पर्यो
आँखीमा सुहायो गाजल लालै पर्यो
नाकैमा सुहायो बेसोरी लालै पर्यो
यसरी शृङ्गार डाँडीमा शृङ्गार र सुन्दरताको खुलेर बयान गरेको पाइन्छ। यस डाँडीमा शृङ्गारले सुन्दरता थप्ने कुरा उल्लेख भएको पाइन्छ। यसपछि धान रोप्ने डाँडी आउँछ। धान रोप्ने डाँडीमा धानको बीउ राखेदेखि धान थन्क्याउनेसम्मको क्रियाकलापको अभिनय गरिन्छ। त्यस्तै हलो बनाउने, कुलो बनाउने र खेतमा पानी लगाउने अभिनय पनि हुन्छ।
विदेशी डाँडी र सिकार डाँडी चाहिँ सँगै आउँछन्। यी डाँडीहरूलाई कुसुण्डा डाँडी पनि भन्ने गरिएको पाइन्छ। यस डाँडीमा घुमन्ते तथा सिकारी जीवन बिताउने कुसुण्डा जातिको जीवनशैलीको अभिनय हुन्छ। घाँटुका मुख्य पात्रहरू पश्रामु (परशुराम) राजा र यम्फावती रानी राजदरबारको सुखसयल छाडेर जोगीको रूप धारण गरी वनविहार गर्दाको अभिनय हुन्छ।
काँजुली रानीको सिंहाशन छोडैला
मथुराय जङ्लमा पसैला
नवैतले दरबार दियार छोडैला
सुकै काठ वृक्षमुनि बसैला
पलङ्गिया खटिया छोडैला
विदेश तथा सिकार डाँडीको गीतमा यसरी पश्रामु राजा र यम्फावती रानी दरबार छाडेर जोगीको भेषमा जङ्गलमा गएको र सिकारी जीवन बिताएको स्पष्ट पारेको छ। यस डाँडीमा गीत र मादलको तालमा भूइँमा बसेर नाचिरहेका घाँटुसरीहरू घडीको सूईको दिशामा एकोहोरो घुमेको घुम्यै गर्छन्। गीत र मादलको तालमा यसरी घुमेका घाँटुसरीहरू घुम्दाघुम्दै बेहोस् हुन्छन्। त्यसरी ढलेका घाँटुसरीहरूलाई सम्हाल्न सुसारे पनि तयार भएर बसेका हुन्छन्। यसरी घुम्ने क्रम कहिलेकाहीँ घण्टौँ लम्बिन्छ।
कहिलेकाहीँ त्यसरी बेहोस् भएका घाँटुसरीलाई ब्युँताउन निकै कठिन हुने गरेको बताइन्छ। ब्युँतिएपछि उनीहरू रुन्छन्। उनीहरू ब्युँतँदा पनि अर्धबेहोसीमै हुन्छन्। त्यसरी बेहोस् भएको बेला सपनामा देवताहरू आउने र आफूहरूसँग कुरा गर्ने, मित्रता गाँस्ने तथा त्यस क्रममा देवताहरू रुँदा आफूहरू पनि रुने गरेको पुराना घाँटुसरीहरू बताउँछन्। ब्युँतिएपछि उनीहरू भीख माग्न जान्छन्।
दर्शकहरूले उनीहरूलाई भीखको रूपमा केही पैसा आदि दिन्छन्। यसबेला उनीहरूलाई कुसुण्डा देवता चढेको हुन्छ। गुरुहरूले घँटुसरीमा चढेको कुसुण्डा देवता छुटाउन गीतबाटै धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। विवाह डाँडीमा चाहिँ राजा पश्रामु र रानी यम्फावतीको विवाहको वर्णन पाइन्छ।
अन्तिम डाँडी सती डाँडी हो। यसमा राजाको मृत्यु भएपछि नाबालक छोरा र राजकाजको जिम्मेवारी छाडेर रानी यम्फावती सती जान्छिन्। छोरा (राजकुमार) जन्मिएको केही समयपछि नै पश्रामु राजाको राज्यमा चारैतिरबाट बैरीले धावा बोल्छन्। राजाले लडाइँ नगरी सुखै पाउँदैन। साइत जुराएर पश्रामु राजा लडाइँमा निस्कन्छन्। मस्र्याङ्दी, मादी, काँहु, सेती, आँधी र काली तरेर गएपछि परिपत (पर्वत)को लोहाँसुरमा भएको भीषण लडाइँमा राजा पश्रामुले वीरगति प्राप्त गर्छन्।
राजाको मृत्यु भएपछि रानी यम्फावतीले सती जाने निर्णय गर्छिन्। उनको सती जाने निर्णय रोक्न आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी, इष्टमित्र सबैले अनेक आग्रह गर्छन् तर उनी रोकिँदैनन्। सती जानुअघि उनले नाबालक छोरा धाइ आमाको जिम्मा लगाउँछिन्। सम्पूर्ण पशुपन्छीको राम्रो रेखदेख गर्न जिम्मा लगाउँछिन्। सम्पत्ति आफन्तलाई जिम्मा लगाउँछिन् र खुशीसाथ सती जान्छिन्। जुन कुरा गीतका यी हरफहरूले स्पष्ट पारेको छ।
सुन सुन आमैज्यू, सुन सुन बाबैज्यू
एकोहोरी वचन हामरो हामु त जान्छु
स्वामीका साथ भलो बिदा दे...
हामु त जान्छु स्वामीका साथ
सती डाँडी सुरु हुने बित्तिकै घाँटुसरीहरूको आँखा बन्द भएको हुन्छ। अब उनीहरूको आँखा खुलाउन गुरुबाहरूले फेरि अर्को चरणको गीत सुरु गर्छन्। ‘झारैला झारैला, पातीसारको फूलले झारैला’ भन्दै गीत गाइन्छ। यसरी झार्ने भनेको घाँटुसरीमा चढेको घाँटु देवता उतार्ने भन्ने हो। कहिलेकाहीँ आँखा खुलाउन नै घण्टौँ लाग्छ। हृदय विदारक क्षण समेटिएको सती डाँडी र त्यसपछि आँखा खुलाउने गर्दासम्ममा कहिलेकाहीँ १८ देखि २० घण्टासम्म पनि बित्ने गरेको बताइन्छ।
सबै घाँटुसरीको आँखा खुलेपछि घाँटु सकिएको घोषणा हुन्छ। घाटमा राजा पश्रामु र यम्फावतीको साङ्केतिक दाहसंस्कार गरेपछि सबै घाँटु नाचस्थलमा फर्कन्छन्। त्यसपछि गाउँले महिलाहरूले सबैलाई ‘स्याई–स्याई’ भन्दै रीपा (तेल–बेसार दलिएको काँचो धागोको डोरी) लगाइदिन्छन्। त्यसपछि खानपान र रमाइलो हुन्छ। इष्टमित्रहरूले घाँटुका गुरुबाहरूलाई फेटा र घाँटुसरीहरूलाई क्रमु ओढाइदिन्छन्।
तनहुँ र स्याङ्जाको सीमा जोडिएको तनहुँको पश्चिम भेग र स्याङ्जाको पूर्वी भेगमा भने घाँटु सकिएको एक–डेड महिनापछि घाँटु खोई (भोज) आयोजना गर्ने गरिन्छ। भोजमा घाँटुमा सहभागी सबैलाई निम्ता गरिन्छ। र, सो क्रममा झोरा भनिने छुट्टै नाच नचाइन्छ। त्यस्तै कौरा गीत गाएर पनि रमाइलो गर्ने गरिन्छ।
घाटमा पुगेर अन्त्य हुने भएकाले यस नृत्य नाटिकालाई घाँटु भनिएको हुन सक्ने तर्क केही अध्येता तथा अगुवाले गरेका छन्। यद्यपि घाँटु एक दैवी शक्तिमा आधारित रहेको कुरामा भने सबैजसो सहमत देखिन्छन्। त्यस्तै यस घाँटु नृत्य नाटिकालाई केहीले गुरुङ जातिको होइन पनि भन्ने गरेका छन्।
घाँटु गीतमा प्रयुक्त भाषाले यो नृत्य नाटिक गुरुङ जातिको नहुन सक्ने सङ्केत गरे पनि यसको कथा बुनोट क्षेत्र लमजुङ, गोरखा, तनहुँ, पर्वत, स्याङ्जा र कास्की रहेकाले गुरुङ जातिकै हो भनेर भन्न सकिने आधार भेटिन्छ किनकि गुरुङ जातिको मुल थलो नै गण्डक क्षेत्र रहेको कुरा प्रमाणित भइसकेको छ।