‘गोरखापत्र पढ्न नजान्दा मैले नव आदर्शमा भर्ना हुन पाएको थिइनँ’
‘सुरुमा पढ्न जाँदा मलाई गोरखापत्रको नाम पढ्न लगाइयो । मैले ‘गो र वा’ भनेर पढेकाले भर्ना लिइएन । एक वर्षपछि गोरखापत्र भन्न सक्ने भएँ । अनि मात्र तत्कालीन प्रधानाध्यापकले भर्ना लिए ।’काठमाडौं, चैत १२ : वसन्तपुर डबलीमा टहलिनेको कहिल्यै कमी हुँदैन। काठमाडौंको मुटुमा रहेको यस मल्लकालीन दरबार क्षेत्रले धेरैको ध्यान खिच्छ। यही वसन्तपुर डबलीसँगैको चारतले भवनमा छ– नव आदर्श माध्यमिक विद्यालय।
भुइँतलामा ‘हनुमानढोका दरबार स्क्वायरको संरक्षण कार्यक्रम’को कार्यालय छ, बाँकी तीन तला विद्यालयले प्रयोग गरेको छ। माथिल्लो तलामा जान बाहिरबाटै भर्याङ राखिएको छ।
गत मंगलबार दिउँसो केही विद्यार्थी भर्याङ भएर तल-माथि गरिरहेका थिए, कोही वसन्तपुर डबलीमा समूह-समूहमा बाँडिएर छलफलमा व्यस्त थिए।
यही विद्यालयकी छात्रा भगवती चौधरीले यसपालि एसइई दिँदै छन्। एसइईको तयारीमा जुटेकी उनी भन्छिन्, ‘शिक्षकहरूले निजी विद्यालयमा जस्तो कडा नियम नराखी पारिवारिक वातावरणमा पढाउनुहुन्छ। मेहनत गरेर पढ्नेलाई सामुदायिक विद्यालय धेरै राम्रो छ।’
भगवतीको स्थायी घर सप्तरी हो। उनी बाआमासँग वसन्तपुरको ग्वाछेमुग गल्लीमा बस्छिन्। उनका बाआमाले किराना पसल चलाउँछन्। उनले दिउँसो पसलमा बाआमालाई सघाउँछिन् र बिहान विद्यालय आउँछिन्। उनले कक्षा १ देखि नै यहाँ पढेकी हुन्। यहाँ बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन हुन्छ।
यो विद्यालय कसरी स्थापना भयो र विद्यालयको वर्तमान अवस्था कस्तो छ ? यही जान्न हामी यस विद्यालयमा पुग्दा प्रधानाध्यापक प्रमोदकृष्ण श्रेष्ठ पुस्तकालयमा थिए। उनी प्रधानाध्यापक भएको दुई-तीन वर्ष मात्र भएको रहेछ। उनले आफ्नो विद्यालयको राम्रै जानकारी मिडियामा आओस् भन्ने सदाशयता मात्रै राखेनन्, अग्रजको पनि सम्मान गर्दै भने, ‘यस विद्यालय स्थापनाबारे बढी जानकारी पूर्वप्रधानाध्यापक उपेन्द्रप्रसाद ढुंगानासँग छ।’ हामी ढुंगानासमक्ष पुग्यौँ।
शिक्षाप्रेमीको योगदानमा निर्माण विद्यालय
६६ वर्षीय ढुंगानाले ४० वर्ष नवआदर्श माध्यमिक विद्यालयमा सेवा गरे, २३ वर्ष शिक्षक र १७ वर्ष प्रधानाध्यापनको जिम्मेवारीमा।
उनका अनुसार, नव आदर्श माध्यमिक विद्यालय वसन्तपुरका शिक्षाप्रेमीहरूले स्थापना हुन्। २०१५ मा ‘नवआदर्श शिक्षा मण्डल समिति’ गठन गरिएको थियो। शिक्षाप्रेमी आनन्दविक्रमध्वज जोशी, सुरेन्द्रमान श्रेष्ठ, शक्तिमान जोशी लगायत युवा समितिमा थिए। ‘उनीहरूले स्थानीय बालबालिका जम्मा गरेर प्याफलस्थित निजी घरको आँगनमा पढाउँथे,’ पूर्वप्रधानाध्यापक ढुंगाना भन्छन्, ‘यो क्रम लगभग १० वर्ष चल्यो।
त्यसपश्चात् उनीहरूले तत्कालीन शिक्षामन्त्रीको सहयोगमा वसन्तपुरमा ठाउँ पाएका हुन्। अहिले विद्यालय भएको स्थानमा तथ्यांक विभागको एकतले पुरानो भवन थियो। त्यसलाई भत्काएर २०२५ सालमा विद्यालयका लागि एकतले भवन बनाइएको हो। सरकार, शिक्षकको तलब लगायत सहयोग संकलन गरेर ०३१ सम्म त्यसमा तीन तला थपियो।’
उनका अनुसार, २०१५ सालमा २३ विद्यार्थीलाई पढाउन थालिएको थियो। सुरुमा प्राथमिक तहसम्म मात्रै पढाइन्थ्यो। ०२५ सालसम्म आइपुग्दा वार्षिक रूपमा ६ सयभन्दा बढी विद्यार्थी भर्ना भएका थिए। ‘०२५ सालदेखि कक्षा ७ सम्म अध्यापन गराउन थालियो। नयाँ शिक्षा ऐन, ०३१ लागू भएपछि न्यून माध्यमिक तहका लागि ८ कक्षासम्म अध्ययन गराइयो,’ ढुंगाना भन्छन्, ‘०४४ सालमा आएर माध्यमिक तह खोलिएको हो।’
पूर्वप्रधानाध्यापक ढुंगानाले पनि यही विद्यालयमा पढेका हुन्। उनको पालामा यस विद्यालयमा भर्ना हुन घरमै अक्षर चिनेको हुनुपथ्र्यो। ‘सुरुमा पढ्न जाँदा मलाई गोरखापत्रको नाम (मास्टर हेड) पढ्न लगाइयो। मैले ‘गो र वा’ भनेर पढेकाले भर्ना लिइएन,’ ढुंगाना सम्झन्छन्, ‘एक वर्षपछि गोरखापत्र भन्न सक्ने भएँ। अनि मात्र तत्कालीन प्रधानाध्यापकले भर्ना लिए।’
उनले यहाँ कक्षा ७ सम्म पढेका हुन्। आफूले ७ सम्म पढ्दा पढाइ राम्रो भएको र विद्यार्थी संख्या पनि बढी भएको ढुंगाना बताउँछन्।
भुइँतला भाडामा लगाएर खर्च व्यवस्थापन
अहिले माथिल्ला तीन तलाको १६ वटा कक्षाकोठालाई विद्यालयले प्रयोग गर्छ। जसमध्ये १२ वटामा कक्षा सञ्चालन गरिन्छ। अन्यलाई पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला, बैठक कक्ष बनाइएको छ। अहिले १९ शिक्षक (८ महिला र ११ महिला) ले पढाउँछन्। निजी स्रोतबाट दुई शिक्षक (महिला) र एक कार्यालय सहयोगी राखिएको छ।
प्रधानाध्यापक श्रेष्ठका अनुसार, यहाँ कक्षा १ देखि ८ कक्षासम्म निःशुल्क भर्ना गरिन्छ। कम्प्युटर कक्षा र अन्य क्रियाकलापका लागि वार्षिक एकदेखि दुई हजार रुपैयाँसम्म विद्यार्थीबाट लिइन्छ। कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई निःशुल्क खाजा खुवाइन्छ।
शैक्षिक भ्रमण, खेलुकद, पुस्तक, प्रयोशाला आदिमा गरी ०७६÷७७ मा ८ लाख ४९ रुपैयाँ खर्च भएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ। उनी भन्छन्, ‘आम्दानी स्रोत बढाउन विद्यालयले भुइँतलालाई २० वर्षदेखि भाडामा दिएको छ।’ यसरी कक्षा कोठा कम भएकाले विद्यार्थीलाई दुई सिफ्टमा पढाइँदै आइएको छ। ८ कक्षा देखि १२ सम्मलाई बिहान ६ बजेदेखि ११ बजेसम्म र नर्सरीदेखि ८ सम्मलाई बिहान ११ बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन गरिन्छ।
पछिल्लो चार वर्षको एसइई सामान्य
पूर्वप्रधानाध्यापक ढुंगानाका अनुसार, ०४४ देखि ०५६ सालसम्म यहाँ विद्यार्थी धेरै भई बेन्चमा नअटेर भुइँमा समेत बसेर पढ्थे। विद्यालयका अनुसार, अघिल्ला वर्ष यहाँ वार्षिक तीन सय ५० सम्म विद्यार्थी भर्ना भएर पढ्थे। अहिले दुई सय ८० मात्र विद्यार्थी छन्।
यस विद्यालयको चार वर्षको एसइई ग्रेड सामान्य देखिन्छ। ०७३ मा यस विद्यालयबाट १८ विद्यार्थीले एसइई दिएका थिए। जसमध्ये तीन जनाले बी प्लस, पाँच जनाले बी, तीनजनाले सी प्लस, चार जनाले सी र तीनजनाले डी ग्रेड ल्याएका थिए। त्यस्तै, ०७४ मा २८ विद्यार्थीले एसइई दिएका थिए। जसमध्ये ६ जनाले बी प्लस, नौजनाले बी, चारजनाले सी प्लस, चारजनाले डी, चारजनाले डी प्लस र एकजनाले डी ग्रेड ल्याए।
त्यस्तै, ०७५ मा २२ विद्यार्थीले एसइई दिए। जसमध्ये एकजनाले ए, एक जनाले बी प्लस, चारजनाले बी, आठजनाले सी प्लस, पाँचजनाले स र तीनजनाले डी प्लस ल्याएका थिए। ०७६ मा पनि २२ विद्यार्थीले एसइई दिएका थिए। जसमा एकजनाले ए प्लस, दुईजनाले ए, तीनजनाले बी प्लस, पाँचजनाले बी, नौजनाले सी प्लस, र दुईजनाले सी ग्रेड ल्याएको विद्यालयको तथ्यांक छ। यसपालि २३ विद्यार्थीले एसइई दिँदै छन्।
किन घटे विद्यार्थी ?
यस विद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या घटेको देखिन्छ। पछिल्लो चार वर्षको एसइई नतिजा हेर्दा शैक्षिक गुणस्तर पनि सामान्य देखिन्छ। यस विद्यालयको शैक्षिक गुणस्तर, शुल्क र भौतिक पूर्वाधारप्रति यहाँ पढ्ने विद्यार्थी सन्तुष्ट नै छन्।
निशान भुजेल यही विद्यालयमा कक्षा ९ मा पढ्छन्। दोलखा तामाकोसी स्थायी घर भएका उनले कक्षा ७ सम्म दोलखामै निजी विद्यालयमा पढेका हुन्। दुई वर्ष अघिदेखि यस विद्यालयमा पढ्न थालेका उनी भन्छन्, ‘स्वतन्त्र रूपले सिक्न-पढ्न पाइने भएकाले सामुदायिक विद्यालयमा पढेको हुँ। यहाँ निजी विद्यालयमा भन्दा स्वतन्त्र र पारिवारिक वातावरणमा पढाइन्छ।’
सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच सुमधुर सम्बन्ध हुने पनि उनी बताउँछन्। उनी भन्छन्, ‘सामुदायिक विद्यालयका शिक्षकसँग बोल्न डर लाग्दैन। निजी विद्यालयका शिक्षकसँग नजिक पर्न समेत डर लाग्थ्यो।’
भौतिक पूर्वाधार, खर्च व्यवस्थापन आदि हेरी ठीकठाक चलिरहेको यस विद्यालयमा विद्यार्थी किन घटे ? शैक्षिक गुणस्तर उकासिन किन सकेन ?
प्रधानाध्यापक प्रमोदकृष्ण श्रेष्ठ पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घटेको बताउँछन्। ‘निजी विद्यालयले नयाँनयाँ प्रविधि भित्र्याउँदा सामुदायिक विद्यालयले भित्र्याउन सकेन,’ उनी भन्छन्, ‘अहिले सामुदायिक विद्यालयमा प्रविधि भित्र्याउन खोजिएको छ। तर, अभिभावको चासो छैन।’
अर्कोतिर, कम शुल्कमा पढाउँदा पनि विद्यार्थीको संख्या घटेको उनी बताउँछन्। अहिले यहाँ वार्षिक ८ हजार रुपैयाँमा ११ र १२ लाई पढाइन्छ। महँगो तिरेर मात्रै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने मानसिकता अभिभावकमा छ। प्रधानाध्यापक श्रेष्ठ भन्छन्, ‘कम शुल्कमा अध्ययन गराउँदा पनि विद्यार्थीको संख्या सोचे अनुसार बढ्न सकेन। यसपालि विद्यार्थी संख्या बढ्ने अपेक्षा थियो, कोरोनाका कारण झन घट्यो।’
०४३ सालदेखि यस विद्यालयमा पढाउँदै आएका सहायक प्रधानाध्यापक कृष्णप्रसाद दवाडी सामुदायिक विद्यालय र निजी विद्यालयमा अभिभावकले नै भेदभाव गर्ने बताउँछन्। ‘निजी विद्यालयमा छोराछोरी पढाउने अभिभावका प्रत्येक महिना विद्यालय पुग्छन्,’ उनी भन्छन्, ‘तर, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावक वर्षमा एकपल्ट पनि विद्यालय आउँदैनन्। निजीमा छोराछोरी पढाउने अभिभावकले बालबच्चालाई गृहकार्य गरेर मात्र विद्यालय पठाउँछन्। सरसफाई, आवश्यक सामग्रीमा पनि ध्यान दिन्छन्। उनीहरूले नै छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाए भने त्यसो गर्दैनन्।’
उनका अनुसार, सरकारले ल्याएको शैक्षिक नीति पनि सामुदायिक विद्यालयको गुणस्तर कम गर्ने खालको छ। ८ कक्षासम्म पढ्ने विद्याथीलाई विद्यालयले फेल गराउन पाउँदैन। ‘शिक्षकहरू विद्यार्थीसँग कडा आवाजले बोल्न पाउँदैनन्। विद्यार्थीलाई नियमभित्र राख्न पाउँदैनन्,’ उनी भन्छन्, ‘यसले गर्दा गृहकार्य नगरे पनि शिक्षकले केही गर्दैनन्, म फेल हुन्न भन्ने विद्यार्थीमा पर्न गएको छ।’
सामुदायिक विद्यालयका लागि ल्याइएका नीति–नियम कार्यान्वयनमा सरकारले ढिलाइ गर्ने कारण पनि शैक्षिक गुणस्तर खस्किएको दवाडी बताउँछन्। ‘आवश्यक साम्रगी, भौतिक पूर्वाधार, शिक्षक दरबन्दी, अनुदान रकम समयमा उपलब्ध गराइँदैन,’ उनी भन्छन्, ‘सामुदायिक विद्यालयको अनुगमन गरिँदैन। सामुदायिक विद्यालय गुणस्तर घट्नु सरकारको लापरबाही पनि एक हो।’ अर्कोतिर, आर्थिक अवस्था न्यून भएकाले मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने बुझाइ छ। कतिपयले आफ्नो आर्थिक अवस्था राम्रो देखाउन पनि निजी विद्यालयमा बालबच्चा पढाउने प्रवृत्ति बढेको उनी बताउँछन्।
०४४ सालदेखि यस विद्यालयमा अंग्रेजी विषय पढाउँदै आएकी ५६ वर्षीया शान्ति शाक्य अभिभावकसँग समन्वयन गर्न नसक्दा सामुदायिक विद्यालय पछाडि परेको बताउँछिन्। ‘निजी विद्यालय धेरै खुले। निजी विद्यालयले आफू स्थापित हुन अभिभावसँग समन्वय गर्न थाले, तर सामुदायिक विद्यालयले यस्तो नीति ल्याउन सकेनन्।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम मानन्धर नगरबासीसँग राम्रो सम्बन्ध बनाउन नसक्दा सामुदायिक विद्यालय खस्कन पुगेको बताउँछन्। ‘पहिले यो विद्यालय वसन्तपुरकै राम्रो विद्यालय भनेर चिनिन्थ्यो,’ उनी भन्छन्, ‘म पनि यही विद्यालयमा अध्ययन गरेको हुँ। शिक्षामा नयाँ प्रविधि भित्र्याउन नसक्दा सामुदायिक विद्यालयको गुणस्तर घट्दो छ। पछिल्लो समय निजी विद्यालयले व्यावहारिक शिक्षा भित्र्याए। व्यावहारिक शिक्षाप्रति आम अभिभावकले रुचि देखाए, यता सामुदायिक विद्यालयको घोकन्ते शिक्षा ओझेलमा पर्यो।’
सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुने पनि मानन्धर बताउँछन्।
यो पनि पढ्नुस्...
शुक्रराज शास्त्रीको ‘सहिद के कलम से’ पुस्तक बेचेर खोलिएको सहिद शुक्र मावि
जहाँ बालबालिकादेखि ढल्कँदो उमेरकाले सँगै पढ्छन्
(नोट : पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावक, विद्यार्थी र राज्यकै चासो घटेको देखिन्छ। शैक्षिक गुणस्तरसँगै भौतिक संरचना अब्बल भएकाले धेरै अभिभावकले आफ्ना बालबच्चा दुःखसुख निजी विद्यालयमै पढाउन चाहन्छन्। सामुदायिक विद्यालय निम्न वर्गका लागि हो भन्ने आम जनमानसमा पर्न गएको देखिन्छ। हुन पनि समग्रमा सामुदायिक विद्यालयको भन्दा निजी विद्यालयकै पठनपाठन गुणस्तरीय छ। यसले शैक्षिक रूपमा धनी र गरिबबीच खाडल बढाउँदै लगेको छ। यही अवस्था रहे भविष्यमा दुई वर्ग जन्मने पनि देखिन्छ। काठमाडौंप्रेसको चासो सामुदायिक विद्यालयको संरक्षण र प्रवद्र्धन हो। हामीले यस ‘सामुदायिक विद्यालय’ शृंखलामा सम्बन्धित विद्यालयको ऐतिहासिकदेखि समग्र्र पाटो प्रस्तुत गर्नेछौँ। यसमा यहाँहरूको सकारात्मक सहयोग रहने हाम्रो अपेक्षा छ। –प्रधानसम्पादक।)