परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको स्पेन भ्रमणबारे आधारहीन सामाग्रीमा विश्वास नगर्नुस्
प्रधानमन्त्री ओली स्पेनको सेभियामा आयोजित ‘विकासका लागि वित्त’ को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए।
काठमाडौं, असार २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको स्पेन भ्रमणमा सम्बन्धमा भ्रामक र आधारहीन सामाग्री सार्वजनिक भएको भन्दै परराष्ट्र मन्त्रालयले विश्वास नगर्न आग्रह गरेको छ।
प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री ओली स्पेनमा सहभागी भएको कार्यक्रमबाट केही नेपाली नफर्केको अभिव्यक्ति दिएको सन्दर्भमा परराष्ट्रले उक्त अनुरोध गरेको हो।
प्रधानमन्त्री ओली स्पेनको सेभियामा आयोजित ‘विकासका लागि वित्त’ को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए।
मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सम्मेलनमा नेपालको सहभागिता, विभिन्न सत्रमा नेपालको सक्रिय नेतृत्व र योगदान साथै द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र उपलब्धिहरूसम्बन्धी विस्तृत विवरणहरू आधिकारिक स्रोतहरूबाट पहिले नै सार्वजनिक भइसकेका जनाएको छ। नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका भ्रामक तथा तथ्यहीन सामग्रीप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘सर्वथा भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न र यस्ता गलत प्रचारप्रति सजग रहन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिएको छ।’
यस्तै, द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रचलन, सरकारको दायित्व एवम् भूमिका, राष्ट्र हितको प्रवद्र्धन र मितव्ययितासमेतका आधारमा स्थापित व्यवस्थाअनुरुप नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय हुने गरेको परराष्ट्रले स्पष्ट गरेको छ।
‘३० जुनदेखि ४ जुलाई २०२५ सम्म सम्पन्न सम्मेलनमा प्रधानमन्त्री केपी ओलीज्यू नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किसक्नुभएको विदितै छ’, परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।