Kathmandu Press

जनादेश : राजावादीको चुरीफुरी र वामपन्थको बाँसुरी

जनमतको निर्मम समीक्षा गर्दै लोकतान्त्रिक वाम गठबन्धनमा आबद्ध दलहरूले ‘पावर सेयरिङ’को छिटो टुंगो लगाउने र त्यसबाट प्राप्त सत्ता जनपक्षीय निर्णय कार्यान्वयनमा प्रयोग गर्ने स्पष्ट मार्गचित्र तय गर्न ढिलाइ गर्नुहुँदैन।
जनादेश : राजावादीको चुरीफुरी र वामपन्थको बाँसुरी

आम निर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भइरहँदा यतिबेला जनमतलाई आफूअनुकूल व्याख्या गर्ने होडबाजी चलिरहेको छ। जुनसुकै कोणबाट विश्लेषण गरे पनि संसदीय राजनीति अंकगणितको खेलमा पुगेर टुंगिने यथार्थ कसैले अस्वीकार गर्न सक्दैन।

निर्वाचन परिणामबाट संसदको पहिलो पार्टी कांग्रेस बनेको छ। एमालेलाई दोस्रो दलका रूपमा विपक्षी भूमिकामा जनताले खुम्च्याइदिएका छन्। माओवादीलाई धेरै अस्थिर नबन्न र लोकतान्त्रिक वाम गठबन्धनमा धैर्यसाथ उभिन जनादेश प्राप्त भएको छ। 

संसद्को अंकगणितले कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनलाई सरकार निर्माणमा सहज र अनुकूल वातावरण तयार भएको स्पष्ट देखिन्छ। ठुला र पुराना दल नसुध्रने हो भने चुनावका बेला ‘घन्टी’ हल्लाउँदै हिँड्ने भुइँफुट्टाहरूसमेत दलका रूपमा उदाउन सक्छन भन्ने खबरदारी जनताले मतमार्फत प्रकट गरेका छन्। तराई–मधेसको एजेन्डालाई सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउने नेताहरू तिरस्कृत भएका छन्। समग्रमा जनादेश, लोकतान्त्रिक–वाम शक्ति मिलेर व्यावस्था बचाउ र अवस्था सुधार भन्ने नै छ। 

Hardik ivf

जनादेशलाई अपव्याख्या गरेर कतिपयले एमालेको टेकोमा झापाबाट चुनाव जितेका राजेन्द्र लिङ्देनलाई ‘आइकन’ ठानिरहेका छन्। समानुपातिकतर्फ झन्डै ६ लाख भोट तथा समग्रमा १४ सिटसहित संसद्मा राप्रपाको उपस्थितिलाई संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने जनमत भन्दै यतिबेला पर्दापछाडिका कतिपय समूहले डंका पिटिरहेका छन्। राजा फर्काउने धुन र ध्याउन्नमा लागेका पुरातनवादी शक्ति जुर्मुराउने प्रयासमा गरेको देखिँदैछ। जुन समग्र जनमतविरुद्ध छ। 

यता झन्डै दुई तिहाइको सरकार चलाउन नसकेर पटकपटक संसद् विघटन गर्ने र एकीकृत पार्टीलाई तहसनहस बनाउने एमालेको ओली खेमा फेरि वामपन्थी एकताको बाँसुरी बजाउन व्यस्त देखिएको छ। वाम एकता र त्यसैको बलमा सत्ता प्राप्त गरेका ओलीले आफ्नै अहंकार र मैमत्ता स्वभावका कारण सरकार र पार्टी बर्बाद बनाएको तथ्य ताजै छ।

अहिले जताबाट तानतुन गरे पनि सरकार बनाउनै नसक्ने अवस्थामा पुगेपछि वाम एकताको धुन गुन्जाएर पुनः देशलाई अस्थिरताको दुष्चक्रमा फसाउने प्रयत्नमा ओली अझै पनि उद्यत रहेको कुरामा कोही भ्रममा पर्नुहुँदैन। वामपन्थी एकता तथा विचार मिल्ने शक्तिहरूको सरकारजस्ता आकर्षक ललिपक अव्यावहारिक नाराहरू ओलीपथका सारथिहरूबाट अचेल सुनिन थालेका छन्। 

‘बा’को पार्टीमा केको वामपन्थ अनि विचार मिल्ने शक्ति कोको हुन् भनेर विश्लेषण गर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, त्यसका लागि संविधानको रक्षा, राजनीतिक स्थायित्व अनि विकास र समृद्धिको रोडम्यापमा सँगै अघि बढ्ने भनेर निर्माण भएको लोकतान्त्रिक वाम गठबन्धनभित्र आबद्ध दलहरू नै विचार मिल्ने शक्ति होइनन् र? नेपालका हरेक परिवर्तन लोकतान्त्रिक–वाम गठबन्धनकै बलमा सफल भएका होइनन् र? राजनीतिक विश्लेषक घनश्याम भुसालले समेत बुझ्न नसकेको ‘बा’ र वामपन्थबीचको विभेद आम सर्वसाधारणले कसरी बुझ्ने र कसले बुझाउने ? 

नेपालमा वामपन्थी भन्नेबित्तिकै कम्युनिस्ट नाम गरेका, कम्युनिस्ट विचार बोकेका पार्टी र तिनमा आस्था राख्नेहरू हुन् भन्ने गलत बुझाइ रहेको पाइन्छ। कम्युनिस्टबाहेक अरूले आफूलाई वामपन्थी भन्ने गरेको पनि देखिँदैन। 

वामपन्थ भन्नेबित्तिकै त्यो आफूइतरको राजनीतिक लाइन हो र वामपन्थीहरू आफ्ना विरोधी हुन् भन्ने धारणाले कांग्रेसभित्र पनि जरा गाडेर बसेको छ। अर्कातिर आफूलाई कम्युनिस्ट विचारधाराका अनुयायी मान्नेहरूमा कम्युनिस्ट भनेकै वामपन्थी र वामपन्थी भनेकै कम्युनिस्ट हो भन्ने बुझाइ देखिन्छ। गैरकम्युनिस्ट जति सबै दक्षिणपन्थी हुन् भनेर बुझ्ने पनि थुपै्र छन्। 

तर वामपन्थी र दक्षिणपन्थी शब्द अंग्रेजीको ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’को नेपाली अनुवाद हो। अग्रगामी र यथास्थितिवादी राजनीतिक मूल्य मान्यता अँगालेका आधारमा यसलाई अथ्र्याइन्छ।  नेपालमा भएका राजनीतिक परिवर्तनको पटकपटक नेतृत्व गरेको, संविधान र लोकतन्त्रको रक्षाका लागि दृढताका साथ उभिएको तथा आमूल परिवर्तनलाई संस्थागत गर्न समानुपातिक समावेशीका पक्षधर माओवादीसँगको सहयात्रामा रहेको कांग्रेस कसरी दक्षिणपन्थी ? अनि कमल थापालाई सूर्य चिह्न सुम्पने, राजतन्त्र फर्काउँछौं भन्ने राजेन्द्र लिङ्देनसँग चुनावी सहकार्य गर्ने, सामन्त गोयललाई बालुवाटारमा रेड कार्पेट ओछ्याउने अनि दुईदुईपटक संसद् विघटन गर्ने ओली कसरी वामपन्थी हुन सक्छन्? 

त्यसैले  वामपन्थी एकताको अलापविलाप गर्दै एमाले-माओवादी मिल्नुपर्ने तर्क र उपदेश दिनु वर्तमान सन्दर्भमा औचित्यहिन साबित भइसकेको छ। आम निर्वाचनमार्फत व्यक्त जनभावनाविपरीत राजावादीको चुरीफुरी बढ्नु र स्वार्थका लागि वामपन्थी एकताको बाँसुरी बजाउनु दुवै घातक र प्रत्युत्पादक छन्। तसर्थ जनमतको निर्मम समीक्षा गर्दै लोकतान्त्रिक वाम गठबन्धनमा आबद्ध दलहरूले ‘पावर सेयरिङ’को छिटो टुंगो लगाउने र त्यसबाट प्राप्त सत्ता जनपक्षीय निर्णय कार्यान्वयनमा प्रयोग गर्ने स्पष्ट मार्गचित्र तय गर्न ढिलाइ गर्नुहँुदैन।

आम मतदाताको भावना र भरोसालाई सम्बोधन गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने गठबन्धनको निर्णय सँगसँगै सामाजिक विभेद, अन्याय, अत्याचार, बेरोजगारी, असमानता, असहिष्णुता, अकर्मण्यता र गरिबीविरुद्ध एकताबद्ध हुँदै समुन्नत नेपाल निर्माणको यात्रामा हातेमालो गर्न सके मात्र लोकतान्त्रिक–वाम गठबन्धनको औचित्य पुष्टि हुनेछ। जनादेशको सम्मानसमेत यसैमा अन्तरनिहित रहेको छ। 
 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?