Kathmandu Press

जटिल बन्दै मुखको क्यान्सर, बच्न के गर्ने?

नेपालमा तथ्यांक लिँदा २० हजार ५०८ मानिसमा क्यान्सर देखापरेको थियो। तीमध्ये २ हजार ३२७ जनामा मुखको क्यान्सर देखिएको थियो। त्यतिबेला मुख क्यान्सरबाट मृत्यु हुनेको संख्या १ हजार ७० थियो।  यसरी अन्य क्यान्सरको तुलनामा मुख क्यान्सर संक्रमण दरमा दोस्रो भए पनि मृत्यु गराउने कारणमा भने पहिलो स्थानमा रहेको छ। 
जटिल बन्दै मुखको क्यान्सर, बच्न के गर्ने?
Hardik ivfHardik ivf

क्यान्सर भन्नेबित्तिकै निको नहुने जटिल रोग भन्ने बुझिन्छ। हुन पनि क्यान्सरको जटिलता हरेक वर्ष विश्वमा बढ्दै गएको छ। क्यान्सरकै कारण लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। विश्वव्यापी रूपमा जटिल बन्दै गएको क्यान्सरका विभिन्न प्रकार छन्। जसमा मुखको क्यान्सर पनि पर्छ।

विश्वमा बर्सेनि ६ लाख ४० हजार मानिसमा मुखको क्यान्सर देखिने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक छ। सन् २०२० मा अमेरिकामा मात्र ५३ हजारभन्दा बढी मानिसमा मुखको क्यान्सरको समस्या देखिएको थियो। एसियाली राष्ट्र भारत, पाकिस्तान, श्रीलंका लगायतका देशमा पनि मुखको क्यान्सर बढ्दो छ।

यी देशहरूमा सुर्तीजन्य पदार्थ, मध्यपान र धूमपानको अत्यधिक सेवन गर्ने व्यक्तिहरू रहेको हुँदा मुखको क्यान्सर बढ्दै गएको विज्ञहरू बताउँछन्। नेपालमा पनि मुखको क्यान्सरको अवस्था भयावह बन्दै गइरहेको छ। नेपालका पहाडी जिल्लाको तुलनामा तराईमा मुखको क्यान्सर बढी देखिने गरेको चिकित्सकहरू बताउँछन्। 

के हो मुख क्यान्सर?

मुखको क्यान्सरले नाक, कान र घाँटीको क्यान्सरलाई बुझाउँछ। यसलाई ‘हेडनेक क्यान्सर’ पनि भन्ने गरिन्छ। मुखको क्यान्सर मुखमा, जिब्रोमा, गिजामा, गालाको भित्री भागमा, तालुमा, आवाज आउने ठाउँमा, घाँटीमा, कानमा हुने गर्छ। पछिल्ला वर्षहरूमा दक्षिण एसियाली राष्ट्रमा मुखको क्यान्सर बढ्दै गएको छ। यी राष्ट्रहरूमा खैनी, पान, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ सेवन बढी हुने हुँदा मुखको क्यान्सर रोगीको संख्या बढ्दै गएको हो। 

क्यान्सरसम्बन्धी विश्वको तथ्यांक राख्ने ग्लोबोक्यान संस्थाले २०२० मा नेपालमा तथ्यांक लिँदा २० हजार ५०८ मानिसमा क्यान्सर देखापरेको थियो। तीमध्ये २ हजार ३२७ जनामा मुखको क्यान्सर देखिएको थियो। त्यतिबेला मुख क्यान्सरबाट मृत्यु हुनेको संख्या १ हजार ७० थियो।  यसरी अन्य क्यान्सरको तुलनामा मुख क्यान्सर संक्रमण दरमा दोस्रो भए पनि मृत्यु गराउने कारणमा भने पहिलो स्थानमा रहेको छ। 

मुखको क्यान्सरले निक्त्याउने जटिलता 

क्यान्सर आफैंमा जटिल खालको रोग हो। त्यसमा पनि मुखको क्यान्सर मुख, नाक, कान, जिब्रो, घाँटीजस्ता संवेदनशील अंगमा हुने भएकाले अन्यको तुलनामा झनै जटिल हुन्छ। क्यान्सरको प्रमुख उपचार पद्धतिअनुसार जुन अंगमा क्यान्सर भएको छ, त्यो अंगलाई शल्यक्रिया गरेर फालिन्छ। मुख क्यान्सरका बिरामी सुरुकै स्टेजमा अस्पताल आए उपचारले काम गर्न सक्ने अवस्था रहन्छ। किनकि सो अवस्थामा क्यान्सरले धेरै भागमा फैलन पाएको हुँदैन।

क्यान्सर निको पार्न शल्यक्रियाका अलावा अन्य विभिन्न किसिमका उपचार विधि अपनाउने गरिन्छ। यसर्थमा सुरुतिरैको चरणमा निदान भएको मुखको क्यान्सर पनि निको पार्न सक्ने सम्भावना उच्च हुन्छ। अन्य क्यान्सर फैलिएर हातखुट्टामा फैलियो भने काटेर फाले बिरामीलाई बचाउन सकिन्छ तर मुखको क्यान्सरमा हकमा भने यस्तो विधि लागु हुँदैन।

त्यसैले नाक, कान, घाँटीमा क्यान्सर भइहाले शल्यक्रिया पनि जटिल हुनुका साथै ती अंगका आकारमा निकै फरक आउन सक्छ। यसकारण पनि मुखको क्यान्सर अन्यको तुलनामा बढी जोखिमपूर्ण छ। 

मुखको क्यान्सर हुनुको कारण

मुखको क्यान्सर हुनुका मुख्य कारण खैनी, गुट्का, पानजस्ता सुर्तीजन्य पदार्थको सेवनका साथै मद्यपान, धूमपानलाई लिन सकिन्छ। अहिलेका युवा देखासिकी गरेर या लहैलहैमा लागेर १४–१५ वर्षकै उमेरमा कुलतमा फसेका हुन्छन्। सानै उमेरदेखि नै धूमपान, मद्यपान गर्ने हुुँदा त्यस्ता व्यक्तिमा प्रायः २०–२५ वर्षकै उमेरमा देखा पर्ने गरेको पाइन्छ। 

यसका साथै मुखको क्यान्सरका कारणहरूमा दाँतको समस्या, फोहोर मुख, भिटामिनको कमी, टेक्सटाइलमा काम गर्ने व्यक्तिहरू, फुड इन्डस्ट्रीमा काम गर्ने व्यक्तिमा पनि मुखको क्यान्सर बढी देखिने गरेको छ। ‘ह्युमन प्यापिलोमा’ भाइरसले पाठेघरको क्यान्सरका साथै हेडनेकको क्यान्सर पनि गराउने सम्भावना उच्च रहन्छ। तथापि ९० प्रतिशत मुखको क्यान्सरको खास कारण सुर्ती–चुरोटको सेवन नै हो। 

कस्ता लक्षण देखिन्छन्? 

मुखको क्यान्सरमा मुखभित्रका विभिन्न भाग जस्तै जिब्रो, गाला, कान, नाकलगायत अंग हुने भएकाले यसका लक्षण अन्य क्यान्सरभन्दा फरक हुन्छ। मुख क्यान्सर हुँदा मुखभित्रको कुनै भागमा घाउ भएर उपचारपछि पनि निको नभई बल्झँदै जाने हुन्छ।

बिरामीको घाँटी दुख्ने, आवाजमा परिवर्तन हुने, खाना खाँदा वा थुक निल्दा पनि दुख्ने, पिनासको समस्या भएका व्यक्तिमा रुघा लाग्दा सिँगानमा रगत आउने, बिरामीको कान दुख्ने, घाँटीमा गिर्खा देखापर्ने, मुखभित्रका सेतो वा रातो दाग निको नहुनेजस्ता लक्षण मुख क्यान्सरमा देखा पर्छन्।

मुखभित्र घाउ हुने हुँदा खाना खान नसक्दा वजन घट्नेजस्ता समस्या पनि देखा पर्छ। कतिपय बिरामीमा रोग बल्झँदै गर्दा मुख बांगिने समस्या पनि निम्तिन्छ। 

उपचार पद्धति    

मुखको क्यान्सर भएका बिरामीमा सबैभन्दा पहिले कुन भागमा क्यान्सर छ र कुन स्टेजको बिरामी हो भनेर परीक्षण र निदान गरिन्छ। त्यसपछि उपचारका लागि कुन पद्धति अपनाउने भन्ने टुंगो लाग्छ। त्यसो त सबैखाले क्यान्सरका उपचारमा शल्याक्रिया, केमोथेरापी, रेडियोलोजीजस्ता उपचार पद्धति त अपनान्छ नै। 

केकस्ता उपचार पद्धति अपनाउने भन्ने कुरा कुन स्टेजको क्यान्सर हो भन्नेले निर्धारण गर्छ। मुखको क्यान्सरका लागि बिरामी सुरुको स्टेजमा छ भने त्यस्तो अवस्थामा शल्यक्रिया र रेडियोथेरापी मात्रै पनि पर्याप्त हुन सक्छ। तर केही गरी बिरामीमा रोग बढ्दै गएको छ भने रेडियसन र केमोथेरापीलगायत सबै किसिमका औषधोपचार अपनाउनुपर्ने हुन्छ। 

यसका अतिरिक्त मुखको क्यान्सर बढेर फोक्सोमा, हड्डीमा, कलेजोमा फैलिसकेको अवस्थामा दुखाइ कम गर्ने उपाय मात्र रहन्छ। मुखको क्यान्सर हुँदा बिरामीलाई खाना निल्न निकै गाह्रो हुने हँुदा त्यसलाई सहज गराउने विधि पनि अपनाइन्छ। 

मुखको क्यान्सर हुन नदिन के गर्ने? 

अन्य क्यान्सरको तुलनामा जटिल हुने भएकाले मुखको क्यान्सर हुन नदिन सुर्तीजन्य पदार्थ, खैनी, गुट्खा, तमाखु खानुहँुदैन। जाँडरक्सी, चुरोट, पानजस्ता पदार्थबाट टाढै बस्नुपर्छ। मदिरा र चुरोट एकसाथ सेवन गर यसले मुखको क्यान्सर हुन सक्ने सम्भावना उच्च रहन्छ। त्यसकारण त्यस्तो बानी हटाइहाल्नुपर्छ। 

ह्युमन प्याथोलिमा भाइरसले मुखको क्यान्सर गराउन सक्ने भएकाले महिलाले सो भाइरसविरुद्धको भ्याक्सिन लिनुपर्छ। अस्पतालहरुमा उक्त भ्याक्सिन उपलब्ध हुन्छ। मुखमा निको नहुने घाउ भयो भने समयमै दन्त चिकित्सकबाट दाँत, मुख जँचाउनुपर्छ। यसका साथै हरेक वर्ष क्यान्सरको परीक्षण गरायौ भने पनि पहिलो स्टेजमै रोग पत्ता लगाई क्यान्सर निको पार्न सकिन्छ। 

बाहिर तयारी खानेकुरा भन्दा घरमै पकाएको खाने, हरियो सागपात र गेडागुडीको झोलको अधिक प्रयोग गर्ने बानी बसाल्यौं भने मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ। 

(मुखको क्यान्सरबारे नेपाल मेडिकल कलेजमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. रश्मि पुनसँग काठमाडौं प्रेसकर्मी शलिना कुँवरले गरेको कुराकानीमा आधारित)  

प्रकाशित मिति: १७:१० बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’