Kathmandu Press
काठमाडौंको सामुदायिक विद्यालय : जहाँ पढाइसँगै सिकाइन्छ चित्रकला, संगीत र सिलाइबुनाइ (भिडियाे)
काठमाडौंको सामुदायिक विद्यालय : जहाँ पढाइसँगै सिकाइन्छ चित्रकला, संगीत र सिलाइबुनाइ (भिडियाे)२०१० सालमा स्थापना भएको जनकल्याणमा २०४१ सम्म कक्षा ३ सम्म मात्रै पढाइन्थ्याे। २०४६ सालबाट कक्षा ५ को पढाइ सुरु भयो। २०५२ देखि कक्षा ८ सम्म हुँदै २०५७ कक्षा १० सम्म अध्ययन गराइएको थियो।

काठमाडौं, फागुन ८ : विद्यार्थीलाई पुस्तकको गह्रुँगो भारी बोकाउने र एकोहोरो पाठ मात्र घोकाउने विद्यालय काठमाडौं उपत्यकाका गल्लीगल्लीमा बग्रेल्ती भेटिन्छन्। त्यस्ता विद्यालयमा पढेका विद्यार्थीका हातमा औपचारिक शिक्षाको प्रमाणपत्र त हुन्छ तर सीप अभावले उनीहरू श्रमबजारमा बिक्दैनन् र बेरोजगार बन्न बाध्य हुन्छन्।

त्यसैले त भनिन्छ– शिक्षा सैद्धान्तिकसँगै सीपमूलक र व्यावहारिक पनि हुनुपर्छ। बोल्न मात्र सिकाउने ‘सैद्धान्तिक शिक्षा’भन्दा सीप सिकाउने ‘प्रयोगात्मक ज्ञान’मा बढी जोड दिनु आजको आवश्यकता हो, समयको माग हो। सैद्धान्तिक शिक्षामा मात्र जोड दिने विद्यालय फगत ‘बेरोजगार उत्पादन गर्ने कारखाना’ मात्र भएको भनेर टिप्पणी पनि हुने गरेको छ।  तर जनकल्याण माध्यमिक विद्यालयका हकमा भने यस्तो टिप्पणीले मेल नखान सक्छ।

नेपालको शिक्षा जगत्मा जनकल्याण मावि पृथक् पहिचानका साथ उभिन सफल भएको छ। काठमाडौं महानगरपालिका–६ स्थित बौद्धको महांकालमा रहेको उक्त विद्यालय प्रभावकारी पठनपाठनसँगै सीपमूलक शिक्षामा जोड, विद्यार्थीलाई नैतिकतावान् बनाउन गरिएको प्रयासकै कारण उपत्यकाको एउटा उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा दरिन पुगेको हो। 

Hardik ivf

गएको माघ २४ गते मंगलबार बिहान साढे ७ बजेतिर उक्त विद्यालयमा पुग्दा विद्यार्थीहरू कुनै न कुनै सीप सिक्नमा व्यस्त थिए। आकर्षक गेटबाट भित्र पसेपछि सेतो, निलो र रातो रङले सजिएका तीन आधुनिक भवनमध्ये एउटामा संगीत कक्षा चलिरहेको थियो। 

केही विद्यार्थी संगीत कक्षामा स्वरसाधनामा मस्त थिए त कोही वाद्यवादनमा मिठो धुन निकालिरहेका भेटिए। त्यही भवनको एउटा कक्षामा केही विद्यार्थी चित्र कोर्न तल्लीन रहँदा अर्को भवनमा सिलाइबुनाइ सिक्नेको संख्या पनि कम थिएन।

e1676885955.jpg

संगीत सिक्दै कक्षा-८ का विद्यार्थी नम्रता खड्का र किशाेर पन्त

कक्षा ८ मा पढ्ने किशोर पन्त पियानोमा ‘फूलको आँखामा फुलै संसार..’ गीतको धुन निकाल्दै थिए। पियानो नै बजाएर उनलाई साथ दिँदै थिइन्, उनकै सहपाठी नम्रता खड्का।

किशोर र नम्रतासहित अरू ४६ जना विद्यार्थी उसैगरी संगीत सिकिरहेका थिए। संगीत शिक्षक उत्तम ढकाल उनीहरूलाई सहजीकरण गरिरहेका थिए। तीन महिनायता निरन्तर संगीत कक्षामा सहभागी हुँदै आएकी नम्रताले आफ्नो रुचि पियानो वादनमा रहेको बताइन्। ‘दुईतीनवटा गीतको धुनमा पियानो बजाउन जानिसकेकी छ,’ उनले भनिन्, ‘बिस्तारै अरू गीतमा बजाउन सिक्दै जाने हो।’ 

उनीहरू सातामा तीन दिन बिहान साढे ६ देखि साढे ८ बजेसम्म संगीत सिक्छन्। ‘अहिले विद्यार्थीलाई पियानो, बाँसुरी, गितार बजाउन सिकाइरहेको छु,’ ढकालले भने। 

दोस्रो तलाको एउटा कोठामा चित्रकलाको सिकाइ हुँदै थियो। चित्रकला सिकाउनमा व्यस्त थिए, शिक्षक मेघराज मगर। विद्यार्थीहरू व्यक्ति, वस्तु र जीवजन्तुका चित्र उतार्न लागिपरेका थिए। कक्षा ८ मा अध्ययनरत एन्जिला शेर्पाले आफूले बनाएको चित्र देखाइन्। उनले बनाएका चित्र दुरुस्तै फोटाजस्तै देखिए। उनले चित्रकला सिक्न थालेको एक महिना भयो। 

शिक्षक मेघराज सुरुमा चित्र बनाएर देखाउँथे र विद्यार्थीलाई उतार्न  लगाउँथे। कक्षा ८ का निसनकुमार शाहले शिक्षकले बनाएजस्तै गरी चित्र कोरेर देखाए। उनले आफूले एक महिनायता कोरेका चित्र एकएक गरी कापी पल्टाउँदै देखाएका चित्रहरू आकर्षक थिए। लाग्थ्यो, कक्षा ८ मा पढ्नेले त्यस्ता चित्र बनाउनै सक्दैनन्।  

l1676886025.jpg

‘चित्रकलामा रुचि राख्छु। विद्यालयमा चित्रकलाको कक्षा सुरु गरेकोमा एकदम खुसी छु। कक्षा लिन थालेपछि चित्रकलाबारे धेरै कुरा जानियो,’ निसनले भने, ‘बिदाको बेला घरमा चित्र बनाएर फुर्सदको समय सदुपयोग गर्छु।’ निसन र एन्जिलाले जस्तै अरू धेरै विद्यार्थी आकर्षक चित्र बनाउँदै घरी एकअर्का घरी शिक्षकलाई देखाइरहेका थिए।

प्रधानाध्यापक कुमारीकमला राईले अर्को भवनमा रहेको सिलाइबुनाइ सिकाउने कक्षा देखाइन्। पहिलो तलामा रहेको उक्त कोठामा सिलाइबुनाइका थुप्रै मेसिन थिए। फराकिलो कोठामा मेसिनको आवाज गुन्जिँदा कुनै गार्मेन्टमा पुगेको आभास हुन्थ्यो।

सृष्टि खत्री तातो भाँडा समाउने कपडा सिलाउन सिक्दै थिइन्। उनलाई प्रशिक्षक रैफोदिन मन्सुरी कपडा बिस्तार छोड्दै लान र खुट्टाले मेसिन चलाइरहन निर्देशन दिइरहेका थिए। मन्सुरीले त्यहाँ सिलाइबुनाइ सिकाउन थालेको करिब तीन महिना भयो। ‘विद्यार्थीलाई सिकाउँदा रमाइलो लाग्यो। विद्यार्थीले छिटो सिके,’ मन्सुरीले भने, ‘हेबिङ गर्न, भोटो सिलाउन, भाँडो समाउने टालो बनाउन, टाँकघर बनाउन जानिसके। बिस्तारै अरू लुगा सिलाउन सिकाउँछु।’ 

जनकल्याणमा बिहान सीपमूलक कक्षा सञ्चालन हुन्छ, दिउँसो पाठ्याक्रमबमोजिम पढाइ। संगीत, चित्रकला, सिलाइबुनाइ, नृत्य विद्यालयमै सिकाउने भएपछि विद्यार्थीको संख्या उकालो लागिरहेको प्रधानाध्यापक कुमारीकमला राई बताउँछिन्।

f1676886047.jpg

‘अहिले  विद्यार्थी संख्या २५ सय पुगेको छ। बिहान १ हजार र दिउँसो १५ सय विद्यार्थी अध्ययन गर्छन्,’ प्रअ राई भन्छिन्, ‘अन्य सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको देखिन्छ तर जनकल्याणमा बढिरहेको छ।’

२०७० सालमा त्यहाँ १२ सयको हाराहारीका विद्यार्थी थिए। त्यसपछि क्रमिक रूपमा बढ्दै गएको प्रअ राई सुनाउँछिन्। ‘विद्यालयले दिने गुणस्तरीय, प्राविधिक र व्यावहारिक शिक्षाले अभिभावक आकर्षित भएको हुन सक्छ,’ उनले भनिन्, ‘विद्यालयको व्यवस्थापन समिति र शिक्षकसँगै अभिभावकको मेहनतले जनकल्याण आजको अवस्थामा आइपुगेको हो।’

जनकल्याण माविमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ। त्यहाँ विज्ञानबाहेक प्राविधिक, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन विषयको पढाइ हुन्छ। तीनवटा भवनमा ५० वटा कक्षाकोठा छन्। प्राविधिक कक्षा, पुस्तकालय, नृत्य कक्ष, सभा हल छुट्टै छन्। भौतिक दृष्टिले अन्य सामुदायिक विद्यालयको तुलनामा जनकल्याण सुविधासम्पन्न रहेको उनको भनाइ छ।

प्रअ राईलाई लाग्छ, सामूहिक प्रयासका कारण विद्यालय सफलताको मार्गमा अघि बढेको हो। ‘सामुदायिक विद्यालय भए पनि जनकल्याण काठमाडौं महानगरभित्रकै उत्कृष्ट विद्यालयमा पर्छ,’ प्रअ राईले भनिन्, ‘खानेपानी, शौचालय, सरसफाइमा विद्यालय उत्कृष्ट छ।’ प्रअले भनेझैं विद्यालयको कक्षाकोठा, शौचालय र विद्यालय परिसर सफासुग्घ देखिन्थे। 

२८ वर्षको मेहनतबाट प्राप्त फल

प्रत्येक दिन बिहान ६ बजे विद्यालय पुगेपछि साँझ ५/६ बजे मात्र घर फर्किन्छिन्, प्रअ राई। स्थायी शिक्षकका रूपमा दरबन्दी कायम भएपछि २०५१ जेठ २ गते उनले पहिलोपटक जनकल्याणमा पाइला टेकेकी थिइन्। विषय शिक्षकका रूपमा रहँदै गर्दा उनी २०६० सालमा सहायक प्रअ बनिन्। २०६४ देखि २०६६ सालसम्म निमित्त प्रअको जिम्मेवारी वहन गरेकी उनी २०७२ मंसिरयता प्रअको जिम्मेवारीमा छिन्।

शिक्षक भएर आएदेखि नै ‘हाम्रो जनकल्याण राम्रो जनकल्याण’ बनाउने अठोट लिएको उनले सुनाइन्। अठोट पूरा गर्न आफूलगायत सिंगो विद्यालय टिम अहोरात्र जुटेको उनको भनाइ छ। सरोकारवाला सबैको सामूहिक प्रयासकै प्रतिफलका रूपमा विद्यालयले अहिलेको उचाइ प्राप्त गरेको उनले बताइन्।

‘२०५१ सालमा आउँदा शौचालय, खानेपानीको पर्याप्त सुविधा थिएन। कक्षाकोठामा फर्निचरहरूको राम्रो व्यवस्था थिएन,’ उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षकले सामूहिक रूपमा विद्यालय बनाउने प्रतिबद्धता गर्‍यौं, मेहनत गर्‍यौं र एक हिसाबले सफल पनि भएका छौं।’

c1676886442.jpg

उनका अनुसार २०७२ सालपछि विद्यालयको भौतिक र शैक्षिक संरचनाले फड्को मारेको हो। सुरुमा सुविधासम्पन्न भवन बन्यो। त्यसपछि विद्यार्थीलाई सैद्धान्तिक शिक्षा मात्र नभई व्यावहारिक शिक्षामा जोड दिन थालियो। ‘विद्यार्थीले अध्ययन गर्न किन रुचि राख्दैनन् भनेर अभिभावक र विद्यालय परिवारबीच बारम्बार छलफल ग¥यौं। धेरैजसो अभिभावक बिहान काममा जाने र साँझ मात्र घर फर्किने गरेको पायौं,’ प्रअ राईले काठमाडौं प्रेससँग भनिन्, ‘धेरै विद्यार्थी विद्यालय छुट्टी भएपछि सरासर घर नगाई बाटामै अलमलिएको पायौं।’

अभिभावकबाट पनि गुनासो आएपछि नयाँ कदम चालिएको उनले बताइन्। ‘छलफलमा विद्यार्थी घर नगई बाटामै खेलेर बस्ने गरेको, घर गइहाले पनि झोला फालेर साथीहरूसँग घुमफिरमा निस्कने गरेको गुनासो अभिभावकबाट सुन्यौं,’ उनले भनिन्, ‘विद्यार्थीलाई अनुशासित बनाउन, अध्ययनमा रुचि बढाउन विद्यालयमै गृहकार्य गराउने नियम बसाल्यौं।’ 

विद्यालय छुट्टी भइसकेपछि विज्ञान, अंग्रेजी, नेपाली र गणित विषयको अतिरिक्त कक्षा (ट्युसन) हुन्छ। त्यसबाट नियमित कक्षामा नबुझेका कुरा विद्यार्थीले सोध्ने र थप नयाँ कुरा सिक्ने अवसर पाएका छन्। त्यसले गर्दा अभिभावकलाई बालबालिका हराउने तथा नपढ्ने चिन्ताबाट राहत मिलेको छ। धेरै अभिभावकले सकारात्मक प्रतिक्रिया दिएको उनले सुनाइन्। ‘कतिपय अभिभावकले शुल्क लिएर बालबालिकालाई साँझमा थप समय सिकाउन सुझाउनुभएको थियो,’ प्रअ राईले भनिन्, ‘त्यसपछि सहयोगका रूपमा कक्षा ४ भन्दा माथिका प्रत्येकलाई मासिक २ सय रुपैयाँ शुल्क लिएर अतिरिक्त कक्षा पढाउन थाल्यौं।’ 

विद्यार्थीलाई सैद्धान्तिक शिक्षा मात्र दिएर हुँदैन भन्ने सोच पलाएपछि चार वर्षअगाडि व्यावहारिक शिक्षा दिने योजना बनेको उनले सुनाइन्। जसका लागि सिलाइबुनाइ, चित्रकला, नृत्य, संगीत सिकाउने योजना अगाडि सारियो। उक्त योजनामा विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावले सबैबाट सकारात्मक प्रतिक्रिया आयो।

‘तीन वर्षअघि नृत्य हल बनायौं। जसमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई सातामा पाँच दिन सिकाइन्छ,’ उनले भने, ‘चारपाँच महिनाअघि मात्र सिलाइबुनाइ र संगीत कक्षा थालेका हौं। माघबाट चित्रलालाई पनि जोडेका छौं।’

यी चारमध्ये विद्यार्थीले आ–आफ्नो रुचिको सीप सिकिरहेका छन्। अहिले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई मात्र सीप सिकाउने गरिएको प्रअ राई बताउँछिन्। ‘सीप सिक्न आवश्यक साम्रगी विद्यालय उपलब्ध गराउँछ,’ उनले भनिन्, ‘व्यावहारिक शिक्षासँगै विभिन्न चाडपर्वको महत्व झल्काउन सोही पर्वअनुरूप पहिरन लगाउन दिने र चाडअनुसार विशेष खानेकुरा बनाएर खुवाउने गर्छौं।’

a1676886120.jpg

विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राई

विद्यालयले विद्यार्थीलाई असल, चरित्रवान्, नैतिकवान् बनाउन पहल गरेको छ। जसका लागि विद्यार्थी प्रवेश गर्दा गेटमा बसेर विद्यार्थीको स्वागत गर्ने, जन्मदिनमा सबैसामु शुभकामना दिने, अध्ययन गर्दा अल्छी नलागोस् भनेर प्राविधिक कक्षाका लाने, नृत्य कक्षामा सहभागी गरेको उनको भनाइ छ। ‘त्यसका लागि विद्यालयका सबै सदस्य खटिएका छन्, सबैको एउटै योजना र लगनले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्यौं,’ उनले भनिन्। 

‘गुणस्तरीय शिक्षा र सीपमूलक सिकाइमा जोड’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्रप्रसाद ढकाल सुरुमा विद्यालयमा भौतिक संरचनाको अभाव भए पनि अहिले सुविधासम्पन्न बनेको बताउँछन्।

२०६९ सालमा विद्यालय निर्माण समितिमा पार्टी प्रतिनिधि सदस्य भएर उनी विद्यालयसँग जोडिएका थिए। त्यसपछि हालसम्म विद्यालयसँग जोडिएर रहेको र विद्यालयको प्रगति र भोतिक विकासमा जुटिरहेको उनले बताए। ‘विद्यालयको छेउको भागमा पहिरो जान्थ्यो। त्यही पहिरोलाई रोक्दै विद्यालय भवनको जग बसाल्यौं,’ उनले भने, ‘जग बसालेको एक वर्षमा एउटा भवन बन्यो।’ 

ढकाल पछि अध्यक्षका रूपमा विद्यालयको नेतृत्वमा आए। आफू अध्यक्ष भएपछि जसरी हुन्छ विद्यालयलाई भौतिक रूपमा सम्पन्न बनाउने योजना ल्याएको उनले बनाए।

n1676886215.jpg

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्रप्रसाद ढकाल

भवन बनाउन तत्कालीन काठमाडौं महानगरले ६० प्रतिशत स्रोत जुटाइदिँदा विद्यालयले ४० प्रतिशतका लागि गैरसरकारी संस्था तथा व्यक्तिसँग सहयोग मागेको उनको भनाइ छ। २०७२ मा कुमारी कमला राई प्रअ बनेपछि भौतिक संरचना, गुणस्तरीय शिक्षामा जोड, शैक्षिक सामग्री बढाउन थालियो। त्यसपछि विद्यार्थीहरू अनुशासित, इमानदार, जिज्ञासु बनाउन विद्यालयको पाइला अघि बढ्यो। 

अध्यक्ष ढकालका अनुसार केही नयाँ काम गर्न आफैंबाट सुरुवात गनुपर्ने मनशायले अगाडि बढेको जनकल्याणले बिस्तारै सफलताको सिँढी चढिरहेको छ। त्यसमा व्यावहारिक शिक्षा र अभिभावक, शिक्षक, स्टाफ, प्रअको मेहनतको भूमिका रहेको उनले सुनाए।

‘पछिल्लो समय व्यावहारिक शिक्षासँगै अभिभावक र विद्यार्थीको रुचिमा आधारित भई अध्यापन गराउन थालेकाले जनकल्याण सफल हुँदै गएको हो,’ उनले भने, ‘अहिले सैद्धान्तिकसँगै व्यावहारिक र नैतिक शिक्षामा समेत जोड दिने गरेका छौं।’

जनकल्याण सामुदायिक विद्यालय भएपछि विद्यार्थीको बाक्लो उपस्थिति हुनुमा सीप शिक्षा, नैतिक शिक्षा र अनुशासित विद्यार्थी उत्पादन मुख्य कारण रहेको उनी ठान्छन्। ‘गेटबाट विद्यार्थी प्रवेश गर्दैगर्दा नमस्कार गरेर स्वागत गर्छौं,’ उनले भने, ‘यसले विद्यार्थीलाई नैतिक शिक्षा दिन्छ।’ जसरी हुन्छ जनकल्याणलाई उत्कृष्ट बनाउने योजनासाथ सामूहिक कार्यमा लागेको उनी बताउँछन्। 

विद्यार्थीमा पढ्ने बानीको विकास 

जनकल्याणमा प्रशासनिक सहायकको जिम्मेवारी निर्वाह गर्दै कक्षा ८ सम्म नेपाली विषय पढाउँछिन्, ३३ वर्षीया चम्पा भुजेल। २०६७ सालमा निजी स्रोतबाट शिक्षण सेवामा प्रवेश गरेकी उनी २०७४ भदौदेखि भने राहत शिक्षकका रूपमा कार्यरत छिन्।

‘म जनकल्याणसँग जोडिँदा कुमारीकमला म्याम प्रअ हुनुहुन्थ्यो। उहाँबाट विद्यार्थीको भावना बुझेर कसरी शिक्षण गर्ने भन्ने कुरा बुझें,’ उनले  भनिन्, ‘म आउने बेला विद्यार्थी संख्या, भौतिक संरचना अन्य सामुदायिक विद्यालयको तुलनामा राम्रै भइसकेको थियो, अहिले झनै राम्रो भएको छ।’

विगतको तुलनामा जनकल्याणमा विद्यार्थीको पढ्ने बानीको विकास राम्रो हुँदै गरेको महसुुस भएको उनले बताइन्। ‘विद्यार्थीको वृद्धि र विकासका लागि सांस्कृतिक शिक्षा, कम्युटर शिक्षा, सीपसम्बद्ध शिक्षा, संगीत–नृत्य, चित्रकला समावेश गरिएकाले विद्यार्थीमा धेरै परिवर्तन पाएका छौं,’ उनले भनिन्, ‘छोटो समयमा धेरै क्रियाकलाप गराउने भएकाले विद्यार्थी जिज्ञासुसमेत भएका छन्।’

h1676886284.jpg

शिक्षिका चम्पा भुजेल

विद्यार्थीहरू नियमित विद्यालय आउने गरेको उनले सुनाइन्। उनी शिक्षिका भएर आउँदा एउटा कक्षामा ६०/७० जना विद्यार्थी थिए। अहिले प्राथामिक कक्षा दुई समूह बनाएर पढाइएको छ। भने कक्षा ६ देखि १० सम्म चारवटा ग्रुप बनाइएर अध्ययन गराउने गरिएको उनको भनाइ छ। 

त्यसैगरी २१औं शताब्दीले माग गरेको शिक्षा कसरी दिन सकिन्छ भनेर विद्यालय लागिपरेको शिक्षक संयोजक केबी अधिकारीले बताए। विद्यालयले दिएको शिक्षा विश्वको जुनसुकै कुनामा पुग्दा पनि काम लागोस् भन्ने मनशायका साथ सबै शिक्षक शिक्षणसिकाइमा जुट्ने गरेको उनले सुनाए। ‘विद्यार्थीलाई व्यावहारिक र सीपमूलक शिक्षा दिने पहल गरेका छौं, ताकि विद्यार्थीहरूलाई आफूले जानेको सीप भविष्यमा काम लागोस्,’ उनले भने। 

संयोजक अधिकारीले दुई दशकदेखि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अंग्रेजी विषय पढाउँदै आएका छन्। दुई दशकअघि र अहिले अध्ययन गराउँदा अधिकारी विद्यार्थीको सिकाइमा धेरै फरक आएको उनी बताउँछन्।

m1676886410.jpg

पहिलाका विद्यार्थी पुस्तकमा जे छ त्यही घोक्थे,  अहिले इन्टरनेट तथा अन्य स्रोतबाट समेत खोजी गरी समयानुकूल ज्ञान–सीप हासिल गर्न स्वयं तत्पर हुने उनको अनुभव छ। ‘अहिलेका विद्यार्थी पुस्तकसँगै इन्टरनेटको पनि प्रयोग गर्छन्,’ उनले भने, ‘इन्टरनेटको गलत प्रयोगबाट बच्नुपर्ने सन्देश दिँदै त्यसको सदुपयोगमा जोड दिँदै आएका छौं, त्यसमा विद्यार्थी सतर्क रहेको पाएका छौं।’

जनकल्यणप्रति विद्यार्थी तथा अभिभावकको चासो बढ्नुमा विद्यालय परिवारको मेहनतलाई उनी कारक ठान्छन्। भौतिक पूर्वाधार, नयाँ सिकाइ अभ्यास र टिमको लगनशीलता नै जनकल्याणले प्रगति गरेको संयोजक अधिकारीको ठम्याइ छ।

i1676886317.jpg

शिक्षक संयाेजक केबी अधिकारी

‘विद्यालयको व्यवस्थापन समितिको प्रभावकारिता र शिक्षकहरूको इमानदार खटाइले नै विद्यालय उत्कृष्ट बन्न पुगेको हो,’ उनले भने। सही योजना बनाएर शिक्षण–प्रशासन टिम सक्रिय भए सामुदायिक विद्यालय पनि निजीभन्दा राम्रो बन्न सक्ने उदाहरण जनकल्याण भएको उनले बताए। 

‘प्रत्येक शिक्षकले यो विद्यालय मेरो हो, विद्यालयलाई सकेसम्म धेरै समय दिन्छु भनेर लाग्नुपर्छ। विद्यार्थीको भावना बुझेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरे सामुदायिक विद्यालय सजिलै अगाडि बढ्न सक्छन्,’ उनले भने।

६९ वर्षको यात्रामा जनकल्याण

जनकल्याण मावि २०१० सालमा स्थापना भएको हो। २००७ सालमा राणाशासन ढलेर प्रजातन्त्रको प्रादुर्भाव भएसँगै शैक्षिक जागरण ह्वात्तै बढेको थियो। शैक्षिक ज्योति फैलाएर जनकल्याण गर्नुपर्छ भन्ने हेतु रहेकाले विद्यालयको नाम जनकल्याण राखिएको व्यवस्थापन समितिका अध्यक्ष ढकालले बताए। 

२०७८ सालमा विद्यालयले सार्वजनिक गरेको दस्तावेजमा उनले लेखेका छन्, ‘तत्कालीन समयका शिक्षा डाइरेक्टर दीर्घराज कोइराला, मधुवनप्रसाद ढुंगानालगायतले श्री जनकल्याण प्राथमिक विद्यालय नामकरण गरी २०१० सालबाट औपचारिक रूपमा विद्यालय सञ्चालन ल्याएको देखिन्छ।’

त्यतिबेला मुठीदान, चन्दा, सहायता रकम संकलन गरी विद्यालयमा पठनपाठन सुरु भएको थियो। सक्नेहरू स्वयंसेवकका रूपमा आलोपालो गरेर अध्ययन गराउँथे। नियमित शिक्षण गर्ने पहिलो आधिकारिक शिक्षकका रूपमा समाजसेवी स्व. श्री आदित्यनाथ न्यौपाने रहेको दस्तावेजमा उल्लेख छ।

‘२०१० देखि २०४१ सम्म कक्षा ३ सम्म अध्ययन हुन्थ्यो। २०४६ सालबाट कक्षा ५ को पढाइ सुरु भयो। २०५२ कक्षा ८ सम्म हुँदै २०५७ कक्षा १० सम्म अध्ययन गराइएको थियो,’ अध्यक्ष ढकाल भन्छन्, ‘२०५८ मा पहिलोपटक विद्यार्थीलाई एसएलसी परीक्षा सामेल गराइएको थियो।’ 

o1676886378.jpg

त्यस्तै जनकल्याणमा २०६४ सालदेखि कक्षा ११ र २०६५ मा १२ को अध्ययन सुरु गरिएको थियो। त्यसपछि भौतिक संरचना र विद्यार्थी संख्या बढ्दै गएको अध्यक्ष ढकालको भनाइ छ। ‘विद्यालयलाई भौतिक संरचना तथा गुणस्तरी शिक्षाका लागि अभिभावकको सहयोग महत्वपूर्ण छ,’ उनले भने, ‘नर्सरीदेखि कक्षा १ सम्म वार्षिक ४ हजार रुपैयाँ शुल्क लिइन्छ।’

कक्षा २ देखि ९ सम्म कक्षाअनुसार शुल्क बढाएर लिने गरिएको पनि उनले जानकारी दिए। ‘कक्षा १० मा पढ्नेले वार्षिक १३ हजार रुपैयाँ तिर्नुपर्छ,’ उनले भने, ‘त्यस्तो शुल्कलाई सहयोग भनेर विद्यालयले परिभाषित गरिएको छ। आर्थिक अवस्था कमजोर हुनेसँग शुल्क लिने गरिएको छैन।’ 

कक्षा ११ र १२ मा अध्ययन गर्नेलाई वार्षिक १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यसमा पनि विद्यार्थीको आर्थिक अवस्था हेरेर शुल्क घटाउने गरिएको अध्यक्ष ढकालले बताए। 

फाेटाे/भिडियाे : कल्याण थापामगर/काठमाडाैं प्रेस
 

याे पनि :

प्रभात मावि, जहाँ प्रोजेक्टरबाट पढाइन्छ 

राणाकालमा खोलिएको ‘पब्लिक’ स्कुल : संस्थापक प्रधानाध्यापक जेल परेका थिए 

नाम राख्‍ने महाकवि देवकोटा, उद्घाटन गर्ने राजा त्रिभुवन

‘गोरखापत्र पढ्न नजान्दा मैले नव आदर्शमा भर्ना हुन पाएको थिइनँ’ 

शुक्रराज शास्त्रीको ‘सहिद के कलम से’ पुस्तक बेचेर खोलिएको सहिद शुक्र मावि

जहाँ बालबालिकादेखि ढल्कँदो उमेरकाले सँगै पढ्छन्  

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्