गणतन्त्रका नायकको ‘प्रतिगामी’ छलाङ!
समग्रमा प्रचण्डले वर्तमानमा खेलेको भूमिकाले विश्वास गुमाउँदै गएको राजनीतिलाई थप अस्थिर बनाउन मद्दत गरिरहेको देखिन्छ। सँगसँगै लोकतन्त्रको बलियो खम्बाका रूपमा स्थापित कांग्रेस र त्यसका शक्तिशाली सभापति शेरबहादुर देउवाउपर फैलाउन थालिएको घृणा र सुरु भएको प्रहारको शृंखला अर्को खतरनाक प्रवृत्तिका रूपमा देखा परेको छ।आम निर्वाचन २०७९ को जनादेश, लोकतन्त्रको सामान्य मर्म र धर्मविपरीत बहुरंगी राजनीतिको पिँजडाभित्र बन्दी बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् यतिबेला।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य सुरक्षित छैन भन्ने निष्कर्षसहित प्रतिगमन परास्त गर्ने मोर्चामा खडा भएका प्रचण्ड अहिले उनै प्रतिगामी ओलीले जुटाइदिएको बहुमतको भारी बोकेर सत्ताको बागडोर सम्हाल्न पुगेका छन्। प्रतिगामी ओलीलाई बालुवाटारबाट ‘बालकोटको बार्दली’मा पुर्याएको हुंकार गर्दै हिँडेका प्रचण्डले त्यही बार्दलीमा ओलीसँगै उभिएर थालेको राजनीतिक यात्राले नेपाली राजनीति तरंगित बनेको छ।
कांग्रेस सभापति देउवालाई छक्याएर, आफैंले निर्माण गरेको लोकतान्त्रिक वाम गठबन्धनलाई धोका दिएर र जनतालाई झुक्याएर प्रधानमन्त्री पद त प्राप्त भयो तर के प्रचण्डको राजनीतिक जित भयो त? कि अन्तिम सत्य सत्ता नै हो भन्ने प्रचण्डपथको निष्कर्ष हो? आफैंले प्रतिगामी भनेको कित्तासँगको सत्ता सहकार्य र गणतन्त्रका नायकको प्रतिगामी छलाङको विषयमा आम जनमानसमा यस्तै प्रश्नहरू खडा भएका छन्।
नेपालको इतिहास साक्षी छ, राणाशासनको पतन राणाहरूकै कारण पञ्चायतको समाप्ति पञ्चहरूकै कारण तथा राजसंस्थाको अन्त्य राजाहरूकै कारण भएको हो। के गणतन्त्रका नायकलाई नै प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यसका उपलब्धिहरूलाई समाप्त गर्ने सुनियोजित षड्यन्त्र त हुँदै छैन ? नत्र चुनावअघि नै गठबन्धन निर्माण गरेर प्राप्त जनादेश लत्याउँदै प्रचण्ड आफैंले प्रतिगामी ठहर गरेको शक्तिसँग किन झुक्न पुगे त ? प्रश्नहरू अनुत्तरित छन्।
अझै प्रचण्डले सत्ता सहकार्य गरेका शक्तिहरूको पृष्ठभूमि विश्लेषण गर्ने हो भने त अवस्था झनै विकराल देखिन्छ। प्रचण्ड आफैंले प्रतिगामी करार गरेका नेकपा एमालेका अध्यक्ष ओलीको त कुरै छाडौं, राजा फर्काउँछौ भन्ने राप्रपा, संघीयता खारेज हुनुपर्छ भन्ने रास्वपासँग सामान्य राजनीतिक एजेन्डामा सहमतिको प्रारूपसमेत तय नगरी थालिएको सत्ता यात्राको गन्तव्य अनिश्चित देखिन्छ।
जनप्रतिनिधिहरूको सर्वोच्च थलो संसदमा देखिने दृश्यलाई विश्लेषण गर्ने हो भने अझै आश्चर्यजनक राजनीति देखा पर्छ। एकातिर हिजो आफैं सहभागी प्रतिगमनविरोधी गठबन्धनका चार दल प्रतिपक्षी बेन्चमा अर्कोतिर जसका विरुद्ध जनतासँग मत मागेर विजयी भएको हो, उसैको प्रधानमन्त्रीका रूपमा रोस्ट्रममा उभिँदा प्रचण्डले दिने ओज र सन्देश कस्तो होला ? अनुमान गर्न पनि असहज लाग्छ।
समग्रमा प्रचण्डले वर्तमानमा खेलेको भूमिकाले विश्वास गुमाउँदै गएको राजनीतिलाई थप अस्थिर बनाउन मद्दत गरिरहेको देखिन्छ। सँगसँगै लोकतन्त्रको बलियो खम्बाका रूपमा स्थापित कांग्रेस र त्यसका शक्तिशाली सभापति शेरबहादुर देउवाउपर फैलाउन थालिएको घृणा र सुरु भएको प्रहारको शृंखला अर्को खतरनाक प्रवृत्तिका रूपमा देखा परेको छ। जनादेश प्राप्त सबैभन्दा ठुलो दल र त्यो दलभित्र ७२ प्रतिशत सांसदको समर्थनमा चुनिएको संसदीय दलको नेतालाई ‘प्रधानमन्त्री छाड्नै मानेन, पदलोलुपता देखायो, प्रचण्डलाई धोका भयो’ भन्ने जुन भाष्य स्थापित गर्न खोजिँदैछ, त्यो सरासर गलत छ। के आफ्नै नेतृत्वमा सरकार निर्माणको पहल गर्ने पार्टीको निर्णय कांग्रेस सभापति देउवाले पालना गर्नुपर्ने थिएन ?
यदि देउवाले प्रचण्डलाई प्रधानमन्त्री छाडेको भए किन त्यसो गरेको भनेर कोकोहोलो गर्नेहरू फेरि पनि ‘पार्टी निर्णयविरुद्ध किन लागिस्? जनमतको अपमान किन गरिस्?’ भनेर चिच्याउँदै हिँड्ने थिए। यसरी लोकतन्त्रको स्थापित मियोलाई हल्लाउने षड्यन्त्र बेलैमा चिर्न नसक्ने हो भने हरेक १०-१० वर्षमा राजनीतिक अस्थिरताको सिकार बन्नुपर्ने नियतिबाट गुज्रँदै आएको नेपाल फेरि त्यही घनचक्करमा फस्ने निश्चित छ।
एकातिर प्रचण्डको प्रधानमन्त्री पद प्राप्तिको आशक्तिलाई प्रतिगमनको टेको लगाइदिने अर्कातिर लोकतन्त्रको बलियो खम्बाका रूपमा स्थापित देउवालाई चौतर्फी प्रहारको निसाना बनाउने दोहोरो ‘ग्रान्ड डिजाइन’ चलिरहेको देखिन्छ। सत्तामा कांग्रेस रहने वा नरहने आजको प्रमुख प्रश्न होइन। राष्ट्रपति प्रधानमन्त्रीदेखि प्रदेशसम्म कांग्रेस मुक्त सरकारको नारा लाग्नु पनि ठुलो कुरा होइन, ‘लोकतन्त्रका सामान्य मर्यादाअनुसार शासन प्रशासन चल्छ कि चल्दैन? अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्छ कि लाग्दैन? नेपाल पहिलो भन्ने मान्यताअनुरूप विदेश नीति सञ्चालन हुन्छ कि हुँदैन? नेपाली जनताको विश्वास र भरोसा एवं अन्तराष्ट्रिय समुदायको नेपालप्रतिको सद्भाव खलबलिन्छ कि खलबलिँदैन?’ भन्ने कुरामा नेपाली राजनीतिको भावी यात्रा तय हुनेछ।
धार्मिक सहिष्णुता, जातीय विविधता एवं पहिचानसहितको नेपाल र नेपाली लोकतन्त्र सुरक्षित रहन सक्यो भने कांग्रेस सत्ताबाहिर रहनुले कुनै फरक पार्नेछैन। तर गणतन्त्रका नायक प्रचण्डको प्रतिगामी छलाङले यी सबै प्रश्न अनुत्तरित नै रहने देखिन्छ। सँगसँगै सत्तालाई नै अन्तिम साध्य बनाएर एमालेको बुई चढ्न पुगेका प्रचण्डको अवसरवादका कारण हिजोका दिनमा ओलीलाई बयलगाडा सिद्धान्तका प्रतिपादक, संघीयता विरोधी, लोकतन्त्र विरोधी, निरंकुश, अहंकारवादीजस्ता अनेक अलङ्कार पहिर्याएर सत्तोसराप गर्दै बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याएको भन्दै कोकोहोलो मच्चाउने माओवादी केन्द्रका नेता–कार्यकर्ता जनताका बीचमा आफैं आत्मालोचित र लज्जित हुनुपर्ने दिन पनि फिरेको छ।