दलित शब्दबारे भ्रम र वास्तविकता
दलितले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन, बरु अत्याचार गर्ने सामाजिक–राजनीतिक–आर्थिक व्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो ।दक्षिण एसियाली उप–महाद्वीपको आजको भारतमा करिब ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ । इ.पु ६०० को आसपासमा पुग्दा वर्णव्यवस्थाभित्र छुवाछुतसमेत थप भैसकेको देखिन्छ । यो क्रम अघि बढ्ने सिलसिलामा करिब दुई हजार वर्षपहिले राजा मनुको शासनकालमा छुवाछुतसहितको वर्णव्यवस्थालाई कानुनी रुपमै कठोर पारियो।
त्यस बेलादेखि समाजको सबैभन्दा तल परेका श्रमजीवी जनताबीच फूट पार्ने र शोषकवर्गीय कथित उच्च जातीय शासनलाई दीर्घजीजी बनाउन छुवाछुतसहितको वर्णव्यवस्थालाई व्यवस्थित रुपमा कठोर पार्दै लगियो । त्यसक्रममा हिन्दूधर्मीय शासन एसियामा जहाँजहाँ फैलियो, त्यहाँत्यहाँ यो छुवाछुतसहितको वर्णव्यवस्था फैलिन पुग्यो । भारतबाट हिन्दूधर्मीय शासक र जनता आजको नेपालखण्डमा प्रवेश गर्ने क्रमसँगै यहाँ पनि यो वर्णव्यवस्था आइपुगेको कुरा इतिहाससिद्ध भइसकेको छ ।
नेपालमा काठमाडौं उपत्यका, पश्चिम नेपाल र मधेशमा छुवाछुतसहितको वर्णव्यवस्थालाई व्यवस्थित पार्ने क्रममा शासक जातहरुले दलित समुदायलाई हेपेर अपमानित गर्दै ‘शुद्र’, ‘अछुत’, ‘पानी अचल’, ‘थी मज्यूपिं’, ‘कुजात’, ‘पउनी’ आदि विभिन्न नाम दिए । ती अपमानजनक शब्दावली देशका विभिन्न भागमा कथित उच्च जातका सदस्यले आजसम्म पनि प्रयोग गरिरहेको भेटिन्छ ।
नेपालमा सामन्ती राणा शासनविरोधी प्रजातान्त्रिक आन्दोलनको हाराहारीदेखि नै दलित–मुक्ति आन्दोलन पनि संगठित रुपमा सुरु भयो । ००३ सालेदेखि ०२३ सालसम्म दलित संगठनको नाममा कहिले ‘परिगणित’, कहिले ‘अछुत’, कहिले ‘अति पिछडा’, कहिले ‘हरिजन’ जस्ता शब्द दलित समुदायलाई चिनाउन प्रयोग गरिएका थिए। ०३२ सालसम्म दलित शब्दको प्रयोग संगठनको नाममा प्रयोग भइसकेको थिएन।
हिन्दु समाजमा वर्णव्यवस्थाअनुसार ‘अछुत’ बनाइएका अनगिन्ती जात (caste) लाई साझा नामका रुपमा ‘दलित’ शब्दले सम्बोधन गर्ने व्यक्ति भारतका प्रसिद्ध दलित नेता डा. भीमराव अम्बेडकर थिए । सन् १९२७ को वरिपरिदेखि उनको नेतृत्वमा भारतमा चलेको दलित आन्दोलनको क्रममा ‘दलित’ शब्दको प्रयोग व्यापक बनेको थियो । यसरी प्रयोग हुने क्रममा ‘दलित’ शब्द हिन्दु समाजमा विभिन्न जातीय समूहभित्रका ‘अछुत’ बनाइएका जातहरुको साझा समुदायगत नामका रुपमा स्थापित हुन पुग्यो ।
नेपाली र हिन्दी शब्दकोशमा ‘दलित’ शब्दको सामान्य अर्थ ‘हेपिएको, दलिएको, पिसिएको’ भन्ने रहेको छ। तर, भारतीय र नेपाली दलित मुक्ति आन्दोलनले दलित शब्दको अर्थ अब त्यतिमा मात्र सीमित रहन दिएनन्। अब यो शब्दले हिन्दू समाजमा ‘पानी अचल’ बनाइएका जातहरुको साझा समुदायगत नामको अर्थसमेत ग्रहण गर्न पुगिसक्यो । वास्तवमा दलित कुनै जाति (Nation), होइन विभन्न जातहरु (Castes) को समुच्च समुदाय (Community) मात्र हो।
भारतको दलित आन्दोलनबाट स्थापित ‘दलित’ शब्दलाई नेपालमा ०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय जनविकास परिषद्’को नाममा पहिलोचोटी प्रयोग गरियो । त्यसपछि ‘दलित’ शब्द यहाँ पनि दलित आन्दोलन र राजनीतिक एवं सामाजिक क्षेत्रमा स्थापित हुन पुग्यो। भारतमा त्यतिखेरदेखि चलेको दलित आन्दोलनसँगै ‘दलित’ शब्द यहाँ पनि दलित आन्दोलन र राजनीतिक एवं सामाजिक क्षेत्रमा स्थापित हुन पुग्यो । भारतमा त्यतिखेरदेखि चलेको दलित आन्दोलनसँगै ‘दलित’ शब्द हिन्दु समाजमा विभिन्न जातीय समूहभित्रका ‘अछुत’ जातहरुको साझा परिचय भएको छ । हिन्दू समाजमा ‘अछुत’ जातहरुको साझा परिचय भएको छ । हिन्दू समाजमा ‘अछुत’ बनाइएका ती जातले पनि ‘दलित’ शब्दलाई आन्दोलनबाट स्थापित आफ्नो सम्मानजनक परिचयका रुपमा ग्रहण गरिसकेका छन् ।
‘दलित’ शब्द प्रयोगको यस क्रम हेर्दा केही पक्ष स्पष्ट रुपमा देखिन्छ । एक, ‘दलित’ नाम कुनै शासक जातले हेपेर दिएको नाम होइन, बरु यो दलित आन्दोलनबाट विकसित भएको साझा परिचय हो, साझा नाम हो । दुई, वर्णव्यवस्थाअनुसार ‘पानी अचल’ बनाइएका जात एउटै जातीय समूहभित्रका मात्रै छैनन् । यी जात आर्य–खस, मधेशी र नेवार गरी तीन वटा समुदायका छन् । त्यसैले ‘दलित’ शब्दले यी तीनै समुदायका ‘पानी अचल’ बनाइएका जातको साझा परिचय दिन सक्ने अर्थ बोकिसकेको छ । आज साझा नाम बनेको ‘दलित’ शब्दलाई प्रयोग नगर्ने हो भने यो आन्दोलनलाई कसरी सम्बोधन गर्ने ? के आन्दोलन वा कस्ता जातको आन्दोलन भनेर सम्बोधन गर्ने ? त्यसका निम्ति पनि आफ्नै आन्दोलनबाट सिर्जित गर्व पनि सकिने साझा नाम ‘दलित’ नै हुन सक्ने प्रष्ट छ।
नेपाली दलित मुक्ति आन्दोलनमा यस्ता तर्क पनि बेला–बेला कतिपयले उठाउने गरेका छन् : ‘हामीले आफूलाई दलित भन्नुहुँदैन’, ‘आफैंले आफूलाई तल किन ठान्ने?’ यस्ता तर्कका सन्दर्भमा बुझ्नुपर्ने पहिलो कुरा हो, ‘दलित’ अरुले हेपेर दिएको नाम होइन, यो दलितको गर्विलो आन्दोलनबाट स्थापित शब्द हो । दोस्रो कुरा, ‘दलित’ भन्नु आफू तल भएको स्वीकार्नु होइन, बरु आफूलाई अत्याचार गरिएको छ भन्नु हो ।
तेस्रो कुरा, दलितले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन, बरु अत्याचार गर्ने सामाजिक–राजनीतिक–आर्थिक व्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो । कतिपयले ‘हामीले आफूलाई दलित भनिरहेपछि त सधैँ यस्तै रहन्छ’ भन्ने तर्क पनि गर्ने गर्दछन्, वास्तवमा यो कुरा सत्य होइन । हाम्रै समाजका केही उदाहरणबाट पनि यो कुरा प्रस्ट हुनसक्छ ।
जस्तै, नेवार जातिभित्रको सायमि अथवा मानन्धर जातका मानिसलाई पहिले छुवाछुत गरिन्थ्यो । तर राणाशासनको हुकुमले मानन्धरहरुको पानी चलाइदिएपछि उनीहरु ‘अछूत’ रहेनन् । मानन्धरहरुले पहिलो पनि आफूलाई मानन्धर भन्थे, अहिले पनि भन्छन् ।तर त्यसले उनीहरुलाई केही फरक पारेन । मूल कुरा राजनीतिक–सामाजिक व्यवस्था हो । समाजमा छुवाछुत अन्त्य हुन्छ भने, दलितमाथि गरिने सबै अत्याचार र शोषण समाप्त हुन्छ भने ‘दलित’ परिचय एउटा सम्मानजनक पहिचान वा सामान्य परिचय वा इतिहास स्मरण मात्र बन्ने निश्चित छ ।
आहुतिको अनुमतिमा उनको पुस्तक ‘नेपालमा वर्णव्यवस्था र वर्ग–संङ्घर्ष’ बाट साभार