Kathmandu Press

प्रभात मावि, जहाँ प्रोजेक्टरबाट पढाइन्छ 

कक्षा १० सम्म अध्ययन गराइने यस विद्यालय भवनमा २३ वटा कोठा छन्। २१ वटा कक्षा कोठालाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिएको छ, जुन प्रविधियुक्त छन्। 
प्रभात मावि, जहाँ प्रोजेक्टरबाट पढाइन्छ 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २९ : काठमाडौं महानगरपालिका– २५, नघलस्थित श्री घ:विहारको अगाडि आठ आना जग्गामा चारतले भवन छ, अंग्रेजी अक्षर ‘सी’ आकारको। भवनको दाेस्राे तलामा नीलो भुइँमा सेतो अक्षर लेखिएको बोर्ड छ– प्रभात माध्यमिक विद्यालय। 

विद्यालयको जग्गा कम भएकाले विद्यार्थीहरू नजिकैको विहार र स्कुलछेवैको गुठीको खाली जग्गामा खेल्छन्। कक्षा १० सम्म अध्ययन गराइने यस विद्यालय भवनमा २३ वटा कोठा छन्। २१ वटा कक्षा कोठालाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिएको छ, जुन प्रविधियुक्त छन्। 

प्ले ग्रुप, नर्सरी, केजी गरी तीनवटा कक्षाकोठामा टिभी राखिएको छ। साना कक्षाका विद्यार्थीलाई टिभीमा मनोरञ्जन दिँदै सिकाइन्छ। कक्षा कोठाका भित्तामा पाठ्यक्रमकै सामग्री बाह्रखरी, अंग्रेजी अक्षर र यीसँग सम्बन्धित चित्र कोरिएका छन्। 

कक्षा ३ देखि १० सम्म अध्ययन गराउन प्रोजेक्टर, स्मार्ट बोर्ड, ह्वाइट बोर्ड राखिएको छ। प्रोजेक्टरको निगरानीका लागि कक्षामा  सिसिटिभी पनि जडान गरिएको छ। त्यस्तै, एउटा कम्प्युटर कक्षमा १८ वटा कम्प्युटर छन्। ‘कक्षा ३ भन्दा मुनिका कोठामा भने प्रोजेक्टर जडान गरिएको छैन। प्रोजेक्टर बालबालिकाबाट जोगाउन गाह्रो हुन्छ,’ विद्यालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठ भन्छन्, ‘सबै कोठालाई प्रविधिमैत्री बनाउने तयारी छ, बिस्तारै गर्छौं। कक्षा ४ देखि कम्प्युटर सिकाइरहेका छौँ।’ विद्यालयले सम्भव भएसम्मका सम्पूर्ण अतिरिक्त क्रियाकलापलाई पनि निरन्तरता दिँदै आइरहेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन्। 

प्रधानाध्यापक राजेश्वर श्रेष्ठ

नेपाल सरकार, पूर्वविद्यार्थी र काठमाडौं महानगरको सहयोगबाट विद्यालयलाई प्रविधिमैत्री बनाइएको श्रेष्ठ बताउँछन्।

प्रजाजन्त्रको उदयसँगै 

यस विद्यालयको स्थापना प्रजातन्त्रको उदयसँगै भएको हो। २००७ सालमा रामहरि जोशीको बांगेमुढा नर्सिङस्थानस्थित घरबाट अध्ययन–अध्यापन सुरु गरिएको थियो। विद्यालयको ‘स्वर्ण स्मारिका–०५७’ अनुसार, भूतपूर्व प्रधानाध्यापक रामहरि जोशी र उनका साथीहरू (राममान र हरिमोहन प्रधान) ले २००७ सालमा १०–१२ जना विद्यार्थीलाई पढाउन थालेका थिए।

जोशीले स्वर्ण स्मारिकामा लेखेका छन्, ‘देशका प्रत्येक नागरिकले शिक्षा आर्जन गर्ने मौका पाए व्यक्तिको जीवनस्तर, समाज र देशको पनि विकास हुने यथार्थतालाई ध्यानमा राखी धन दानभन्दा शिक्षा दान श्रेष्ठ हुन्छ भन्ने विचार गरी पढाउने काममा तनमन दिएर लागेको थिएँ।’

सुरुका सात वर्षसम्म यस विद्यालयमा प्राथमिक तह (कक्षा ५) सञ्चालन गरिएको थियो। विद्यालयले २०१४ सालदेखि मिडिल स्कुल (कक्षा ८) सम्म अध्ययन गराउने स्वीकृति पाएको थियो। ‘मिडिल भन्नाले त्यतिबेला कक्षा ८ सम्म अध्ययन गराउने बुझिन्थ्यो,’ उनले भने, ‘२०३० सालमा मात्र माध्यमिक तह सञ्चालन गर्ने अनुमति पाएका थियौँ।’

अहिले विद्यालयमा तीन सय २५ विद्यार्थीले अध्ययन गर्छन्  । बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्ययन गराइन्छ। प्ले गु्रपदेखि कक्षा ७ सम्मलाई दिउँसो र कक्षा ७ देखि १० सम्मलाई बिहान ६ बजेदेखि ११ : ४५ बजेसम्म पढाइन्छ। दिनमा कुनै काम वा पेसा गर्ने विद्यार्थीले बिहानमा पढ्न सक्छन्। 

अहिले यहाँ २२ शिक्षक दरबन्दी बमोजिम छन्। यसमाथि विद्यालयले निजी स्रोतबाट संगीत सिकाउने एक, सरसफाइ गर्ने दुई र बालगृहका लागि एक गरी चार राखेको छ। 

०७० अघिसम्म यहाँ अध्ययनरत विद्यार्थीको संख्या पाँच सयभन्दा धेरै थियो। ०७२ मा भूकम्पले ग्रसित बनेपछि विद्यार्थीको संख्या घट्यो। बीचमा कोरोनाका कारण पनि विद्यार्थी संख्या बढ्न सकेन। नयाँ शैक्षिक सत्रसँगै केही विद्यार्थी थपिएको प्रधानाध्यापक बताउँछन्। 

यस विद्यालयबाट गत वर्ष २९ विद्यार्थीले एसइई दिएका थिए, यसपटक १४ विद्यार्थीले एसइई दिँदै छन्। आगामी वर्ष ३९ जनाले एसइई दिँदैछन्। यतिखेर कक्षा ११/१२ सञ्चालनका लागि काठमाडाैं महानगरपालिकाकाे शिक्षा विभागमा प्रस्ताव गरिएको छ। प्रस्ताव स्वीकृत भए कक्षा ९ देखि १२ सम्म प्रविधिमैत्री शिक्षा दिने विद्यालयको योजना छ। 

पूर्ण निःशुल्क

नयाँ शैक्षिक सत्र ०७९ बाट विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क बनाइएको छ। ‘पहिले दर्ता शुल्कका रूपमा एक सय ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म शुल्क लिइन्थ्यो,’ प्रधानाध्यापक श्रेष्ठ भन्छन्, ‘अहिले दर्ता शुल्क पनि नलिने योजनासहित शैक्षिक सत्र सुरु गरेका छौँ।’ 

उनका अनुसार, विद्यालयले लामो समयदेखि विद्यार्थीलाई युनिफर्म समेत निःशुल्क वितरण गर्दै आएको छ। यहाँका विद्यार्थीले अहिले एक जोर ट्र्याकसुट र विद्यालयले ताेकेकाे  युनिफर्म प्रयोग गर्छन्। यसपटक एक सेट ट्र्याकसुट निःशुल्क वितरण गर्ने योजना विद्यालयको छ। 

विद्यार्थीको क्षमता र प्रतिभा विकास गर्न विद्यालयले साहित्य, नृत्य, भ्रमण, खेलकुद लगायत कार्यक्रम गर्छ। भ्रमणका लागि भने विद्यार्थीबाट नगन्य रूपमा शुल्क उठाइन्छ।

सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि प्रतिविद्यार्थी खाजाखर्च १५ रुपैयाँ दिन्छ। सरकारले दिने सोही रकममा केही थप गरी विद्यालयले कक्षा ७ सम्मलाई खाजा खुवाइरहेको छ। 

१२ वर्षदेखि संस्कृति अध्ययन

प्रधानाध्यापक श्रेष्ठका अनुसार, यस विद्यालयले पछिल्ला १२ वर्षदेखि काठमाडौंको संस्कृति र पर्यटकीय क्षेत्रका विषयमा अध्ययन गराइरहेको छ। अहिले स्थानीय तहले नगरशिक्षा अन्तर्गत स्थानीय पाठ्यक्रम तयार पारेर स्थानीय संस्कृति, स्रोतसाधनका सम्बन्धमा पढाउन थालेका छन्। ‘प्रभातमा १२ वर्ष अघिदेखि नगरशिक्षाका रूपमा काठमाडौंको संस्कृति र पर्यटन सम्बन्धमा अध्ययन हुँदै आएको छ। नेवारी संस्कृति अध्ययनका क्रममा विद्यार्थीलाई सामूहिक रूपमा सबै सांस्कृतिक कार्यक्रममा समेत सहभागी गराइन्छ,’ प्रधानाध्यापक श्रेष्ठ भन्छन्, ‘विद्यालय वरिपरि नेवारी समुदाय भएकाले यसमा सहज भएको छ।’

श्रेष्ठ यहाँ पछिल्लो १३ वर्ष (०६६ साल) देखि यहाँ प्रधानाध्यापक छन्।  
 

प्रकाशित मिति: १४:१० बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्