नाम राख्ने महाकवि देवकोटा, उद्घाटन गर्ने राजा त्रिभुवन
विद्यालयको नाम के राख्ने भन्नेबारे सोध्न संस्थापकहरू लक्ष्मीप्रसाद देवकोटाको घरमा पुगे। मन्दिरको पाटीमा अध्ययन गराइने र महिलालाई मात्र अध्ययन गराइने भएकाले महाकवि देवकोटाले ‘कन्या मन्दिर’ नामकरण गरिदिए।काठमाडौं, कात्तिक २१ : काठमाडौंको क्षेत्रपाटीमा छ, कन्या मन्दिर माध्यमिक विद्यालय। जहाँ छात्राले मात्र पढ्छन्। यो विद्यालय न्ह्योखा टोल इखापोखरीको वरिपरि २८ रोपनी सार्वजनिक जग्गामा फैलिएको छ। पोखरी वरिपरि तारबार लगाइएको छ। विद्यार्थी हिँड्ने ठाउँमा ब्लक बिछ्याइएको छ। वरपर स-साना बिरुवा र हरियो दुबोले सजाइएको छ।
१७ असोजमा पुग्दा विद्यार्थीहरू चौरमा समूह बनाएर बसेका थिए। दुई-तीनजना शिक्षक-शिक्षिका उभिएर छलफल गर्दै थिए। सेतो रंगको सर्ट र हरियो रंगको फ्रक लगाएका बालिका यताउता हिँडिरहेका थिए। परीक्षा चलिरहेकाले विद्यार्थीको चहलपहल भइरहेको थियो।
‘अन्य विद्यालयमा १० देखि ४ बजेसम्म अध्ययन गराइन्छ, तर यहाँ ११ बजेदेखि ५ बजेसम्म अध्ययन गराउँछौँ,’ यस विद्यालयका प्रधानाध्यापक बद्रीनाथ भट्टराई भन्छन्, ‘किनकि यहाँ पढ्ने अधिकांशले अरुको घरमा काम गर्छन्। भान्साको धन्दा सकाएर पढ्न आऊन् भनेर यस्तो समय मिलाइएको हो।’
यो विद्यालय विं.सं. २००३ चैत १४ मा स्थापना भएको हो, जतिबेला देशमा प्रजातन्त्र आइसकेको थिएन, तर विभिन्न किसिमले प्रजातन्त्रका लागि संघर्ष सुरु भइसकेको थियो। यो विद्यालय पनि जहाँनियाँ राणाशासनविरुद्धकै एउटा विद्रोह हो। राणाशासनमा नागरिकलाई पढ्ने हक त्यति थिएन। प्रधानाध्यापक भट्टराई भन्छन्, ‘त्यस्तो बेला लुकेर सञ्चालन गरिएको विद्यालय हो यो।’
‘नेपालको पहिलो कन्या विद्यालय’
यो विद्यालयको स्थापना न्ह्योखाका स्थानीय शिक्षाप्रेमी नारायणबहादुर श्रेष्ठ (साहिँलादाइ) ले गरेका हुन्। केदारनाथ न्यौपाने, त्रैलोेक्यमान श्रेष्ठ, दानबहादुर, बद्रीमान, रामप्रसाद श्रेष्ठले यस विद्यालयलाई हुर्काएको, बढाएको प्रधानाध्यापक भट्टराई बताउँछन्। ‘इखा पोखरीनजिकै कृष्ण मन्दिर छ, त्यही मन्दिरको पाटीमा सुकुलमा राखेर अध्ययन गराइन्थ्यो,’ उनी भन्छन्, ‘राणाहरूले थाहा पाउँछन् भनेर पाटीभित्र ढोका लगाएर पढाइन्थ्यो। शिक्षा शब्द उच्चारण गर्दासमेत जेल सजाय भोग्नुपर्ने बेला थियो, नारी शिक्षा त परिकल्पना मात्र थियो।’ '
उनका अनुसार, त्यतिबेला १३ छात्राबाट पढाइ सुरु गरिएको थियो। अहिले ६ सय ४१ छात्राले अध्ययन गर्छन्।
विशेषगरी स्थानीय गृहिणी महिलालाई शिक्षा दिई सचेत गराउने उद्देश्यले विद्यालय खोलिएको पाइन्छ। प्रधानाध्यापक भट्टराई भन्छन्, ‘यस विद्यालयभन्दा अगाडि कन्यालाई मात्र राखेर अध्ययन गराइने विद्यालय थिएन, महिलाले मात्र अध्ययन गर्ने नेपालको पहिलो विद्यालय यही हो। त्यसबेला नारीहरू अशिक्षित, शोषित-पीडित थिए, उनीहरूलाई गतिशील बनाई पुरुषसरह समाजमा अग्रसर गराउन विद्यालयको स्थापना गरिएको सुन्दै आएको छौँ।’
नाम राख्ने महाकवि, उद्घाटन गर्ने राजा त्रिभुवन
विद्यालय स्थापनाकालतिर देशमै महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम चलेको थियो। त्यसैले विद्यालयको नाम के राख्ने भन्नेबारे सोध्न संस्थापकहरू लक्ष्मीप्रसाद देवकोटाको घरमा पुगे। मन्दिरको पाटीमा अध्ययन गराइने र महिलालाई मात्र अध्ययन गराइने भएकाले लक्ष्मीप्रसाद देवकोटाले ‘कन्या मन्दिर’ नामकरण गरिदिएको प्रधानाध्यापक भट्टराई बताउँछन्।
२०५३ सालमा विद्यालयले ५०औं वर्ष पूरा गरेको अवसरमा ‘सम्झना’ विशेषांक प्रकाशित गरिएको थियो। उक्त पुस्तकमा २००७ चैत १४ गते तत्कालीन राजा त्रिभुवन उपस्थित भई विद्यालयको उद्घाटन गरेको उल्लेख छ।
स्थापना कालको तीन-चार वर्ष कृष्ण मन्दिरको पाटीमै अध्ययन गराइएको थियो। २००५ फागुन १ गते यस विद्यालयलाई निम्न माध्यमिक (मिडिल) स्कुलको स्वीकृत मिल्यो। त्यसपछि छात्राको संख्या बढ्न थाल्यो। स्थानीयको सहयोगमा न्ह्योखाको उत्तरतिर इखापोखरी वरपर टहरा बनाएर २००७ फागुन १ देखि कक्षा ७ सम्म सञ्चालन गरिएको थियो। सोही वर्षको चैत १४ गते प्रजातन्त्रको उदयसँगै राजा त्रिभुवनले विद्यालयको उद्घाटन गरेका थिए।
२०१८ सालसम्म आइपुग्दा यस विद्यालयमा अनिवार्य रूपमा नेपाल भाषा, प्राथमिक उपचार लगायत विषय अध्ययन गराइन्थ्यो। इच्छाधीन विषयमा संगीत, जीवनशास्त्र, गणित, शारीरिक विज्ञान, वाणिज्य, भूगोल आदिको अध्यापन गराइएको प्रधानाध्यापक भट्टराई बताउँछन्। ०५४ सालदेखि कक्षा ११ हुँदै १२ सम्म पढाउन थालियो।
‘अहिले अंग्रेजी माध्यम र नेपाली माध्यममा अध्ययन गराइन्छ,’ प्रधानाध्यापक भट्टराई भन्छन्, ‘सामुदायिक विद्यालय तथा निजी विद्यालयमा अध्ययन गराइने आठै विषय पढाउँछौँ, अझ यहाँ एउटा नेपाल भाषाको पुस्तक थप पढाइन्छ।’
इखापोखरी अगाडि विद्यालय निर्माण गर्ने भएपछि उक्त स्थानमा सफासुग्घर गर्न, सम्याउन, टहरा बनाउन दाताको खोजी हुन थाल्यो। त्यसबेला छात्रालाई शिक्षा प्रदान गर्ने विषयमा तत्कालीन युवराज महेन्द्र सकारात्मक थिए। ‘२००८ सालमा भवन निर्माण गर्न बझाङकी रानी खगराज दिव्येश्वरी (जयपृथ्वीबहादुर सिंहकी पत्नी) को नाममा डेढ लाख रुपैयाँ तत्कालीन युवराज महेन्द्रले सहयोग गरेका हुन्। यो भवन २००९ सालमा तयार भएको थियो,’ प्रधानाध्यापक भट्टराई भन्छन्, ‘भवनको नाम पनि खगराज दिव्येश्वरी भवन राखिएको थियो, जुन ०७२ सालको भूकम्पले क्षति पु¥यायो, अहिले उक्त भवन छैन।’
(स्मरण रहोस्, पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानसँगै बाइसे र चौबिसे राज्य नेपाल राज्यमा गाभिए पनि केही राज्यका राजालाई तत्कालीन श्री ५ को सरकारले रजौटाका रूपमा मान्यता दिएको थियो। २०१७ सालमा लागू गरिएको ‘राज्य-रजौटा उन्मूलन ऐन’सँगै अन्य रजौटाजस्तै बझाङी राजतन्त्रको पनि अन्त भएको थियो।)
पछि २०२२ सालमा विद्यालयका लागि तत्कालीन राजा महेन्द्रले ऐतिहासिक इखापोखरीसहित सो वरपर जग्गा उपलब्ध गराएको प्रधानाध्यापक भट्टराई बताउँछन्।
नयाँ भवन
२०७२ सालको भूकम्पले २००८ सालमा बनाएको खगराज दिव्यश्वरीदेवी भवन भत्काएपछि युएसएडको सहयोगमा नयाँ सुविधा सम्पन्न विद्यालय भवन पुनर्निर्माण गरिएको छ।
नयाँ विद्यालय भवन निकै फराकिलो छ। जसमा ३७ वटा कोठा छन्। नयाँ भवनमा २२ वटा कोठामा कक्षा सञ्चालन हुन्छ। अन्यमा ल्याब, कम्प्युटर हल, पुस्तकालय, कार्यक्रम हल र कार्यालय आदिका लागि प्रयोग गरिएको छ। भूकम्पपछि पनि पुराना भवनका १२-१३ वटा कोठा बाँकी थिए, नयाँ भवन भने यसै वर्षदेखि मात्र सञ्चालनमा आएको हो।
हाल विद्यालयमा शिक्षक (१४) र शिक्षिका (१७) गरी ३३ जना छन्।
शुल्क
विद्यालयमा अहिले कक्षा १ देखि कक्षा १० सम्म भर्ना शुल्क दुई सय रुपैयाँ लिइन्छ। एसइईमा ए प्लस र ११ मा ए ग्रेड ल्याएका विद्यार्थीलाई कक्षा ११ र १२ कक्षामा निःशुल्क भर्ना गरिन्छ। ‘अन्य ग्रेड ल्याएकालाई बढीमा चार हजार रुपैयाँ शुल्क लिइन्छ,’ प्रधानध्यापक भट्टराई भन्छन्, ‘मासिक शुल्क तिर्नुपर्दैन, परीक्षा शुल्क दुई सयदेखि चार सय रुपैयाँ लिइन्छ।’
हाल यहाँ व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र अध्ययन गराइन्छ।
०७५ देखि कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्ययन गराइन्छ।
०६५ यता हालसम्म ७,९०१ विद्यार्थी
यस विद्यालयमा ०६५ यता हालसम्म ७ हजार ९०१ छात्राले अध्ययन गरेका छन्। प्रधानाध्यापक भट्टराईका अनुसार, विद्यालयमा दुई-तीन वर्षयता विद्यार्थीको संख्या बढ्न थालेको छ। ‘०४७÷४८ तिर यस विद्यालयमा एक हजार हाराहारी छात्राले पढ्थे,’ उनी भन्छन्, ‘पछिल्लो समय विद्यार्थीको संख्या घटे पनि फेरि उकालो लाग्दैछ। आगामी दिनमा अझ बढ्दै जाने अपेक्षा गरेका छौँ।’
त्यसो त निजी विद्यालय छाडेर यहाँ भर्ना हुने विद्यार्थी पनि बढेका छन्। यस विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै छिन्, १६ वर्षीया जिना नेवा। उनी कक्षा ८ देखि यस विद्यालयमा भर्ना भएकी हुन्। त्यसअघि उनी प्रज्ञा आवासीय माध्यमिक विद्यालयमा पढ्थिन्। ‘निजी विद्यालयका शिक्षक र सामुदायिक विद्यालयको शिक्षकबीच फरक पाएँ,’ उनी भन्छिन्, ‘यहाँका शिक्षकले राम्रोसँग खुलेर कुरा गर्नुहुन्छ, सिकाउनुहुन्छ। तर, निजी विद्यालयमा कक्षाबाट बाहिर निस्किएपछि शिक्षकसँग बोलचाल हुँदैनथ्यो। तर यहाँ अन्य समय पनि शिक्षक-शिक्षिकाले ध्यान दिने गर्छन्।’
उनी जस्तै १३ वर्षीया स्वस्तिका डंगोल यस विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्। उनी यसअघि ह्याभेन बोर्डिङ स्कुलमा अध्ययन गर्थिन्। ‘यस वर्षदेखि मात्र यहाँ भएकी हुँ, यहाँको पढाइ राम्रो छ,’ उनले भनिन्।
पाँच वर्षमा एसइई दिने १९६
पाँच वर्षमा एक सय ९६ छात्राले एसइई दिएको प्रधानध्यापक भट्टराई बताउँछन्। ‘ग्रेडिङ व्यवस्था भएकाले विद्यार्थी फेल हुँदैनन्, तर गे्रडिङ व्यवस्था नहुँदा पनि प्रायः सबै विद्यार्थी उत्तीर्ण हुन्थे,’ प्रधानध्यापक भट्टराई भन्छन्, ‘ग्रेडिङ सिस्टम भए पनि धेरै विद्यार्थीको ए प्लस आउँछ।’ कुन ग्रेडमा कति पास भए भन्ने तथ्यांक विद्यालयले राखेको छैन।
कुन वर्ष कति विद्यार्थीले दिए परीक्षा ?
पहिलाका विद्यार्थीमा सिक्ने चाहना धेरै : शिक्षक
दुई दशकदेखि कक्षा ६ सम्म अध्ययन गराउँदै आएका सञ्जीवकुमार ढकाल पहिलेका विद्यार्थी धेरै सिक्न रुचि राख्ने बताउँछन्। ‘विद्यार्थीलाई नयाँ-नयाँ कुरा सिक्न खोजेको देख्दा उनीहरूलाई बुझाउन पाउँदा खुसी लाग्थ्यो,’ शिक्षक सञ्जीव भन्छन्, ‘पहिला अध्ययन गराउँदा सन्तुष्टि मिल्थ्यो, अहिले त्यस्तो अनुभव हुँदैन। अहिले विद्यार्थीलाई पढ-पढ भनिरहनुपर्छ। अहिलेका छात्रामा सिक्ने चाहना कम छ।’
उनका अनुसार, अहिलेका विद्यार्थीको ध्यान अध्ययनभन्दा अन्य क्रियाकलापमा बढी छ। उनले उदाहरण दिँदै भने, ‘टिकटक बनाउन कति धेरै मेहनत गर्छन्। तर, अध्ययनका लागि चासो दिँदैनन्। यसैले अहिलेका विद्यार्थी सिकाइ र बुझाइमा कमजोर हुँदै गएका हुन् कि भन्ने लाग्छ।’
२०५७ सालदेखि अंग्रेजी विषय अध्ययन गराउँदै आएकी सरला पन्तको अनुभवमा, पहिला र अहिलेको सिकाइमा फरक छ। पहिला पुस्तक पढे मात्र सिकिन्छ भन्ने सोचिन्थ्यो, अहिले सिकाइका माध्यम धेरै छन्। उनी भन्छिन्, ‘पहिला पढ्ने चाहना राख्थे, अहिले पढ्ने चाहना शिक्षकले बनाइदिनुपर्छ।’
विद्यार्थीलाई पुस्तकबाट मात्र सिक्छन् भन्ने सोचाइ हटाउनुपर्ने उनको बुझाइ छ। ‘समय अनुसार सिकाइको माध्यम फरक हुन सक्छ, तर शिक्षकले सधैँ सिकाउने चाहना राख्छौं,’ उनले भनिन्।
अभिभावकलाई तालिम
सामुदायिक विद्यालयमा आर्थिक अवस्था न्यून रहेका परिवारका छात्रछात्रा पढ्ने आउने. मान्यता र प्रचलन छ। यो एउटा मिथ बनेर समाजमा रहेको छ।
यहाँ छात्रा मात्रै पढ्ने भएकाले घरमा पढ्ने अवसर कम भएकाहरु यहाँ भर्ना हुने गर्छन्। त्यसैले विद्यार्थीसँगै अभिभावकलाई जनचेतना जगाउने र सीप सिकाउने तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पमान मानन्धर बताउँछन्। ‘विभिन्न संघ-संस्थासँग मिलेर अभिभावकलाई तालिम दिने तयारी भइरहेको छ,’ अध्यक्ष भन्छन्, ‘अभिभावक दक्ष भएमा विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा छ।’
त्यस्तै, शिक्षा क्षेत्रका विज्ञसँग विद्यार्थीलाई छलफल गराउने तयारी पनि विद्यालयको छ। ‘सामुदायिक भए पनि निजीभन्दा कम छैन,’ अध्यक्ष मानन्धर भन्छन्, ‘एक-दुई शिक्षकबाहेक सबै शिक्षक-शिक्षिका साँच्चै सिकाउन रुचाउनेछन्।’
उनका अनुसार, विद्यालयबाट गुणस्तर शिक्षा दिन शिक्षकलाई तालिम दिइएको छ। विद्यार्थीलाई खेलकुदमा अघि बढाउने प्रयत्न गरिएको पनि अध्यक्ष मानन्धरको भनाइ छ। ‘विद्यालयको भौतिक पूर्वाधारसँगै मनोरञ्जनात्मक कार्यक्रमलाई ध्यान दिँदै आएका छौँ,’ उनी भन्छन्, ‘विद्यार्थीको सिकाइको गुणस्तर राम्रो बनाउन अन्य कार्यलाई प्राथामिकतामा राखिन्छ।’
वार्षिक आम्दानी
आर्थिक वर्ष ०७५-७६ मा यस विद्यालयले दुई करोड ४ लाख ३१ हजार ३५ रुपैयाँ आम्दानी गरेको थियो। सोही बराबर खर्च भएको विद्यालयको तथ्यांक छ। त्यस्तै, आर्थिक वर्ष २०७६-७७ मा दुई करोड २६ लाख ३१ हजार चार सय १८ रुपैयाँ र आर्थिक वर्ष ०७७-७८ मा तीन करोड ९ लाख ८१ हजार ८ सय ९७ रुपैयाँ आम्दानी भएको थियो। आम्दानी र खर्च बराबर भएको विद्यालयको भनाइ छ।
विद्यालयको शुल्क, पुरस्कार कोष, चन्दा, भवन बहाल, क्यान्टिन बहाल, बैंक ब्याज लगायत विविध आय रहेको प्राध्यानध्यापक भट्टराई बताउँछन्। ‘विद्यालयको सीमित क्षेत्रका भवन भाडामा दिइएको छ,’ उनले भने, ‘उक्त भवनबाट ५३ लाख रुपैयाँ वार्षिक आम्दानी हुन्छ।’