Kathmandu Press

जहाँ बालबालिकादेखि ढल्कँदो उमेरकाले सँगै पढ्छन्  

ढल्कँदो घामसँगै ढोका खुल्ने यस विद्यालयमा दिनमा काम–पेसाले पढ्न नपाउने बालबालिकादेखि बाल्यकालमा शिक्षाबाट वञ्चित रहेका ढल्कँदो उमेरका विद्यार्थी शिक्षाको उज्यालो खोज्न आउँछन्।
जहाँ बालबालिकादेखि ढल्कँदो उमेरकाले सँगै पढ्छन्  

काठमाडाै‌, पुस २३ : हेटौँडाका ६१ वर्षीय नवराज न्यौपाने अहिले ११ कक्षामा पढ्दै छन् । तीन वर्षअघि उनले आफन्तबाट थाहा पाए– काठमाडौं नक्सालस्थित नन्दीरात्रि माविमा रातमा पढाइन्छ, जहाँ दिनमा काम–पेसा गर्ने जुनसुकै उमेरका मानिसले पढ्छन् । यो सुनेपछि बाल्यकालमा ५ कक्षासम्म अध्ययन गरेर छाडेका उनलाई पुनः पढ्ने रहर जाग्यो। 

‘पहिले ५ कक्षा मात्रै पढेको भए पनि सामान्य ज्ञान भएकाले मलाई यहाँ ८ कक्षामा भर्ना लिइयो,’ उनी भन्छन्, ‘दिनभरि आफ्नो व्यवसाय हेर्छु, जागिर पनि गर्छु । साँझ पढ्न आउँछु ।’

बालाजुमा उनको रेडिमेट कपडा पसल छ । पहिले यो पसल न्युरोडमा थियो, लकडाउनका कारण भाडा तिर्न गाह्रो भएपछि अहिले बालाजु सारेका हुन् । व्यवसायमा उनलाई परिवारले सघाउँछ । त्यसैले दिउँसो उनले सहकारीमा काम गर्छन्। 

गत वर्ष एसइई दिएका नवराजले सी ग्रेड ल्याएर पास भए । पढ्न सकिने देखेपछि उनी ११ मा भर्ना भएका हुन्। 

ढल्कँदो घामसँगै ढोका खुल्ने यस विद्यालयमा दिनमा काम–पेसाले पढ्न नपाउने बालबालिकादेखि बाल्यकालमा शिक्षाबाट वञ्चित रहेका ढल्कँदो उमेरका विद्यार्थी शिक्षाको उज्यालो खोज्न आउँछन् ।

प्रधानध्यापक मोहनराज शर्मा

नन्दी रात्रि मावि साँझ ५ बजे खुल्छ र बेलुकी ९ बजे बन्द हुन्छ । प्रधानाध्यापक मोहनराज शर्माका अनुसार, पढ्न चाहने जुनसुकै उमेर समूहका विद्यार्थीका लागि यहाँको ढोका खुला छ । ‘यहाँ अहिले १० देखि ६५ वर्ष उमेर समूहकाले पढ्छन्,’ शर्मा भन्छन्, ‘१० देखि ३० वर्ष उमेर पुगेका १० प्रतिशत विद्यार्थी छन् भने ३० देखिमाथिका ९० प्रतिशत छन्।’

नवराजजस्तै उजेली विष्ट पनि दुई वर्ष अघिदेखि आफ्नो दिनको काम सकेर नन्दी रात्रिमा पढ्न थालेकी छन् । कञ्चनपुरकी उनले पहिले ८ कक्षासम्म पढेर स्कुल छाडेकी थिइन् । 

बिहे गरेर विगत ७ वर्षदेखि श्रीमान्सँग काठमाडौंमा बस्दै आएकी उनी अहिले कक्षा १० मा पढ्दै छन् । कोभिडका कारण विद्यालय बन्द रहेकाले अहिले अनलाइन कक्षा पढिरहेको उनले बताइन् । ‘एसइई भएकाले राम्रो ग्रेड ल्याउन मेहनत गरिरहेकी छु,’ उनी भन्छिन्, ‘बाल्यकालमा घरायसी समस्याका कारण पढ्न पाइएन । अब जसरी पनि पढ्नुपर्छ भन्ने लागेको छ । यहाँ रातमा पढाइ हुने भएकाले सहज भएको छ।’ 

दुई वर्षअघि एक साँझ उजेली नक्साल तरकारी बजारमा तरकारी किन्न गएकी थिइन् । त्यहाँ उनले सेतो सर्ट र खैरो पाइन्ट लगाएका दुई पाका उमेरका महिलाले पनि हतार–हतार गरी तरकारी किनेको देखिन् । कार्यालयको युनिफर्म लगाएर कतै काममा जान लागेका वा फर्केका होलान भन्ठानी उनले सोधिन्, ‘अफिस गएर आउनुभएको कि जान लाग्नुभएको?’

उनीहरुले आफूहरु स्कुल जान लागेको बताएपछि उजेलीलाई पनि पढ्ने रहर भयो । डेरा फर्केर उनले श्रीमानसँग सल्लाह गरिन् । श्रीमानले पढ्नु त राम्रो कुरा हो, समय पनि मिल्ने रहेछ भनेर अनुमति दिए । ‘फेरि स्कुल जान पाउने खुसीले त्यो रातभर निन्द्रा लागेन।’ 

विद्यालयमा शिक्षक–शिक्षिका मिलनसार र सहयोगी भएकाले पढ्ने ऊर्जा मिलेको उनी बताउँछिन्। 
  
राणाकालको उत्तराद्र्धदेखि अहिलेसम्म 

राणाशासनको उत्तराद्र्ध २००४ सालमा नक्सालका स्थायी समाजसेवी रामजीप्रसाद अर्यालले प्रौढ शिक्षाको रूपमा रात्रिकालीन विद्यालय सञ्चालन गरेका थिए । नन्दी रात्रिका प्रधानाध्यापक शर्मा भन्छन्, ‘अर्यालले नक्साल वरिपरिका बालबालिका तथा महिलालाई पढाउन यो विद्यालय स्थापना गरेका थिए । प्रौढ कक्षा सञ्चालन गर्दागर्दै विद्यालय बनाएको हामीले सुन्दै आएका छौँ।’ 

सोही विद्यालयमा आज दिन र रातमा कक्षा सञ्चालन हुन्छ । ३ रोपनी क्षेत्रफलमा एउटा विद्यालय भवन छ, जसमा दुईवटा बोर्ड छ– नन्दी रात्रि माध्यमिक विद्यालय, सह–शिक्षालय र नन्दी माध्यमिक विद्यालय। 

नन्दी माध्यमिक विद्यालय दिनमा सञ्चालन हुन्छ भने नन्दीरात्रि रातमा। 

सुरुवाती चरणमा यहाँ कक्षा ६ देखि १० सम्मलाई मात्र रातमा पढाइन्थ्यो, अहिले ६ देखि १२ कक्षासम्मलाई पढाइन्छ । यहाँ गत वर्ष (०७६) देखि मात्र  कक्षा ११ खुलेको हो, यसपालि यसपालि १२ कक्षा सञ्चालन गरिएको छ। 

‘जुनसुकै उमेर समूहका विद्यार्थी पढ्न पाउने भएकाले यस विद्यालयको फरक पहिचान बनेको छ,’ प्रधानाध्यापक शर्मा भन्छन्, ‘त्यसैले यसको नाम सह–शिक्षालय पनि राखिएको छ ।’ 

२०४८ सालसम्म आइपुग्दा यहाँ दिउँसो मात्रै पढाउने नियम बनेको थियो । तर, विद्यालयको सञ्चालनको उद्देश्य नै दिउँसो पढ्न समय नपाएका व्यक्तिलाई पढाउने भएकाले पुनः रात्रि कक्षा सुरु भएको शर्मा  बताउँछन्। 

यस विद्यालय भवनलाई २०७२ को भूकम्पले क्षति पु¥याएको थियो । सामुदायिक विद्यालय भएकाले भूकम्पपछि सरकारले पुनर्निर्माण गरिदियो । पुनर्निर्माण हुँदा केही कक्षाकोठा थप गरिएको छ भने भवन पनि आकर्षक बनाइएको छ। 

शर्माका अनुसार, यस वर्ष एक सय २५ विद्यार्थीले अनलाइनमार्फत अध्ययन गरिरहेका छन् । जसमा ६० छात्र र ६५ छात्रा छन्। 

विगतका वर्षहरुमा यहाँ दुई सयदेखि तीन सयसम्म विद्यार्थी भर्ना हुन्थे । तर, यस वर्ष कोभिड–१९ का कारण भौतिक रूपमा विद्यालय सञ्चालन हुन नसकेकाले विद्यार्थी संख्या घटेको शर्मा बताउँछन् । उनी भन्छन्, ‘उपत्यकामा काम गरेर पढ्नेहरु कोभिड–१९ का कारण गाउँ फर्केकाले विद्यार्थी घटे।’ 

काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालन गर्नेबारे केही सूचना प्रकाशित नगरेका कारण विद्यालय सञ्चालन हुन नसकेको शर्माको भनाइ छ। 

पछिल्ला वर्षको प्रगति

गत वर्ष यस विद्यालयबाट २५ विद्यार्थीले एसइई दिनुपर्ने थियो । तर २३ जनाले मात्र एसइई दिए र सतप्रतिशत उत्तीर्ण भए। 

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा यहाँ हरेक वर्ष एसइई दिनेको संख्या २२ देखि २८ को बीचमा रहेको छ। 

०७२ मा यहाँबाट २५ जनाले एसइई दिएका थिए, जसमध्ये २० उत्तीर्ण भए । त्यस्तै, ०७३ मा २३ जनाले एसइई दिँदा १९ जना उत्तीर्ण, ०७४ मा २५ जनाले दिँदा २२ जना उत्तीर्ण र ०७५ मा २० जनाले एसइई दिँदा १८ जना उत्तीर्ण भए। 

अनलाइन कक्षामा समस्या

कोरोना महामारीमा सरकारले तयारी गरेझैँ यहाँ पनि अनलाइन कक्षा सञ्चालन गरियो । दैनिक चारदेखि पाँच घन्टासम्म विद्यार्थीको समय अनकूल अनलाइन अध्ययन गराइरहेको प्रधानाध्यापक शर्मा बताउँछन्।

‘अनलाइन कक्षामा उपस्थित हुन नसक्ने तथा नेटको पहुँच बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा आएर पुस्तक लगेर घरमा केही नयाँ सिक्न आग्रह गरेका छौं,’ उनी भन्छन्, ‘काठमाडौं बाहिर रहेका कतिलाई अनलाइन कक्षाबाट समेट्न सकिएको छैन । गाउँघरमा इन्टरनेट तथा मोबाइलको समस्या छ, घर फर्केका कति विद्यार्थीले चाहेर पनि अनलाइन कक्षा लिन सकेका छैनन्।’ 

विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन आगामी माघको पहिलो हप्ता परीक्षा लिने तयारी विद्यालयले गरेको छ। 

‘पाका विद्यार्थीमा सिक्ने चाहना बढी’ 

सरिता हुमागाईंले विगत चार वर्षदेखि नन्दी रात्रि विद्यालयबाट पढाउँछिन् ।  बालबालिकालाई पढाउनु र पाका उमेर समूहकालाई पढाउनुमा ठूलो अन्तर रहेको उनको अनुभव छ। 

‘सुरुवाती दिनमा आफू सरहका दिदी–बहिनीलाई कसरी पठाउने होला भन्ने डर थियो । तर, बिस्तारै पढाउँदै जाँदा डर हरायो,’ दिनमा बालबालिकालाई पनि पढाएको अनुभव भएकी उनी भन्छिन्, ‘बालबालिकालाई पढाइमा ध्यान दिन आग्रह गनुपथ्र्यो । तर, रातमा पढ्न आउने विद्यार्थीमा भने उल्टो पाएँ । उहाँहरुमा सिक्ने चाहना धेरै हुन्थ्यो । तर, उहाँहरुलाई सिक्न लामो समय लाग्छ ।’ 
नेपाली विषय पढाउने उनलाई एउटा पाठ बुझाउन एक–दुई हप्ता लागेको अनुभव छ । उनका अनुसार, पाका उमेरको तुलनामा बालबालिकाले छिटो सिक्छन् । आफूसरहका महिला दिदीबहिनीसँग शिक्षिकाभन्दा बढी साथी भएर पढाउन पाउँदा रमाइलो भइरहेको उनी बताउँछिन्। 

६१ वर्षीय विद्यार्थी नवराज न्यौपाने

अर्का शिक्षक गौतम ढुंगेल विगत पाँच वर्षदेखि यहाँ गणित विषय पढाउँछन् । पहिले उनी निजी विद्यालयमा शिक्षक थिए । यहाँ एउटै कक्षामा कोही ३० वर्षका कोही, २० वर्षका, कोही ४० वर्षका हुँदा कसैले छिटै सिक्ने, कसैले छिटो सिक्न नसकेको उनको अनुभव छ। 

‘कतिले त म सिक्न सक्दिनँ भनेर हार पनि मान्नुहुन्छ । हार मान्ने दिदीबहिनी, दाजुभाइलाई हौसला दिँदै सिकाउनुपर्छ ।’ परेको अनुभव सुनाउँछन्। 

‘एउटा बस भए सहज हुन्थ्यो’

सुरुवाती चरणमा रात्रिकालीन समयमा पढ्न पुरुष बढी आउँथे । पछि क्रमशः विद्यालयले महिला भर्नामा जोड दिन थाल्यो। 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शशि रिमाल पछिल्ला वर्ष रातमा पढ्न चाहने महिलाको परिवारसँग कुराकानी गरी सहज वातावरण बनाउन थालेको बताउँछिन् ।  ‘अहिले बिस्तारै महिलाको पनि सहभागिता बढ्न थालेको छ,’ उनले भनिन्। 

रातमा विद्यार्थीलाई आवतजावत गर्न समस्या हुने भएकाले कतिपय विद्यार्थी एक घन्टा पढेर पनि निस्कन्छन् । त्यसमाथि महिलालाई रातमा हिँड्न त्रास भएकाले एउटा बस राख्न शिक्षा कार्यालयसँग पटकपटक माग राखिरहेको रिमालको भनाइ छ । ‘शिक्षा कार्यालय तथा स्थानीय तहलाई समेत सहयोग गर्न पटकपटक आग्रह गरिरहँदा पन्छिरहेका छन्,’ उनी भन्छिन् ‘एउटा बसको सुविधा हुनेबित्तिकै रातमा पढ्ने विद्यार्थीको संख्या दोब्बर हुने अपेक्षा गरेका छौँ।’ 

८० वर्षीया रिमाल यसअघि १०–१२ वर्षसम्म नन्दी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिइन् । ‘त्यहाँ आएको परिवर्तनका कारण होला नन्दी रात्रिमा पनि अध्यक्ष हुने अवसर जुट्यो,’ उनी भन्छिन्, ‘म आएदेखि विद्यार्थीको सिकाइ अझ फराकिलो बनाउन लागिपरेकी छु । विद्यालयमा डेस्क, बेच्न र कम्प्युटर थपेका छौँ।’ 

यहाँ सरकारले १० शिक्षक र तीन शिक्षिकालाई दरबन्दी दिएको छ । एकजना लेखापाल र एकजना कार्यालय सहयोगीसहित १५ जना छन्। 

विद्यार्थीले स्वेच्छाले दिएको रकम विद्यालयको सरसफाइ, व्यवस्थापनमा खर्च गरिने प्रधानाध्यापक शर्मा बताउँछन् । आर्थिक अवस्था बलियो भएका विद्यार्थी पनि पढ्न आउने भएकाले उनीहरुले आफ्नो इच्छाले सहयोग गर्छन्। 

हरेक वर्ष २ देखि ३ लाख रुपैयाँसम्म कार्यालय खर्च लाग्ने शर्माको भनाइ छ।


 

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्